ललितपुरमा उत्साहजनक मतदान, प्रमुख आयुक्त यादवद्वारा अनुगमन

ललितपुर, वैशाख ३१ । ऐतिहासिक स्थानीय तहको निर्वाचनको अवसरमा ललितपुरमा मतदाताबीच निकै उत्साह देखिएको छ ।
जिल्लाका बिभिन्न मतदान केन्द्रमा बिहान ५ बजेदेखि नै मतदाताहरुको घुईंचो लागेको छ ।

लामो समयपछि मतदान गर्ने अवसर पाएका मतदाताहरु बिहानै देखि लाइनमा बसेका छन् ।

सञ्चारकर्मी रामहरी कार्कीले दिएको जानकारी अनुसार, नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्पा भुसालले वडा नं. २ स्थित राजतीर्थ (राममन्दिर) मतदान केन्द्रबाट भोट हालेकी छिन् । नेपाली कांग्रेसका जिल्ला सभापति तथा सांसद मदन बहादुर अमात्यले पनि सोही केन्द्रबाट मतदान गरेका छन् ।

यसैबीच निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले ललितपुरको वडा नं. १५ लगायतका केही अन्य मतदान केन्द्रका अनुगमन गरेका छन् ।

स्थानीय चुनावमा अन्य सरकारी परिचयपत्रले पनि भाेट हाल्न पाउने

काठमाडौँ, वैशाख ३० । निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने भएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले सो निर्णय गरेको हो । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र÷राहदानी÷सवारी चालक अनुमतिपत्र÷जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको हो । साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ । सो सम्बन्धमा थप बुझ्नु परेमा आयोगको टोल फ्री नम्बर १६६००१४४२२२ मा सम्पर्क गरी जानकारी लिन सकिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । रासस

प्रचारलाई निरुत्साहित गरौं : निर्वाचन अायाेग

काठमाडौं,वैशाख ३० । निर्वाचन अायाेगले मौन अवधिमा प्रचारप्रसार गर्ने उम्मेदवारलाई निरुत्साहित गरिदिन मतदातालाई आग्रह गरेकाे छ। बिहीबार रातिदेखि मौन अवधि सुरु भएकाे स्मरण गराउँदै  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले त्यसपछि पनि केही दल र तिनका कार्यकर्ताले प्रचारप्रसार जारी राखेको भन्दै आपत्ति जनाए । राजधानीमा सहन्यायाधिवक्ता खेमराज ज्ञवालीको किताब ‘लोकतान्त्रिक निर्वाचन व्यवस्थापन’ को विमोचन कार्यक्रममा यादवले भने, ‘कुनै गलत कामकारबाही भए हामी पनि कारबाही गर्न अग्रसर छौं । तपाईंहरूले पनि प्रचारप्रसारमा आउने उम्मेदवारलाई निरुत्साहित गरिदिनुहोस् ।’  

कसरी गर्न सकिन्छ सहि मतदान ? भिडियोमा हेरौँ ।

काठमाडौं, वैशाख ३० । तीन प्रदेशका ३४ जिल्लाका नागरिकहरु आइतबार बिहान ७ बजको प्रतिक्षामा छन् । स्थानीय तहको चुनावको मतपत्र ठूलो र चिन्ह धेरै भएका कारण धेरै मतदाताहरु अझै अलमलमा छन् । कसरी गर्न सकिन्छ सहित मतदान ? भिडियोमा हेरौँ ।

काठमाडौंका अधिकांस मतदान केन्द्र सामान्य

काठमाडौं, वैशाख ३० । काठमाडौंमा १ सय ४२ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखेको छ। संवेदनशील केन्द्रमा सामान्यभन्दा थप सुरक्षाकर्मी खटाइएको छ। काठमाडौं जिल्लामा ३ सय २० मतदान केन्द्र छन् जसमध्ये १ सय ७८ लाई सामान्यमा राखिएको  छ। तर काठमाडौंमा एउटा पनि अति संवेदनशील मतदान केन्द्र छैन नयाँ पत्रिकामा खबर  छ। संवेदनशील मतदान केन्द्रमा प्रहरी नायब निरीक्षक (सइ) तथा सामान्य मतदान केन्द्रमा सहायक प्रहरी निरीक्षक (असइ) को नेतृत्वमा प्रहरी खटाइएको छ। सइ र असइको कमान्डमा हरेक मतदान केन्द्रमा म्यादीसहित न्यूनतम १२ प्रहरी खटिने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहले बताए। मतदान केन्द्रमा बढीमा २४ जनासम्म सुरक्षाकर्मी खटिनेछन्। धेरै मतदाता भएको मतदान केन्द्रलाई संवेदनशीलमा राखिएको डिएसपी शाहले बताए। चुनावी सुरक्षाका लागि गृह मन्त्रालयले २४ सै घन्टा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ ।

किँन चुनावमा गाडी चल्दैनन् ? कारण यस्तो छ

काठमाडौं,वैशाख ३०। स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ। यसपटक मतदानको दिन बिहान पाँच बजेदेखि बेलुका सात बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुुने अन्नपूर्ण पोस्टमा खबर छ । अस्पताल, प्रेस, पर्यवेक्षक, सुरक्षा निकाय, कूटनीतिक नियोग, विशिष्ट व्यक्ति, उम्मेदवारलगायत केही सीमित वर्गलाई बाहेक अरूलाई सवारीसाधन सञ्चालन गर्न दिइँदैन। उनीहरूले सवारी सञ्चालनका लागि आयोगबाट अनिवार्य रूपमा अनुमति लिएको हुनुपर्छ। यसपटक पनि त्यही परम्पराले निरन्तरता पाएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा मानिसको आवतजावत रोक्न र सुरक्षा व्यवस्था व्यवस्थित बनाउन सवारी सञ्चालनमा कडाइ गरिएको छ । ‘सुुरक्षा र एउटा मतदान केन्द्रबाट अर्को मतदान केन्द्रसम्म हुने ओहोरदोहोरलाई ध्यानमा राखेर सवारी सञ्चालन नियन्त्रणमा ध्यान दिइएको हो’, आयोगले भनेकाे छ।

चीनको केरुङ गएका ४० नेपाली चीनमा थुनिए : भोट हाल्न नपाउने चिन्ता

नुवाकोट,वैशाख ३० । सामान लिन चीनको केरुङ गएका नेपालीहरु बोर्डर सिलले अलपत्र परेका छन् । स्थानीय निर्वाचनका लागि बुधबारदेखि स्थानीय प्रशासनले बोर्डर सिल गर्न लगाएपछि उनीहरु उतै रोकिएका कान्तिपुरमा खबर छ । चुनावका लागि प्रशासनले चिनियाँ पदाधिकारीलाई बोर्डर सिल गर्न लगाएको हो । केरुङ गएका चालक, सहचालक, स्थानीयवासी र व्यापारी गरी ४० जना चिनको भूभागमा थुनिएको कालिका गाउँपालिकाका स्थानीय व्यापारी मुकुन्द पौडेलले फोनमा जानकारी दिँदै भने, ‘चुनाव आइसक्यो भोट हाल्न पाइने भएन ।’

पहिलो चरणको निर्वाचनलगत्तै मतगणना गरिने निर्वाचन आयोगको निर्णय

काठमाडौं, बैशाख २५ । बैशाख ३१ मा हुने पहिलो चरणको चुनावलगत्तै मत गणना गरिने निर्वाचन आयोजना जनाएको छ । पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावमा असर गर्नसक्ने भन्दै पहिलो चरणको मत गणना दोस्रो चरणको चुनावपछि मात्रै गर्ने भन्ने दलहरुबीच नै आवाज उठीरहेका बेला निर्वाचन आयोगले भने पहिलो चरणको निर्वाचनलगत्तै मत गणना गर्ने निर्णय गरेको हो । पहिलो चरणको मतलाई सुरक्षाका दृष्टिले पनि लामो समयसम्म राख्न नसकिने कारण देखाउँदै निर्वाचन आयोगले बैशाख ३१ को निर्वाचतलगत्तै मत गणना गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिए । यसअघि आइतबार बालुवाटरमा भएको वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको वैठकबाट पनि पहिलो चरणको निर्वाचनलगत्तै मतगणना गर्नुपर्ने सहमति भएको थियो ।

कृषिमा आधुनिकरण गर्ने : दाहाल

चितवन, बैशाख २५ । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेणु दाहाललाई नेपाली काङ्ग्रेसले पनि सहयोग गरेसँगै आम सर्वसाधरणमा थप उत्साहित देखिएका छन् । नेकपा माओवादी केन्द्र र काङ्ग्रेसले मेयर र उपमेयरमा साझा उम्मेदवार घोषणा गरेर चुनावी प्रचार प्रसारलाई पनि एकल तथा संयुक्त रुपमा तिब्र बनाएका छन् । आज भरतपुरका विभिन्न वडाको चुनावी सभालाई सम्बोधन गर्दै साझा उमेदवार रेणु दाहालले भरतपुर महानगर र सबै वडालाई शिक्षा, स्वास्थ, र विकासका दृष्टिकोणले सुबिधा र सम्पन्नसाली बनाउने प्रतिवद्धता जनाईन् । मुलुक पुरै माओवादीकै एजेण्डामा अघि बढेकाले अब ती एजेन्डालाई कार्यन्वयन गर्न पनि माओवादीकै नेतृत्व आवश्यक रहेको दावी गरिन् । उनले विकास पनि माओवादीले नै गर्ने भएकाले गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गरि बिजयी गराउन सबैसँग आग्रह गरिन् । यसअघि चितवनको भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेणु दाहालले भरतपुरको वडा नं।२५ को जब्का चौधरी बस्तीमा कृषि आधुनिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । घरदैलो अभियानका क्रममा यहाँ आयोजित सभालाई बोल्दै उनले कृषिमा अब्बल बन्दै गएको जब्का बस्तीमा कृषि आधुनिकरण नहुदाँ समस्या आएको भन्दै यो क्षेत्रमा आफ्नो पहिलो प्रथामिकता कृषि आधुनिकरण हुने बताएकी हुन् । साथै आधुनिकरणसगैँ आफुहरुले सीप मुलक प्रशिक्षण गराउदै रोजगारीको ग्योन्टी समेत गर्ने बताईन् । यस्तै उनले सो क्षेत्रमा थारु संस्कृतिकको संरक्षण र प्रर्वद्धनसगैँ पर्यटनको विकास गर्ने बताईन् । घरदैलो कार्यक्रममा दाहालसगैँ माओवादी केन्द्र जिल्ला अध्यक्ष यमबहादुर परियार भरतपुर महानगर ईन्जार्च इश्वर सापकोटा सुमन लगायतको सहभागीता छ ।

भूमिहिनलाई लालपूर्जा वितरण गरिने : उम्मेदवार अम्गाई

सुजिता हमाल चितवन, वैशाख २५ । आसन्न स्थानीय तहको निर्वाचनको लागी नेकपा माओवादी केन्द्र रत्ननगरले आज रत्ननगरका वडा नं ११,१२ र १३ मा दलित तथा सुकुम्वासी बस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चुनाव प्रचार प्रशारको लागी भोट माग्न माओवादी केन्द्रले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको हो । नगर ईन्चार्ज कन्चन खनालको नेतृत्वमा भएको घरदैलो कार्यक्रमलाई सम्वोधन गदै मेयर पदका उम्मेदवार पूर्ण अम्गाई सुवोधले सम्पूर्ण दलित तथा सुकुम्वासीका समस्या समाधान गर्न र भुमिहिनलाई लालपूर्जा वितरण गर्न माओवादी केन्द्रलाई विजयी गराउनु पर्ने बताए । नगरमा भौतिक पूर्वाधारको विकास शिक्षा, स्वास्थ्य, रोजगारको लागि माओवादी केन्द्रलाई स्थानिय तहको निर्वाचनमा जिताउन मतदातासँग आग्रह गरेका छन् । सो अवसरमा बाेल्दै उपमेयर पदकी उम्मेदवार संगिता भट्टराईले पछाडी पारिएका महिलालाई राज्यको निति निर्माण गर्ने स्थानमा माओवादीले पु¥याएको दावी गदै माओवादी केन्द्रलाई अत्याधिक मतले विजयी गराउनु पर्ने बताए । नगरको विकास र आर्थिक समृद्धिको लागी माओवादी केन्द्रलाई भोट दिन आग्रह गरे । रत्ननगर नगरपालिकालाई चितवनकै नमुना नगरपालिका बनाउन माओवादी केन्द्रको जित अपरिहार्य रहेको दावी गरे । कार्यक्रममा वडा नं ११ का वडा अध्यक्षका उम्मेदवार कृष्णप्रसाद देवकोटा,वडा नं १२ का वडा अध्यक्षका उम्मेदवार श्याम बराल, र वडा नं १३ का वडा अध्यक्ष हरि खड्का लगाएतको सहभागिता रहेको प्रचार प्रशार प्रमुख विजय हमालले जानकारी दिए । यता रत्ननगर १ का वडा अध्यक्षका उम्मेदवार गणेश पौडेल, वडा नंं २ नारायणकाजी श्रेष्ठ, वडा नं. ३ का कृष्णप्रसाद अधिकारी, वडा नं. ४ का प्रेम कुमार महतो, वडा नं. ५ का सीताराम श्रेष्ठ, वडा नं. ६ का विक्रम महतो, वडा नं. ७ का बुधराम महतो, वडा नं. ८ का झगरु महतो, वडा नं. ९ का मेघनाथ पौडेल, वडा नं. १० का ज्ञानेन्द्रराज पाण्डे , वडा नं १४ का विष्णु पोखरेल, वडा नं.१६ मा वडा अध्यक्षका उम्मेदवार पुरुषोत्तम लामिछाने लगायत वडा सदस्यका उम्मेदवारहरु, सयौ कार्यकर्ताहरुले घरदैलो तथा मतदाता भेटघाट गरेका थिए । उनीहरुले नेकपा माओवादी केन्द्रलाई जिताउन वडाका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरुसँग भोट मागेका हुन ।

सुन्दर महानगर बनाउने माओवादी केन्द्रको प्रतिबद्धता

काठमाडौँ, वैशाख २५ । ललितपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले प्रचारप्रसारको क्रमलाई तीव्र पारेसँगै आफ्नो प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन् । माओवादीका तर्फबाट नगरप्रमुखका उम्मेदवार दिनेश महर्जनले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा प्रमुख जोड दिने बताउनुभयो । उहाँले ललितपुरका विभिन्न स्थानमा १५ श्ययाको अस्पताल बनाउने र निःशुल्क उपचारको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विपन्न परिवारका बालबालिकालाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने, खानेपानीको समस्या समाधान गर्ने, व्यवस्थित सहरीकरण, सफा र सुन्दर शहर बनाउनेलगायत आफनो योजना रहेको बताउनुभयो । “ललितपुर महानगरलाई पाँच वर्षभित्रमा ठूलो परिवर्तन गर्छौं”, उहाँले भन्नुभयो, “जसको नीति उसकै नेतृत्व भन्ने एजेन्डाका साथ जनतामाझ गएका छौँ,” महर्जनले भन्नुभयो । ललितपुर महानगरभित्र जातीय छुवाछूत, सामाजिक विभेदको अन्त्य गर्ने योजना रहेको भन्दै उहाँले ऐतिहासिक ललितपुर, पाटन तथा अन्य क्षेत्रको एकीकृत विकास गर्ने योजना रहेको बताउनुभयो । भौतिक पूर्वाधार निर्माणमा जोड दिएको माओवादी केन्द्रले पहिलो पटक उपमहानगरबाट महानगरमा प्रवेश गरेको ललितपुरलाई व्यवस्थित बनाउनु नै पहिलो सर्त रहेको महर्जनको भनाइ छ । महानगरभित्र उचित ढल निकासको प्रबन्ध गर्ने, जमिनमुनिको पानीको उचित प्रयोग गर्दै रिचार्ज गर्ने प्रणालीको विकास गर्ने, फोहोरबाट बिजुली ग्यास निकाल्ने र कम्पोस्ट मल कारखाना स्थापना गरी कृषि क्षेत्रको विकासमा जोड दिने महर्जनका योजना छन् । यस्तै ढलको पानी प्रशोधन गरेर मात्रै नदीमा खसाल्ने प्रणालीको विकास गरिने प्रतिबद्धतामा उल्लेख गरिएको छ । ललितपुर महानगरपालिकालाई पूर्णरुपमा स्मार्ट सिटी बनाउने आफ्नो पार्टीको योजना रहेको महर्जनले बताउनुभयो । ललितपुर धुलोमैलोमुक्त, फोहोरमैलामुक्त बनाउने योजना अगाडि सारिएको छ । महानगरमा निःशुल्क वाइफाईको व्यवस्था तथा ज्येष्ठ र गरिबीको रेखामुनि रहेका नागरिकलाई जीविकोपार्जन गर्नसक्ने गरी आजीवन भत्ताको व्यवस्था गरिने महर्जनले जानकारी दिनुभयो । स्वास्थ्य सेवा आम नागरिकलाई सहज एवम् सर्वसुलभ बनाउने, महिला तथा युवालाई स्वरोजगारका लागि अभिप्रेरित गर्ने, निःशुल्क तालिम तथा अन्य सीपमूलक प्रविधि हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । यस्तै उपप्रमुखका उम्मेदवार हसिना शाक्यले अन्य राजनीतिक दलको भन्दा आफ्नो पार्टीको व्यावहारिक र वस्तुनिष्ठ योजना अगाडि सारिएको बताउनुभयो । “हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अगाडि सारेका छौँ । सरकारले अगाडि सारेको उज्यालो नेपालको अभियानलाई थप व्यावहारिक रुपमा अगाडि बढाउनेतर्फ नै हामी केन्द्रित छौँ,” उहाँले भन्नुभयो । अत्यधुनिक सिटी हल निर्माण गर्ने, सबै वडाका मुख्य स्थानलाई वाइफाई जोन बनाउने, युवाका लागि स्वरोजगार कार्यक्रम ल्याउने, सुरक्षाका लागि चोकचोकमा सिसी क्यामरा जडान गर्ने, खोलानाला सफाइ तथा पार्क निर्माण गर्ने, बालबालिका र वृद्धवृद्धाका लागि मनोरञ्जनस्थल निर्माण गर्नेजस्ता योजना माओवादी केन्द्रका उम्मेदवारले अगाडि सारेका छन् । ललितपुर महानगरका लागि कुल १६७ जनप्रतिनिधि चयन हुनेछन् । त्यसका लागि २६० मतदान केन्द्र तोकिएको छ ।

स्थानीय तहको चुनाव अब अन्तिम चरणमा

काठमाडौंँ, वैशाख ३१ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अब अन्तिम चरणमा पुगेको छ । सबै दलहरु चुनाव प्रचारप्रसार गर्न विभिन्न बाजागाजा सहित सर्वसाधारणहरुको घरदैलोमा पुगेका छन् । निर्वाचन हुने विभिन्न क्षेत्रहरुमा सुरक्षाकर्मीहरु खटाइसकेका छन् । सबै चुनावी क्षेत्रहरुमा मतपत्र र मत पेटिकाहरु पठाइने छ । यही बिहीबार २८ गते सबै मतदाताहरुको मतदान परिचयपत्र वितरण गरिने छ । देशको विकासको सपनामा विभिन्न राजनीतिक दलहरुका उम्मेदवारहरु जनताको घरदैलोमा मत माग्दै हिँडेका छन् ।

निर्वाचनमा महिलाको उम्मेदवारी ३९ प्रतिशत

काठमाडौँ, वैशाख २५ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवार ४९ हजार ३३७ जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाअध्यक्ष र सदस्य गरी १९ हजार ३३२ महिला उम्मेदवार रहेका छन् । अध्यक्ष÷प्रमुखमा एक हजार आठ सय ८० उम्मेदवार रहेकामा महिलाको सङ्ख्या १५७ अर्थात् ८.३५ प्रतिशत रहेको छ । उपाध्यक्ष÷उपप्रमुख एक हजार तीन सय ८४ उम्मेदवार रहेकामा एक हजार एक सय २७ आर्थात् ८१.४३ महिला छन् । आयोगका अनुसार, वडाध्यक्षमा ९५.८३ अर्थात् १० हजार २९६ पुरुष र ४४८ अर्थात् ४.१७ महिलाको उम्मेदवारी परेको छ । वडा सदस्य दुई पदमा १७ हजार ७२९ अर्थात् ९४.७१ पुरुष र ५.२९ अर्थात् ९९१ महिला उम्मेदवार रहेका छन् । महिला सदस्यमा नौ हजार ८३ जना र दलित महिला सदस्यमा सात हजार ५२६ जनाको उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने कानुनी व्यवस्था रहेको छ ।

निर्वाचनको प्रचारमा रेखा र कोमल पनि घरदैलो कार्यक्रममा व्यस्त

काठमाडौं, वैशाख २५ । चलचित्र क्षेत्र र गायन क्षेत्रका सेलिब्रेटी रेखा थापा र कोमल वली पनि यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसारमा व्यस्त देखिएको छ । रेखा र कोमल पनि राजनीतिमा करिअर हुर्काउनेतिर तीव्रताका साथ लागिपरेकी छन् । संगीत त जननी हुन्, छोड्ने कुरै भएन । कोमल वली राजनीतिमा लागेपछि जनताको मन बुझ्ने मौका पाएकी छु । कुनै समय फ्यानहरूको भीडबाट नायिका रेखा थापा जोगिएर हिँड्नुपर्ने अवस्था थियो । अचेल उनी विनम्र बोलीका साथ दर्शकहरूकै घरदैलो पुग्ने गरेकी छन् । फिल्मी सम्बन्धका कारण स्टारडम जोगाउन पनि रिजर्भ बस्नुपर्ने अवस्था थियो, राजनीतिमा लागेपछि यस्तो स्वभावमा परिवर्तन नल्याई सुखै भएन । ‘राजनीतिमा लागेपछि जनताको मन बुझ्ने मौका पाएकी छु,’ उनले भनिन् । यसैवर्ष राप्रपाको केन्द्रीय सदस्य भएकी रेखा स्थानीय चुनावको भरपूर सदुपयोग गर्दै घरदैलो पुगेकी छन् । उनी आफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा खटिएको झन्डै दुई साता पुगिसकेको छ । उनले चितवन, मकवानपुर, हेटौंडालगायत स्थानमा जनतासँग प्रत्यक्ष भेटेरै ‘गाई’ चिह्नमा भोट हाल्न आग्रह गरिसकेकी छन् । ‘लामो पर्खाइपछि जनताले स्थानीय निर्वाचनबाट नेतृत्व छान्ने अवसर पाएका छन्, यस्तो महत्त्वपूर्ण समयमा असल नेतृत्व बुझेर मात्रै भोट खसाल्न अनुरोध पनि गर्दै हिँडेकी छु ।’ निर्वाचनमा यति बेला युवा सहभागिता लोभलाग्दो देखिँदै गएको छ । रेखाले पनि आफ्नो पार्टीमा युवा नेतृत्व रहेको दावी गरिन् । ‘मलाई विश्वास गरेर मेरो पार्टीमा भोट हाल्न चाहने शुभेच्छुकहरू थुप्रै देखेकी छु,’ उनले भनिन् । उनले निवार्चनपछि पार्टीले घोषणा गरे अनुरुप काम गरेन भने आफैले खबरदारी गर्ने समेत बताइन् । अबको समयमा युवालाई मौका दिनुपर्छ भन्ने उनको मान्यता छ । राप्रपाकै केन्द्रिय सदस्य रहेकी गायिका कोमल वली पनि स्थानिय निर्वाचनमा सक्रिय छिन् । नयाँ वर्षको उपलक्ष्यमा देशविदेशबाट सांगीतिक कार्यक्रम गर्न आएको निम्तो यत्तिकै थाती राखेर उनी चुनावी प्रचारप्रसारमा खटिएकी छन् । ‘नेताका लागि जनतासमक्ष प्रत्यक्ष भेटघाट गर्ने अवसर यति बेलै हो,’ उनले भनिन्, ‘यही महत्त्व बुझेर बाहिरका सांगीतिक कार्यक्रमहरू अहिलेलाई छाडेकी छु ।’ चुनाव प्रचारप्रसारको बेला राजनीतिक भाषण गरिरहँदा दर्शकश्रोताले ‘अब गीत नगाउने ?’ भन्दै गरेको चिन्ता सुन्दा उनलाई अचम्म लाग्छ रे । ‘संगीत मेरो जन्मआमा हो र राजनीति सन्तान भन्ने गरेकी छु,’ उनले भनिन्, ‘राजनीतिमा करिअर हुर्काउँदै छु, संगीत त जननी हुन्, छोड्ने कुरै भएन ।’ पार्टीको चुनाव प्रचारप्रसारमा उनी बर्दिया, टीकापुर, कञ्चनपुर, तुलसीपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा पुगिसकेकी छन् । ललितपुर निवासी उनी आफ्नै क्षेत्रमा पनि उत्तिकै खटिरहेकी छन् ।

दैलेखका नगरपालिका हाँक्ने नेपाल कांग्रेसका नगर प्रमुख-उपप्रमुखहरु

ललितपुर, वैशाख २५ । नेपाली कांग्रेसले दैलेख जिल्लाका नगरपालिका हाँक्न पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारहरुको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । नारायण नगरपालिका मणिराम रेग्मी, नगरप्रमुखका उम्मेदवार दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसले मणिराम रेग्मीलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । २०३६ सालको जनमत संग्रहदेखि राजनीतिमा संलग्न रहदै आउनुभएका रेग्मी २०४५ सालको जनआन्दोलनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा बस्नु भएको थियो । २०५४ को स्थानीय निर्वाचनमा पनि नगरप्रमुखको उम्मेद्वार बन्नुभएका रेग्मीलाई आमाको किरिया बसेको बेलामा २०५७ सालमा माओवादी कार्यकर्ताहरुले अपहरण गरेर चरम शारीरिक र मानसिक यातना दिइ एक महिनापछि छोडेको थियो । पार्टीको अञ्चल समन्वय समिति सदस्यको जिम्मेवारी समेत सम्हालि सक्नुभएका लामो समय पार्टीको जिल्ला सचिव पनि रहनुभएको थियो । उहाँ २०५१ सालदेखि हालसम्म पार्टीको महासमिति सदस्य रहदै आउनुभएको छ । बासना थापा, उपप्रमुख उम्मेदवार नेपाली कांग्रेसले नारायण नगरपालिकामा महिला नेतृ बासना थापालाई उप–प्रमुखको उम्मेदवार बनाएको छ । उहाँ सक्रिय युवा रजनीतिकर्मी हुनुहुन्छ । २०६९ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर सक्रिय राजनीतिमा प्रवेश गर्नुभएकी थापाले नारायण क्यापस दैलेखको स्ववियु सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालि सक्नुभएको छ । उहाँ हाल पार्टीको महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ । लायन्स क्लव, उद्योग वागिज्य संघ र नारी उत्थानका क्षेत्रमा विभिन्न संघ ÷संस्थामा रहेर सामाजिक क्षेत्रमा सक्रिय रहनुभएकी थापा जिल्ला अस्पताल विकास समितिको अध्यक्ष समेत रहनुभएको छ । दुल्लु नगरपालिका घनश्याम भण्डारी , नगरप्रमुख उम्मेद्वार नेपाली कांग्रेसले दैलेखको दुल्लु नगरपालिकामा घनश्याम भण्डारीलाई नगरप्रमुखको उम्मेद्वार बनाएको छ । उच्च माध्यमिक तहमा अध्ययनरत रहदा २०५४ सालमा नेपाल विद्यार्थी संघको इकाई समितिबाट राजनीति सुरु गर्नु भएका भण्डारी २०५९ मा काठमाडौंका रत्नराज्यलक्ष्मी क्याम्पसको इकाइ सचिव बन्नुभएको थियो । २०६१ मा प्रेस युनियनको दैलेख जिल्ला सभापतिको समेत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका भण्डारी २०६२÷६३ को आन्दोलनमा जिल्लामा सक्रियतापूर्वक सहभागी हुनुुभएको थियो । हाल नेपाली कांग्रेस दैलेख क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहनु भएका भण्डारी शहीद परिवारका सदस्य पनि हुनुहुन्छ । उहाँका बुबा पूर्णबहादुर भण्डारीलाई माओवादी कार्यकर्ताहरुले २०५९ मा विभत्स तरिकाले हत्या गरेका थिए । कृष्णाकुमारी शाही, उपप्रमुख उम्मेद्वार नेपाली कांग्रेसले दुल्लु नगरपालिकामा महिला नेतृ कृष्णाकुमारी शाहीलाई उप–प्रमुखको रुपमा अघि सारेको छ । २०५१ सालमा कांग्रेसको क्रियाशील सदस्य लिनुभएकी शाही यस अघि महिला संघको केन्द्रीय प्रतिनिधि र पार्टीको क्षेत्रीय प्रतिनिधि हुनुहुन्थ्यो । तात्कालिन मालिका गाउँ इकाई सभापतिको जिम्मेवारीमा रहनु भएकी उहाँ जिल्लाकै एक मात्र महिला सभापति हुनुहुन्थ्यो । हाल उहाँ नगर सहसभापति हुनहुन्छ । शाहीका बुबा २००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा पनि हुनुहुन्थ्यो । चामुण्डा विन्द्रासैनी गणेशकुमार शाही, नगरप्रमुख उम्मेद्वार नेपाली कांग्रेसले दैलेखको चामुण्डा बिन्द्रशसैनी नगरपालिकामा गणेशकुमार शाहीलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । नेपाल विद्यार्थी संघ उच्च मावि इकाई सभापति हुदै जिल्ला उपसभापतिको जिम्मवारी सम्हालिसक्नु भएका शाही हाल तरुण दलको केन्द्रीय प्रतिनिधि र पार्टीको जिल्ला सदस्य हुनुहुन्छ । समाजशास्त्र र राजनीतिशास्त्रमा त्रिभूवन विश्वविद्यालयबाट स्नाकोत्तर गर्नु भएका शाही जिल्लाका दर्जनौं संघ संस्थामा आबद्ध रही सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय रहदै आउनुभएको छ । इन्द्राकुमारी शाही, उपप्रमुख उम्मेद्वार नेपाली कांग्रेसले दैलेखको चामुण्डा विन्द्राशैनी नगरपालिकामा इन्द्राकुमारी शाहीलाई उप–मेयरको उम्मेदवमर बनाएको छ । उहाँले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गुर्न भएको हो । पद्म कन्या क्याम्पसमा अध्ययनरत रहदा ने वि संघको राजनीतिमा सक्रिय रहनुभएकी शाही सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । आठबीस नगरपालिका प्रेमप्रकाश शाही, नगरप्रमुख उम्मेदवार दैलेखको अठबीस नगरपालिकामा नेपाली कांग्रेसले प्रेमप्रकाश शाहीलाई नगरप्रमुखको रुपमा अघि सारेको छ । २०४६ सालदेखि नेपाली कांगे्रसको राजनीतिमा संलग्न रहदै आउनुभएका शाही २०६२÷०६३ को आन्दोलनमा घाइते हुनुका साथै ११ दिन काठमाडौंको हिरासतमा बस्नु भएको थियो । आन्दोलनकै क्रममा १३ दिन दैलेखको प्रहरी हिरासतमा पर्नुभएका प्रेमप्रकाशले नेवि संघको मावि इकाई समितिबाट राजनीति यात्रा सुरु गर्नु भएको थियो । नेवि संघको कालिकोट र दैलेखको जिल्ला सभापति भैसक्नु भएका शाहीले नेवि संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालि सक्नुभएको छ । उहाँले पार्टीको जिल्ला सहसचिव र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालि सक्नुभएको छ । दीपा बोहोरा माझी, उपप्रमुख उम्मेदवार नेपाली कांग्रेसले दैलेखको आठवीस नगरपालिकामा नगर उपप्रमुखको उम्मेदवारमा दीपा बोहोरा माझीलाई अघि सारेको छ । उहाँ २०५६ सालदेखि नेपाली कांगे्रसको राजनीतिमा सक्रिय हुनुभएको हो । वीरेन्द्र विद्यामन्दिर टीकापुर कैलाली र सुर्खेत क्याम्पस इकाइ सभापतिको जिम्मेवारी सम्हालि सक्नुभएकी दीपाले ट्रेड युनियन कांग्रेसको महिला उपाध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । पार्टीको महधिवेशन प्रतिनिधि पनि भैसक्नुभएकी दीपा २०६२-०६३ को आन्दोलनमा कर्णालीबाट सहभागी हुनु भएको थियो । हाल नेपाल महिला संघको केन्द्रीय सदस्य रहनुभएकी दीपा समाजशास्त्रकी स्नातकोत्तर हुनुहुन्छ ।

एमालेको चुनावी सभा

पोखरा, वैशाख २५ । नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिका विभिन्न वडामा आइतबार चुनावी सभा सम्पन्न भएको छ । एमालेले पोखराको वडा नं.२५, वडा नं.१९, वडा नं.१६ र वडा नं.१ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । उम्मेदवारहरु वडा पुग्दा स्थानिय बासिन्दाले फुलमाला र अविर लगाएर भव्य स्वागत गदै एमालेलाई मतदान गर्ने बताएका थिए । पोखरा २५ को हेमजामा आयोजित चुनावी सभामा बोल्दै एमालेबाट पोखरा लेखनाथ महानगरपालिकाका उपमेयरका उम्मेदवार मानबहादुर जिसीले एमालेले सार्वजनीक गरेको घोषणापत्रलाई पूर्णरुपमा कार्यान्वयन गदै जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘नेकपा एमालेका उम्मेदवारले जिते जनताको सेवक भएर काम गर्ने छौ, तर अरुले जिते शासक बन्नेछन्, त्यसैले जनताको सेवामा समर्पित हुने उम्मेदवार छान्न आग्रह गर्दछु ।’ उनले पोखरालाई सुविधा सम्पन्न, प्रविधि र सेवाग्राहीमैत्री महानगर बनाउने बताए । पोखराका बासिन्दालाई स्वच्छ पिउनेपानी,सवै सडकलाई ब्यवस्थित र कालोपत्रे गदै विकासको गति दिने बताए । उपमेयरका उम्मेदवार मञ्जु गुरुङले पोखराको समग्र विकासको गुरुयोजना निर्माण गरेर चुनावी घोषणापत्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले पोखरालाई महिला हिंसामुक्त शहर, बालमैत्री शहर निर्माण गदै बेरोजगार युवायूवतीलाई स्वरोजगार बनाउने बताइन् । ‘म आमा, छोरी र दिदी भएका कारण महिला हिंसा, बालमैत्री र बाहिनीहरुलाई स्वरोजगार बनाउन सिपमुलक कार्यक्रम संचालन गर्ने छु ।’ कार्यक्रममा अखण्ड पार्टी छाडेर एमाले फर्किएकी पुष्पा केसी भण्डारीले देशको स्वाभिमानका रक्षाका लागी एमालेनै उपयूक्त पार्टी भएको बताइन् । जातीय राजनीतिका विरुद्ध स्थापना भएको पार्टीलाई पद र ब्यक्तिको स्वाथका लागी प्रयोग गरेका कारण छाडेर एमालेमा फर्किएको उनले बताइन् । त्यस्तै एमालेले पोखरा १६ लामाचौरमा पनि आम सभा सम्पन्न गर्यो । आम सभामा मेयरका उम्मेदवार मानबहादुर जिसीले सिंहदरबारको अधिकार वडा र गाँउगाँउमा आएको बताउदै अव जनतालाई घरबाटै सेवा प्रहाव गर्ने ब्यवस्था मिलाइने बताए । उपमेयरका उम्मेदवार मञ्जु गुरुङले जनताको पक्षमा काम गर्ने बताइन् । त्यस्तै पोखराको वडा नम्वर १ मा पनि एमालेले सभा गरेको छ । सभालाई सम्वोधन गदै एमाले नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले एमालेले जितमात्रै पोखराको मुहार फेरिने बताए । नेपाली काँग्रेस र माओबादी केन्द्रले देशलाई जातीयताका नाममा बिखण्डन गर्ने तर्फ केन्द्रीत भएकाले देशको विकास र समृद्धिका लागी एमालेको विकल्प नभएको बताए । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले आफनो उम्मेदवारले गरेको प्रतिबद्धतालाई निवाचनपछि कार्यान्वयन गर्ने जिम्मा आफनो र पार्टीको भएको बताउदै पार्टी र जनता विरुद्ध काम गर्नेहरुलाई तत्काल पार्टीबाट निष्कासन गर्ने चेतावनी दिए । सबै सभामा एमाले नेताहरु एमाले स्थायी कमिटि सदस्य सोमनाथ अधिकारी (प्यासी), सांसदद्धय रविन्द्र अधिकारी सीता , सल्लाहाकार परिषद्का उपाध्यक्ष खगराज अधिकारी, प्रदेश नम्वर चारका सचिव जगत विश्वकर्मा, सदस्य श्रीनाथ बराललगायते एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए । सभामा कलाकार प्रजापती पराजुली, श्रीराम अधिकारी, तारापती सुवेदी लगायतले गीत मार्फत एमालेर्लाइ मतदान गर्न आग्रह गरेका थिए । सोही अवसरमा विभिन्न पार्टीी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुर्लाइ माला र अविर लगाएर नेताहरुले पार्टी प्रवेश गराएका थिए ।