निर्वाचनको प्रचारमा रेखा र कोमल पनि घरदैलो कार्यक्रममा व्यस्त

निर्वाचनको प्रचारमा रेखा र कोमल पनि घरदैलो कार्यक्रममा व्यस्त

काठमाडौं, वैशाख २५ । चलचित्र क्षेत्र र गायन क्षेत्रका सेलिब्रेटी रेखा थापा र कोमल वली पनि यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसारमा व्यस्त देखिएको छ ।

रेखा र कोमल पनि राजनीतिमा करिअर हुर्काउनेतिर तीव्रताका साथ लागिपरेकी छन् । संगीत त जननी हुन्, छोड्ने कुरै भएन । कोमल वली राजनीतिमा लागेपछि जनताको मन बुझ्ने मौका पाएकी छु ।

कुनै समय फ्यानहरूको भीडबाट नायिका रेखा थापा जोगिएर हिँड्नुपर्ने अवस्था थियो । अचेल उनी विनम्र बोलीका साथ दर्शकहरूकै घरदैलो पुग्ने गरेकी छन् । फिल्मी सम्बन्धका कारण स्टारडम जोगाउन पनि रिजर्भ बस्नुपर्ने अवस्था थियो, राजनीतिमा लागेपछि यस्तो स्वभावमा परिवर्तन नल्याई सुखै भएन ।

‘राजनीतिमा लागेपछि जनताको मन बुझ्ने मौका पाएकी छु,’ उनले भनिन् । यसैवर्ष राप्रपाको केन्द्रीय सदस्य भएकी रेखा स्थानीय चुनावको भरपूर सदुपयोग गर्दै घरदैलो पुगेकी छन् । उनी आफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा खटिएको झन्डै दुई साता पुगिसकेको छ ।

उनले चितवन, मकवानपुर, हेटौंडालगायत स्थानमा जनतासँग प्रत्यक्ष भेटेरै ‘गाई’ चिह्नमा भोट हाल्न आग्रह गरिसकेकी छन् । ‘लामो पर्खाइपछि जनताले स्थानीय निर्वाचनबाट नेतृत्व छान्ने अवसर पाएका छन्, यस्तो महत्त्वपूर्ण समयमा असल नेतृत्व बुझेर मात्रै भोट खसाल्न अनुरोध पनि गर्दै हिँडेकी छु ।’ निर्वाचनमा यति बेला युवा सहभागिता लोभलाग्दो देखिँदै गएको छ ।

रेखाले पनि आफ्नो पार्टीमा युवा नेतृत्व रहेको दावी गरिन् । ‘मलाई विश्वास गरेर मेरो पार्टीमा भोट हाल्न चाहने शुभेच्छुकहरू थुप्रै देखेकी छु,’ उनले भनिन् । उनले निवार्चनपछि पार्टीले घोषणा गरे अनुरुप काम गरेन भने आफैले खबरदारी गर्ने समेत बताइन् । अबको समयमा युवालाई मौका दिनुपर्छ भन्ने उनको मान्यता छ ।

राप्रपाकै केन्द्रिय सदस्य रहेकी गायिका कोमल वली पनि स्थानिय निर्वाचनमा सक्रिय छिन् । नयाँ वर्षको उपलक्ष्यमा देशविदेशबाट सांगीतिक कार्यक्रम गर्न आएको निम्तो यत्तिकै थाती राखेर उनी चुनावी प्रचारप्रसारमा खटिएकी छन् । ‘नेताका लागि जनतासमक्ष प्रत्यक्ष भेटघाट गर्ने अवसर यति बेलै हो,’ उनले भनिन्, ‘यही महत्त्व बुझेर बाहिरका सांगीतिक कार्यक्रमहरू अहिलेलाई छाडेकी छु ।’

चुनाव प्रचारप्रसारको बेला राजनीतिक भाषण गरिरहँदा दर्शकश्रोताले ‘अब गीत नगाउने ?’ भन्दै गरेको चिन्ता सुन्दा उनलाई अचम्म लाग्छ रे । ‘संगीत मेरो जन्मआमा हो र राजनीति सन्तान भन्ने गरेकी छु,’ उनले भनिन्, ‘राजनीतिमा करिअर हुर्काउँदै छु, संगीत त जननी हुन्, छोड्ने कुरै भएन ।’

पार्टीको चुनाव प्रचारप्रसारमा उनी बर्दिया, टीकापुर, कञ्चनपुर, तुलसीपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा पुगिसकेकी छन् । ललितपुर निवासी उनी आफ्नै क्षेत्रमा पनि उत्तिकै खटिरहेकी छन् ।

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

लोकप्रिय