कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् ।

मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । 

४० सदस्यीय प्रदेशसभामा काँग्रेसका तीन जना सांसद अनुपस्थित देखिए । एक जना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए। सभामुखसहित ३८ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे । 

एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् । काँग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्‌मा उपस्थित भएनन् ।

उनी चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्ः लेखक रिजाल

सुर्खेत।लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रुपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातीले बचाईदिएको बताए। यदि यहाँका दलित समुदायले आफ्नो संस्कृति छोडेको खण्डमा कर्णालीको संस्कृति पनि हराउने उनले बताए। ‘कुनैबेला गाउँमा साँझपख सबै परिवार जोडिएर बस्ने अनि बुबाआमाहरुले कथाहरु सुनाउने चलन थियो, यसले पछिल्लो पुस्तालाई ज्ञान बाँड्ने काम गथ्र्यो,’ उनले भने, ‘तर अहिले सामाजिक सञ्जालमा मानिसको ध्यान छ, सांस्कृतिक रुपमा हामीले धेरै राम्रा कुराहरु छोड्दै गएका छौँ।’रिजालले ‘रुँदै बग्दोछ मुगु कर्णाली’, ‘हटारु’ जस्ता कर्णालीका विषय समेटिएका पुस्तक लेखेका छन्। ‘म विगतदेखि नै कर्णाली पढीरहेको छु, लेखिरहेको पनि छु,’ रिजालले भने, ‘कर्णालीका लोकगाथाहरु अध्ययन गरिरहेको छु, अब दैलेखको देउलीगढ राज्य र मोरङको एक राज्यबिच भएको लडाइँको बारेमा लेखिरहेको छु।’ उनले पछिल्लो समय पठन संस्कृति नै कमजोर भएको बताए। त्यसमा पनि संस्कृतिसम्बन्धि आलेखहरु पढ्ने पाठकको संख्या कम रहेको उनको अनुभव छ। सत्रका वक्ता अर्का लेखक बुद्धिसागरले लेखनलाई गहिरो ढंगबाट हेरिनुपर्ने बताए।उक्त सत्रमा लेखक रमेश क्षितिज र बसन्ती शाही पनि वक्ताका रप्मा थिए।

'कर्णाली साँच्चिकै दुर्गम रहेछ’

सुर्खेत।नेपाली भाषामा विद्यावारिधी गरेका माइकल हर्ट यतिबेला नेपालकै दलित समुदायबारे अध्ययन गरिरहेका छन्। त्यसभित्र पनि उनले दलित साहित्यलाई महत्वका साथ आफ्नो अध्ययनभित्र राखेका छन्। उनले दलितका अनुभव, प्रतिरोध, उत्पीडन जस्ता विषयलाई पनि आफ्नो अध्ययनमा समावेश गर्न खोजेका छन्। अध्ययनका क्रममा आफूले दलितहरुको अनुभव, प्रतिरोध, उत्पीडनलाई साहित्यका दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण लागेको माइकलले बताए।‘म अहिले दलित समुदायबाट आएका मान्छेहरुले लेखेको साहित्यको विषयमा अध्ययन गरिरहेको छु, खासगरी पहाडी दलित समुदायबाट आएका लेखकहरुले लेखेका पुस्तकहरुको विषयमा बुझ्दै छु,’ सुर्खेतमा आयोजित कर्णाली लिट्रेचर फेस्टिभलको ‘भाषा, साहित्य र शिक्षा’ सत्रका वक्ता रहेका माइकलले भने, ‘दलितको अनुभव, प्रतिरोध, उत्पीडनका विषयहरु स–साना छन्, तर तिनलाई साहित्य र राजनीतिक  दृष्टिकोणबाट हेर्दा निकै महत्वपूर्ण छन्,’ उनले आफूले अध्ययन गरेको दलित साहित्यका विषयमा पुस्तक लेख्ने योजना बनाएका छन्।उनले आफू अध्ययनका क्रममा कर्णाली आउँदा निकै दुर्गम भएको अनुभव गरेको बताए। ‘म नेपाली भाषाको इतिहासका बारेमा बुझ्दै थिएँ, जुम्लाको बारेमा बुझ्दै थिएँ,’ उनले भने, ‘सुरुमै पश्चिमतिर आउन सकिएन, काठमाडौं वरिपरी बसेर काम गरेको मैंले कर्णाली आउँदा थाहा पाएँ, कर्णाली त साँच्चिकै दुर्गम रहेछ।’ उनले नेपालको साहित्य राजधानीको वरिपरी मात्र सिमित रहेको आफूले पाएको बताए। यसलाई सबैतिर विस्तार गर्नुपर्नेमा माइकलले जोड दिए। उनले नेपालमा अध्ययनका क्रममा पाँच सय भन्दा धेरै पुस्तक आफूले पढिसकेको बताए।माइकलले कर्णाली ब्लुजको अंग्रेजीमा अनुवाद पनि गरेका छन्। मुनामदन पनि उनले अनुवाद गरेका छन्। ‘मैले नेपाली पुस्तक अनुवाद गर्दा कर्णाली टेकेको पनि थिएन, पछि मात्र टेक्न पाएँ,’ उनले भने।माइकलले तत्कालिन माओवादी छापामारहरुले लेखेको पुस्तकहरुको संस्मरण पनि बनाएका छन्। त्यसक्रममा माओवादी विद्रोहमा हुँदा उनीहरुले घरपरिवार छाडेर किन युद्धमा होमिएका थिए भन्ने आफूले थाहा पाएको माइकलले बताए।

भण्डारीको नेतृत्वमा सिंजा सभ्यता संरक्षणको लागि पहल समिति गठन

काठमाडौँ । ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारितको लागि पहल समिति’ गठन गरिएको छ । विहीबार संवाद डबलीमा सम्पन्न भेलाले नरेश भण्डारीको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा बल बहादुर महत रहेका छन् । समितिमा भिमनिधी हमाल, हरि रावललगायत विभिन्न पेशा तथा क्षेत्रका व्यक्ति रहेका छन् । त्यस्तै, सल्लाहकार र एक्येवद्धता समिति पनि गठन गरेका गरिएको छ । समितिले प्रधानमन्त्री प्रचण्डलगायत विभिन्न राजनीतिक पार्टीका नेताहरुसँग भेटेर विधेयक पारितको लागि पहल गर्ने समितिले निर्णय गरेको छ । सल्लाहकार समिति र एक्येवद्धता समितिको बैठक बसेर थप पहलका कार्यक्रम अगाडि बढाउने संयोजक भण्डारीले बताए ।संयोजक भण्डारीकै पहलमा बनेको विधेयक अहिले संसदीय समितिमा विचाराधिन अवस्थामा रहेको छ ।

डोल्पाको डढेलोमा १ बालकको मृत्यु, २ जनालाई हेलिकप्टरमा काठमाडौँ ल्याइँदै

काठमाडौं ।डोल्पाको त्रिपुरासुन्दरीमा डढेलोमा परेर घाइते भएका एक जना बालकको उपचारको क्रममा निधन भएको छ।  त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको हो। बिहीबार दिउँसो वनमा लागेको डढेलोमा परेर स्थानीय तीनजना बालबालिका गम्भीर घाइते भएका थिए।  घाइतेमध्ये १० वर्षीय सुलस बुढाको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। जिल्ला अस्पताल डोल्पामा उपचारकै क्रममा सुलभको मृत्यु भएको हो। गम्भीर घाइते दुई बालबालिकालाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । गाउँ नजिक रहेको वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका  बेला बालबालिका डढेलोमा परेका हुन्। उनीहरूलाई उद्धार गरेर साँझ जिल्ला अस्पताल लगिएको थियो। हरसम्भव प्रयास गर्दा पनि घाइते बालकलाई बचाउन नसकिएको डाक्टर अखण्ड उपाध्यायले बताए।  त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए।  गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो। रासस

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।उनलाई सत्ता गठबन्धनको समर्थन छ ।

डढेलो निभाउन जाँदा ३ जना नेपाली सैनिकको निधन

काठमाडौँ । डढेलो निभाउन जाँदा ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो ।  डडेलोले टिप्दा घाइते भएका ४ जना सैनिकमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक जनाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको छ भने थप २ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।  देशका विभिन्न स्थानहरूमा भइरहेका आगलागी नियन्त्रणका निमित्त करिब ८ सय स्थानमा १२ हजार ५ सय जना सकलदर्जा परिचालित भएको जनाइएको छ ।  

कर्णालीको मुख्यमन्त्रीमा गठबन्धनका यामलाल कँडेलले दाबी पेश गर्दै

काठमाडौँ । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद मंगलबार सकिँदै छ । सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् ।  तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।  पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ। एमाले संसदीय दलका नेता कँडेलले माओवादी केन्द्रको समर्थनमा सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।  ४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन् ।  त्यसैगरी नेपाली काँग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १र१ जना सांसद रहेका छन् । 

डोल्पामा डढेलो नियन्त्रणका क्रममा घाइते सैनिक जवानको निधन

काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मस्टाभवानी सामुदायिक वनको लागेको डढेलो नियन्त्रणका क्रममा घाइते भएका नेपाली सेनाका एक जवानको निधन भएको छ । जिल्ला अस्पताल दुनैमा उपचारका क्रममा सैनिक जवान २८ वर्षीय हेमन्त रावलको निधन भएको हो । अर्का घाइते ३८ वर्षीय केशर मगरको अवस्था गम्भीर छ । उनीहरूलाई आजै हेलिकप्टरबाट सुर्खेत ल्याउने तयारी गरिएको थियो । तर, रात परेपछि हेलिकप्टर अवतरण नसक्दा सो सम्भव हुन सकेन । आइतबार दिउँसोदेखि वनमा लागेको डढेलो हुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । नियन्त्रणमा लागि नेपाली सेनाको टोली खटिएको थियो ।

कर्णालिमा नयाँ सरकार गठन गर्न आह्वान

सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । परियारले बुधवार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन्।  बुधवार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरे ।  दाबी पेस गर्ने समय चैत्र २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्।    यस्तै,मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका राजकुमार शर्मालाई कामचलाउ सरकारको जिम्मेवारी दिएको छ । प्रमुख परियारलाई शर्माले राजीनामा बुझाए लगत्तै अर्को मन्त्रीपरिषद् गठन नहुनेञ्जलसम्म मौजुदा मन्त्री परिषदबाटै कार्य सञ्चालनका लागि जिम्मेवारी तोकेका छन् । 

कर्णालीका मुख्यमन्त्रीद्धारा राजीनामा घोषणा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । अहिले वीरेन्द्रनगरस्थित प्रदेशसभा भवनमा जारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका हुन् । यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको भएपनि सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।  राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए । शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने कारबाही अघि नबढ्ने सभामुख नन्दा गुरुले जानकारी दिइन् । यससँगै प्रदेशसभाको बैठक चैत २५ गतेसम्म स्थगित भएको छ ।

विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।  शर्माले यसअघि मंगलबार विश्वासको मत लिन लागेका थिए । तर केन्द्रको सहमति अनुसार मुख्यमन्त्री एमालेलाई दिनुपर्ने भएपछि गठबन्धनको प्रमुख घटक एमाले र माओवादी केन्द्रका नेताहरुबीच छलफल भएको थियो । विश्वासको मत लिने पत्र प्रदेशसभामा दर्ता भैसकेकाले विश्वासको मत लिएर एमालेलाई सत्ता हस्तान्तरण गर्ने गरी शर्माले आज विश्वासको मत लिन लागेका हुन् । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ सदस्य छन् ।  चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् । लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिन लागेका छन् ।

केन्द्रको सहमतिविपरीत कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेपछि...

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन्। कर्णाली प्रदेश सभाको बैठक मंगलबार दिउँसो तीन बजे बस्दैछ।सोमबार बिहान बालुवाटारमा तीन दल नेकपा (एमाले), माओवादी केन्द्र, (एकीकृत समाजवादी)का अध्यक्षसहितको छलफलपछि बागमतीमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई विश्वासको मत दिने र कर्णालीको मुख्यमन्त्री एमालेले लिने समझदारी भएको थियो। मुख्यमन्त्री शर्र्मा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल निवासमा पुगेर केन्द्रको सर्कुलर र विश्वासको मतबारे छलफल गरेका थिए । सो छलफलमा केन्द्रको सहमति कार्यान्वयन गरेर जानुपर्नेमा नेता कँडेलले जोड दिनुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले कर्णालीमा पार्टी इन्चार्ज कालिबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत लिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए।पार्टीको निर्देशनविपरित मत लिन लागेपछि प्रधानमन्त्री प्रचण्डले केन्द्रमा भएको सहमति अनुसार प्रदेशको सरकार गठनको बाटो निर्माण गर्ने वातावरण बनाउन माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन्। वीरेन्द्रनगर–७, इत्राममा रहेको मुख्यमन्त्री निवासमा नेता शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसी र मुख्यमन्त्री शर्मा सहितका नेताहरू छलफलमा जुटेका छन् ।शाहीले मुख्यमन्त्री शर्मालाई केन्द्रीय निर्णय अनुसार राजीनामा दिएर एमालेलाई सहयोग गर्ने विषयमा छलफल गरिरहेका छन् ।

एमाले सुर्खेतको अधिवेशन आजदेखि

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आज देखि सुरू हुँदैछ। बिहीबार बिहान ११ बजे वीरेन्द्रनगरमा जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने एमालेका नेता मोहन बडुवालले जानकारी दिए। बुधवार बसेको जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ । अधिवेशनको सबै तयारी पूरा भएको र अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने बडुवालले जानकारी दिए ।  अधिवेशनअन्तर्गत् बिहिबार नै राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश गर्ने तालिका रहेको छ। यस्तै बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुनेछ । शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने र सहमति नभए निर्वाचनबाटै आइतबारसम्म जिल्लाको नयाँ कमिटी घोषणा गरिसक्ने तयारी छ ।

जलेर घाइते बाबु–छोरीको उपचारका क्रममा मृत्यु

सुर्खेत । कालीकोटमा आगोमा जलेर घाइते भएका बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारकै क्रममा मृत्यु भएको हो । चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परेर बाबुछोरी घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत लगिएको थियो । तर उपचारकै क्रममा सोमबार दिउँसो छोरीको र बुधबार बेलुका बुवाको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए ।

वीरेन्द्रनगरको हङकङ बजारमा डोजर चलेपछि व्यवसायीले गरे ढुंगामुढा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका स्थानीय हङकङबजारमा आज डोजर चलाएको छ । नगरपालिकाले सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाएको हो ।  नगरपालिकाको डोजर आइसकेपछि केही व्यापारीले सामान उठाउन थाले पनि केही व्यापारी भने प्रतिकारमा उत्रिएका छन् । व्यापारीले ढुङ्गा मुढा हानेपछि नगरपालिकाको डोजरको सिसा फुटेको छ । झडपको स्थिति सृजना भएपछि नगरपालिकाको डोजर पछि हटेको छ । सो क्रममा एक कर्मचारीले घाइते भएका छन् ।  माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो  आन्दोलनमा उत्रिएका थिए । यो क्षेत्रमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन्।