एमाले तनहुँमा कँडेल निर्वाचित

तनहुँ । नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ ल्याउँदा सिग्देलले २ सय ४ मत पाएका थिए। जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट हुन् । त्यसबाहेक अन्य पदाधिकारीमा पनि अधिकारी समूहले पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहलाई पराजित गरेको छ।

जिल्लाका केन्द्रीयस्तरका नेताहरु किरण गुरुङ, टुकराज सिग्देल, भगवती न्यौपानेले खगराजकै समूहलाई समर्थन गरेका थिए । उपाध्यक्षमा खगराज समूहका राजेश्वर ढकालले २ सय ७९ मत पाएर विजयी भए भने पृथ्वीसुब्बा समूहका श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे ।

सचिवमा प्रदीपराज अधिकारी विजयी हुँदा अनिल पाण्डे पराजित भए । खुल्ला उपसचिवमा आरके पोखरेललाई हराउँदै खिमबहादुर कुमाल विजयी भए । त्यस्तै, महिला उपसचिवमा सुनिता नेपाली विजयी हुँदा बसुन्धरा घर्ती पराजित भइन् । विजयी सबै अधिकारी प्यानलकै हुन् । ५ सय ८५ प्रतिनिधि रहेको अधिवेशनमा ५ सय ६० मत खसेको थियो ।

गण्डकीमा एमालेका २ मन्त्री थप

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गरेका छन्। विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन्। मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थपेका हुन्। अधिकारीले यसअघि आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्‍याएका छन् । कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका हुन्। गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन्।

गण्डकीमा थपिँदै दुई मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफ्नो दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । स्रोतका अनुसार, थपिएका मन्त्रीलाई शपथ खुवाउने तयारी रहेको छ ।

विश्वासको मत लिन बोलाइएको गण्डकीको बैठक आधा घण्टा स्थगित

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।आज मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । सो प्रयोजनका लागि बोलाइएको बैठक  आधा घण्टाका लागि स्थगित भएको हो। मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि माओवादी, कांग्रेस र राप्रपाका नेताहरूले धारणा राखेका छन् ।त्यसपछि सभामुख कृष्ण धितालले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । आधा घण्टापछि अधिकारीले विश्वासको मत लिने छन् ।

कोरोला–त्रिवेणी सडक कालोपत्र गरिँदै

दमौली । गण्डकी प्रदेशको गौरव मानिएको कोरोला– त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिका डेढगाउँसम्मको खण्डमा कालोपत्रको तयारी पूरा भएको छ ।    सडक कालोपत्रको ठेक्का पाएको सपना निर्माण सेवाले घिरिङको मानपुरदेखि फुलासम्मको सात किलोमिटरमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ भने फूलादेखि डेढगाउँसम्मको चार किलोमिटरमा पनि कालोपत्र गर्न धमाधम ‘बेस’ तयार भइरहेको पूर्वाधार विकास कार्यालय जनाएको छ । उक्त खण्डमा पानीको निकासका निम्ति नालासँगै पर्खाल निर्माण पनि पूरा भएको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा उक्त मार्गको स्तरोन्नति थालिएको हो ।  नवलपुरतर्फ बौदीकाली झ्यालबास १४ दशमलव १ किलोमिटर कालोपत्र गर्न सडक स्तरोन्नति भइरहेको छ । दोस्रो चरणमा थप सात किलोमिटर कालोपत्र गर्न बहुवर्षीय ठेक्का प्रक्रिया पनि प्रारम्भ भएको उक्त कार्यालयले जनाएको छ । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर खण्ड निर्माण भइसकेको छ ।

मौसममा सुधार आएपछि पोखरामा नियमित उडान

पोखरा । मौसममा सुधार आएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित हुन थालेको छ । डढेलोको धुवाँ, धूलो मिसिएको तुँवालोका कारण शुक्रबारदेखि पोखरा विमानस्थलमा उडान हुन सकेको थिएन् । विमानस्थल प्रशासनका अनुसार बिहीबार बिहानैदेखि पोखरामा रहेका दुवै विमानस्थल सञ्चालनमा आएका छन् । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पुरानो आन्तरिक विमानस्थलबाट तीन किलोमिटर दूरीमा सञ्चालित छ । पुरानो आन्तरिक विमानस्थलबाट हिमाली जिल्ला मुस्ताङ र मनाङमा उडान हुन्छन् । त्यहीबाट पर्यटकीय अल्ट्रा उडान र हेलिकोप्टर चार्टर उडान हुने गरेका छन् । बुधबार दिउँसो १२ः३० पछि केही सुधार हुँदै जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले उपकरणको सहायताबाट हुने उडान आंशिक रूपमा खुला गरेको थियो। 

गण्डकीका मुख्यमन्त्री खगराजको नियुक्ति वैधानिक, सुरेन्द्र पाण्डेको रिट खारेज

पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए । गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागी पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् । सोमबार मुख्यमन्त्री खगराज अधिकारी तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्दै छन् । अधिकारीका तर्फबाट बहस सकिएपछि रिट निवेदकको तर्फबाट जवाफी बहस हुने वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जानकारी दिए ।

पोखरामा एशिया कप ट्रायथलन : इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

पोखरा । पोखरामा आजदेखी सुरु भएको एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन्। यसैगरी, महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर च्याम्पियन बने। ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो । पुरुषतर्फ च्याम्पियन इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गरे। अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा पूरा गरी तृतीय भए। महिलातर्फ च्याम्पियन इड्डाले निर्धारित दूरी पार गर्न एक घण्टा छ मिनेट समय लगाए। यसैगरी उपविजेता गुआमका मानामी लिजिमाले एक घण्टा ४२ सेकेण्डमा र तृतीय हुन सफल उज्वेकिस्तानका एलिना खाकीमोवाले एक घण्टा चार मिनेटमा पार गरे । दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले बर्चस्व राखेका हुन् । पुरुषतर्फ भारतका मुरलीधर नैरले  एक घण्टा दुई मिनेट तीन सेकेण्डमा तोकिएको दूरी पार गरी उपाधि जिते। यसैगरी, कौसिक विनयले एक घण्टा तीन मिनेट २६ सेकेण्ड लगाउँदै उपविजेता बन्नुभयो । नेपालका विपन खत्कत्वाले एक घण्टा पाँच मिनेट २५ सेकेण्ड समय लगाउदै तृतीय हुन सफल भए। महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी एक घण्टा सात मिनेट ५१ सेकेण्डमा पूरा गरी विजेता बने । नेपालका श्रेवी महर्जनले एक घन्टा ११ मिनेट ४५ सेकेण्डको पूरा गर उपविजेता बन्दा नेपालकै शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल भए। यसैगरी राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले एक घन्टा पाँच मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने। प्रविन थारुले एक घन्टा छ मिनेट २० सेकेण्डमा पार गरी द्धितीय र मुकेश थारुले एक घण्टा १५ मिनेट ११ सेकेण्डको समय लगाउँदै तृतीय हुन सफल भए। महिलातर्फ एक घन्टा ११ मिनेट ४५ सेकेण्डको समयमा दूरी पार गर्दै श्रेवि महर्जन च्याम्पियन बने। शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गरी द्धितीय र ज्ञानु कुमारी चौधरीले एक घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल भए। यसैगरी जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बने। भारतकै कृषिभ पटेल द्धितीय र नेपालका यजु महर्जन तृतीय भए।  महिला जुनियरतर्फ नेपालका श्रेवी महर्जन विजेता बन्दा भारतका दुर्विशा पवार द्धितीय र प्रेरणा श्रवण कुमार तृतीय भए। नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासडो, महासचिव एन्टोनियो आरामानी, नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, ट्रायथलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा, महासचिव युवराज सुनुवार, केन्द्रीय सदस्य अनिता रानाभाट स्थानीय व्यवस्थापन समितिका संयोजक डिल्लीराज सुवेदी (शिशिर)लगायतले पुरस्कार तथा मेडल वितरण गरे। प्रतियोगिता अन्तर्गत आइतबार दुआथलन च्याम्पियनसिप हुने आयोजकले जनाएको छ । 

पर्वतका ७० वनमा डढेलो लाग्दा १४०० हेक्टर जंगल नष्ट

पर्वत । पर्वत जिल्लाका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकका अनुसार हालसम्म एक हजार चार सय १६ दशमलव छ हेक्टर वन–जङ्गल डढेलोले सखाप परेको छ । पर्वतमा गत चैत २२ गते जलजला गाउँपालिका–१ को देउराली सामुदायिक वन र जलजला वडा नं ५ को सिमल्टेचौर सामुदायिक वनबाट आगो लाग्न सुरु भएको हो । बुधबारसम्म ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको विकले जानकारी दिए । हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ । डढेलोले जङ्गलमात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पारेको छ । जिल्लामा वन्यजन्तु तथा मानवीय क्षति नभएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ । जिल्लामा गत चैतमा खासै डढेलोका घटना नभए पनि वैशाख लागेसँगै यहाँ रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागेको सहायक वन अधिकृत विकले बताए । गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । विकले भने, ‘जनचेतना र प्रचार–प्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ, यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।’ डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न सञ्चारमाध्यममा प्रचार–प्रसारका सामग्री प्रसारण तथा प्रकाशित गरिएको छ । जिल्लाका तीन सुरक्षा निकायलाई एक–एक अग्नि सेट उपलब्ध गराउनुका साथै सामुदायिक वन उपभोक्ता समितिमार्फत सचेतना गोष्ठी र अग्नि नियन्त्रण डेमो प्रदर्शन गरिएको उनको भनाइ छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । जिल्लामा वन डढेलो प्राकृतिक कारणले मात्र नभएर मानवीय कारण धेरै हुने गरेको छ । वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ । मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ । जिल्लामा कुल भूमि ५४ हजार दुई सय १० हेक्टरमध्ये वन क्षेत्र २७ हजार छ सय ४० हेक्टर (५१ प्रतिशत) मा फैलिएको छ ।

पोखरामा ‘एसिया कप ट्रायथोलन’गरिदै, प्रतिस्पर्धामा १५ देशका खेलाडी सहभागी हुने

पोखरा। देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५ गते  ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’ हुने भएको छ । खेलकुदको मेगा इभेन्ट रुपमा लिइएको  ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’को तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल ट्रायथोलन सङ्घले जनाएको छ। नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइड क्षेत्रमा च्याम्पियनसिप हुनेछ । च्याम्पियनसिपमा विभिन्न १५ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि सहभागी खेलाडी तथा अफिसियलहरु पोखरा आउने क्रम सुरु भइसकेको छ । प्रतियोगितामा नेपाल सहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बङ्गलादेश र उज्वेकिस्तानका खेलाडीले सहभागिता जनाउने छन् । यस वर्ष वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी च्याम्पियनसिपमा सहभागी हुने भएकाले खेलकुद क्षेत्रका लागि ठूलो महत्व रहने उपाध्यक्ष देवकोटाले बताए । देवकोटाले भने,“विगतका कमीकमजोरीहरुलाई सच्चाएर यस वर्ष खेलकुदको मेगा इभेन्टका रुपमा च्याम्पियनसिपको तयारी गरेका छौँ । पहिलो पटक वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्षको उपस्थितिमा प्रतियोगिता हुँदैछ । नेपालको खेलकुद क्षेत्रका लागि यो ठूलो खुशीको कुरा हो । खेलकुद क्षेत्रका लागि यसको पछिसम्म ठूलो महत्व हुनेछ ।” ट्रायथोलनमा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ । स्प्रिन्ट विधा अन्तर्गत सुरुआतमा फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ हुनेछ । साइक्लिङको समाप्तिपछि पाँच किलोमिटर दौड हुनेछ । पौडी फेवातालमा हुनेछ । दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेछ । पौडी, साइक्लिङ र दौड गरी तीनवटै प्रतिस्पर्धाको समयका आधारमा विजेत चयन हुनेछन् ।प्रतियोगिताले पोखराको अन्तर्राष्ट्रिय क्षेत्रमा थप प्रवद्र्धन तथा खेलकुद विकासमा मद्धत पुग्ने अपेक्षा गरिएको छ । च्याम्पियनसिपको दिनमा पोखराको लेकसाइड क्षेत्रको सडक खाली गराइने भएको छ । सहभागी खेलाडीको सुरक्षालाई मध्यनजर गरी प्रतियोगिताको रुटमा यातायात पूर्ण रुपमा बन्द गरिने नेपाल ट्रायथोलन सङ्घ गण्डकीका अध्यक्ष डिल्लीराज९शिशिर०सुवेदीले बताउनुभयो । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, होटल सङ्घ पोखरा लगायतका विभिन्न सङ्घ संस्थाले समेत अपन्त्व लिएकाले यस वर्ष भव्य हुने अध्यक्ष सुवेदीको भनाई छ । उहाँले भन्नुभयो,“एसिया कप ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनेको छ । यस वर्ष सरकारी तथा निजी सङ्घ संस्था पर्यटन क्षेत्र लगायतले स्वामित्व लिएकाले विगतमा भन्दा थप उत्कृष्ट हुने विश्वास लिएका छौँ ।”

भूकम्पको स्मृतिमा बारपाकमा सार्वजनिक बिदा

गोरखा । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । २०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए । त्यसअवसरमा बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेल मैदानमा आज विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । गोरखा भूकम्पमा परी देशभर ८ हजार ९७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै ४ सय ७१ जनाको मृत्यु भएको थियो । त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्‍याएको थियो ।

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको रिटमा सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो ।   सभामुखसहितको हस्ताक्षरमा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई गत चैत २५ मा मुख्यमन्त्री बनाइएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। 

पोखरामा ६ वटा सहकारी पीडितको संयुक्त प्रदर्शन

पोखरा । पोखरामा रहेका ६ वटा सहकारीका बचतकर्ताले वचत फिर्ता र आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । पोखराका सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर सोमबार पोखरामा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सबैजसो दलका शीर्ष नेतालाई भेटेर समस्या सुनाउँदा पनि न्याय पाउन नसकेको भन्दै उनीहरुले एकीकृत आन्दोलन सुरु गरेका हुन् । सहकारी पीडितहरुले  ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’ ‘जीबी राई, देवकुमार नेपालीलाई पक्राउ गर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’, जस्ता नारा लगाउँदै सडकमा निस्किएका छन् । ६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको भनाइ छ । ती सबै सहकारीका सञ्चालक र जिम्मेवार व्यक्तिहरु अधिकांश फरार भएको र उनीहरुलाई राजनीतिक दल र नेताहरुको संरक्षण रहेको पीडितहरुको गुनासो छ । कास्की सहकारी वचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख दलका शीर्ष नेतालाई आफूहरुको समस्या जानकारी गराउँदा पनि बेवास्ता गरेकाले सामूहिक रुपमा आन्दोलन सुरु गरेको बताए ।

बिरामीको शरीरबाट निकालियो कीटनाशक औषधिको बोतल

गोरखा । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे। अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरे। उपचारका लागि आएका पुरुषको जाँचका क्रममा भिडियो एक्स–रे गरेर हेर्दा स्वास्थ्यकर्मी त्यतिबेला अचम्ममा परे जतिबेला उपचारका लागि आएका गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय ती पुरुषको मलद्वारमा धातुको बोतल अड्किएको देखियो। मलद्वारमा बोतल देखिएपछि चिकित्सकले सोधपुछ गर्दा एक महिनादेखि नै मलद्वारमा बोतल अड्किएको रहस्य खुल्यो। समस्याको पहिचान भएपछि बिरामीलाई तुरुन्तै अस्पतालको शल्यक्रिया कक्षमा राखेर दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण नफैलिएको पत्ता लागेपछि शल्यक्रिया गरेर ती पुरुषको मलद्वारमा अड्किएको धातुको बोतल निकालिएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए। ‘ती पुरुषको मलद्वारमा विगत एक महिनादेखि कीटनाशक औषधिको बोतल अड्किएको रहेछ’, उनले भने, ‘जब उपचारका लागि आइतबार बिहान १० बजे अस्पतालको आकस्मिक कक्षमा आएँ, त्यहाँ एक्स–रे गरेर हेर्दा मलद्वारमा बोतल देखिएपछि तत्काल शल्यक्रिया गरेर निकालिएको हो।’ मलद्वारमा बोतल अड्किएर उनको ठूलो आन्द्रासमेत अवरुद्ध भई सङ्क्रमण शरीरमा फैलिसकेको अवस्थामा चिकित्सकले शल्यक्रिया गरी बोतल निकालेका हुन्। अस्पतालका सर्जनद्वय डा जीतेन्द्रकुमार सिंह र डा विश्वराज खड्का तथा एनेस्थेसियोलोजिष्ट डा शम्भु अधिकारीलगायतका चिकित्सकको टिमले पुरुषको मलद्वारको सफल शल्यक्रिया गरेको उनले बताए। चिकित्सकले तीन घण्टा लगाएर गरिएको शल्यक्रियाबाट पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लम्बाइ र ७.८ सेन्टिमिटर गोलाइको डब्बा निकालिएको हो। ती पुरुषको मलद्वारमा बोतल कसरी अड्कियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ। शल्यक्रियापश्चात् बिरामीको अहिले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

बागलुङका २५ स्थानमा तटबन्ध हुँदै

ढोरपाटन । बागलुङमा यस वर्ष २५ स्थानमा तटबन्ध गर्न थालिएको छ । खोला छेउछाउका बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत तटबन्ध तथा नदी नियन्त्रण गर्न थालिएको हो । जिल्लाको सबैभन्दा बढी गलकोट नगरपालिकामा तटबन्ध गर्न थालिएको छ । यस पालिकामा सातव तटबन्धका योजना छन् । बडिगाड गाउँपालिकामा तीन, बागलुङ नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई, ढोरपाटन नगरपालिकामा चार, निसीखोला गाउँपालिकामा तीन, तमानखोला गाउँपालिका एक र काठेखोला गाउँपालिकामा दुई योजान छन् । बागलुङका धेरै बस्ती खोला छेउमा हुँदा कटानको उच्च जोखिममा छन् । कटानबाट बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले बताए । चालु आर्थिक वर्षमा रु चार करोड ९५ लाखको लागतमा २५ स्थानमा तटबन्ध गर्न थालिएको उनको भनाइ छ । उनका अनुसार गलकोट–६ खहरेखोला तटबन्ध वडा नं ९ दरमखोला नदी नियन्त्रण, सोही वडामा चुदीखोला तटबन्ध, वडा नं ४ मा खरुवा माध्यमिक विद्यालय तटबन्ध, वडा नं ९ मा पात्रेढुङ्गा–गौतमघाट तटबन्ध, वडा नं ७ मा चोखालघाटबाट प्रगति प्रावि तटबन्ध र वडा नं १० मा अँधेरीखोला तथा लङ्गुरेघाट बस्ती संरक्षण योजना रहेका छन् । बडिगाडको वडा नं २ मा बडिगाड खोला नियन्त्रण, वडा नं ५ मा दीक्षफाँट तटबन्ध र वडा नं ७ मा खोल्टेपानी तटबन्धको काम सुरु भएको उहाँको भनाइ छ । बागलुङ नगरपालिका १ मा कालीगण्डकी नदी नियन्त्रणको काम भइरहेको पौडेलले बताए । सो स्थानमा रहेको लक्ष्मीनारायण मन्दिर संरक्षणका लागि तटबन्ध गरिएको भन्दै वडा नं १० स्थित गलुवाखोलामा समेत तटबन्ध गर्न थालिएको प्रमुख पौडेलको भनाइ छ । बरेङ वडा नं ३ को राउसीखोला र वडा नं २ को गुहिएखोला ठूलो खोलामा पनि तटबन्ध गरिएको छ । ढोरपाटन ६ मा गाडीखोला खाल्टेखुल्टे उत्तरगङ्गा ढोरपाटन बस्ती संरक्षण, वडा नं ६ कै तुलाआवि तटबन्ध वडा नं ५ को दोगाडी स्वास्थ्य चौकी संरक्षण र शिवालय मावि संरक्षणका लागि भुजीखोलामा तटबन्ध गर्न थालिएको उहाँले जानकारी दिए । निसीखोला(२ मा छन्त्याल गाउँ बस्ती संरक्षण, वडा नं १ मा हुल्दी पहिरो नियन्त्रण, वडा नं ५ मा कालाखेत सानोखोला तटबन्धको काम भइरहेको छ । तमानखोला गाउँपालिका(६ नर्जागाउँ तटबन्ध र काठेखोला गाउँपालिका(४ मा धाकखोला तटबन्धको योजना कार्यान्वयन भइरहेको उनी बताउँछन् । पौडेलले २५ योजनामध्ये पाँच योजना सम्पन्न भएको, १८ योजनाको काम तीव्रगतिमा भएको भन्दै दुई योजना कालाखेत सानोखोला र अँधेरीखोला लङ्गुरेघाट बस्ती संरक्षण योजना सम्झौता नै नभएको जानकारी दिए । सबै योजना असार मसान्तसम्म सक्नुपर्ने पौडेल बताउँछन् । उनले भने, ‘दुईवटा बाहेक सबै योजना कार्यान्वयन भइरहेका छन्, अहिले तीव्रगतिमा काम भइरहेको हुँदा असार मसान्तअगावै सक्ने सम्भावना देखिन्छ, यी योजना जहाँ बस्ती जोखिममा छन्, खोला किनारका विद्यालय र स्वास्थ्य संस्था पनि छन्, ती सबैलाई संरक्षण गर्नका लागि यो वर्ष तटबन्ध गर्न थालिएको हो ।’