सिन्धुलीमा एमाले अग्रस्थानमा

सिन्धुली, जेठ १ । सिन्धुलीमा हिजो सम्पन्न भएको स्थानीय तहको चुनावको मतगणनामा नेकपा एमाले पहिलो स्थान हासिल गरेको छ ।

नेपाली काँग्रेस दोस्रो स्थानमा र नेकपा माओवादी तेस्रो स्थानमा पर्न सफल भएको छ ।

रुकुमको सानीभेरीमा माओवादी केन्द्रको प्यानल विजयी 

रुकुमको सानी भेरी नगरपालिकाको मतगणना भइरहेको छ । त्यहाँ माओवादी केन्द्रको अग्रता छ ।  अहिलेसम्म सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी भएका छन् । नगरपालिकाको मेयरमा अहिलेसम्म माओवादी केन्द्रले ४ सय ४ मत ल्याएको छ । यस्तै कांग्रेसले १ सय १६ र एमालेले १५ मत पाएको छ ।  

११ प्रतिशत नेपाली भोट खसाल्नबाट बन्चित

काठमाडौं, जेठ १ । मुलुकमा निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् । पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल जनसंख्याको ११ प्रतिशत मताधिकारबाट बञ्चित भएका कारोबारमा खबर छ । आइतबारको निर्वाचनमा मात्रै करिब ५.५ प्रतिशत नेपाली स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित भएको अनुमान गरिएको छ ।  

स्थानीय तह निर्वाचनको मतगणना जारी

काठमाडौं,जेठ १ । अार्इतवार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना मतगणना सुरु भएको छ। महानगरपालिका, नगरपालिका र गाउँपालिकामा अहिलेसम्मको परिणाम अनुसार सबैजसो ठाउँमा ठुला दलहरुले नै अग्रता लिएका छन । काठमाडौँ,ललितपुर, काभ्रे लगायतका केही नगरपालिका र गाउँपालिकामा सुरु भैसकेको छ। आइतबार सम्पन्न निर्वाचनको मतगणना राती १२ बजे देखि नै कतिपय ठाउँमा सुरु भएको हो। काठमाडौँको टोखा र दक्षिणकाली, कागेस्वरी नागार्जुन मनोहरा, शंखरापुर, कीर्तिपुर नगरपालिका मतगणना सुरु भएको छ। त्यस्तै ललितपुर महानगरपालिका, ललितपुरकै महालक्ष्मी नगरपालिका,महांकाल र कन्जोसोमक गाउँपालिकामा मतगणना सुरु भएको छ। काभ्रेको बनेपा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, नवलपरासीको देउचुली, गैँडाकोट र मध्यविन्दु नगरपालिकामा मतगणना सुरु भएको छ।

स्थानीय निर्वाचनप्रति चीनको प्रतिक्रिया

काठमाडौं, जेठ १ । उत्तरी छिमेकी चीनले नेपालमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग आइतबार बेइजिङमा भएको द्वीपक्षीय वार्तामा चिनियाँ प्रधानमन्त्री वाङ याङले पहिलो चरणको स्थानीय तह निर्वाचन भएबाट नेपालमा राजनीतिक स्थायीत्व, विकास तथा जनताको जीवनस्तर उकास्न मद्धत पुग्ने विश्वास व्यक्त गरेका अन्नपूर्ण पोस्टमा खबर छ । चीनले यसअघि स्थानीय चुनावका लागि नब्बे लाख चिनियाँ युयान नेपाललाई सहयोग गरेको थियो।

जनप्रतिनिधिलाई कसरी सपथ गराउने प्रश्न अनुत्तरित

काठमाडौं,जेठ १ । मुलुकका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधिका लागि आइतबार पहिलो चरणमा निर्वाचन सम्पन्न भएको छ । तर ती प्रतिनिधिलाई कसरी सपथ गराउने भन्ने आजसम्म अनुत्तरित छ । स्थानीय सरकारमा उनीहरुको आगमन हुँदै गर्दा स्थानीय तह शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने कम्तीमा उनीहरु स्थानीय सरकारका प्रमुख, अध्यक्ष उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यमा सपथ गर्ने बेलासम्म नाउने भने  निश्चित प्राय भएको कारोबारमा खबर छ ।

काउन्सिलद्वारा मतदान केन्द्रहरूको स्थलगत अनुगमन सम्पन्न

काठमाडौँ, बैशाख ३१ । स्थानीय तहको निर्वाचन २०७४ को अवसरमा आज प्रेस काउन्सिल नेपालबाट विभिन्न जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गरियो । सो अवसरमा निर्वाचनको समग्र पक्षका साथै समाचार सङ्कलनका क्रममा मिडिया र पत्रकारले आचारसंहिता पालना गरे नगरेको तथा मतदान केन्द्रबाट सूचना प्रवाहका क्रममा पत्रकार र मिडियालाई सहजता प्रदान भए नभएको लगायतका विषयमा अनुगमन गरिएको थियो । यस कार्यका लागि काउन्सिलका निमित्ति अध्यक्ष किशोर श्रेष्ठ, सदस्यहरू डा.महेन्द्र विष्ट, खिलबहादुर भण्डारी, गोविन्द चौलागाईँ–काठमाडौँ, सदस्य सुदर्शन आचार्य–सिन्धुपाल्चोक, ईश्वरीप्रसाद ओझा–काभ्रे, सदस्य शुभेच्छा विन्दू तुलाधर–कीर्तिपुर र ललितपुर, सदस्य चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल, कामु उपप्रशासकीय अधिकृत रामशरण बोहरा–काभ्रे, सिन्धुपाल्चोक, सदस्य संगीता खड्का, सहप्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल –थानकोट, नैकाप, जावलाखेल, मंगलबजार भक्तपुरका केन्द्रमा खटिनुभएको थियो । सो अवसरमा पत्रकारहरूले आचारसंहिताभित्र रहेर तस्वीर, रिपोर्ट लिएको मतदान अधिकृतहरूले बताएका थिए भने आफूहरूलाई मतदानसम्बन्धी सूचना प्रवाहका क्रममा सहजता प्रदान गरिएको सम्बन्धि क्षेत्रमा खटिएका पत्रकारहरूले प्रतिक्रिया दिएका थिए । स्मरणीय छ, प्रेस काउन्सिल नेपालले यही बैशाख १५ गतेदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमा पत्रकार र निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको छ ।

मनाङको तीन गाउँपालिकामा मतगणना सुरु

काठमाडौं, वैशाख ३१ । आज भएको स्थानीय तहको निर्वाचनको मतगणना मनाङमा सुरु गरिएको छ । मनाङको तीन गाउँपालिका नासोङ, चामे र नेस्याङमा मतगणना सुरु गरिएको हो। आज बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहको निर्वाचनको साँझ ५ बजे सकिए लगतै काठमाडौं उपत्यका लगायत एकदर्जन जिल्लाहरुमा आजै मतगणना गरिने तयारी निर्वाचन आयोगले गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, दैलेख, मुस्ताङ, नवलपरासी, लमजुङ, रुकुम, धादिङ्गलगायतका जिल्लाहरुमा आजदेखि नै मतगणना गरिने तयारी रहेको निर्वाचन आयोगको तयारी रहेको छ ।

शान्तिपूर्ण निर्वाचन सम्पन्न: निर्वाचन अायोग

काठमाडौं, बैशाख ३१ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधी प्रसाद यादवले आज भएको स्थानीय तहको निर्वाचनबारे जानकारी गराएका छन् । उनले छिनफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । डा.यादवले एक पत्रकार सम्मेलनमार्फत आज भएको निर्वाचनका बारेमा जानकारी गराएका हुन् । डा.यादवले आज भएको स्थानीय निर्वाचनमा ७३ प्रतिशत मतदान भएको जानकारी गराए । ३,४ र ६ मा भएको निर्वाचनमा निर्वाचनमा सर्वसाधारणको व्यापक सहभागितामा रहेको उनले बताए । मतदानमा दृष्टिविहीन, अपांग, बुढाबुढीदेखि किरियापुत्रीले समेत भाग लिएको उनले बताए । विभिन्न मतदान केन्द्रबाट ल्याइएकाे सिलप्याक मतपेटिकालार्इ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिने व्यवस्था गरिएकाे र सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएपछि भाेलिदेखि मतगणना गरिने उनले बताए ।

लाङटाङ मतदान केन्द्र सम्पर्कमा, हालसम्म जिल्लामा ७५ प्रतिशत मतदान

रसुवा,  वैशाख ३१ । जिल्लामा हालसम्म ७५ प्रतिशत मतदान भएको छ  । दुई दिनदेखि सञ्चारमा आएको गडबडीले सम्पर्कविहीन भएको लाङटाङको मुन्डु मतदान केन्द्र भर्खरै सम्पर्कमा आएको र त्यहाँ ७७ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिए । मौसमले साथ दिएमा मतदान सकिएपछि मुन्ड मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमा सदरमुकाम धुन्चे ल्याइने बताइएको छ । यहाँ कुल ३४ मतदानस्थलमा ४२ मतदान केन्द्र छन् । जिल्लाका पाँच गाउँपालिकामा २७ हजार आठ सय ५४ मतदाता छन् । यहाँ शान्तिसुरक्षाको अवस्था मजबुत रहेको र उत्साहपूर्वक मतदान भइरहेको उप्रेतीले बताए ।

राजधानीमा ६० प्रतिशत मतदान भयो

काठमाडौं, बैशाख ३१ । आज विहान ७ बजेदेखि सुरु भएको स्थानीय तहको निर्वाचनमा करिव ६० प्रतिशत मतदान भइसकेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका छन् । बिभिन्न स्थानमा मतदानको अबलोकन गरी फर्किएका यादवले आयोग परिषरमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनमा उत्साहजनक सहभागिता रहेको प्रतिक्रिया दिएका छन् । दोलखा लगाायत केही जिल्लाहरुमा छिफुटका घटनाहरु भएपनि समग्रमा निर्वाचन शान्तिमय नै बनेको निर्वाचन आयुक्त यादवले बताए ।

मतदान भईरहँदा बम बिष्फोट

नुवाकोट वैशाख ३१,२०७४ नुवाकोटको पुर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिकाको एक मतदान केन्द नजिकै मतदान भइरहेको समयमा वम विष्फोट भएको छ । बम बिष्फोटमा संलग्न भएको आशंकामा एक जना पक्राउ परेका छन् । सदरमुकाम विदुरदेखि २३ किलोमिटर पुर्वमा रहेको वेलकोटगढी नगरपालिका वडा नम्बर ४ ढाडाखर्कस्थित पन्चासे मावि मतदान केन्द्र नजिकै मध्यान्ह वम विष्फोट भएको नुवाकोट प्रहरीले जनाएको छ । उत्साहपूर्ण रुपमा मतदान भइरहेको अवस्थामा मतदान केन्द्रदेखि चारसय मिटर टाढा भएको वम विष्फोटले कुनै पनि क्षति नपुर्‍याएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।स्थानीय २२ वर्षिय तीर्थराम तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक देववहादुर वोहराले जानकारी दिनुभयो ।तामाङ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आशंकामा अनुसन्धान भइरहेको छ । विष्फोट भएको वम सकेट वम भएको स्थानीयवासीले जनाएका छन् । निर्भयका साथ मतदान गर्न प्रजिअ पोखरेलले मतदातालाई आग्रह गर्नुभएको छ । फ़ाइल फ़ोटो

भोट दिएपछि के भने अध्यक्ष ओलीले ?

भक्तपुर, ३१ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपलिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँसँगै आउनुभएकी उहाँकी पत्नी राधिका शाक्यले पनि मतदान गर्नुभएको छ । उहाँले बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको यो निर्वाचनले अरू दुई तहको निर्वाचनको बाटो पनि खुलेको बताउनुभयो । “स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन एवम् विकास र समृद्धिको बाटो पनि खुलेको छ ”, उहाँले भन्नुभयो । निर्वाचनमा मतदाता उत्साहजनक सहभागी भएकाले पनि देश विकास र अग्रगतिमा जाओस् भन्ने चाहना मतदाताको रहेको उहाँले बताउनुभयो । रासस

विदा नपाउँदा सयौ कर्मचारि मतदानबाट बंचित

गौशाला, ३१ वैशाख । जागिरका सिलसिलामा आफ्नो गाउँ ठाउँबाट टाढा महोत्तरी जिल्लामा बस्दै आएका सयौँ राष्ट्रसेवक कर्मचारी प्रदेश नं ३,४ र ६ मा आज भइरहेको स्थानीय तहको निर्वाचनमा मत दिन नपाउँदा दुःखी भएका छन् । नेपाल सरकारले आजको दिन राष्ट्रव्यापी रुपमा सार्वजनिक बिदाको व्यवस्था नमिलाउँदा प्रदेश नं ३,४ र ६ का सयौंँ सरकारी कर्मचारी आफ्नो मतदान केन्द्रमा जान पाएनन् । स्वास्थ्य, शिक्षा, स्थानीय निकायसहित महोत्तरीका करिब चार दर्जन सरकारी कार्यालयमा कार्यरत सयौँं कर्मचारीले आफूहरुले बिदा नपाउँदा घर जान नपाएको र कार्यालयको कामकाज ठप्प पार्न नसकिने अवस्था रहेकाले २० वर्षपछि भएको ऐतिहासिक स्थानीय निर्वाचनमा भाग लिन नपाएकामा उनीहरुले दुःख व्यक्त गरेका छन् । यसका अतिरिक्त विभिन्न गैरसरकारी संस्था, निजी संस्था, कारखाना र अन्य रोजगारीका सिलसिलामा रहेकाहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका सुरक्षाकर्मीले पनि मतदान गर्न पाएनन् । प्रदेश नं ३, ४ र ६ का विभिन्न जिल्ला र गाउँपालिकाबाट महोत्तरीमा रोजगारीको सिलसिलामा बस्दै आएका सयौँ कर्मचारीले आजका दिन सरकारले देशभरि नै सार्वजनिक बिदा गरेको भए आफूहरु पनि सहजै आआफ्नो घर गएर स्थानीय तहको निर्वाचनमा भोट खसाल्न पाइने थियो भन्दै गुनासो गरेका छन् । रासस

दोरम्बामा झड़प, अश्रु ग्यास प्रहार, मतदान स्थगित

वैशाख ३१, २०७४- माओवादी र कांग्रेस कार्यकर्ताको झडपका कारण रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने साविक टोकरपुरको पुन्चेतमा रहेको कालिका भवगति मतदान केन्द्रको मतदान कार्य स्थगित गरिएको छ । मतदान भइरहेको वेला झडप भएपछि प्रहरीले एक राउण्ड हवाइ फायर र एक सेल अश्रुग्यास प्रहार गरी स्ििथतिलाई नियन्त्रणमा लिएको छ । झडपमा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा एक जना सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जनाएका छन् । केन्द्रमा थप सुरक्षा फौज परिचालन गरीएको उनले वताए । झडप भएपछि उक्त केन्द्रको मतदान कार्य ३ घण्टादेखि रोकिएको निर्वाचन अधिकृत प्रेमचन्द्र भुषालले वताएका छन । १ सय ६७ जनाले मतदान गरेपछि मतदानको कार्य स्थगित भएको हो । भूसालले मतदान केन्द्र सामान्य अवस्थामा आइसकेको र पुन मतदानको लागि सर्वदलिय बैठक राख्ने पहल भइरहेको जनाएका छन । रामेछापका अन्य मतदान केन्द्रमा उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ । जिल्ला सदरमुकाम मन्थलीको मतदान केन्द्रमा ५० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ । मतदाताहरु उल्लासपूर्ण वातावरणमा मतदान कार्यमा सहभागी भएका छन् । ईकांतिपुरबाट