एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । 

बुधबार दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ । 


संघीय संसद्का दुवै सदनमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण संसद्ले धन्यवाद प्रस्ताव समेत पारित गर्न पाएन । 

काँग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने र त्यसकालागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति गठन गर्न आवश्यक नभएको भन्दै अडान लिँदै आएका छन् । 

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना

चितवन । भरतपुर अस्पतालमा नवनिर्मित रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको छ । केन्द्रको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर अस्पताल आउने विरामीलाई रगत पाउन झन्झटिलो प्रकृया अब भने अन्त्य भएर जाने विश्वास व्यक्त गरिन्। अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गर्ने जमर्को गरेकोमा खुसी व्यक्त गरिन्।आगामी दिनमा स्तरोन्ती गर्ने, सेवा विस्तार गर्ने योजना बनाउन जोड पनि दिइन्। भरतपुर मेडिकल सिटी भएकाले छिमेकी जिल्लालगायत भारतबाट पनि विरामी आउने भएकाले रगतको धेरै माग रहेकाले यो केन्द्रले रक्तसञ्चारको कामलाई थप व्यवस्थित गर्दै लैजाने उहाँले उल्लेख गरिन्।अहिले भरतपुर अस्पतालमा भइरेको पूर्वाधार विकास आशा लाग्दो ढङ्गबाट अगाडि बढिरहेको पनि उनको भनाई थियो । कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिरारी, नेपाल रेडक्रस सोसाईटी चितवनका अध्यक्ष हरि पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।   रक्तसञ्चार केन्द्र सञ्चालनमा आएसँगै भरतपुर अस्पताल उपचार गर्न आउने विरामीले सहजै रगत पाउने विश्वास गरिएको छ । अहिले २०० पोका भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको केन्द्र अस्पतालको बी ब्लकमा रहेको छ । 

ट्वान्टी–२० विश्वकप : पहिलो अभ्यास खेलमा नेपाल चार विकेटले विजयी

काठमाडौं । ट्वान्टी–२० विश्वकपका निम्ति हाल वेस्ट इन्डिजमा तयारी गरिरहेको नेपाल पहिलो अभ्यास खेमा विन्डवार्ड्स भोल्कानोजविरुद्ध चार विकेटको विजयी भएको छ । मंगलबार भएको खेलमा भोल्कानोजले प्रस्तुत गरेको १९७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । भुर्तेलले ४२ बलमा ७१ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरी २५ बलमा ५२ रन बनाएर अविजित रहे । भोल्कानोजका ल्री एडवार्डले तीन विकेट लिए । यस्तै, निक्लउस रेडहेडले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङमा आएको भोल्कानोजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९६ रनको योगफल खडा गरेको थियो ।भोल्कानोजका डालोन डगलासले ५० र ए अगस्टेले ४१ रन बनाएका थिए । नेपालका रोहितकुमार पौडेलले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

‘निःशुल्क सिपमूलक तालिम’ लिन ६८ हजार ८६६ जनाले दिए आवेदन

काठमाडौं । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौं महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन दिएका छन्।  ​यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएको काठमाडौं महानगरले जनाएको छ।  २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सिप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो । तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन्। ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक बर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य महानगरले लिएको छ ।  ‘आवेदकले अनलाइनबाट र कागजमा फाराम भरेर आवेदन दिनुभएको छ।’ सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने,  ‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ। यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेशासँग सम्बन्धित तालिम छन्।’ यस्तै ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन्। यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए। जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए।  सिप मेलाको अन्तिम २ दिन रोजगार मेला हुनेछ। यस दिन रोजगारदाताहरू स्टलमा आउने काठमाडौं महानगरले जनाएको छ। 

प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग संसदमा जारी गतिरोध र त्यसको निकासका बारेका छलफल गरेका छन् ।  प्रधानमन्त्रीसँगको भेटमा संसद्लाई प्रभावकारी बनाउने विषयसँगै केही समयदेखि विपक्षीका कारण भएको अवरोध लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।  सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै काँग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बोलाइएको बैठक समेत काँग्रेसले अवरोध गरेको छ । प्रतिनिधि सभाको बैठक बिहीबार ११ बजेका लागि बोलाइएको छ ।

भारतसँगका समस्या वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ  : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीचको विवाद ऐतिहासिक तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्। उनले भारतसँगको  सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए। परराष्ट्र मन्त्रालयले पूर्वराजदूत तथा पूर्वपरराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनालको सम्मानमा गरेको प्रवचनको तेस्रो शृङ्खलामा मंगलबार साँझ मन्तव्य दिँदै उनले नेपाल–भारत सम्बन्ध व्यापक, बहुआयामिक र अतुलनीय रहेको बताए। ‘दुई देशबीच इतिहासले छोडेका केही मुद्दा छन् जसलाई ऐतिहासिक तथ्यका आधारमा र असल छिमेकीको भावनाअनुरुप वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक छ’, उनले भने,‘यसले नेपाल(भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मार्गप्रशस्त गर्नेछ। यसका लागि नेपाल सरकार प्रतिबद्ध छ।’ द्विदेशीय सम्बन्ध सार्वभौम समानता, शान्तिपूर्ण सहअस्तित्व, सद्भावना, पारस्परिक विश्वास, समझदारीमा आधारित रहेको दोहोर्याउँदै मन्त्री श्रेष्ठले उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सम्बन्ध सुमधुर बनाउन र धेरै क्षेत्रमा साझेदारी बढाउन मद्दत पुगेको तर्क गरे। उनले द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको चर्चा गर्दै त्यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज भएको बताए। उनले दुवै देशले आपसी व्यापारलाई लाभदायक बनाउने उपाय खोज्नुपर्ने, नेपालको निर्यातको आधार सीमित भएकाले  व्यापार घाटा बढ्दै गएको  तथा भारत र अन्य देशसँगको व्यापार विस्तार गर्न उत्पादनशील क्षेत्रमा थप लगानी आवश्यक भएको धारणा राखे।

केही गरौँ भन्ने प्रधानमन्त्रीको हुटहुटी नीति तथा कार्यक्रममा सम्बोधन भयो :  सत्तापक्ष

काठमाडौँ । सत्तारुढ दलका नेताहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट भएको टिप्पणी गरेका छन।  सत्तारुढ प्रमुख घटक नेकपा ९एमाले० का सांसद ठाकुरप्रसाद गैरे, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहालको केही गरौँ भन्ने हुटहुटी सम्बोधन हुने गरी सरकारको नीति तथा कार्यक्रम आएको दावी गरेका हुन्। एमालेका सांसद गैरेले समाजवादमा जाने संविधानको परिकल्पना अनुसार सो नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए।  उनले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भएपछि सञ्चारकर्मीमाझ नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष राईले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्रीको केही गरौँ भन्ने हुट्हुटी नीति तथा कार्यक्रममा समावेश भएको बताए।  अध्यक्ष राईले सरकारको नीति तथा कार्यक्रमले परम्परा पनि धान्नुपर्ने भएकाले यसलाई अन्यथा लिन नहुने बताए। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का नेता माधव सापकोटाले नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको बताए।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी सबै क्षेत्रलाई समेटेर ल्याएको बताए। 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज सकिदैछ। ललितपुरको बालकुमारीमा मंगलबार सुरु भएको बैठक आज बिहान ११ बजे बस्नेछ । मंगलबारको बैठकमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन, सम्मानीत नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन तथा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।प्रस्तुत प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुलाई विभिन्न १२ समूह बनाएर छलफल भइरहेको छ। समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि त्यसलाई अन्तिम रुप दिएर आजै बैठक सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ।एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असार १० देखि १६ गतेसम्म काठमाडौंमा हुँदैछ।

सहकारी ठगीविरुद्ध तरुण दलले आज प्रदर्शन गर्ने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति माग गर्दै आएको नेपाली कांग्रेसका भ्रातृसंगठनहरु सडक आन्दोलनमा उत्रिएका छन्। कांग्रेसले संसदभित्र आन्दोलन गरिरहेका बेला भ्रातृसंगठनहरु हिजोदेखि सहकारीपीडितहरूको पक्षमा सडकमा उत्रिएका छन्।कांग्रेसका भ्रातृ संगठन नेपाल महिला संघले हिजो काठमाडौँमा प्रदर्शन गरेको थियो भने आज नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा वृहत विरोध ¥याली निकाल्ने भएको छ। तरुण दलले सहकारी पीडितहरुको पक्ष र सहकारी ठगको विरुद्ध आज मध्याह्न १२ बजे माइतीघरदेखि नयाँबानेश्वरसम्म वृहत विरोध ¥याली गर्न लागेको हो। सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो रुपमा समाधान गर्न, सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याइ कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन विरोध र्‍याली आयोजना गरिएको तरुण दलका अध्यक्ष विद्धान गुरुङले जानकारी दिए। उनले उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको अनौपचारिक बैठकबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए।

एमाले तनहुँमा कँडेल निर्वाचित

तनहुँ । नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ ल्याउँदा सिग्देलले २ सय ४ मत पाएका थिए। जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट हुन् । त्यसबाहेक अन्य पदाधिकारीमा पनि अधिकारी समूहले पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहलाई पराजित गरेको छ। जिल्लाका केन्द्रीयस्तरका नेताहरु किरण गुरुङ, टुकराज सिग्देल, भगवती न्यौपानेले खगराजकै समूहलाई समर्थन गरेका थिए । उपाध्यक्षमा खगराज समूहका राजेश्वर ढकालले २ सय ७९ मत पाएर विजयी भए भने पृथ्वीसुब्बा समूहका श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे । सचिवमा प्रदीपराज अधिकारी विजयी हुँदा अनिल पाण्डे पराजित भए । खुल्ला उपसचिवमा आरके पोखरेललाई हराउँदै खिमबहादुर कुमाल विजयी भए । त्यस्तै, महिला उपसचिवमा सुनिता नेपाली विजयी हुँदा बसुन्धरा घर्ती पराजित भइन् । विजयी सबै अधिकारी प्यानलकै हुन् । ५ सय ८५ प्रतिनिधि रहेको अधिवेशनमा ५ सय ६० मत खसेको थियो ।

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउनसक्ने सम्भावना

काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा आजलाई पेसी तोकेको छ । मंगलबार  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ। गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।

हरित रोजगारीमा कोरियाले सहयोग गर्ने, ९८ लाख डलर सहायता घोषणा

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय ९कोइका०मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०मार्फत सञ्चालन हुनेछ । त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गरे । राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश रहेको बताए ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ २ गते बुधबार सन् २०२४ मे १५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर   

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी प्रदेशका थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ ।

नीति तथा कार्यक्रम परम्परागत भएको कांग्रेसको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ ।  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन् । उनले सरकारको कार्यक्रममा कुनै उत्साह नदेखिएको धारणा राखे । सहकारी प्रकरणमा पीडितलाई न्यायका साथै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता नआएको जिकिर गरे । सरकार सहकारी पीडितहरूको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ ।  उनले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्त्वपूर्ण विषय छुटेको बताए ।

२८.६२ अंकले बढ्यो नेप्से

काठमडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २८.६२ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक १.४३ प्रतिशत बढेर २०२७.५१ विन्दुमा बन्द भएको छ । यसदिन चार अर्ब आठ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका कुल कम्पनीमध्ये २१९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । समाज लघुवित्त, उपकार लघुवित्त र यूनिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ। आज सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको भएको छ । यो समूहको परिसूचक ३४४ प्रतिशतले वृद्धि भएको छ।