ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्नुहोस्ः अर्थमन्त्री

ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्नुहोस्ः अर्थमन्त्री
फाइल तस्वीर

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । उनले लगानी कर्ताको पैसा नडुब्ने गरी लगानी गर्न आग्रह गरे । 
आज नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठुला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

विगतमा ठुला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरूलाई भविष्यमा नदोहोर्‍याउने प्रतिविद्धतासहित अघि बढ्न सुझाव पनि दिए । अर्थमन्त्री पुनले लगानी कोषले गरेका लगानीहरूमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान आर्थिक समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । 
अर्थमन्त्री पुनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए । उनले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरूलाई सुधारेर जान सक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्नेमा जोड दिए । पूर्ववर्ती अर्थमन्त्रीहरूले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने उनले बताए ।

अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको पनि बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धीकरण गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको बताए । 

लगानी सम्मेलन : उद्योग विभागमार्फत रु नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।  उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि रु छ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि रु तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि रु सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि रु छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ । विभागले आज स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ । सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते प्रकाशित भएको राजपत्रअनुसार शतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ । तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गर्दै उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नका लागि विद्युतीय प्रणाली तयार गरिसकेको छ । विदेशी लगानीकर्ताले उक्त प्रणालीबाट आजकै मितिबाट आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत आवेदन दिने बित्तिकै प्राप्त गर्न सक्नेछन् भने सोही आधारमा कम्पनी दर्ता गर्न सक्नेछन् । सूचना प्रविधिमा आधारित उद्योगहरूका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन । उक्त स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुँदा लगानीकर्ताको समय र खर्चको बचत हुन गई लगानीको वातावरण बढ्ने अपेक्षा गरिएको छ । रासस

सरकार परिणाममूलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको छ : केपी ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानूनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न सरकारले दृढ कदम चालेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी स्वदेशी र विदेशी निजी क्षेत्रका लगानी प्रवर्द्धनका लागि संशोधित कानुनको प्रभावकारी कार्यान्वयन तथा उचित वातावरण सृजनाका पक्षमा दृढ रहेको स्पष्ट पारेका छन् । उनले लगानी सम्मेलन नेपालका राजनीतिक दल र विकास साझेदारबीचको सहकार्य बढाउने एक उपयुक्त माध्यम भएको बताए । सन् २०१९ मा आफू सरकारको नेतृत्वमा हुँदा भएको दोस्रो लगानी सम्मेलनको स्मरण गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाबमोजिम स्वदेशी र विदेशी निजी क्षेत्रको लगानीलाई अभिवृद्धि गर्ने ध्येय राखिएको जानकारी गराए । ‘त्यसबेला पनि आफूले विभिन्न कानुनमा संशोधन गरेको र श्रम विवादका विषय समाधान गरेका थियौँ, यो सम्मेलनबाट आएका सुझावलाई कार्यान्वयन गराउन हामी पनि भूमिका निर्वाह गर्नेछौँ,’ अध्यक्ष ओलीले भने, ‘यो सरकार परिणाममूलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको छ । यसले सन् २०३० सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । त्यसैले निर्धक्क भएर नेपालको समृद्धिको यात्रामा सघाउन र लगानी गर्न आग्रह गर्दछु ।’

गण्डकीका मुख्यमन्त्री खगराजको नियुक्ति वैधानिक, सुरेन्द्र पाण्डेको रिट खारेज

पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए । गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।

डढेलो तथा आगलागी प्रभावितको सहायतामा खटिन माओवादीको निर्देशन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले डढेलो एवं आगलागीलगायत विपद्का घटनाबाट प्रभावित नागरिकको उद्धार, राहत र मानवीय सहायता व्यवस्थापनमा खटिन नेता(कार्यकर्ता एवं स्वयंसेवकलाई निर्देशन दिएको छ। देशव्यापी रुपमा आगलागी र डढेलोलगायत विपद्का घटना बढेसँगै माओवादीले मातहतका पार्टी कमिटीलाई उक्त निर्देशन दिएको हो। माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षाजस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन्। माओवादीले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारीलाई चुस्त बनाउन स्थानीय तहलाई अपिल गरेको छ। माओवादीले विपद्का जोखिम कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार अवस्थामा राख्न पनि आह्वान गरेको छ। प्रवक्ता सापकोटाले विपद्मा प्रभावकारी उद्धार तथा तत्काल राहतका लागि स्थानीय तहलाई सहयोग गर्न, पालिकालाई सबल बनाउन तथा आवश्यक सामग्रीको व्यवस्था गर्न प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराए। माओवादीले विभिन्न विपद्का घटनाका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र पीडित एवं प्रभावितमा सहानुभूति प्रकट गरेको छ। गर्मी र सुक्खापन बढेसँगै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका घटना वृद्धि भएका छन्। डढेलोका कारण जनधनको क्षतिका साथै हजारौं नागरिक पीडित हुन पुगेका छन्। देशैभरि वायु प्रदूषणको उच्च मात्रा र तापक्रममा उच्च वृद्धिका कारण तराईरमधेसका जिल्लामा तातो हावाको लहर चल्दा दैनिक जनजीवन कष्टकर बनेको छ।

लोकप्रिय