एमाले उम्मेदवार नेम्बाङ ४६८३ मतले अगाडि

एमाले उम्मेदवार नेम्बाङ ४६८३ मतले अगाडि

काठमाडौं । इलाम २ को मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् ।

३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् ।

नेम्वाङका निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ ।

जारी मतगणनामा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १७१३ मत पाएका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज सकिदैछ। ललितपुरको बालकुमारीमा मंगलबार सुरु भएको बैठक आज बिहान ११ बजे बस्नेछ । मंगलबारको बैठकमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन, सम्मानीत नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन तथा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।प्रस्तुत प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुलाई विभिन्न १२ समूह बनाएर छलफल भइरहेको छ। समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि त्यसलाई अन्तिम रुप दिएर आजै बैठक सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ।एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असार १० देखि १६ गतेसम्म काठमाडौंमा हुँदैछ।

नीति तथा कार्यक्रम परम्परागत भएको कांग्रेसको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ ।  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन् । उनले सरकारको कार्यक्रममा कुनै उत्साह नदेखिएको धारणा राखे । सहकारी प्रकरणमा पीडितलाई न्यायका साथै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता नआएको जिकिर गरे । सरकार सहकारी पीडितहरूको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ ।  उनले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्त्वपूर्ण विषय छुटेको बताए ।

नीति तथा कार्यक्रम अघि संसद भवनमा रिहर्सल

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम संसदमा पेस गर्दैछ। आज दिउँसो ३ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्ने कार्यसूची रहेको छ। नीति तथा कार्यक्रम प्रस्तुतीका लागि राष्ट्रपति पौडेल संसद भवन नयाँबानेश्वर जाने भएपछि सवारी पूर्वको तयारीलाई तिव्रता दिइएको छ।सोहि सन्र्दभमा नीति तथा कार्यक्रम पस्तुत गर्नुअघि संसद भवनमा रिहर्सल गरिएको हो।  

माधव नेपालले भने -'पार्टी विभाजन गर्ने हल्लाले आत्तियौँ'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्न लागेको हल्ला चलेपछि आत्तिएको सुनाएका छन् । ललितपुरको बालकुमारीमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले जनता समाजवादी पार्टी विभाजनसँगै आफ्नो पार्टी पनि विभाजन गर्ने चर्चा चलेपछि आफु आत्तिएको बताएका हुन् । “हाम्रो पार्टीको पनि विभाजनको हल्ला चले। अर्को पार्टी खडा गर्नका लागि तयारी भइसकेको भन्ने चर्चा पनि चल्यो। ६ जना जाँदैछन् भन्ने हल्ला चले, चलाइए,” उनले भने, “हामी पनि आत्तियौँ । के हो वास्तविकता ? बसेर फेरि छलफल गर्यौं। छलफल गर्दा जति गणना गर्दा पनि देखिँदैन ।”  अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्टिकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको बताए ।नेपालले पार्टीमा असन्तुष्टि भए छलफल गरेर टुंगो लगाउन सकिने समेत बताएका छन् ।

लोकप्रिय