सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्रः मन्त्री शर्मा

सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्रः मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिंइदै आएकोमा अब नयाँ आधारको रुपमा सूचना प्रविधि थप भएको बताएकी छिन् ।

तेस्रो लगानी सम्मेलनअन्तर्गत सोमवार भएको ‘आईसिटीः भाइव्रेसन इन्भेष्टमेन्ट प्लेटफर्म’ विषयक सत्रलाई सम्वोधन गर्दै उनले अब सूचना प्रविधि आर्थिक समृद्धिको नवीनतम र उदीयमान आधारको रुपमा स्थापित भएको बताएकी हुन्। 

‘हामीले लामो समयदेखि नेपालमा कृषि, जलस्रोत र पर्यटनलाई आर्थिक समृद्धिको आधार मान्दै आएका छौं र यसकै आधारमा गरिने उत्पादन र उत्पादकत्व वृद्धिलाई आर्थिक विकासको सूचकको रुपमा हेर्दै आएका छौं’– मन्त्री शर्माले भनिन्– ‘अब हामीले आर्थिक विकासको थप आधारको रुपमा सूचना प्रविधिलाई जोडेर लैजाने नीति अख्तियार गर्नु जरुरी छ । सरकार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमार्फत कृषि, उर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, वित्त, सहरी पूर्वाधारलगायत सबै क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रुपान्तरणमार्फत आर्थिक समृद्धि हासिल गर्न चाहन्छ ।’

उनले संसारकै उच्च हिमाली मलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय हब बनाउने महाअभियानमा साथ दिन आव्हान गरिन् । ‘मुनाफा आर्जनको वातावरण बनाएर लगानी र लगानीकर्ताको सुरक्षा गदै संसारकै उँचो हिमाली मुलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय हब बनाउन सरकार दृढ संकल्पित र प्रतिबद्ध छ’– उनले भनिन्– ‘सूचना प्रविधि क्षेत्रको लगानीमार्फत हुने डिजिटल रुपान्तरण र समृद्धिको यो महाअभियानमा सहभागी हुन र यसबाट मनग्य लाभ लिन म देशभित्र तथा बाहिरका सम्पूर्ण लगानीकर्ताहरुलाई आह्वान गर्न चाहन्छु ।’

सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि यसको प्रयोगमा उल्लेख्य रुपमा बढोत्तरी आएको उल्लेख गर्दै उनले सरकारले यो क्षेत्रलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गरेर सबै विकास नीतिलाई तद्अनुकूल अघि बढाउने संकल्प गरेको स्पष्ट गरिन्। मन्त्री शर्माले भनिन्– ‘सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपाली मात्र होइन, बिदेशी लगानीकर्ताका लागि पनि नेपाल धेरै हिसाबले उपयुक्त स्थल हो । हामीसँग सूचना प्रविधि उद्योगका लागि अनुकूल भौगोलिक हावापानी त छँदैछ, दक्ष जनशक्तिको उपलब्धताका कारण कम लागतमा आइटी उद्योगहरु सञ्चालन गर्न सकिने प्रचुर संभावना रहेको छ  ।’

प्रत्येक वर्ष १० हजारभन्दा बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थप भइरहेको र अहिले पनि झण्डै एक लाख युवाहरु सूचना प्रविधि सेवा निर्यात क्षेत्रमा क्रियाशील रहेकाले यहाँ दक्ष जनशक्तिको अभाव नभएको स्पष्ट गर्दै मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार लागिरहेको बताइन्। सोहीअनुसार पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको, राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिएको, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम अघि बढेको र दूरसञ्चार क्षेत्रलाई समयानुकूल व्यवस्थित गर्न दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको पनि जानकारी दिइन्। 

दूरसञ्चार पूर्वाधारको क्षेत्रमा भइरहेको दोहोरो लगानीको अन्त्य गर्न पूर्वाधार सहप्रयोगको नीतिलाई आवश्यक पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयन ल्याइने उल्लेख गर्दै उनले दूरसञ्चार क्षेत्रमा फाइभजी लगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागु गरिएको जानकारी दिइन्। निजी क्षेत्रबाट डाटा सेन्टर सञ्चालन गर्न उपयुक्त वातवारण सिर्जना गर्न कानुन तथा मापदण्डको तत्काल तर्जुमा गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् । 

नेपालमा बढ्दै गइरहेको सूचना प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रवर्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधारको अभाव रहेकाले चाँडो भन्दा चाँडो आइटी हब स्थापना गरिने पनि मन्त्री शर्माले स्पष्ट गरिन् । त्यसका साथ विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आइओटी, ब्लकचेन जस्ता नयाँ तथा परिवर्तनकारी प्रविधिहरुको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर पनि हामीले तयारी गरिरहेका पनि उनले जानकारी दिइन्। 

लगानी सम्मेलनमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट डाटा सेन्टर, आईटी÷टेक्नोपार्क, कम्प्युटर हार्डवेयर एसेम्बली प्लान्ट, आइसिटी ट्रेनिङ सेन्टर, डिजिटल सर्भिस सेन्टर, स्मार्ट फोन म्यानुफ्याक्चर तथा एसेम्बली प्लान्ट, इन्कुवेशन सेन्टर र फिल्म सिटी गरी महत्वपूर्ण आठ वटा परियोजना अघि सारेको उल्लेख गर्दै उनले सोकेस गरिएकाबाहेक डिजिटल रुपान्तरणका लागि सहयोग हुने अन्य कुनै आवश्यक परियोजना पहिचान गरेर लगानी गर्न सकिने स्पष्ट गरिन् । 

बैदेशिक लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक परियोजनाहरुको पहिचान र लगानीका नयाँ मोडलहरुको खोजीमा पनि सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपालले अंगिकार गरेको सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकतामा राखेर अन्य देशहरुले गरेका सफल प्रयोगबाट समेत लाभ लिने गरी लगानीका मोडलहरु तयार गर्दै लैजान सकिने बताइन् ।

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा डा. शर्मा नियुक्त

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा.लेखनाथ शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी थिंकट्यांकको रूपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पूर्वप्रधान सेनापति थापाको निधन

काठमाडौँ । पूर्वप्रधान सेनापति धर्मपालवरसिंह थापाको निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको छ । थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको निधन भएको हो । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधानमन्त्री

काठमाडौँ । सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । बुधबार एक विशेष समारोहबीच प्रधानमन्त्री लुङ र मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिए। उनलाई प्रधानन्यायाधीश सुन्दरेश मेननले शपथ दिलाएका थिए । शपथ ग्रहण समारोहमा थर्मन शनमुगरत्नमसमेत उपस्थित थिए । लरेन्स वोङ सिंगापुरका चौथो प्रधानमन्त्री हुन् । त्यस्तै उनी सिंगापुर स्वतन्त्र भएपछि जन्मिएका व्यक्तिबाट प्रधानमन्त्री हुने पनि पहिलो हुन् । वोङ सन् १९७२ मा जन्मिएका हुन् भने सिंगापुर सन् १९६५ मा स्वतन्त्र भएको थियो ।सिंगापुर एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय सञ्जीव रिजाल र सोही बस्ने सञ्जीव प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दीपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लोकप्रिय