कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ गरेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस ५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।  

काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो ।     

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

घरका सदस्यलाई बाँधेर डकैती गर्ने २ जना पक्राउ

काठमाडौं । बाँकेमा घरका सदस्यहरुलाई बाँधेर चोरी डकैती गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहराईच थाना खैरीघाट नमावङगला बस्ने ५५ वर्षीय मनेश्‍वर गोडिया र ५२ वर्षीय कुलेराज कुर्मी छन्। जानकी गाउँपालिका ४ जानकीनगरस्थित दुर्गा कुमारी दमाईको घरमा रहेको पसलबाट सामान चाहियो भनि अपरिचित ७ ८ जना व्यक्तिहरूले गत चैत २६ गते राति ढोका खोल्न लगाई जबरजस्ती घरभित्र पसी बन्दुक तथा धारिलो हतियार देखाई घरमा रहेका ३ जनालाई बाँधेर सुनका गरगहना, मोबाइल, पसलमा रहेका सामान र नगद समेत लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।  घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले विस्तृत अनुसन्धान गरि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू माथि जिल्ला अदालत बाँकेबाट ३ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला

पाँचखाल। काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा रहेको एक रुखमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनले तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको बताए । शवको अझै पनि पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको डिएसपी श्रेष्ठले अनुमान गरे । शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा तालिमप्राप्त कुकुर सहित प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । युके पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।  युके पठाउने भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका २ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका ७ बस्ने ३० वर्षीय बिधान कार्की रहेका छन् ।  सोमबार प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।  कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।   उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।

कैलालीको सुधारगृहमा युवकको मृत्यु

कैलाली । कैलालीको एक सुधारगृहमा युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका ४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह) मा राखिएका घोडाघोडी नगरपालिका २ का २५ वर्षीय सुनील शाहीको मृत्यु भएको हो। भाग्ने क्रममा बुधबार बिहान साढे ३ बजे सुधारगृहको छतबाट खसेर शाहीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भने भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरीक्षक सरस्वती अधिकारीले बताइन्। उनका अनुसार छतबाट खसेर घाइते भएका शाहीलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव अहिले घोडाघोडी अस्पतालमा नै राखिएको छ।  मृतकका परिवारका अनुसार शाहीको निधार, कम्मर, गर्धन र हातमा चोट लागेको छ । शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाही गत पुस ४ गते सुधारगृहमा भर्ना भएका थिए । मृतकका परिवारले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

लोकप्रिय