बाजुरामा साढे ३ बजेदेखि मतगणना थालिने

डडेलधुरा । बाजुरामा मतगणना सुरु गर्ने तयारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वपक्षीय बैठकमा आज दिउँसो साढे ३ बजेदेखि मतगणना थाल्ने सहमति भएको हो ।

निर्वाचन आयोगले बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्न बुधबार निर्देशन दिएको थियो । तर, हिजो भएको सर्वपक्षीय बैठकमा नेकपा (एमाले)मा प्रतिनिधि सहभागी नहुँदा मतगणना सुरु हुन सकेको थिएन ।

आज भएको सर्वपक्षीय बैठकमा एमाले प्रतिनिधि पनि सहभागी भए । मतगणना गर्ने सहमति भयो ।

मतपरिणाम आउनेक्रम अन्तिम चरणमा ,यसरी हुँदैछ नयाँ सरकार गठन र संसद सञ्चालन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ । प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरी एक स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेकपा (एमाले) ले ४४, नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजावदी)ले १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात÷सात स्थानमा जित हासिल गरेका छन् । निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नगारिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक÷एक स्थान तथा स्वतन्त्र पाँच जनाले प्रत्यक्षतर्फ जित हासिल गरेका छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ बुधबार दिउँसोसम्म एक करोड ४२ हजार पाँच सय १४ सदर मतमध्ये एमालेले २७ लाख नौ सय चार, कांग्रेसले २५ लाख ५९ हजार ४२, माओवादी केन्द्रले ११ लाख ४५ हजार तीन सय ९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार छ सय ४७, राप्रपाले पाँच लाख ७१ हजार एक सय ६९, जसपाले तीन लाख ९६ हजार आठ सय ३९, जनमत पार्टीले तीन लाख ६० हजार छ सय ६९ र एकीकृत समाजवादीले दुई लाख ८२ हजार आठ सय ८९ मत प्राप्त गरेका छन् । सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा एक सय ६५ सांसद प्रत्यक्ष र एक सय १० सांसद् समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय हुनेछ भने सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा ५९ सदस्यीय हुने संविधानमा उल्लेख छ । निर्वाचन आयोगले यसअघि यही मङ्सिर २२ गतेसम्म निर्वाचनको अन्तिम मतपरिणाम आइसक्ने र त्यसको सम्पूर्ण विवरण राष्ट्रपतिलाई बुझाउने समय निर्धारण गरेको थियो । बाजुरा, स्याङ्जा र दोलखामा निर्वाचन एवं मतगणनामा भएको ढिलाइले अन्तिम मतपरिणाम निर्धारित समयमै आउनेमा आशङ्का छ । निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा दलहरुले नयाँ सरकार गठनका लागि प्रयास थालेका छन् भने सङ्घीय संसद् सचिवालयले पनि नयाँ संसद् सञ्चालनका लागि आवश्यक तयारी थालेको छ । यसैबीच, प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेट गरी पाँचदलीय सत्ता गठबन्धनकै नयाँ सरकार बनाउने सम्बन्धमा आपसी छलफल सुरु गरेका छन्। के छ नयाँ सरकार गठनको संवैधानिक व्यवस्था नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ ।प्रतिनिधिसभाका प्रत्यक्ष एक सय ६५ र समानुपातिक एक सय १० सिटको हालसम्मको मतपरिणाम हेर्दा कुनै पनि दलको बहुमत नआउने स्पष्ट छ । प्रतिनिधिसभाको कूल दुई सय ७५ सिटमध्ये बहुमत पु¥याउन एक सय ३८ सिट ल्याउनुपर्छ । सोही धाराको उपधारा (२) मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । त्यस्तै उपधारा (३) मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । उपधारा (४) मा उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । उपधारा (५)मा उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । उपधारा (६)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्नेछ । त्यस्तै उपाधारा (७)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने संविधानको व्यवस्था छ । उपधारा (८)मा संविधानबमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रावधान छ । नयाँ संसद् सञ्चालनको तयारी संविधानको ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ । निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त हुने समय नजिकिएसँगै सङ्घीय संसद् सचिवालयले संसद् बैठक सञ्चालनका लागि आवश्यक तयारी प्रारम्भ गरेको छ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै दलहरुले नयाँ सरकार गठनको पहल गर्ने र नयाँ सरकार गठनपछि उक्त सरकारले संसद् बैठकको अधिवेशन आह्वान गर्नेछ । संसद् बैठक बस्नु अगावै प्रतिनिधिसभाका नवनिर्वाचित सांसदमध्ये ज्येष्ठ सांसदले राष्ट्रपतिबाट शपथ लिनुहुने संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राससलाई जानकारी दिनुभयो । ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराएपछि संसद् बैठक प्रारम्भ हुनेछ । निर्वाचनपछिको पहिलो संसद् बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ । संविधानको धारा ९५ को उपधारा (२)मा राष्ट्रिपतिले प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने उल्लेख छ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्नेछ । सभामुख र उपसभामुखमध्ये एकजना महिला हुने गरी निर्वाचन गर्नुपर्ने तथा सभामुख र उपसभामुख फरक दलबाट प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै संसद् बैठक यसअघि सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद्को नयाँ भवनमा नयाँ संसद् बैठक बस्ने भनिए पनि निर्धारित समयमै निर्माण सम्पन्न नहुँदा अबको संसद् बैठक हालको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै बस्नेछ । उक्त नयाँ भवन सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ । प्रतिनिधिसभाको यस निर्वाचनबाट दलहरु र स्वतन्त्र सांसदको सङ्ख्या बढ्ने देखिएपछि त्यसको व्यवस्थापनको तयारीमा सचिवालय जुटेको छ । थपिने दलहरु र सांसदका लागि सिंहदरबार परिसरमै संसदीय दलको कार्यालय, नेता र सचेतकको कार्यकक्ष र बैठककक्ष, सवारी साधन र कर्मचारीलगायत आवश्यक व्यवस्थापनको तयारी थालिसकिएको सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । उनले भने, “निर्वाचनबाट आउने दल र सांसदका लागि संसदीय दलको कार्यालयलगायत व्यवस्थापन गर्नुपर्ने भयो, सिंहदरबारभित्र उपयुक्त स्थानमा कार्यालय उपलब्ध गराउने गरी तयारी थालेका छौँ ।” २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पाँचवटा राष्ट्रिय दल बनेका थिए भने एमालेबाट विभाजन भएको एकीकृत समाजवादीलाई पनि सचिवालयले दलको कार्यालय उपलब्ध गराएको थियो । यसबाहेक दुई वा दुईभन्दा बढी सांसद भएका दललाई सचिवालयले संसदीय दलको कार्यालय, नेता र सचेतकको कार्यकक्ष, बैठक कक्ष उपलब्ध गराउनुपर्नेछ । यस निर्वाचनबाट प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व भएको छ भने पाँच स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

बाजुराको मतगणना अझै अनिश्चित, दुई पटकको सर्वदलीय बैठक निष्कर्षविहीन

बाजुरा । बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो । निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्ष विहीन बनेको हो । आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बोलाएको तर सबै दलको उपस्थिति नभएपछि बैठक ११ बजे बोलाएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए । नेकपा एमाले बाजुराले कांग्रेस कार्यकर्ताको कुटपिटबाट ज्यान गुमाएका विद्यार्थी चेतन अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई विना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने बताउँदै आएको छ ।

गठबन्धनकै सरकार बन्छ, स्पष्ट बहुमत पुगिसक्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनकै सरकार बन्ने र त्यसका लागि स्पष्ट बहुमत पुगिसकेको बताएका छन्। पूर्व सभामुख, सिन्धुपाल्चोकका प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचित जनप्रतिनिधि र परिवारसहित सुकुटे रिसोर्ट पुगेका प्रचण्डले यही गठबन्धनकै सरकार बन्ने बताएका हुन्। ‘कोलिसनमा माओवादी नमिली कसैको बहुमत पुग्दैन, एकीकृत समाजवादी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसद गर्दा गठबन्धनकै सरकार बन्छ,’ प्रचण्डको भनाइ उदृत गर्दै माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्रीले भने, ‘यही गठबन्धनलाई निरन्तरता दिने कुरामा कांग्रेस प्रतिबद्ध छ,’ थुनामा रहेका रेशम चौधरीलाई प्रचण्डले सोमबार, माधव नेपालले मंगलबार डिल्लीबजार सदर खोरमै पुगेर भेट गरेका थिए। शक्ति बाँडफाँटका विषयमा समानुपातिक तर्फको अन्तिम परिणाम आएपछि प्याकेजमै छलफल हुने प्रचण्डले बताए। ‘शक्ति बाँडफाँटको विषय सबै चुनावी परिणाम आएपछि मात्र छलफल हुन्छ,’ प्रचण्डले भने, ‘यसबारे प्रधानमन्त्रीसँग छलफल हुन्छ।’ पहिलो चरणमा माओवादीले नै प्रधानमन्त्री पाउनुपर्ने पौडेलले बताए। गठबन्धन सरकारको पहिलो प्रधानमन्त्री प्रचण्ड हुनुपर्ने र त्यो स्वभाविक दाबी हुने उनको भनाइ छ। ‘प्रधानमन्त्रीमा पहिलो दाबी हाम्रो रहन्छ र त्यो स्वतः हक लाग्छ,’ उनले भने, ‘कांग्रेसलाई पहिला पनि सरकार बनाउन दिएकै हो, अहिले त झन अस्तिकै गठबन्धनकै निरन्तरता भएकोले पहिलो प्रधानमन्त्री तपाईं हुनुपर्छ भनेका छौँ, उहाँले काङ्ग्रेससंग यसबारे कुरा हुन्छ भन्नुभयो।’ कांग्रेसले माओवादीलाई प्रधानमन्त्री बनाउने नैतिक दायित्व पूरा गर्ने विश्वास लिएको छ । अध्यक्ष प्रचण्डले चुनावी परिणाम अनपेक्षित रहेको बताउदै अब नयाँ ढंगले अघि बढ्ने बताए। उनले अब युवालाई अघि बढाउने प्रक्रिया थालिसकेको बताए । ‘आन्दोलनलाई बचाउने युवाले हो, हामीले गरेको आन्दोलन र हिस्ट्रीको रक्षा गर्दै अगाडि बढाउने दायित्व युवाको काँधमा आयो,’ प्रचण्डले भने, ‘युवाले जिम्मेवारी लिएर जानुपर्छ,’ माओवादी पार्टी सुदृढ गर्नैपर्ने प्रचण्डको भनाइ रहेको सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले बताए।

रोचक बन्दै सुनसरी–४ को प्रतिस्पर्धा, ज्ञानेन्द्र कार्की ४ मतले अघि

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ को मतगणना रोचक बन्दै गएको छ। मतगणना अन्तिमतिर पुग्दैगर्दा यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। संचारमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ७३ मत प्राप्त गरेका छन्। त्यस्तै, कार्कीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ६९ मत प्राप्त गरेका छन्। पछिल्लो परिणाम अनुसार कार्की र कुसियैतबीच ४ मतको मात्र अन्तर छ। यहाँ दुई दिन रोकिएर पुनः मतगणना सुरु भएको हो। सुरुवाती चरणबाट कार्कीले अग्रता लिँदैगर्दा एमालेका कुसियैतले पनि एकपटक उछिनेका थिए। यो क्षेत्रमा सुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ।

हृदयाघातका कारण वडाध्यक्षको निधन

डाटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गएराति निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको हो। बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासि बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए। उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको निधन भएको हो। हृदयाघातकै कारण उनको निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए। जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

निर्वाचन पर्यवेक्षणमा खटिदैछन् दुई विदेशीसहित ४६ संस्था

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । “हामीले मान्यता दिएका संस्थामध्ये दुई संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन र सिभिक च्याम्बर अफ रसियन फेडेरेसन मात्रै पर्यवेक्षणमा सहभागी हुन लागेका छन् । नेपालभित्रका भने ४४ संस्थाले पर्यवेक्षणको अनुमति पाएका छन्”, निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले भने, “त्यसैगरी, भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, श्रीलङ्का र दक्षिण कोरियाको निर्वाचन आयोगका पदाधिकारी पनि पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ ।” निर्वाचन आयोगका अनुसार भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारसहितको प्रतिनिधिमण्डल नेपाल आउँदै हुनुहुन्छ । त्यस्तै बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त काजी हबिबुल अवाल, भूटानका प्रमुख निर्वाचन आयुक्त सोनम तोप्गे र माल्दिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाद थोफिकको नेतृत्वमा पदाधिकारी नेपाल आउँदै छन् । श्रीलङ्काबाट दुई निर्वाचन आयुक्त एमएम मोहम्मद र एसबी देवरत्ने तथा दक्षिण कोरियाबाट इलेक्सन कमिस्नर किम चाङ–बोसहितको टोली नेपाल आउन लागेको पनि आयोगले जनाएको छ । उनीहरु काठमाडौँ उपत्यकालगायत नजिकका जिल्लामा पर्यवेक्षणका लागि जानेछन् । त्यस्तै नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि र विशिष्ट व्यक्ति पनि चुनावी पर्यवेक्षणमा खटिनेछन् । “मतदानको दिन कूटनीतिक मिसनका प्रतिनिधिले अवलोकन गर्नुहुन्छ । ख्यातिप्राप्त, अनुभवी र विशिष्ट व्यक्तिलाई पनि आयोगले पर्यवेक्षणका लागि बोलाउन सक्छ”, उपसचिव भट्टराईले भने । निर्वाचन आयोग ऐनको दफा ६ ले कुनै स्वदेशी तथा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग सम्बन्धित काम कारबाहीको पर्यवेक्षण गर्न दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि निर्वाचन आयोगले अनुमति दिन्छ । पर्यवेक्षणमा खटिने व्यक्ति तथा संस्थाले निर्वाचनको वैधता, स्वतन्त्रता, निष्पक्षता, तटस्थता, समानता लगायतका विषय हेर्छन् । त्यस्तै निर्वाचनका क्रममा राजनीतिक दलहरुका गतिविधि, आचारसंहिताको पालना, सुरक्षा तथा राजनीतिक हिंसा, निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित रुपमा सञ्चालन भए÷नभएको बारेको अध्ययन पनि पर्यवेक्षक संस्थाले गर्छन् । यद्यपि पर्यवेक्षणका लागि खटिएका संस्था वा व्यक्तिले समेत आचारसंहिता उल्लङ्घन गर्न सक्ने र त्यस्तो गरेको पाइएमा कारबाही गरिने आयोगका उपसचिव भट्टराईले बताए । पर्यवेक्षक संस्था र व्यक्तिका लागि छुट्टै आचारसंहिता तोकिएको छ । निर्वाचन आचार संहिता २०७९ को परिच्छेद ६ मा पर्यवेक्षण गर्ने संस्था तथा पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण समेटिएको छ । पर्यवेक्षण अनुमति पाएका संस्थाले पर्यवेक्षण कार्य समाप्त भएको तीन दिनभित्रमा त्यसको प्रतिवेदन निर्वाचन आयोगसमक्ष बुझाइसक्नुपर्ने व्यवस्था रहेको छ । त्यस्ता संस्थाले निर्वाचनका क्रममा गरेको आयव्ययको विवरण पनि तीस दिनभित्रमा आयोगलाई बुझाइसक्नुपर्छ । त्यस्तै पर्यवेक्षकले आयोगले अनुमति दिएका क्षेत्रमा मात्रै पर्यवेक्षण गर्न पाउँछन् । सुरक्षा संवेदनशील क्षेत्रमा पर्यवेक्षण गर्न पाइँदैन । पर्यवेक्षकले आफ्नो स्थायी बसोबास भएको वा मतदाता नामावलीमा नाम समावेश भएको पालिकाको वडामा पर्यवेक्षणका लागि खटाउन नपाउने व्यवस्था रहेको छ ।

बिहीबार रातिदेखि सबै नाका बन्द हुने

काठमाडौं । निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते बिहीबार मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएको छ । बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग समेत समन्वय गरेको छ । चुनावको वेला नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । निर्वाचनको ७२ घन्टाअघि नाका बन्द हुने, तर अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न पाइनेछ । त्यस्तै, निर्वाचनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मतदानको दिन ४ मंसिर र भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय भएको हो । मतदानको दिन कर्मचारी अबेरसम्म खटिनुपर्ने र भोलिपल्टै कार्यालय गएर काम गर्न कठिन हुने भएकाले ५ गते पनि बिदा दिने निर्णय गरिएको उनले बताए । निर्वाचनको अघिल्लो दिन ३ मंसिरमा शनिबार परेकाले सार्वजनिक बिदा छ । मतदानस्थल रहेका विद्यालयमा भने २ देखि ५ मंसिरसम्म बिदा दिने निर्णय गरिएको छ । अधिकांश मतदानस्थल विद्यालयमा छन् । गत ३० वैशाखको स्थानीय निर्वाचनमा मतदानको दिन मात्र सार्वजनिक बिदा दिइएको थियो ।

बुधबार प्रदेश १ जाँदै प्रचण्ड , आधा दर्जन कार्यक्रमलाई सम्बोधन गर्ने

काठमाडौं । प्रदेश १ मा आफ्ना पार्टीको तर्फबाट उम्मेदवार रहेका विभिन्न क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड बुधबार आउने भएका छन् । माओवादी केन्द्र प्रदेश १ ले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्ड सुनसरी, मोरङ, भोजपुर, खोटाङ र ताप्लेजुङका चुनावी सभामा सहभागी हुनेछन् । प्रचण्ड र नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशरण महतसहितका नेताहरु बिहान ११ बजे मोरङको गछियामा हुने चुनाबीसभामा सहभागी हुनेछन् । ११ बजे हुने सभास्थान मोरङ क्षेत्र नं. ६ हो । सो क्षेत्रमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला प्रतिनिधिसभामा र माओवादी नेता जीवन आचार्य प्रदेशसभामा उम्मेदवार छन् । गछियाको सभापछि प्रचण्डको टोली १२ः३० बजे धरानको भानुचौकमा हुने गठबन्धनको सभामा सहभागी हुनेछ । सुनसरीको क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो उम्मेदवार छन् । प्रचण्डसहितका नेताहरु २ बजे ताप्लेजुङमा आयोजित सभामा सहभागी हुनेछन् । ताप्लेजुङमा गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री उम्मेदवार छन् । ताप्लेजुङपछि ३ बजे भोजपुरको पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्ज्याङमा आयोजित सभामा प्रचण्ड सहभागी हुने कार्यक्रम छ । भोजपुरमा माओवादी केन्द्रका नेता सुदन किराती गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार छन् । भोजपुरपछि प्रचण्डको टोली ४ बजे खोटाङको दिक्तेल पुग्नेछ । खोटाङमा प्रतिनिधिसभामा माओवादी केन्द्रका रामकुमार राई उम्मेदवार छन् । चुनावी अभियानको क्रममा प्रचण्ड पहिलो पटक प्रदेश १ जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा बुधबार गृह जिल्ला डडेलधुरा आउँदै

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला आउने भएका छन् । भोलि डडेलधुरा आएर कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ । यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेका देउवा चार दिन बसेका थिए । सो क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका थिए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेलधुरामा आठ जना उम्मेदवार रहेका छन् । देउवा विसं २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् । रासस

ताप्लेजुङमा योगेशलाई चुनाव जीताएका परागको पक्षमा माहोल

ताप्लेजुङ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार–प्रसार गर्न तीनदिन बाँकी रहँदा ताप्लेजुङका उमेदवारहरु विभिन्न कार्यक्रममा व्यस्त देखिन्छन् । जिल्लामा यतिबेला कसले चुनाव जित्ला ? भन्ने आम जनमानसमा चासोको विषय बनेको छ । तर, प्रतिनिधिसभा सदस्यका लागि दोस्रो पटक उम्मेदवार बनेका योगेश कुमार भट्टराई र खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ दुबैले आफ्नो जित हुनेमा विश्वस्त रहेको बताउँछन् । विकास , समृद्धि र बाम गठबन्धनका लागी मत दिएर योगेश भट्टराईलाई जिताए पनि भट्टराईले जनअपेक्षा अनुरुप काम गर्न नसको कारण निर्वाचन खेलप्रसाद बुढाक्षेत्रीको सम्भावना बलियो बन्दै गएको एक स्थानीयले बताए । उनले भने– ‘योगश भट्टराई नाराहिटी लिज काण्डमा मुछिनु भयो । प्रतिगमनको विरुद्ध लागेर अन्तिममा फेरि तिनै अनिमितता लुकाउन फेरि ओलीकै सरणमा पुग्नुभयो भन्ने जनतामा प्रश्न छन् । उनी काठमाडौंमा धेरै बस्ने गर्छन । ताप्लेजुङको स्थानीय स्तरमा खासै लोकप्रिय नभएका कारण पनि निर्वाचन बुढाक्षेत्रीको पक्षमा देखिन्छ ।’ दोस्रो पटक ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका योगेश भट्टराई जितलाई निरन्तरता दिने अभियानमा रहेका छन् भने उनका लागि यसअघि सघाएका माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री ‘पराग’आफूलाई जनताले विश्वासका साथ विजय गराउनेमा ढुक्क छन् । अघिल्लो निर्वाचनमा भट्टराईलाई सगाएका बुढाक्षेत्री अहिले बाम लोकतान्त्रिक गठबन्दनका तर्फबाट प्रर्तिस्पर्धि बनेका हुन् । ताप्लेजुङबाट पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका बुढाक्षेत्री र दोस्रो पटक पनि चुनाव जित्ने दाउमा रहेका भट्टराई यतिबेला सदरमुकाम केन्द्रित भएका छन् । ९ वटा पालिकामध्ये १ वटा नगरपालिका बाहेक सबै पालिकामा चुनावी सभा सम्पन गरेर सदरमुकाम केन्द्रित बनेका भट्टराई र बुढाक्षेत्री यतिबेला सदरमुकाममा घरदैलोमा व्यस्त देखिन्छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनको साथ पाएर सहजै विजयी बनेका भट्टराईलाई यसपटकको चुनाव जित्न मुस्किल देखिन्छ । प्रायः काठमाडौं बस्ने भट्टराईलाई जिल्लामा लोकप्रिय रहेका खेलप्रसाद निर्वाचन जीताउन कमाण्डर बनेर हिडेका थिए । जो अहिले उनैका प्रतिस्प्रधी छन् । उनलाई गठबन्धन दलको दरिलो साथ समेत रहेको छ । परिस्थिति फेरिएको कारण मतदाताले आफूलाई विश्वासका साथ मत दिनेमा भट्टराई ढुक्क छैनन् । दुई दशकभन्दा बढी समय माओवादी आन्दोलनमा बिताएका बुढाक्षेत्री जिल्लाकै राजनीतिमा सक्रिय छन् । पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर ताप्लेजुङमै कार्यक्षेत्र बनाएर करिब २ दशक बिताएका छन् । यसैबीच बामलोकतान्त्रिक गठबन्धन ताप्लेजुङले ताप्लेजुङको फुङ्लीङमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस नेता प्रकाशसरण महत र एकिकृत समाजवादीका गंगालाल तुलाधर लगायतका अतिथि उपस्थित गराएर जिल्ला स्तरिय प्रशिक्षण सभा आयोजना गरेको छ । जिल्ला तहमा लोकप्रिय रहेका बुढाक्षेत्री केन्द्रमा पनि उत्तिकै पहुँच र प्रभाव विस्तार गर्ने तयारीमा देखिन्छन् । ‘जिल्ला बासीले मलाई राम्रोसँग चिनेका छन् र मलाई विश्वास छ, जनताले यसपटक विश्वासका साथ मलाई जिताउनेछन्’, बुढाक्षेत्री भने । भोट माग्न गाउँगाउँ पुगेका उम्मेदवारले आफूले घोषण पत्रमा अघि सारेका प्रतिबद्धताहरुलाई पूर्ण रुपमा कार्यान्वयन गरि जनताको आसा र भरोसालाई टुट्न नदिई जनता सामु आफू रहने र गरेका बाचा पूरा गर्ने भन्दै आफूलाइ भोट मागेको मतदाताको भनाइ छ। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मतका आधारमा ताप्लेजुङमा एमाले पहिलो शक्तिका रूपमा देखिन्छ । ताप्लेजुङका ६१ वडामध्ये एमालेले २९, कांग्रेसले १६, माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादीले २ वटा र स्वतन्त्रले चारवटा वडा जितेका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको ताप्लेजुङमा ८८ हजार २ सय ८५ जना मतदाता छन् । एक प्रतिनिधिसभा रहेको ताप्लेजुङमा स्वतन्त्र सहित ११ जनाको उम्मेदवारि परेको भएपनि बुढाक्षेत्री र भट्टराईमा बीच राम्रै प्रतिस्पर्धा हुने देखिन्छ । चुनाव गठबन्धनका खेलप्रसादलाई सहज देखिएपनि कस्ले बाजी मार्ला भनेर यसै भन्न सक्न अवस्था छैन । जसको लागि नतिजानै कुर्नुपर्ने हुन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंसिर २ देखि क्यालिब्रेसन उडान हुने

काठमाडौं । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा पुस १७ देखि सञ्चालनमा ल्याइन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग सम्बन्धित प्राविधि जाँच गर्न मंसिर २ गतेदेखि क्यालिब्रेसन उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाइल्यान्डको एरोनटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडको विमानलाई मंसिर २ देखि १२ गतेसम्म उक्त विमानस्थलको क्यालिब्रेसन उडान अनुमति दिएको छ । उक्त विमानले ११ दिनमध्ये ७ दिन पोखराको आकाशमा उडेर त्यहा जडान भएका उडान सम्बन्धी उपकरण तथा प्रविधिहरुको जाँच गर्ने छ । थाई कम्पनीको विशेष विमान सुपर किङ एयर बिचक्राफ्ट विमानले पोखरा विमानस्थलमा जडान भएका उडान सम्बन्धी सञ्चार उपकरण, नेभिगेसन, सर्भिलेन्स आदि प्रविधि व्यावसायिक उडान योग्य छन् या छैन भनेर जाँच गर्ने छ । यो पोखरामा हुन लागेको पहिलो क्यालिब्रेसन उडान भएको प्राधिकरणले जनाएको छ । एरोथाईले क्यालिब्रेसन उडान सकेपछि प्रतिवेदन दिने छ । त्यसपछि परीक्षण उडान र व्यवसायिक उडानका लागि बाटो खुला हुने छ । क्यालिब्रेसन उडानमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिहरु हुने छन् । देशभरका विमानस्थलको हरेक वर्ष गर्नुपर्ने नियमित क्यालिब्रेसन उडानका लागि आउदै गरेको एरोथाईलाई प्राधिकरणले पोखराको पनि जिम्मा दिएको हो । मंगलबार बैंककबाट ढाका हुँदै नेपाल आउने एरोथाईको विमान २४ दिन नेपाल रहेर मंसिर १९ गते मात्रै स्वदेश फर्किने छ ।यसअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान पनि यसै कम्पनीको विमानले गरेको थियो ।

हामी संसद विघटन गर्दैनौं,जनताले दिएको अभिमत पूर्ण पालना गर्छौं : प्रधानमन्त्री देउवा

परासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफूले जितेमा संसद विघटन नगर्ने पनि बताएका छन् । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । यस क्रममा देउवाले जनताले नेकपा एमालेलाई दिएको अभिमत केपी ओलीले बीचमै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक वहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरेका थिए । पश्चिम नवलपरासी( १ मा भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार छन् । देउवाले भने चौधरीलाई यस क्षेत्रबाट विजय बनाउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिएका छन् ।

परासीबाट प्रचण्डले भने – यो चुनाव पाण्डव र कौरवको महाभारत युद्ध जस्तै हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गतेको चुनावलाई पाण्डव र कौरवबीचको ‘महाभारत युद्ध’सँग तुलना गर्दै जनतालाई ‘पाण्डव’हरूको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।   ‘मंसिर ४ मा जनताले कौरव र पाण्डवमध्ये एक रोज्नुपर्ने अवस्था छ । जनताको अभिमतको अवमूल्यन गर्ने कौरवहरूको पराजय निश्चित छ,’ उनले भने, ‘मतदाताले लोकतान्त्रिक वाम गठबन्धनको पाँच पाण्डवका उम्मेदवारहरूलाई विजय गराउने छन् ।’   पश्चिम नवलपरासीमा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले यस्तो बताएका हुन् । उक्त सभामा कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आफूले यस क्षेत्रका जनताले भोगेको मल, बिउ, डुबान तथा बेरोजगारी समस्यालाई योजनाबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रचण्ड र देउवा कर्णालीका दुई जिल्लामा आयोजित चुनावी सभामा सहभागी हुँदै

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज कर्णालीका दुई चुनावी‌ सभालाई सम्बोधन गर्ने भएका छन्। सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। यस्तै, दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पर्यटनबाट नेपाललाई समृद्ध बनाउने माओवादी लक्ष्य, हिन्दु र बुद्ध सर्किटको विकास गरिने

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि आफ्नो दलको सरकार बनेपछि के(के गर्ने भन्ने प्रतिबद्धता पत्र सार्वजनिक गरेको माओवादीले ‘ रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन’ भन्ने मूल नारा अघि सार्दै पर्यटनबाट नेपाललाई सम्वृद बनाउने लक्ष्य लिएको छ। प्रतिबद्धता पत्रमा पर्यटन बिकास गर्ने २१ बुँदे धारणा उल्लेख गर्दै माओवादीले भारतको राम जन्मभूमि र नेपालको जनकपुर, पशुपतिनाथ, स्वर्गद्वारी र हलेसीको हिन्दु सर्किटको भौतिक विकास र सुधार गरी विश्वभरिका हिन्दुहरूको धार्मिक पर्यटन गन्तव्यका रूपमा नेपाललाई विकास गर्ने लक्ष्य राखेको छ। नेपालको पर्यटन क्षेत्र अथाह सम्भावना बोकेको क्षेत्र भए पनि हालसम्म अर्थतन्त्रमा यस क्षेत्रको योगदान न्यून रहेको भन्दै माओवादीले प्राकृतिक सौन्दर्य, संस्कृति, इतिहास, जैविक विविधता र अतिथि सत्कारमा नेपाल विश्वमै अग्रणी स्थानमा अहिले पनि रहेको बताएको छ। नेपालको बुद्ध जन्मभूमि लुम्बिनीदेखि बुद्धको ज्ञानप्राप्ति भएको भारतको बोधगया र महापरिनिर्वाण भएका स्थानहरू जोड्ने बौद्ध सर्किटको प्रवद्र्धन गरेर लुम्बिनीदेखि काठमाडौँको फर्पिङ पद्मसम्भव गुफा, स्वयम्भू, बौद्ध र नमोबुद्ध जोड्ने बौद्ध सर्किटको विकास गरी विश्वभरिका बौद्धहरूको धामिर्क पर्यटन गन्तव्यका रूपमा नेपाललाई प्रवर्द्धन गर्ने महत्वाकांक्षी योजना माओवादीको रहेको छ। हरेक वर्ष बुद्धजयन्तीको दिन अन्तर्राष्ट्रिय बुद्ध महोत्सव आयोजना गरिने भन्दै माओवादीले लुम्बिनीमा बुद्धमार्गीहरूको लागि अत्याधुनिक बर्थिङ सेन्टर स्थापना गरिने बताएको छ । सम्पदा र विशेषताबाट लाभ लिँदै देशभित्र ठुलो मात्रामा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने उद्देश्य बमोजिम माओवादीले मुलुकलाई समृद्धिको दिशातिर डोर्याउने प्रमुख आधारको रूपमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न आबस्यक रहेको आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने यस्तो छ माओवादी योजना १.पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्धन गरी दिगो पर्यटनको आधार तयार गरिने छ । यसका लागि सम्बन्धित क्षेत्रअनुसारका पूर्वाधार र उपरीसंरचनाहरू निर्माण गरिने छ । २.भारतको राम जन्मभूमि र नेपालको जनकपुर, पशुपतिनाथ, स्वर्गद्वारी र हलेसीको हिन्दु सर्किटको भौतिक विकास र सुधार गरी विश्वभरिका हिन्दुहरूको धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने छ । ३.नेपालको बुद्ध जन्मभूमि लुम्बिनीदेखि बुद्धको ज्ञानप्राप्ति भएको भारतको बोधगया र महापरिनिर्वाण भएका स्थानहरू जोड्ने बौद्ध सर्किटको प्रवद्र्धन गर्नुका साथै लुम्बिनीदेखि काठमाडौँैंको फर्पिङ पद्मसम्भव गुफा, स्वयम्भू, बौद्ध र नमोबुद्ध जोड्ने बौद्ध सर्किटको विकास गरी विश्वभरिका बौद्धहरूको धामिर्क पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गरिने छ । हरेक वर्ष बुद्धजयन्तीको दिन अन्तर्राष्ट्रिय बुद्ध महोत्सव आयोजना गरिने छ । लुम्बिनीमा बुद्धमार्गीहरूको लागि अत्याधुनिक बर्थिङ सेन्टर स्थापना गरिने छ । ४.ताप्लेजुङदेखि दार्चुलासम्मको ग्रेट हिमालयन ट्रेल, धौलागिरी सेन्चुरी लगायतका पदमार्गहरूमा पर्यटन पूर्वाधार निर्माण गरिने छ । रुकुमको चुनवाङदेखि म्याग्दी बेनीसम्मको गुरिल्ला ट्रेललाई थप व्यवस्थित गरी युद्ध पर्यटनलाई प्रवर्धन गरिने छ । नयाँ गन्तव्यहरूको पहिचान र विकास गरिने छ । ५.स्थानीय तहहरूसँगको सहकार्यमा हरेक प्रमुख बस्तीहरूमा स्थानीय विशेषतासहितको होमस्टे कार्यक्रम सञ्चालन गरिने छ । ६.हिमाल आरोहीहरूको वर्गीकरण गरी परिचयपत्र व्यवस्था मिलाइनेछ । हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिने छ । ७.आरोहणका लागि हाल प्रतिबन्धित रहेका हिमालहरूको अध्ययन गरी आरोहण खुला गर्ने व्यवस्था गरिने छ । हिमालमा थुप्रिएको फोहोर व्यवस्थाका निम्ति फोहोरमुक्त हिमाल कार्यक्रम लागु गरिने छ । ८.दुर्गम पहाड, जङ्गल र नदी वरपर पर्यटकीय गतिविधिमा लगानी गर्न चाहने व्यवसायीहरूलाई निश्चित अवधिसम्म करमा छुट दिइने छ । साथै, अत्यावश्यक भौतिक पूर्वाधार, विद्युत, पानी र सुरक्षाको प्रबन्ध गरिने छ । ९.उपयुक्त स्थानमा हिमालयन डिज्नेल्यान्ड वा सोही प्रकारको मेगा–थिमपार्क निर्माण गर्नको लागि सम्बन्धित विदेशी कम्पनीहरूसँग सहकार्य गरिने छ । प्रदेश सरकारसँगको सहकारितामा हरेक प्रदेशमा एक सुविधासम्पन्न थिमपार्क निर्माण गर्न गरिने छ । १०.कोभिड महामारी लगायतका प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी नेपाल भ्रमण वर्ष घोषणा गरिने छ । उक्त कार्यक्रममार्फत् ५० लाख विदेशी पर्यटकहरू भित्रने आधार तयार गरिने छ । ११.नेपालका पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचार–प्रसार र बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरिने छ । नेपालका विदेशस्थित नियोगहरूलाई वार्षिक लक्ष्य तोकी पर्यटन प्रवर्धनमा परिचालित गरिने छ । १२.पर्यटन क्षेत्र ऐन २०३५ लगायत पर्यटन क्षेत्रका कानुनी तथा नीतिगत प्रावधानहरूलाई समयानुकूल परिमार्जन गरी पर्यटन क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रतिफलमुखी बनाउनतर्फ केन्द्रित गरिने छ । १३.पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी तथा सामुदायिक संरचनाहरूको पुनर्संरचना गरी तिनीहरूको क्षमता बिस्तारद्वारा गुणस्तरीय सेवा प्रवाहको व्यवस्था मिलाइनेछ। १४.पर्यटन क्षेत्रमा परमिट, शुल्क भुक्तानी लगायतका विषयमा डिजिटल र एकद्वार प्रणाली लागु गरिने छ । पर्यटन प्रवर्धनलाई केन्द्रमा राखी पर्यटकमैत्री नीति, कार्यक्रम र नियमन प्रणाली स्थापित गरिने छ । १५.पर्यटन विश्वविद्यालय स्थापना गरी पर्यटन सम्बन्धी अध्यापन तथा प्रशिक्षणको व्यवस्था गरिने छ । हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरूमा समेत पर्यटन सम्बन्धी विशिष्टिकृत विषय अध्यापनको व्यवस्था गरिने छ । १६.सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्दा प्राकृतिक सौन्दर्य, परम्परागत धरोहर, धारा, चौतरा र कला संस्कृतिको जगेर्ना गरिने छ । १७.डा.हर्क गुरूङ स्मृति पर्यटन प्रवर्धन कोष स्थापना गरी पर्यटन क्षेत्रको प्रवर्धन र विकासमा योगदान गर्ने विशिष्ट व्यक्तिहरूलाई पुरस्कृत गरिने छ । १८.पर्यटन सेवा क्षेत्रका होटल, एयरलाइन्स्, ट्राभल, ट्रेकिङ, ¥याफ्टिङ, रिसोर्ट आदिको आर्थिक भार कम गर्न बैङ्क ग्यारेन्टी लगायतका प्रावधानमा पुनरावलोकन गरिने छ । १९.पर्यटन प्रयोजनका लागि खरिद गरिने विद्युतीय सवारी साधनलाई कर छुट साथै सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने छ । २०.नेपालको हवाइ यातायातलाई सुरक्षित बनाउन पूर्वाधार विकास, विमानस्थलहरूको गुणस्तर वृद्धि, यान्त्रिक क्षमता विकासजस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने छ । नेपालको हवाइ यातायातलाई असुरक्षित भनी सूचीकृत गरेका देश तथा एजेन्सीहरूसँग कुटनीतिक संवाद गरी सो सूचिबाट हटाइनेछ । २१.स्वरोजगारमुखी पर्यटन व्यवसायमा लाग्दै आएको करलाई सरलीकृत गरी एकद्वारा प्रणालीमा ल्याइनेछ । कर प्रणालीलाई व्यावहारिक र पर्यटनमैत्री बनाइनेछ ।