एमालेमाथि कांग्रेसले लगायो आचारसंहिता उल्लघंन आरोप

काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले खुलेआम निर्वाचन आचारसंहिता उलंघन गरेको आरोप लगाएको छ।कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गर्दै एमालेमाथि कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेका हुन्।

महतले निर्वाचन आचारसंहिताविरूद्ध एमालेले खुलेआम प्रलोभन र सामाजिक संघसंस्था दुरुपयोग गर्ने काम गर्दा पनि आयोगले कारबाही नगरेको भन्दै आक्रोश पोखे।

‘म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु, आचारसंहिताको हामीले अक्षरशः पालना गरेका छौं। तर संस्थाहरुको दुरुपयोग एमालेले गरेको जगजाहेर छ’ उनले भने, आचारसंहिताविरुद्ध प्रलोभन दिने, विभिन्न संस्था दूरुपयोग गर्ने प्रवृत्तिलाई निर्वाचन आयोगले तत्काल निगरानी गरोस्। हामी त्यसलाई कारबाही गरोस् भनेर आयोगसँग आग्रह गर्छौँ।’

मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमति लिनु नपर्ने

काठमाडौ‌ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते मतदानको दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरूका लागि पासको आवश्यकता नरहेको जनाएको छ । आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन,अस्पतालमा कार्यरत परिचयपत्र बोकेको चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनु नपर्ने बताएको हो । यस्तै खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारीसाधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधनका लागि पास लिनु नपर्ने निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए । निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताको सवारी साधनका लागि पनि अनुमति आवश्यक नपर्ने दुवाडीले बताए । सचिव दुवाडीका अनुसार फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेटका सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन, कुटनीतिक नियोग, युएन एजेन्सी, दुईपक्षीय, बहुपक्षीय साझेदार संस्थाहरुमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्ने सवारीसाधनलाई पनि अनुमति आवश्यक छैन । आयोगले अशक्त व्यक्तिहरुको हकमा समेत मतदानलाई सहजीकरण गर्न वडा कार्यालयको सिफारिसमा सम्बन्धित निर्वाचन अधिकृतले अनुमतिपत्र दिने व्यवस्था गरेको जनाएको छ । त्यस्तै पूर्ण अपाङ्गता भएका वा क वर्ग र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुको हकमा पनि परिचयपत्रको आधारमा सवारीसाधन प्रयोग गर्दा अनुमति नचाहिने बताइएको छ । ‘कतिपय अत्यावश्यकीय सेवा प्रवाहका सन्दर्भमा सञ्चालित हुने सवारीका लागि अनुमति आवश्यक नपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सेवाको हकमा भन्ने हो भने बिरामी बोकेको एम्बुलेन्स, शव वाहन,अस्पतालमा कार्यरत परिचय पत्र चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन, त्यस्तै अन्य अत्यावश्यकीय सेवामा, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारीसाधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन र निर्वाचन आयोगबाट ‘जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकन कर्ता, अनुगमन कर्ताको सवारी साधनले पनि अनुमति आवश्यक पर्दैन,’ सचिव दुवाडीले भनेका छन् । अन्यको हकमा भने सम्बन्धित निर्वाचन अधिकृतले आवश्यकताको आधारमा अनुमति दिने व्यवस्था गरेको आयोगले जनाएको छ । मानवीय उद्धार तथा सहायता एवं आपतकालीन अवस्थामा प्रयोग गर्ने सवारीसाधनको हकमा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीले व्यवस्थापन गर्न सकिने आयोगले जनाएको छ ।

डा.तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

ललितपुर । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ। कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले अस्वीकार गरेसँगै उनको उम्मेवारी कायम रहने भएको हो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो। त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको उम्मेदवारी कायम गर्न सर्वोच्चले निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो। सो अन्तरिम आदेश खारेज गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गरेको थियो। तर अन्तरिम आदेशलाई नै निरन्तरता दिँदै न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गरिदिएको हो।

देशकै नमुना क्षेत्र बनाउने जीवन आचार्यको प्रतिवद्धता

मोरङ । मोरङ क्षेत्र नं. ६ (क) का गठबन्धन उम्मेद्वार जीवन आचार्यले क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिवद्धता जनाएका छन् । माओवादी केन्द्रका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका आचार्यले क्षेत्रको समग्र विकासमा अकल्पनीय काम गर्ने प्रतिवद्धता गरेका हुन् । अघिल्ला नेतृत्वले सपना देखाएर काम गर्न नसकेको आरोप लगाउँदै आचार्यले भने, ‘प्रदेश १ मा थुप्रै काम गर्न बाँकी छन् । भौतिक विकाससँगै सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक विकासका कामहरुलाई समानान्तर लानु छ ।’ सुकुम्बासी, किसान, मजदुर लगायतका समस्याहरु राजनीतिक दलले उठाउनै नसकेको नेता आचार्यको आरोप छ । ‘सडक बन्नुलाई मात्र विकास भनियो । विकास त्योभन्दा बाहिर छ ।’ आचार्यले भने, ‘बिभिन्न क्षेत्रमा तटबन्धनको समस्या छ । किसानहरुलाई मल छैन । उत्कृष्ट परामर्शदाता (प्राविधिक)हरु छैनन् । शैक्षिक गुणस्तरमा समस्या छ । सामुदायिक विद्यालयहरु कमजोर हुँदैछन् । यी समग्र क्षेत्रमा देशकै नमुना काम गरेर देखाउँछु ।’ स्वास्थ्यमा गुणस्तर, शुरक्षाको ग्यारेन्टि, रोजगार र उद्यमशीलताको विकासमा पनि आफू केन्द्रित भएर काम गर्ने आचार्यले बताए । स्थानीय बासिन्दा भएका कारण क्षेत्रका सबै समस्या जानकारी भएको नेता आचार्यले बताए । उनले भने, ‘मैले हिजो नजित्दा पनि जनताको सेवा गरेको छु, जित्दा झनै धेरै गर्नेछु ।’ मोरङ क्षेत्र नं.६ का संघीय सांसदका उम्मेद्वार शेखर कोइरालालाई लक्षित गर्दै आचार्यले भने, ‘देशको नेतृत्व गर्नसक्ने अग्रज व्यक्ति साथमा पाएको छु । हामी दुबैलाई जिताउनुस् । अग्रजको अनुभव र युवाको उर्जा मिलाएर हामी नमुना काम गर्नेछौं ।’ संविधान र लोकतन्त्रको रक्षाका लागि मात्र नभएर मुलुककै रक्षाका लागि गठबन्धन आवश्यक भएको जिकिर गर्दै नेता आचार्यले गठबन्धनलाई निर्धक्क भएर भोट हाल्न जनतासामु आग्रह गरे। ‘यो देशको आवश्यकता हो । समयको माग हो ।’ उनले भने, ‘परिवर्तनलाई संस्थागत गर्न हामी एक ठाउँमा उभिएका छौं, यसलाई आम जनताले बुझिदिनुपर्छ ।’

डा.भोजराज अधिकारी मतदाताको हौसला पाउँदै ६ स भन्ने नारा जनता माझ लोकप्रिय बन्दै

चितवन । मंसिर ४ गते हुन गइरहेको नर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार डा भोजराज अधिकारीले मतदाताको हौसला पाइरहेका छन् । घरदैलोका क्रममा अधिकारीले मतदाता समक्ष उनले गठबन्धन र आफ्ना एजेण्डाहरु सुनाउँदै हिडिरहेका छन् । उनका एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् । उनले ६ स भन्ने आफ्ना नारा जनता माझ बढी सुनाएका छन् । गठबन्धन अन्र्तगत रहेको नेकपा माओवादी केन्द्रको तर्फबाट चुनावी मैदानमा होमिएका अधिकारीले फरकशैलीका साथ मतदाता माझ पुगेका छन् । तामझाम र भिडभाड विना घरदैलो गर्ने र मतदातासँग अन्तक्र्रिया गर्ने पार्टीको नीति अनुरुप घरदैलो कार्यक्रमलाई बढीभन्दा बढी अन्तक्रियात्मक बनाउने प्रयास गरिरहेको उनी बताउँछन् । जहाँ पुग्दा पनि मतदाताले अब विकल्प खोज्ने मुड बनाएका पाइएको उनको दावी छ । उनले मतदातालाई निरास नबनाउने प्रतिवद्धता जनाउँदै हिडेका छन् । कतिपय मतदाताले अधिकारीलाई जितिसकेपछि अन्य नेता जस्तो व्यवहार देखाउन अनुरोध गरिरहेका पनि पाइएको थियो । चुनावमा भोट माग्न दलबल सहित आउने तर निर्वाचित भैसकेपछि देखे नदेखेजस्तो व्यवहार नेताहरुले गर्ने गरेकाले यसो नगर्न मतदाताले अनुरोध गरेका थिए । अधिकारीले मतदाता भेट्दै गलत गरेको खण्डमा कठालो समाउन सक्ने अधिकार जनतालाई रहेको भन्दै यसपटक सोच विचार गरेर आफ्नो मत खसाल्न अनुरोध गरे । सरल, आत्मीय र निडर स्वभावका डा।अधिकारीले अहिलेसम्म गरिएको घरदैलोमा जनताको मन जित्ने सकिनेमा विश्वास व्यक्त गरे ।

एमाले उम्मेदवार हुकुम बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण, तीन बर्ष कैद तथा उम्मेद्बारी खारेजी हुन सक्ने

दाङ । दाङ ३ (ख) प्रदेश सभा सदस्यमा एमालेबाट उम्मेदवार रहेका हुकुम बहादुर बस्नेतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । चुनावी प्रचारमा स्कुले विद्यार्थी प्रयोग गरेको विषयमा आयोगले सोमबार बस्नेतलाई स्पष्टीकरण सोधेको हो । आयोगले चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको भन्दै यो विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ । आयोगले भनेको छ, ‘निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदा–हुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाई्लाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिमको कारवाही किन हुनु नपर्ने हो ?’ निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) मा आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था पदाधिकारी वा निकायलाई आयोगले तीन बर्षसम्म कैद या पचहत्तर हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ। त्यस्तै,उपदफा (४) मा सम्बन्धित उम्मेवारले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएमा आयोगले निजको उम्मेदवारी पनि रद्द गर्न सक्ने उल्लेख छ। यसअघि एमालेबाटि दाङ ३ मा प्रातिनिधी सभा सदस्य उमेदवार रहेकी कोमल वलिलाई पनि आयोगले चौबीस घण्टे स्पस्टिकरण सोधिसकेको छ।

भुसालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं । सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले बुद्धको मालवी देवदह र लुम्बिनी बुद्ध विश्व विद्यालयमा विशेष जोड दिएर विकास गर्दा रुपन्देही क्षेत्र नम्बरको १ मात्रै विकास नभई राष्ट्रियकरण विकासमा जोड्न सकिने योजना रहेको बताएका छन्। प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ । यस्तै कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत्, नदी नियन्त्रण तथा तटबन्ध, औद्योगिक तथा व्यावसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक स्रोत साधनलगायत १६ वटा विषयमा विभाजन गरी योजना समावेश गरिएको छ। कार्यक्रममा भुसालसँगै प्रदेशसभा सदस्यका उम्मेदवार अब्दुल रज्जाक र विश्वनाथ यादवले उपस्थिति रहेकोले थियो । यहाँ स्वतन्त्र रूपमा त्रिभुज चुनाव चिह्न लिएर मैदानमा गएका भुसाललाई गठबन्धन दलहरूले समर्थन गरेका हुन् । यसअघि रुपन्देही क्षेत्र नम्बर ३ उठेका भुसालले अहिले नीति र विकास दुवै मुद्दामा केन्द्रमा राखेर १ नम्बरको क्षेत्रमा मैदानमा गएको बताए ।

ओखर र फलफूल खेती गर्न एडीबीले सघाउने

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीका लागि वित्तीय लगानी गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार बैंकले साधारण पुँजी संशोधनबाट करिब रु सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब रु एक अर्ब ३० करोड अनुदान व्यहोर्ने छ । परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट रु एक अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब एक अर्ब ८८ करोड लगानी गर्नेछ । सम्झौता कार्यक्रममा अर्थसचिव पुस्करले कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको भन्दै बर्षेनी बजेट बढाउदै लगेको जानकारी दिए । सहयोगले नेपालको कृषि क्षेत्रको विकासका लागि थप मद्दत पुग्ने उनको भनाइ छ । उक्त परियोजनाबाट प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन् । जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइने सम्झौतापत्रमा उल्लेख छ ।

एमालेले भ्रष्टाचारीहरुलाई मिलाएर गठबन्धन बनाएको छ : देव गुरुङ

काठमाडौं । लमजुङमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका उमेदवार देवप्रसाद गुरुङले एमालेले भ्रटचारीहरू मिलाएर गठबन्धन बनाएको आरोप लगाएका छन्।उनले एमालेले मुलुकलाई गम्भीर संकटको दिशामा लान लागेकाले आफूहरूले पाँच दलीय गठबन्धन बनाउनुपरेको दाबी गरेका छन्। लोकतान्त्रिक–वाम गठबन्धन राईनासको आइतबार भएको संयुक्त कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले सो कुरा बताएका हुन् ।नेकपा माआवादी केन्द्रका महासचिवसमेत रहेका गुरुङले देश संकटमा परेकाले लोकतान्त्रिक(वाम गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह पनि गरेका छन्।एकातिर पाँच दलको लोकतान्त्रिक वाम गठबन्धन र अर्कोतर्फ एमालेले साना दलहरूलाई लिएर चुनावी मैदानमा आएको उल्लेख गर्दै गुरुङले सर्वसाधारणले देश बचाउने र संकटको अवस्थाबाट मुक्त गराउन मत दिनुपर्ने अवस्था आएको बताए । एमालेले कन्स्परेसी अर्थात षडयन्त्रको सिद्धान्तलाई अंगालेकोले त्यसबाट मुक्त हुन गठबन्धनलाई मत दिनुपर्ने उनले बताए।एमालेले राणाकाल, राजतन्त्र आदिमा सत्ता कब्जा गर्न अपनाइएको सिद्धान्त षडयन्त्रको सिद्धान्तलाई अंगिकार गरेकोले त्यस्ता सिद्धान्त अहिलेको लोकतन्त्रमा नसुहाउने उनले बताए।लोकतन्त्रात्मक व्यवस्थामा पनि षडयन्त्र र द्वैध चरित्रको सिद्धान्त लिएर एमाले चुनावी माहोलमा सर्वसाधारणमा भ्रम छर्न थालेको बताउँदै गुरुङले त्यसलाई बुझ्न र परास्त गर्न आवश्यक रहेको बताए। राजनीतिमा अलिकति पनि इमान्दारीता नभएको र भ्रष्टाचारी चरित्रलाई अंगालेको एमालेले विकास गर्न नसक्ने भन्दै उनले त्यस्तो भ्रष्ट गठबन्धनलाई पराजित गर्न अपिल गरे।२०७४ सालमा वाम गठबन्धन बनाएर बहुमत ल्याए पनि संविधानले दिएका मुख्य मान्यता र लोकतान्त्रिक संस्कारअनुसार काम गर्न नसक्नुमा केपी ओली मुख्य कारण रहेको उनले बताए। गुरुङले एमालेका अध्यक्ष ओलीको तानाशाही चरित्रका कारण नेपाली जनताले चुनेर पठाएका प्रनिनिधिद्वारा निर्माण भएको संविधानलाई ध्वस्त बनाउने काम भएको बताए ।‘एमालेले गरेको संसद विघटन मात्रै थियो तरु हेर्दा त्यो सामन्य लाग्छ तर त्यसको अन्तर्यमा विविध भावनालाई विभाजन गरेर मुलुक संकटमा पुर्‍याउने खेल रचिएको थियो,’ उनले भने।

गिरिराजमणिको घरदैलो: मतदाताको सद्भाव, कार्यकर्ता उत्साही

महोत्तरी । आगामी मंसिर ४ गते हुने निर्वाचनमा गिरिराजमणि पोखरेल पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ का साझा उम्मेदवार हुन् । माओवादी केन्द्रका उपमहासचिव पोखरेल यो निर्वाचन क्षेत्रबाट पटक पटक निर्वाचित हुँदै आएका छन् । यो क्षेत्रमा पोखरेल पुनः उम्मेदवार भएपछि महोत्तरी १ का जनता उत्साही देखिएका छन् । बर्दिबासलाई यत्तिको उचाइमा पुर्‍याउन र राष्ट्रिय स्तरमै बर्दिबासको पहिचान स्थापित गराउन गिरिराजमणिले नेतृत्वदायी भूमिका खेलेको भन्दै स्थानीयहरू उनको प्रशंसा गर्छन् । हुन पनि पोखरेलले सडक, पुल पुलेसा जस्ता विकासका कार्य मात्र नभएर बर्दिबासलाई चिनाउन रणनीतिक महत्त्वका कामलाई पनि रणनीतिक हिसाबले नै अगाडि बढाएका छन् । गिरिराजमणिकै पहल कदमीमा बर्दिबासले आजको यो उचाइ छोएको र चर्चा बटुलेको महोत्तरी-१ का मतदाताहरू नै बताउँछन् । पोखरेलको घरदैलो र गाउँगाउँमा भएका भेटघाटमा मतदाताले भन्ने गरेका छन्, ‘बर्दिबासले अहिले जुन चर्चा पाएको छ, जसरी यसको विकास भइरहेको छ त्यसमा तपाईंको ठूलो योगदान छ ।’ त्यसो त पोखरेलले महोत्तरी १ को विकासका लागि निकै मेहनत गरेका छन् । उनले सडक, पुलपुलेसा, खानेपानी जस्ता योजनालाई त अगाडि बढाएका छन् नै सँगै दुरगामी महत्त्वका आयोजनाहरू मेडिकल कलेज, प्राविधिक कलेजहरूको विकासमा पनि रणनीतिक रूपमा पहलकदमी र अगुवाइ गरेका छन् । ‘उहाँ (पोखरेल) ले नेतृत्व गरेपछि बर्दिबासको चर्चा चुलियो । प्रदेश २ का प्राय सबै ठूला गोष्ठी सेमिनारहरू बर्दिबासमा हुन थालेका छन् । यो प्रदेश २ को मात्र नभएर १ र २ नम्बर प्रदेशकै केन्द्र बन्ने दिशामा अघि बढेको छ,’ स्थानीयहरू भन्छन् । त्यसो त बर्दिबासलाई पोखरेलले शिक्षा र स्वास्थ्यको हब बनाउने दिशामा पनि योजनाबद्ध रूपमा काम गरिरहेका छन् । मेडिकल कलेज तथा प्राविधिक कलेज स्थापनाको पहल कदमी त्यसैको निरन्तरता हो । पोखरेलको चुनावी अभियानमा सक्रिय गठबन्धनका एक कार्यकर्ता भन्छन्, ‘महोत्तरी १ मा अन्य क्षेत्रमा जस्तै सडक पुलपुलेसा जस्ता विकासका कामहरू पनि उहाँ (पोखरेल) ले अगाडि बढाउनुभएको छ । अझ यो क्षेत्रको समग्र विकास र यसलाई यो स्तरको चर्चित ठाउँ बनाउन उहाँको निकै ठूलो योगदान छ । गिरिराजजी नभएको भए सायद बर्दिबासले यति छिटै यो स्तरको चर्चा नपाउन पनि सक्थ्यो ।’ पोखरेलले चुरे संरक्षण तथा पर्यटनको क्षेत्रमा पनि निकै काम गरेका छन् । बर्दिबासमा ठूलो लगानी केन्द्रित भइरहेको छ, ठूलठूला होटलहरू बनेका छन् । स्वस्थ्य क्षेत्रमा पनि बर्दिबासले निकै फड्को मारेको छ । त्यसका लागि पोखरेलले रणनीतिक रूपमा योजनाबद्ध हिसाबले काम गरे । जसका कारण बर्दिबासले आज यो चर्चा पाएको स्थानीयहरू बताउँछन् । उनीहरूका अनुसार गिरिराज नभएको भए बर्दिबासले यो हाइट पाउँदैनथ्यो । ‘एक दशक अघिको बर्दिबास र अहिलेको बर्दिबासको तुलनै हुँदैन,’ स्थानीयहरू भन्छन्, ‘यसमा गिरिराजमणिको ठूलो योगदान छ ।’ त्यसो त पोखरेलले सिँचाइ र खानेपानीको विकासका लागि पनि योजनाबद्ध रूपले काम अघि बढाएका छन् । ‘मरिणको पानि ल्याएर महोत्तरीमा मिलाउन सकिन्छ कि भनेर खानेपानी मन्त्रालयबाट हामीले अध्ययन गराएका छौँ,’ पोखरेल भन्छन्, ‘पूरै क्षेत्रमा हामीले काम गर्नुपर्नेछ ।’ महोत्तरीको समस्या र जनताका पीडालाई नजिकबाट देखेका पोखरेलले यो क्षेत्रबाट धेरै युवा कामको खोजिमा विदेशिने गरेको उल्लेख गर्दै आफूले उनीहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन खोजेको पनि बताएका छन् । ‘महोत्तरीबाट धेरै युवाहरू बाहिर जानुहुन्छ । म चाहन्छु देशभित्रै युवाहरूले काम गर्ने वातावरण होस्,’ पोखरेलले भनेका छन्, ‘आउने दिनमा देशभित्र रोजगारी, स्वरोजगारीको अभियान छेड्न जरूरी छ ।’ विगतमा जस्तै महोत्तरी १ का जनताले यसपटक पनि माया गर्नेमा आफू विश्वस्त रहेको पोखरेल बताउँछन् । पोखरेलप्रति मतादाताको निकै सद्भाव रहेको उनको अभियानमा खटिएकाहरूको प्रतिक्रिया छ । आफ्ना उम्मेदवारप्रति मतदाताको सकारात्मक प्रतिक्रिया पाउँदा अभियानमा खटिएका नेता-कार्यकर्ताहरू थप उत्साही बनेका छन् ।

सेतोपाटीलाई सोधिएको आयोगको स्पष्टीकरण फिर्ता

काठमाडौं । सेतोपाटी अनलाइनसँग सोधिएको स्पष्टीकरण निर्वाचन आयोगले फिर्ता लिएको छ।झापा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार अग्नि खरेलका छोराबारे लेखिएको समाचार २४ घन्टाभित्र हटाएर स्पष्टीकरण दिन भनेर शनिबार लेखेको पत्र आयोगले आइतवार फिर्ता लिएको हो। आयोगले आइतवार एक वक्तव्य निकालेर आमसञ्चार नीति र मान्यताभन्दा फरक हुने गरी प्राविधिक कारणवश सेतोपाटीलाई पत्र लेखिएकाले फिर्ता लिइएको जनाएको छ। ‘आयोगको आमसञ्चार माध्यमप्रतिको नीति र मान्यताभन्दा फरक हुने गरी यहाँ (अमित ढकाल) प्रधानसम्पादक रहेको सञ्चारमाध्यम (सेतोपाटी)बाट प्रकाशित समाचारको विषयलाई लिएर प्राविधिक कारणले यहाँलाई प्रेषित हुन गएको स्पष्ट गर्ने विषयको पत्र यसै पत्रमार्फत फिर्ता लिइएको बेहोरा आदेशानुसार सादर अनुरोध छ,’ वक्तव्यमा भनिएको छ। सेतोपाटीले गत शुक्रबार ‘अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता पनि कायमै’ शीर्षकमा खबर छापेको थियो।पूर्वमन्त्री तथा महान्ययाधिवक्ता अग्नी खरेल झपा १ बाट प्रतिनिधिसभाका लागि एमालेका उम्मेदवार छन्। यही खबरलाई लिएर आयोगले मंसिर ४ को निर्वाचनमा उम्मेदवार भएका व्यक्ति र उनका परिवारको चरित्रहत्या भएको जनाउँदै व्यक्तिगत लाञ्छना लगाउने गरी समाचार प्रकाशन भएको देखिएकाले २४ घन्टाभित्र समाचार हटाई स्पष्टीकरण दिन भनेको थियो। काउन्सिलले गर्नुपर्ने काम आयोग स्वयंले गरेको भन्दै पत्रकार महासंघ र मिडिया जगतबाट विरोध भएपछि आयोग पछि हटिसकेको छ।यसअघि काउन्सिलले विभिन्न पत्रपत्रिका, अनलाइनसहितका सञ्चारमाध्यमलाई पत्र लेख्ने काम गरिसकेको छ। सुरुमा सेना, पुलिससहितको संरचना बनाएर मिडियाको अनुगमन आयोग आफैँले गर्न थालेपछि काउन्सिल र पत्रकार महासंघले विरोध गरेका थिए। उक्त विरोधपछि आयोग आफैले मिडियाको अनुगमन गर्ने, कारवाही गर्ने काम काउन्सिलको हुने उल्लेख गर्दै एक महिना अघि पत्राचाार समेत गरेको थियो। त्यसविपरित आफै मिडियाको कन्टेन्ट हेर्ने प्रयास गरेपछि विवाद बढेको हो। काउन्सिलको पत्र यसैबीच यो विषय हेर्ने कार्यक्षेत्र पाएको नेपाल प्रेस काउन्सिलले उक्त समाचारलाई लिएर सेतोपाटीलाई २४ घण्टे पत्र काटेको छ। काउन्सिलले असान्दर्भिक विषयवस्तु प्रकाशन गर्नुको कारण पेस गर्न भन्दै सेतोपाटीलाई आइतवार २४ घण्टे स्पष्टीकरण सोधेको हो। काउन्सिलले चुनावको स्वअनुगमनमै उक्त समाचार परेको र थप कारवाहीका लागि भन्दै पहिले त्यस्तो समाचार प्रकाशन गर्नुको कारण मागेको हो। निर्वाचनमा भाग लिएका कुनै राजनीतिक दलका उम्मेदवारलाई निर्वाचनको सम्मुखमा नकरात्मक प्रभाव पार्ने किसिमको सामाग्री के कसरी सम्प्रेषण हुन गएको होरु, काउन्सिलले पठाएको पत्रमा उल्लेख छ। जबकी सेतोपाटीको खबरमा अग्नी खरेलले नै आफ्नो छोरो सात वर्षदेखि अमेरिकी सेनामा कार्यरत रहेको र नेपाली नागरिकता त्याग्ने विषय उनको व्यक्तिगत इच्छामा भर पर्ने बताएका छन्।

चितवन–३ का उम्मेदवार डा. अधिकारीको भोट माग्ने शैली ‘थाइराइड ठीक छ ?’

चितवन। भोट माग्न हिँड्दै गर्दा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा। भोजराज अधिकारीले माइकबाट ‘थाइराइड ठीक छ ?’ भनेर गरिएको प्रश्न टिकटकमा यतिबेला धेरैले हेरिरहेका छन्। फिजिसियन डा.अधिकारीले उक्त क्षेत्रका धेरै बिरामीको थाइराइड, उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको नियमित परीक्षण गर्दै आएका थिए। आफ्नो बिरामी देख्नेबित्तिकै डा। अधिकारीको पहिलो प्रश्न हुने गर्दछ, स्वास्थ्यको। बिमारअनुसार उनले अवस्था सोध्ने र बुझ्ने गर्छन्। झण्डा हालिएको गाडीमा पछाडि भोट माग्ने अभियानमा आफ्नो क्षेत्रका धेरै मतदाता अधिकारीका नियमित बिरामी छन्। मतदाताले विकास निर्माणभन्दा स्वास्थ्यका कुरा धेरै सोध्ने गरेका छन्। अधिकारीसँगै प्रचारमा रहेका साजन अधिकारीका अनुसार पहिलो प्रश्न उपचारकै हुने गर्दछ। लामो समयदेखि डा।अधिकारीको परीक्षणमा औषधि खाइरहेकाहरूले जितेर आफूहरूलाई नजाँच्ने हो भने भोट नै हाल्दैनौँसमेत भन्ने गरेका छन्। डा। अधिकारीले भने, ‘मसँग धेरैले स्वास्थ्यको प्रश्न गर्छन्।’ हिँड्दै गर्दा आफ्ना बिरामी देखेपछि सोध्न मन लाग्ने भन्दै उनले फकाउनका लागि भन्दा पनि अरु बेलामा झैँ सोध्ने गरेको बताए। उनले भने ‘अरु बेलामा पनि म बिरामीलाई भेटेपछि स्वास्थ्य अवस्थाका बारेमा सोध्ने गर्छु।’ भरतपुर अस्पताल विकास समितिका अध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा उभिएका अधिकारी जिल्लाका चिनिएका फिजिसियन डाक्टर हुन्। दुई हजारभन्दा बढी आफ्ना नियमित बिरामी आफू चुनाव लड्दै गरेको क्षेत्रमा रहेको उनको भनाइ छ। प्रचारकै क्रममा कतिपय बिरामी प्रेस्क्रिप्सन बोकेर देखाउन आउने गर्दछन्। कतिपय जटिल बिरामीलाई डा. अधिकारीले गाडीबाट झरेर अवस्था बुझी आवश्यक सुझाव दिने गरेका छन्। औषधि सकिएकाहरूलाई थप गर्न र मङ्सिर १० गतेपछि अस्पताल आउन डाक्टरले सुझाव दिने गरेको सहयोगी साजनले बताए। कतिपयले आफू डाक्टरको उपचारले निको भएको भन्दै खुशी प्रकट गर्ने गरेको साजनको भनाइ छ। दश वर्षपछि राजनीति गर्ने तयारीमा रहेका अधिकारी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड गोरखामा निर्वाचनमा उम्मेदवार हुन गएपछि प्रचण्डको उत्तराधिकारीका रूपमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार छन्। रासस

सर्वोच्चको अन्तरिम आदेश : ‘नो, नट अगेन’ लाई कारबाही नगर्नु

काठमाडौं । ‘नो, नट अगेन’अभियान चलाउने अभियान्ताहरूलाई कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उक्त आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।उनले कात्तिक २४ गते रिट निवेदक र विपक्षी दुबैलाई छलफलका लागि बोलाएको समेत बताए। यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘नो, नट अगेन अभियान चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। निर्वाचन आयोगले विभिन्न दलका शीर्ष नेताको फोटो राखेर ‘नो, नट अगेन’ को प्रचार रोक्न निर्देशन दिएको थियो।

प्रचण्डले आर्थिक विकास समृद्धिको सुरुवात गोरखाबाट गर्ने, ४५ रणनीतिक योजना सार्वजनिक(पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाको विकासका लागि रणनीतिक महत्वका  सार्वजनिक गरेका छन्। माओवादी केन्द्रले पार्टीको घोषणपत्र यसअघि नै सार्वजनिक गरेको छ । पार्टीको घोषणापत्रका अतिरिक्त नेताहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत योजनाहरु अघि सार्ने गरेको छन् । यसैबीच गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाली जनताका लागि भन्दै रणनीतिक योजनासहित प्रतिवद्धतापत्र ल्याएका हुन्। आफु विकास र समृद्धिको नयाँ अभियान संचालन गर्नको निमिक्त गोरखाबाट उम्मेदवार बनेको बताएका अध्यक्ष प्रचण्डले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने लगायतका विषय समेटेर आफ्नो निर्वाचन क्षेत्रको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। उनले गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात गर्नेमा जोड दिएका छन् । ‘नेपाली समाजलाई सामाजिक न्याय, समता र समृद्धिको नयाँ युगतर्फ लैजान परिवर्तनको नेतृत्व र जनसेवामा मेरो भूमिका र इतिहास यहाँहरुलाई विदितै छु,’उनले भनेका छन्, ‘नेपाली समाजमा क्रान्ति र शान्तिको नेतृत्व गर्दै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण र त्यसको कार्यान्वयनसम्म मैले आफूलाई निरन्तर देश र जनताको पक्षमा उभ्याउँदै आएको तर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने, जनजीविकाका समस्या समाधान गरेर जनतालाई नयाँ जीवन दिने सपना पूरा गर्न बाँकी नै छ।’ यस्ता  छन् योजना : १. पालङटार एयरपोर्टलाई पुनः सुचारू गरिने छ र पालुङटारलाई मौलिक स्मार्ट सिटीका रूपमा विकास गरिने छ। २. बहउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गरिने छ। साथै अन्य जलविद्युतका सबै सम्भावनाहरूलाई पनि अघि बढाइने छ। ३. पालङ्टार नगरपालिका ७ च्याङलीमा रहने गरी सरकारबाट निर्णय भएर पनि कार्यान्वयन हन बाँकी रहेको कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको कृषि क्याम्पस सञ्चालन गरिने छ र गोरखाका मा.वि. तथा विभिन्न क्याम्पसहरुलाई थप व्यवस्थित गर्दै प्रविधिक शिक्षालाई विस्तार र शिक्षा क्षेत्रका समस्याहरु हल गरी समग्र शैक्षिक विकासलाई अगाडि बढाइने छ। ४.रणनैतिक महत्व बोकेको बेनीघाट–आरूघाट–लार्के (रूइला नाका) तिब्बतसँग सिमाना जोडने। सडकखण्ड निर्माण कार्य पूरा गरिने छ। ५. गोरखामा अवस्थित पालुङ्टार, गाइखुरटार, च्याङलीटार, धुवाकोटटार, कुन्दुरटार, बुद्धसिंटार, मुच्चोकटार, बुट्टार, घ्याल्चोकटार, आरूटारलगायतका उर्वर टारहरुका साथै निबेलदेखि अँब्रुवासम्मका दरौंदी नदीका किनारका फॉटहरूमा नदि नियन्त्रणका साथ लिफ्टिङ, पम्पिङ। तथा नहरहरूको योजनामार्फत् सिँचाइलाई व्यवस्थित गरी कृषि उत्पादन वृद्धि गर्न योजनाहरु अगाडि बढाइने छ। जिल्लालाई उत्पादनमा आत्मनिर्भर बनाउन सहकारी, निजी र सरकारी क्षेत्रलाई उपयोग गरिने छ। गोरखा जिल्लालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने छ। (क) लिगलिगकोट, बुढीकोट, लकाङ्कोट, सिरानचोक गढी, सुलिकोट, ताकुकोट, वारपाक, गोरखा दरबार, मनकामनालाई समेटेर ऐतिहासिक तथा धार्मिक पर्यटकीय सर्किटको रूपमा विकास गरिने छ। (ख) सिरानडाँडा–निम्चेपोखरी–दुधपोखरी–नागेपोखरी–नारदपोखरीलाई केन्द्र मानी हिमाली पर्यटनलाई प्रवर्द्धन गर्न राष्ट्रिय पर्यटकीय योजनाको सूचीमा पार्न पहल गरिने छ। (ग) सिरानचोक, भच्चेक सिरानडाँडा, अजिरकोट र उत्तरी गोरखाको बारपाक, रूविनाला, मनास्लु पदमार्ग, लार्के पास आदि क्षेत्रलाई हिमालय पर्यटनको रूपमा विकास गर्न पहल गरिने छ। संस्कृति र प्रकतिलाई समिश्रण गरी ट्रेकिङ रूट निर्माण गरिने छ। साथ। अध्ययनको आधारमा विशेष सांस्कृतिकग्राम निर्माण गरिनेछ। (घ) गोरखा दरबार र मनकामना मन्दिरलाई अन्तर्राष्ट्रिय सम्पदा सूचीमा राख्न पहल गरिने छ। (ङ) २०७२ सालको गोरखा भूकम्पको केन्द्र रहेको बारपाक र भूकम्पपश्चात् विकास गरिएका एकीकृत बस्तीहरूलाई पर्यटनसँग जोडी आयआर्जन वृद्धिका योजना अगाडि बढाइने छ।

नुवाकोट क्षेत्र न.एकमा एमाले रक्षात्मक,गठबन्धन भारी

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते हुँदैछ । नुवाकोट क्षेत्र न।एकमा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार हित बहादुर तामाङ नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् भने प्रदेश क मा गठबन्धनबाट माओबादी उमेद्द्वार राधिका तामाङ र प्रदेश ख मा कांग्रेसबाट रमेश कुमार महत उमेद्द्वार रहेका छन् । एमालेका उम्मेदवार क्षेत्र एकमा बद्रि मैनाली रहेका छन् भने प्रदेश क मा शुशील खड्का र ख मा पूर्ण दास श्रेष्ठ उमेद्द्वार रहेका छन् । नुवाकोट क्षेत्र एक को चुनावी प्रतिस्पर्धामा एमाले रक्षात्मक अबस्थामा रहेको छ भने गठबन्धन भारी मतका साथ धेरै अगाडी रहेको पाउन सकिन्छ । नुवाकोट क्षेत्र एक मा सात पालिका रहेका छन् । दुप्चेश्वर गाउँपालिका,तादी गाउँपालिका, शिवपुरी गाउँपालिका,पन्चकन्या गाउँपालिका,लिखु गाउँपालिका,ककनी गाउँपालिका र सुर्यगढ़ी गाउँपालिका यस क्षेत्रमा पर्दछन । गएको स्थानीय तहको निर्वाचन मत परिणामले पनि गठबन्धन अधिक मतका साथ अगाडि रहेको देखाउँछ । स्थानीय चुनावमा सात पालिका रहेको यस क्षेत्रमा शिवपुरी गाउँपालिका र सुर्यगढ़ी गाउँपालिकाबाहेक ५ वटा पालिकामा कांग्रेस,माओबादी र एमालेले एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गरेका थिए । जस अनुसार दुप्चेश्वर गाउँपालिका,पन्चकन्या गाउँपालिका र ककनी गाउँपालिकामा माओबादीले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा उपाध्यक्ष जितेको छ । कांग्रेसले लिखु गाउँपालिका र सुर्यगढ़ी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा अध्यक्ष जितेको छ । सात पालिका रहेको यस क्षेत्रमा गएको स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पालिकामा जित निकाल्न सकेन । करिव १ लाख २० हजार मतदाता रहेको यस क्षेत्रमा ७५ देखि ८० हजार मत खस्ने अनुमान गरिएको छ । यस क्षेत्रमा कांग्रेसको मत करिव २७ हजार रहेको छ भने माओबादीको पनि २४ हजार रहेको छ । तर एमालेको मत भने १७ हजार रहेको छ । यस क्षेत्रमा एकीकृत समाजवादीको ५ हजार,राप्रपाको ५ हजार र अन्य पार्टीको करिव ४ हजार मत रहेको पाउन सकिन्छ । यस क्षेत्रमा रहेका करिव २५ हजार मतदाता देश बाहिर रहेको अनुमान छ भने करिब २० हजार मतदाता मतदानमा सहभागी नहुने अनुमान गरिएको छ । यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा करिब ३८ हजार मतले अगाडि छ । जसका कारण एमालेका बद्रि मैनालीलाई निर्वाचित हुन अति चुनौतिपूर्ण छ भने माओवादीका हित बहादुर तामाङलाई निर्वाचित हुन अति सहज रहेको छ । यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनका उमेद्द्वारको जित सुनिस्चित रहेको छ ।

दाङ २ मा रेखा शर्मा सहित गठबन्धनका उम्मेदवारको जित सुनिश्चित : महरा

घोराही । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङ निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार रेखा शर्माको जित सुनिश्चित भएको बताएका छन्। महराले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरूको विजय निश्चित भएको बताएका हुन् । ‘गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रका २७ वटा वडाको मत विश्लेषण गर्ने हो भने गठबन्धन निकै अगाडि छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनको बेला भन्दा अहिले गठबन्धनको एकता थप मजबुत भएको छ ।’ एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीब्र असन्तुष्टि भएको उल्लेख गर्दै महराले त्यो मत गठबन्धनका उम्मेदवारलाई आउने दावी गरे ।‘एमालेका साथीहरूले पनि मत हाल्ने देखिएको छ,’उनले भने,‘प्रतिगमन बिरूद्घको गठबन्धनलाई आम जनसमुदायको साथ रहने छ ।’ आफू प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकको कुनै पनि उम्मेदवार नभएको उल्लेख गर्दै महराले नयाँ तथा युवा पुस्तालाई अवसर दिन आफूले त्याग गरेको बताए। ‘मैले लामो समय संसदीय र राजकीय भुमिका रहेर काम गरेको छु,’ उनले भने, ‘अब अरू साथीहरूलाई अवसर दिनुपर्छ भनेर निर्वाचनमा नउठेको हुँ ।’ मुलुकको समृद्धि र प्रतिगमनका बिरूद्घ गठबन्धन भएको धारणा व्यक्त गर्दै महराले आम मतदाताले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त गरे ।