इलाम र बझाङमा क्रमश: २० र १२ जनाको उम्मेदवारी दर्ता(सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएको छ । आगामी बैशाख १५ मा हुने इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि शनिबार(आज) क्रमशः २० र १२ जनाको मनोनयन दर्ता भएको छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव रामदत्त पाण्डेयले दिएको जानकारी अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । त्यसैगरी बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । 

इलाम २ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलनकुमार योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीका जीतबहादुर राई, जनमतका प्रेमकुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेसनल मंगोल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेसनल रिपब्लिकका धनराज रानामगर रहेका छन् । त्यस्तै, प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेहरूमा अर्जुनबहादुर शाही, केशबकुमार चापागाईं, डकेन्द्रसिंह लिम्बु, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् ।

बझाङको प्रदेश सभा निर्वाचनमा कांग्रेसका अभिषेकबहादुर सिंह, नेपाली जनता दलका अशोक सुनार, नेसनल रिपब्लिकका किशोरकुमार खड्का, नेमकिपाका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापा, माओवादी केन्द्रका जनकबहादुर बुढा, एमालेका दमनबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपकबहादुर खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री र जनमत पार्टीका सुशीलादेवी विष्ट उम्मेदवार बनेकी छन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ भने २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्न २७ गतेको समय निर्धारण गरिएको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्रले वैशाख १५ हुन लागेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१)मा उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार बसेको पदाधिकारी बैठकमा उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिने निर्णय गरेको भएपनि उम्मेवार छनोट भने भै नसकेको प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।

उपनिर्वाचनका लागि १० करोड रुपैयाँ विनियोजन

काठमाडौं । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका निम्ति सरकारले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । निर्वाचन आयोगले पत्राचार गरेअनुसार १० करोड खर्च गर्न अनुमति दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए । “मापदण्डअनुसार हामीले आयोगलाई १० करोड रुपैयाँ विनियोजन गरेका छौँ,” उनले भने, “मापदण्डभन्दा बढी अथवा घटी भयो भने त्यहीअनुसार खर्चको व्यवस्थापन हुन्छ ।” सुरक्षा निकायका निम्ति भने मन्त्रालयले बजेट नछुट्ट्याएको प्रवक्ता शर्माले बताए । वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’मा उपनिर्वाचन हुँदै छ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा उपनिर्वाचन गर्न लागिएको हो । यस्तै, सदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्युपछि बुझाङ–१ ‘क’को प्रदेशसभा पद रिक्त छ । उपनिर्वाचनका निम्ति प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ दल दर्ता गरिएको आयोगले जनाएको छ ।

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । वि.सं. २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आयोगले दल दर्ता गर्न भनेको हो । फागुन २४ गतेदेखि फागुन ३० गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल दर्ता गर्नुपर्नेछ ।  राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको छ ।

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने भएको छ । आयोगको आइतबार बसेको बैठकले इलाम–३ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो ।  आयोगले सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा पनि त्यही दिन उपचुनाव गराउने निर्णय गरेको छ । इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचिन भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचिन भएका थिए ।  सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो । यस्तै,नेम्वाङको भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।  “निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्नेगरी निर्वाचनको मिति तोकेको छ,” निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ ।  नेपालको संविधानको धारा ४९७० तथा धारा १७६० बमोजिम प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको हो, सोही प्रक्रियाद्वारा उपनिर्वाचनमार्फत पूर्ति गर्नुपर्ने व्यवस्था छ ।  आयोगले प्रदेशसभा सदस्य तथा तत्कालीन मन्त्री सिंहको निधन असार ५ मै भए पनि असार २५ गतेदेखि मात्र प्रदेशसभा सदस्य पद खाली भएको उल्लेख गरेको छ । 

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

राष्ट्रियसभामा पहिलो पार्टी बन्यो माओवादी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको दलीय समीकरण फेरिएको छ । राष्ट्रियसभामा अब नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । आज १९ सिटका लागि भएको चुनावमा माओवादी केन्द्रका ५ उम्मेदवार निर्वाचित भए । कांग्रेका १० जना निर्वाचित हुँदा एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । माओवादीबाट हाल राष्ट्रियसभामा उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । आज थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्रका १७ सांसदसहित सबैभन्दा ठूलो दल भएको हो । राष्ट्रिय सभामा कांग्रेसका हाल १० सांसद रहेकोमा ४ जना फागुन २० मा बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ । हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा आज नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या ८ नै रहनेछ । एमालेका १७ जना राष्ट्रिय सभा सदस्य थिए। तीमध्ये ८ जनाको पदावधि फागुन २० मा सकिँदैछ। एमालेले कोशीमा राप्रपासँग बाहेक अन्त कतै तालमेल गर्न पाएन। तालमेल भएको कोशीमा एमालेका एक सांसद विजयी भए । एमालेले रिक्त रहेका ८ मा ७ सिट गुमाएसँगै एमालेका अब १० जना सांसद छन्। योसँगै एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको छ। जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदै गर्दा आज एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ । लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ ।

सबै प्रदेशमा मतदान सम्पन्न, खस्यो ९९.३२ प्रतिशत मत

काठमाडौं । सबै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुल ९९.३२ ले मतदान गरेका छन् । आयोगका अनुसार मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको हो । देशभर प्रदेश सभा सदस्य १ जनाले मतदान गरेनन् । पालिका र नगरतिर ५–७ जनाले मतदान गरेरन् । मत गणना सुरु भइसकेको छ ।

राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी

काठमाडौं । राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ । आजै परिणाम सार्वजनिक हुनेछ । राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार चार सय ९८ मतदाता रहेका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।

राष्ट्रियसभा निर्वाचन : ९ देखि मतदान हुँदै, आजै मतपरिणाम आउने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदान हुँदै छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम छ । मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा आठ राजनीतिक दलका ५१ उमेदवार चुनावी मैदानमा छन् । आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उमेदवार छन् । सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्याक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उमेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता रहेका छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६ र सुदूरपश्चिममा २२८ मतदाता छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गए राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलका भ्रातृसंगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यस निर्वाचनमा प्रदेशसभाका सदस्यका निम्ति सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ । रासस

राष्ट्रियसभा निर्वाचन : मौन अवधि आज रातिबाट सुरु हुँदै, मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ । निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी राति १२ बजेबाट मतदान नसकिएसम्मको लागि कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न नपाइने जनाइएको छ । मौन अवधिमा उमेदवारको पक्षरविपक्षमा कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला, गोष्ठी, प्रचारप्रसार लगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ । आयोगले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने उल्लेख गरेको छ । आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका २० मध्ये १९ सिटका लागि यही माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । यो निर्वाचनमा सात प्रदेशबाट विभिन्न दलका ५१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

यस्तो छ राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले वेबसाइटमा नमुना मतपत्र सार्वजनिक गरेको हो । नमुना मतपत्रमा उमेदवारहरूको नाम राखिएको छ । क्लष्टरहरूअनुसार छुट्टाछुट्टै मतपत्र छ । नमुना मतपत्रको रङ गुलाबी र निलो हरियो छ । आउँदो माघ ११ गते १९ पदका लागि चुनाव हुँदैछ ।

राष्ट्रियसभा निर्वाचन : सरकारलाई आयोगको नौ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्थाका लागि सरकारलाई निर्देशन दिएको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचनको व्यवस्थापनलाई व्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उमेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरू मध्यनजर गर्न निर्देशन दिइएको हो । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार नौ बुँदे निर्देशन दिइएको छ । माघ ११ गते राष्ट्रियसभा सदस्यका १९ पदका लागि निर्वाचन हुनेछ ।