उपनिर्वाचनका लागि १० करोड रुपैयाँ विनियोजन

उपनिर्वाचनका लागि १० करोड रुपैयाँ विनियोजन

काठमाडौं । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका निम्ति सरकारले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । निर्वाचन आयोगले पत्राचार गरेअनुसार १० करोड खर्च गर्न अनुमति दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए ।

“मापदण्डअनुसार हामीले आयोगलाई १० करोड रुपैयाँ विनियोजन गरेका छौँ,” उनले भने, “मापदण्डभन्दा बढी अथवा घटी भयो भने त्यहीअनुसार खर्चको व्यवस्थापन हुन्छ ।”

सुरक्षा निकायका निम्ति भने मन्त्रालयले बजेट नछुट्ट्याएको प्रवक्ता शर्माले बताए ।

वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’मा उपनिर्वाचन हुँदै छ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा उपनिर्वाचन गर्न लागिएको हो ।

यस्तै, सदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्युपछि बुझाङ–१ ‘क’को प्रदेशसभा पद रिक्त छ ।

उपनिर्वाचनका निम्ति प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ दल दर्ता गरिएको आयोगले जनाएको छ ।

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी प्रदेशका थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ ।

२८.६२ अंकले बढ्यो नेप्से

काठमडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २८.६२ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक १.४३ प्रतिशत बढेर २०२७.५१ विन्दुमा बन्द भएको छ । यसदिन चार अर्ब आठ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका कुल कम्पनीमध्ये २१९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । समाज लघुवित्त, उपकार लघुवित्त र यूनिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ। आज सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको भएको छ । यो समूहको परिसूचक ३४४ प्रतिशतले वृद्धि भएको छ।

नेपाल उद्योग परिसंघको महानिर्देशकमा ओझा नियुक्त

काठमान्डौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले उत्पादनमूलक एवं सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना, आर्थिक विकासका लागि सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।   नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ विशेष ध्यान दिने बताए । डा। ओझाले द काठमान्डौं पोष्ट, नेपाल रिपब्लिक मिडियामार्फत पत्रकारिता गरी लगानी बोर्डको कार्यालय, नेपाल पूर्वाधार बैंकलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रतिष्ठित संस्थाहरूमा काम गरिसकेका छन् । उनले जनप्रशासनमा विद्यावारिधी गरेका छन् । 

आफ्ना सहयोगीसहित उच्च अदालत पुगे सन्दीप लामिछाने

काठमाडौं । आफ्नो मुद्दामा फैसला सुनवाइ जारी रहँदा क्रिकेटर सन्दीप लामिछाने पनि उच्च अदालत पुगेका छन् । उनी आफ्ना सहयोगीसहित अदालत गएका हुन् । सन्दीपमाथि मुद्दा दायर गर्ने ‘गौशाला २६’ पनि इजलासभित्र देखिएकी छन् । उच्च अदालत पाटन बाहिर भिडभाड बढ्न थालेको छ । सन्दीपका समर्थकहरू जम्मा भएका छन् । अदालतबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

लोकप्रिय