पाँच कम्पनीका ८० लाख शेयर सूचीकृत

काठमाडौं, चैत ७। बुधवार नेप्सेमा पाँच कम्पनीको शेयर सूचीकृत भएका छन् । तीन कम्पनीको बोनस शेयर र दुई कम्पनीको हकप्रद र आईपीओ गरी एकैदिन ७९ लाख ७७ हजार कित्ताभन्दा बढी शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत हुनेमा रिडी हाइड्रोपावर कम्पनीको २ लाख ८४ हजार ५ सय ९८ कित्ता बानेस शेयर, मुक्तिनाथ विकास बैंकका ४३ लाख १९ हजार ६ सय ५ दशमलव ५३ कित्ता बोनस शेयर र बोमी माईक्रोफाइनान्सको १ लाख २९ हजार ६ सय बोनस शेयर सूचीकृत भएको हो ।

त्यसैगरी नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको २६ लाख ४३ हजार ५ सय ३८ दशमलव ८० कित्ता हकप्रद शेयर र आरम्भ माइक्रोफाइनान्सको ६ लाख कित्ता आईपीओ सूचिकृत भएको छ ।

नेपालकाे व्यापार घाटा ६ खर्ब, १८ प्रतिशत वृद्धि

काठमाडौं, चैत ४ । दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१ हजार रुपैयाँका सामग्री आयात गरियो । निर्यात भने ४७ अर्ब ६२ करोड २१ लाख ७८ हजार रुपैयाँको मात्रै भएको छ । निर्यात १३ प्रतिशतले वृद्धि भएको छ भने आयात १८ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार सरकारका निर्यात वृद्धिका प्रयासले सार्थकता पाउन सकेका छैनन्, मुलुक आयातमुखी बन्दै गइरहेको छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम नगरिनु, उत्पादन भएका सामग्री निर्यात हुन नसक्नु र आयातित सामग्रीमा परनिर्भरता बढिरहनुले बर्सेनि व्यापार घाटा चुलिँदै गएको हो । सात महिनामा सबैभन्दा बढी ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ । दोस्रो बढी आयात हुने सामग्री मेसिनरी उपकरणका पार्टपुर्जा हुन् । ७० अर्ब ७ करोड रुपैयाँ बराबरका मेसिनरी उपकरणसँग सम्बन्धित भित्रिएका छन् । ६२ अर्ब ९ करोड रुपैयाँ बराबरका फलाम तथा स्टिल सामग्री आयात भएका छन् । करिब ५० अर्ब रुपैयाँ बराबरका सवारी साधन ल्याइएको छ । त्यस्तै विद्युतीय सामग्री ४५ अर्ब २६ करोड रुपैयाँको भित्रिएको छ ।,आजको कान्तिपुरमा यो खबर छ ।

शेयर कारोबार २७.९२ अंकले घट्यो

काठमाडौं, चैत ३ । शेयर बजारमा यस साता रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७ दशमलव ९२ प्रतिशत कम हो । गत साता १७१ कम्पनीको ४७ लाख ९३ हजार १२० कित्ता सेयर रु एक अर्ब ७९ करोड ४७ लाख ९८ हजारमा कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव २७ अंकले बढेर अन्तिम दिन १२८८ दशमलव ३६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ३२ अंकले बढेर २७४ दशमलव ३८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु आठ करोड २० लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा जनता बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको एक लाख ६७ हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको एक लाख १३ हजार बोनस, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको दुई लाख २० हजार, एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ५८ हजार ३०२, बरुण हाइड्रो पावर कम्पनीको एक लाख २१ हजार ५००, गृहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १० लाख ९१ हजार २४९, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एक लाख ७४ हजार ९९६, चिलिमे जलविद्युत् कम्पनीको ५१ लाख ७१ हजार ८८६ बोनस शेयर सूचीकृत भएका छन् । कैलाश विकास बैंकको २२ लाख ९१ हजार ४८८ र प्रसडेन्डियल इस्योरेन्स कम्पनीको आठ लाख ५५ हजार ३६० कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन् । यस्तै माउन्ट मकालु डेभलपमेन्ट बैंकको तीन लाख ४५ हजार ८०० कित्ता हकप्रद शेयर सूचीकृत भएका छन् ।

डिजिटल पेमेन्टलार्इ अझै प्रभावकारी बनाउन जोड

काठमाडौँ । पारदर्शिता, कर अभिवृद्धि र सुशासनका लागि विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने खाँचो औँल्याइएको छ । पछिल्लो समय विश्वको बैंकिङ बजारमा आएको प्रविधिलाई नेपाली बैंकहरुले पनि अनुशरण गर्दा विद्युतीय भुक्तानीलाई जोड दिनुपर्ने आज यहाँ आयोजित सम्मेलनमा जानकारी गराइयो । नेशनल बैंकिङ इन्स्टिच्युटद्वारा विद्युतीय भुक्तानी सम्मेलनका वक्ताहरुले सो कुरामा जोड दिँदै निजी क्षेत्रका बैंकहरुले आफूलाई समय अनुकूल अद्यावधिक गर्दै विद्युतीय कारोवारमा अगाडि बढिरहेको बताउनुभयो । विश्व बैंकिङ बजारमा आएका पछिल्ला विद्युतीय प्रविधिका बारेमा जानकारी एवं प्रशिक्षण दिने ध्येयले आयोजित सो सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका बैंकका उच्चस्तरका व्यवस्थापकहरुको सहभागिता रहेको छ । साथै सम्मेलनमा विद्युतीय भुक्तानी प्रविधिका विज्ञ राहुल जोशी, राजेश लोहारी, दीपक शर्माले प्रशिक्षण दिनुहुनेछ । सम्मेलनको उद्घाटनसत्रमा आयोजक संस्थाका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बैंकले पारदर्शिता, कर अभिवृद्धि र सुशासनका लागि विद्युतीय भुक्तानीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । उहाँले विद्युतीय भुक्तानीमैत्री बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको चर्चा गर्नुभयो । आयोजक संस्थाका कार्यकारी व्यवस्थापक सञ्जिव सुब्बाले विद्युतीय भुक्तानीले बैंकको क्षमता वृद्धि हुने बताउनुभयो । रासस

सान्जेन र रसुवागढी हाइड्रोपावरमा कति दिए त शेयर आवेदन ?

काठमाडौं । सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओमा ३ लाख ८३ हजार २३५ जनाले सेयर भरेका छन् । सान्जेन जलविद्युत कम्पनीमा १ लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन् भने रसुवागढी हाइड्रोपावरको आइपीओमा २ लाख जनाले आवेदन दिएको बिक्री प्रबन्धकहरुले जानकारी गराएका छन् । बिक्री प्रबन्धकहरुका अनुसार अझै अन्तिम विवरण आइनसकेकाले आवेदकको संख्या र रकम दुवै बढ्नसक्ने देखिन्छ । सान्जेनमा आवेदनको अन्तिम दिन बुधबारसम्म १ लाख ८३ हजार २३५ जना आवेदकबाट ४ अर्ब १७ करोड २२ लाख ५३ हजार रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । नागरिक लागानी कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार आवेदन संकलन गरेका केही बैंक तथा वित्तीय संस्थाबाट तथ्यांक आउने क्रममा रहेका कारण आवेदनको संख्या केही बढ्ने छ । सान्जेनले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँको ७१ लाख १७ हजार ५ सय कित्ता आइपीओ खुला गरेको हो । सान्जेनले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चय कर्ताका लागि आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले फागुन ११ गतेदेखि ३० गतेसम्म सेयर बिक्री खुला गरेको थियो । सञ्चयकर्ताले न्यूनतम ५० देखि बढीमा ३०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरेको थियो । यता, रसुवागढीमा पनि २ लाख आवेदकले ६ अर्ब ७५ करोड रुपैयाँ बढीको सेयर भरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए । उनले पनि केही संस्थाबाट विवरण आइनसकेका कारण आवेदकको संख्या केही बढ्ने बताए । रसुवागढीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आइपीओ खुला गरेको थियो । यस कम्पनीले फागुन ११ गतेदेखि ३० गतेसम्म सेयर बिक्री खुला गरेको थियो । सञ्चयकर्ताले न्यूनतम ५० देखि बढीमा ५०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरेको थियो । नेपालीपैसाबाट साभार

आजको अपडेटः नेप्से परिसूचक कारोबारमा ८.५७ अंकले सुधार

काठमाडौं । साताको अन्तिम दिनको सेयर कारोबारमा ८.५७ अंकको सुधार आएको छ । बिहीबार १ बजेर ३ मिनेट जाँदासम्म बजार नाम्ने नेप्से सूचक ८।५७ अंकले बढेर १२९४.५३ विन्दुमा पुगेको छ । विगत केही दिनदेखि नेप्से सूचक र कारोबार रकम निकै सुस्त देखिएको छ । अहिलेसम्म बजेसम्म ११० कम्पनीको ७ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार किनबेच भएको छ । बैंक तथा बित्तीय संस्थामा लगानी योग्य पुँजी अभाव भएकाले शेयरबजार त्यसबाट प्रत्यक्ष प्रभावित बनेको हो । शेयर कर्जा दिने वित्तीय संस्थाले पनि १५ प्रतिशत हाराहारीमा ब्याज लिइरहेका छन् । यसबाट शेयर किन्न सर्वसाधारण उत्सुक नबनेको अनुमान गरिंदैछ । बजारमा भने दिन प्रतिदिन शेयर भाउ सस्तो हुँदै गएको छ । भाउ सस्तो भएका बेला राम्रा कम्पनीहरुको शेयर छानीरोजी किन्ने लगानीकर्तालाई मौका आएको छ । लामो समय होल्ड गर्न सक्नेका लागि बजारबाट भविष्यमा राम्रै प्रतिफल मिल्न सक्ने विश्लेषकहरुको भनाई रहँदै आएको छ । नेपालीपैसाबाट साभार

स्थानीय तहमा थप ७५ अर्ब बजेट निकासा

काठमाडौं । नेपाल सरकारले चालु आवका लागि छुट्याइएको रकममध्ये तेस्रो तथा अन्तिम किस्ताको ७५ अर्ब रुपैयाँ बिहीबार स्थानीय तहको सञ्चित कोषमा पठाउने भएको छ । सबै स्थानीय तहको सञ्चित खाता वाणिज्य बैंकहरुमा रहेकाले यो रकम निकासा भएपछि वाणिज्य बैंकहरुले समेत राहत महसुस गर्ने भएका छन् । चालू आर्थिक वर्ष २०७४–७५ को बजेटमार्फत स्थानीय तहका लागि छुट्याइएको समानीकरण अनुदान र शसर्त अनुदानमध्ये उक्त रकम पठाउन लागेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जून प्रसाद पोखरलले जानकारी दिए । तेस्रो किस्ता बापतको ७५ अर्ब रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्न महालेखा नियन्त्रकको कार्यालयलाई अख्तियारी दिइसकेको पोखरलले बताए । सरकारले ७ सय ५३ वटा स्थानीय तहका लागि २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमा समानीकरण अनुदान अन्तर्गत एक खर्ब ४८ अर्ब ६३ करोड र सशर्त अनुदान ७६ अर्ब ४१ करोड रुपैयाँ गरि दुई खर्ब २५ अर्ब रुपैयाँ छुट्याइएको छ । ७५ अर्ब रुपैयाँका दरले यसअघि दुई किस्तामा गरेर एक खर्ब ५० अर्ब रकम निकासा भईसकेको छ । बिहीबार नेपाल सरकारले तेस्रो तथा अन्तिम किस्ताको रकम निकासा गर्न लागेको हो । स्थानीय तहलाई प्राप्त हुने सबै प्रकारको आम्दानी सञ्चित खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । उक्त खाता नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा रहेका छन् । जसले गर्दा तरलताको अभाव खेपिरहेको वाणिज्य बैंकहरुलाई केही राहात मिल्ने भएको छ । यसले बैंकहरुको निक्षेपमा समेत टेवा पुर्याउने छ । स्थानीय तहले केन्द्रबाट प्राप्त गर्ने बजेट खर्च गर्न नसकेपनि त्यो बजेट फेरि केन्द्र सरकारको खातामा फर्काउन नमिल्ने र बैंककै खातामा रहने हुँदा निक्षेप बढाउन प्रयासरत बैंकहरुलाई भने केही राहात मिल्ने देखिएको छ । सरकारले यसअघि दुई पटक गरेर स्थानीय तहमा पठाएको एक खर्ब ५० अर्ब रकममध्ये पचास प्रतिशत भन्दा बढी रकम बैंक खातामा नै थुप्रिएको अवस्था छ। मेरोलगानीबाट साभार

स्वदेशमै टर्की फार्म संचालन गरेर मासिक एक लाख रुपैंयाँसम्म आम्दानी

काठमाडौं, चैत १ । रोजगारीका लागि विदेशीने होड चलिरहेका बेला नवलपरासीका एक व्यक्ति भने स्वदेशमै टर्की फार्म सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । कावासोती–१२ का सुनिल गुरुङले टर्की फार्म सञ्चालन गरेर राम्रो आम्दानी गरेका हुन् । जोस र जाँगरका साथ मेहनत गर्ने हो भने स्वदेशमै प्रशस्त पैसा आर्जन गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् । २०६८ सालमा आफ्ना बुबाले टर्कीबाट ल्याएका २० वटा कुखुराबाट गुरुङले अहिले फार्म नै सञ्चालन गरेका हुन् । अहिले गुरुङसँग ३ सय वटा कुखुरा छन् । उनले नवलपरासीको कावासोती हाटबजारमा रहेको पसलबाट टर्की कुखुराको मासु बेच्दै आएका छन् । हाल गुरुङ मासिक ८० देखि १ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।

नेप्से हरियो अंकमा पुग्दा किन खुशी देखिएनन् त शेयरबजारका लगानीकर्ता ?

काठमाडौं । तरलता अभावको मारमा शेयरबजार परेको छ । बैंकहरुसँग लगानी योग्य पुँजी अभाव हुन थालेपछि त्यसको प्रत्यक्ष असर दैनिक शेयर कारोबार रकममा देखिन थालेको हो । बैंक तथा वित्तीय संस्थाले सजिलै सेयर कर्जा उपलब्ध गराउन नसक्दा कारोबार रकम २० करोड हाराहारीमै सीमित भएको हो । लगानी योग्य पुँजी अभाव हुँदा कर्जाको ब्याजदर पनि चुलिएको छ । बैंकहरुले १५ प्रतिशत हाराहारीमा सेयर कर्जाको ब्याज लिइरहेका छन् । ब्याजदर महँगो भएकाले पनि लगानीकर्ता बजारप्रति खासै उत्साहित हुन नसकेका हुन् । ब्याजदरको प्रत्यक्ष प्रभाव बुधबारको शेयरबजारमा पनि देखिएको छ । बजार नाप्ने नेप्से सूचक हरियो भए पनि कारोबार रकम भने निकै सुस्त देखिएको छ । बजारको दिगो विकास हुन सूचकसँगै कारोबार रकममा पनि तेजी आउन जरुरी हुन्छ । यतिबेला पुँजी बजारलाई नयाँ गति दिन सरकारी प्रयास अत्यावश्यक देखिएको छ । बजार सुधारका लागि सरकारले गतिलो कदम नचालेसम्म लगानीकर्तामा नयाँ जोश आउने देखिंदैन । सरकारले शेयरबजार सुधारका लागि गैरआवासीय नेपालीलाई लगानी खुला गरिदिनुपर्छ । यस्तै, अनलाइन प्रणाली भित्रिन सके बजारले नयाँ गति लिने अपेक्षा गर्न सकिन्छ । बढ्दो आपूर्ति व्यवस्थापन गर्न बजार निर्माता पनि आवश्यक छ । यसैगरी, सेयर शिक्षा दिएर गाउँगाउँमा चेतना विस्तार गरिनुपर्छ । ब्रोकरको क्षमता विस्तार गरी गाउँगाउँमा पुर्याउने, बैंकलाई ब्रोकर लाइसेन्स जस्ता विधि अपनाएर पनि सेयर बजारको विकासमा सहयोग पुर्याउन सकिने अवस्था छ । नेप्से सूचक बुधबार ४.०६ अंकले बढेर १२८५.९६ विन्दुमा अडिएको छ । समग्रमा बजार ०.३२ प्रतिशतले बढेको हो । कुल १५६ कम्पनीको १८ करोड ४५ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कुल ६ लाख २३ हजार ८८५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा ९ वटा समूहको कारोबार भएकामा ६ वटा समूहको सूचकमाथि लागेका छन् भने ३ समूहका सूचक राता देखिएका छन् । बिमा समूहको सूचक सबैभन्दा धेरै २९.२१ अंकले बढेको छ । माइक्रो फाइनान्स समूहको सूचक पनि ८.५७ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूह ३.७३ अंकले बढ्दा उत्पादनमूलक समूह भने ६.८२ अंकले घटेको छ । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । नेपाल लाइफको १ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र एभरेष्ट बैंक परेका छन् । कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी नेपालीपैसाबाट साभार

१ बजेको अपडेटः नेप्से परिसूचक ०.१२ प्रतिशतले बढ्यो

काठमाडौं । मंगलबार दोस्रो घण्टाको व्यापारमा नेप्से परिसूचक ० दशमलव १२ प्रतिशत बढेको छ । सो अवधिमा नेप्से परिसूचक १ दशमलव ५७ अंकले बढेर १ हजार २ सय ७८ दशमलव ५८ विन्दुमा पुगेको हो । दोस्रो व्यापारमा १ सय १ कम्पनीको १ हजार ६९ पटकको व्यापारमा रू. ७ करोड २० लाख ५४ हजार २ सय १९ बराबरको १ लाख ४७ हजार ५३ कित्ता शेयर कारोबार भएको छ । सो अवधिमा युुनिलिभर नेपाल लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कारोबारमा आएका ९ समूहमध्ये बैङ्किङ् समूहको ० दशमलव २३ प्रतिशत, होटल समूहको ० दशमलव ७६ प्रतिशत, वित्त समूहको ० दशमलव ६४ प्रतिशत र अन्य समूहको परिसूचकमा ० दशमलव ८७ प्रतिशत वृद्वि देखिएको छ । कारोबारमा आएका बाँकी विकास बैंक समूहको ० दशमलव ४५ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ३३ प्रतिशत, बीमा समूहको ० दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव २१ प्रतिशत र लघुवित्त समूहका शून्य दशमलव १३ प्रतिशत परिसूचक घटेको छ । अार्थिक अभियानबाट साभार

आठ महिनामा ३८ प्रतिशत मात्रै विकास बजेट खर्च

कैलाली । कैलालीमा चालू आर्थिक वर्ष २०७४–०७५ को दोस्रो चौमासिकसम्म पनि विकास बजेट न्यून खर्च भएको छ । फागुन महिना सकिन लाग्दा पनि जिल्लामा २ अर्ब २२ करोड ५८ लाख अर्थात् कूल विकास बजेटको ३८ प्रतिशतमात्रै खर्च भएको हो । यो अवधिसम्म कम्तीमा ५० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने थियो । तर, चालू आर्थिक वर्षमा पनि विगतको जस्तै विकासे अड्डाहरुले न्यून विकास बजेट खर्च गर्ने परिपाटी कायमै राखेकाले कम खर्च भएको हो । अहिलेसम्म पनि न्यून विकास बजेट खर्च भएकाले यो वर्ष पनि जिल्लामा ठूलो परिमाणमा बजेट फ्रिज जाने सम्भावना बढेको छ । अहिलेसम्म भएको बजेट खर्च सन्तोषजनक नरहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले बताएको छ । फागुन मसान्तसम्म कम्तीमा ५० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने भएपनि ३८ प्रतिशत मात्रै खर्च हुन सकेको कोष नियन्त्रक मदन पाण्डेले बताए । राष्ट्रिय गौरवका आयोजना रानी जमरा कुलरिया सिंचाइ र हुलाकी सडकबाहेक जिल्लामा रहेका अन्य ठूला आयोजनाहरुको प्रगति पनि निराशाजनक देखिएको छ । मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजनाले ५१ करोडको अख्तियारी पाएकोमा अहिलेसम्म २८ प्रतिशत खर्च गरेको छ । धनगढी–दिपायल फास्टट्रयाक योजनाले १५ करोडको अख्तियारी पाएकोमा ४६ प्रतिशत अर्थात् ६ करोड ९५ लाख खर्च गरेको कोष नियन्त्रक पाण्डेको भनाई छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका लागि १ अर्ब ४५ करोडको अख्तियारी आएकोमा अहिलेसम्म ४० करोड ८० लाख अर्थात् २८ प्रतिशतमात्रै बजेट खर्च भएको छ । सरकारले विकास खर्चमा देखिएको समस्या न्यूनीकरणका लागि संवैधानिक व्यवस्था अनुसार १५ जेठमै बजेट ल्याउने अभ्यास थालेपनि त्यसबाट खासै अन्तर नदेखिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जसले गर्दा यो आर्थिक वर्ष पनि ठूलो परिमाणमा बजेट फ्रिज जाने संकेत देखिएको छ ।

बैंकले कर्जा दिन छाडे

काठमाडौं, फागुन २९ । लगानीयोग्य पुँजी अभावमा बैंकले कर्जा दिन छाडेका छन् । २८ वाणिज्य बैंकमध्ये सरकारी लगानीका वाणिज्यबाहेक अरु सबैले कर्जा रोकेको अन्नपूर्णमा खबर छ । समाचार अनुसार नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले तरलता अभावमा नयाँ र ठूला कर्जा प्रवाह रोकिएको जानकारी दिए । अहिले बैंकको कर्जा–पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशतभन्दा माथि छ । बैंकहरुले सीसीटी ८० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । ८० प्रतिशत सीसीडी रेसियो नघाउने जरिवाना तिर्नुपर्छ । यसले गर्दा बैंकले नयाँ कर्जा लगानी ठप्प पारेको अन्नपूर्णमा समाचार छ ।

शेयरबजार हरियो हुनेबित्तिकै बिक्रेता हाबी, नेप्सेलार्इ थामिनसक्नु

काठमाडौं । पुँजीबजार सोमबार पनि निकै अस्थिर देखिएको छ । लगातार गिर्दो क्रममा रहेको बजार सोमबार मध्यान्हमा केही बेर हरियो भएको थियो । बजार हरियो हुने बित्तिकै फेरि बिक्रेता हाबी भएपछि नेप्सेले त्यसलाई थाम्न सकेन । सवा दुई बजेतिर आइपुग्दा बजार फेरि रातै देखिएको छ । लगानीकर्ता बजारप्रति खासै सकारात्मक हुन सकेका छैनन् । अधिक आपूर्तिका कारण थोरै बजार बढ्ने बित्तिकै बिक्रेता ओइरिने गरेको फ्रन्टलाइनमा बसेर काम गरिरहेका ब्रोकरहरुको भनाई छ । यतिबेला बजारलाई चर्को ब्याजदरले पनि सताइरहेको छ । ब्याज बढाउन वाणिज्य बैंकहरुबीच नै होडबाजी चलिरहेको छ । चर्को ब्याजदर बजार घटाउने अर्को कारण देखिएको छ । सरकारले पनि बजार सुधारका पक्षमा केही पनि काम नगर्दा लगानीकर्ता झनै् अन्योलमा परेका हुन् । सवा २ बजेको अवस्था अनुसार नेप्से ३ अंकभन्दा बढीले तल झरेर १२८० विन्दु आसपासमा आइपुगेको छ । २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेपाली पैसाबाट साभार

१२ बजेको अपडेटः एक घण्टामा नेप्से परिसूचक ८.२० प्रतिशत घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमवारको पहिलो एकघण्टाको अवधिमा नेप्से परिसूचक ८ दशमलव २० प्रतिशत घटेको छ । शुरुको व्यापारमा केही सुधार आउने संकेत देखिएपनि एकघण्टाको व्यापारमा नेप्से परिसूचक ८ दशमलव ३८ अंक घटेर १ हजार २ सय ७५ दशमलव ७१ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा ९९ कम्पनीको ६ सय ६६ पटकको व्यापारमा रू। ३ करोड ४१ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका ९ समूहमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ३५ प्रतिशत बढेपनि अन्य समूहको परिसूचकमा कमी आएकाले समग्र शेयर बजारमा प्रभाव परेको हो । यस व्यापार अवधिमा बैंकिङ समूहको परिसूचक ०.६८, होटलको ०.६१, विकास बैङ्कको ०.७३, जलविद्युतको १.४९, वित्त समूहको ०.२४, बीमा समूहको ०.५७, लघुवित्त समूहको ०.४४ र ‘अन्य’ समुहको ०.६९ प्रतिशत घटेको हो । अार्थिक अभियानबाट साभार

ब्याजदर किचलोका कारण शेयरबजारमा असर

काठमाडौं । नेपाल बैंकर्स संघ र एनआईसी एशिया बैंकबीच देखिएको ब्याजदरको किचलो लम्बिदाँ त्यसको असर शेयरबजारमा देखिएको छ । यसले आईतबारको शेयरबजार साढे दुई घण्टामा २५ अंकले घटेको छ । कारोबारमा आएका सबै उप समूहमा गिरावट छाउँदा पाँच कम्पनी बाहेक सबै कम्पनीको सेयरमूल्य घटेको छ । नेपाल बैंकर्स संघले आइतबार फेरि बैठक गरि प्रणालीगत जोखिम बढ्ने निष्कर्ष निकाल्दै २७ बैंकले एनआइसी एसिया बैंकसँग कुनै अन्तर बैंक कारोबार नगर्ने निर्णय कार्यान्वयनमा ल्याएका छन् । ब्याजदरको विषयले समग्र बैंकिङ्ग क्षेत्रमा हलचल ल्याउँदा अब के होला भन्ने अन्यौलता सेयर बजारको लगानीकर्तामा उत्पन्न हुँदा आइतबार शेयर कारोबार खस्किएको छ । बजारमा खरिद चापभन्दा विक्री चाप अधिक देखिएको छ । जसले गर्दा पाँच कम्पनी बाहेक कारोबारमा आएका सबैको सेयरमूल्य घटेको छ। १४५ कम्पनीका तीन लाख ९६ हजार कित्ता सेयर १६ करोड ५० लाख रुपैयाँमा खरिद विक्री भएका छन् । बीमा समूहमा सबैभन्दा बढी १८६ अंकले ओराले लाग्दा वित्त समूह सबैभन्दा कम २.५६ अंकले घटेको छ । सबैभन्दा बढी कारोबार भएको एनआईसी एशिया बैंकको सेयर ९१ लाख रुपैयाँमा खरिद विक्री भएका छन् । मेरोलगानीबाट साभार

१ बजेको अपडेटः शेयरबजारमा २३.३९ अंकले गिरावट

काठमाडौं । यो साताको पहिलो कारोबार १ बजेसम्म नेप्से परिसूचक २३.३९ अंकले ओरालो लागिसकेको छ। गत साता आईतबार र सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक मंगलबार र बुधबार उकालो लागेको थियो । नेप्से परिसूचक कारोबार सुरु भएदेखि नै ओरालो लागेको थियो। समाचार तयार पार्दासम्म दोहोरो अंकले घटेको बजारमा १ सय ४० कम्पनीको १२ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ। देशसञ्चारबाट साभार