कान्तिपुर मिडियाका अध्यक्ष पक्राउप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोसन पुरीले आज विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको भन्दै आपत्ति जनाएका छन् । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग माग समेत गरेको छ । यस्तो छ विज्ञप्ति कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति  महासंघको ध्यानाकर्षण  मितिः २०८१ जेठ ८ गते कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई महासंघले गम्भीरतापूर्वक लिएको छ । सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ । कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले स्वीकार्दैन । यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्यतथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।  रोसन पुरी महासचिव

कान्तिपुर अध्यक्ष सिरोहियाको प्रतिक्रिया- 'गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधे'

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको भन्दै गृहमन्त्री रवि लामिछानेको प्रतिवाद गरेका छन्। नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ। जसलाई सिरोहियाले सहकारी ठगीका कारण पीडित बचतकर्ताहरुको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिने गृहमन्त्री रवि लामिछानेको तयारीका रुपमा बुझेको बताएका छन्। मंगलबार दिउँसो वक्तव्य जारी गर्दै सिरोहियाले यसअघि पनि समाचार लेखेवापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको बताएका छन्। उनले आफू यस्ता प्रयाससँग विचलित नहुने भन्दै बेथितिको ढाकछोप प्रयास नगर्न चेतावनी पनि दिएका छन्। सिरोहियाको वक्तव्यको पूर्णपाठ  कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ। म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन । सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन । समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो रु अर्को प्रश्न, जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ? सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । राज्य शक्ति र श्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ । कान्तिपुरको पहिचान र विरासत यही हो । कैलाश सिरोहिया अध्यक्ष कान्तिपुर मिडिया ग्रुप

कांग्रेस सम्हालिनुपर्छ : अध्यक्ष ओली

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।  ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनु पर्छ,’ ओलीले भने । उनले कांग्रेस नमिलेको खण्डमा पनि सरकारले पेलेरै आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने सङ्केत गरे । ‘अहिलेसम्म कसरी बजेट पारित भएको छ ? घेराउ भएको छैन ? हामीले १२ पटक घेराउ गर्दागर्दै नारा लाउँदा लाउँदै पास भएको देख्नु भएको छैन ?,’ सञ्चारकर्मीले अब बजेट कसरी ल्याउनु हुन्छ भनेर सोधेको प्रश्नमा उनले जवाफ दिँदै भने, ‘त्यसबेला त प्रतिपक्षले यसरी हल्ला गर्नु नै हुँदैन भन्नुहुन्थ्यो नि त ।’ आफूहरूले कांग्रेसलाई पेलेर जाने नभनेको तर गत जेठ ५ गते बेलुकाको सहमति ६ गते कांग्रेसले नै उल्ट्याएर अहिलेको परिस्थिति बनेको उनको भनाइ छ । ‘पेलेर जाने होइन । अघिल्ला दिन ५ गते बेलुका सहमति हुन्छ ६ गते तोड्छ । यो कसले तोडेको ? सत्ता पक्षले अर्घेल्याई गरेको हो र ? त्यस्तो इस्यु भए अदालत गए भयो । कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्छ । अनि कांग्रेसले आफ्नो तर्फ आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने जसलाई पनि मुख छाड्छ, गाली गर्छ, बेइज्जत गर्छ । इज्जत कसैको राख्दैन,’ ओलीले भने, ‘संसदीय छानबिन समिति जेठ ५ गते बेलुका गरेको सहमति अनुसार हो भने बन्छ ।’ उनले अहिलेको देशमा धेरै समस्याहरू देखिएको अवस्थामा एकताबद्ध हुनुपर्नेमा कांग्रेसले सत्ताबाहेक केही कुरा नदेखेको आरोप लगाए । ‘अहिले देशमा धेरै जटिल समस्याहरू छन् । साम्प्रदायिकताको कुरा छ, प्रतिगामी शक्तिहरू हौसिएका छन् । बाह्य हस्तक्षेप बढ्दो छ । यस्ता कुरालाई ध्यानमा राखेर राष्ट्रलाई एक ठाउँमा उभ्याउने, आधारभूत कुरालाई एक ठाउँमा राखेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । त्यो कुरा नेपाली कांग्रेसले बुझ्नै सकेन । उ नबुझी बुढो भयो,’ ओलीले भने, ‘एकछिन सरकारमा नहुँदा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछा जस्तो भट्याक भट्याक गर्नु । माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ । अचम्मको स्थिति बनाएको छ ।’ कांग्रेस र एमाले मिलेर अगाडि बढ्दा हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘संविधान बनाउन्जेल सहमति गरेर सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो। त्यसपछि कांग्रेसले एमालेलाई दिने भनेको प्रधानमन्त्री दिएन। त्यसपछि कांग्रेसले राजनीतिमा बेइमानी सुरु गर्‍यो। चलिरहेको सहकार्य, संविधान जारी गरेपछि त्यसलाई स्थिरता र स्थायित्वमा लानका लागि संरचना थिएन, कानुन थिएन। त्यो सहकार्यको आवश्यकता थियो। त्यो हामीले पनि भन्यौँ। हामीले त्यो प्रयास गर्‍यौँ। कांग्रेसले त्यो बाटो नै छोड्यो ।’ कांग्रेससँग मिल्न के का लागि भन्ने प्रश्न रहेको भन्दै उनले थप भने, ‘के का लागि मिल्ने, कसका लागि मिल्ने । स्थिरता भनेको सोचहरूको एकता हो, प्रतिबद्धताको एकता हो। लोकतान्त्रिक मूल्य, मान्यतामा अडिने कुरामा एकता हो। तर, कांग्रेसमा सत्ता, सत्ता र सत्ता भन्दा केहीमा ध्यान छैन । कांग्रेसले अरूको इज्जतमाथि बाहिर बाहिर घुमाई घुमाई हमला गर्छ । हामी बेलमा हुँदा हुँदै दर्जनौँ पटक प्रस्तावहरू पारित भएका छन् । तर, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमलाई पनि रोक्न लाग्नु भयो । त्यसकारण उहाँहरूमा सहमति, सहकार्य, स्थिरता विकास तिर रुचि छैन ।’ ओलीले बेलुका रातभरि डेढ वर्षलाई प्रधानमन्त्री भन्ने त्यो मानेपछि भोलिपल्ट बिहान भ्रष्टाचारी भन्ने तरिका ठिक नभएको बताए ।

प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई

काठमाडौं । प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले लगातार चौथो पटक जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा सिटीले वेष्ट हम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा रहेका थिए । उपाधि जित्न सिटीलाई स्पष्ट जितको आवश्यकता थियो भने आर्सनलको हकमा उपाधि जित्न सिटीले अंक गुमाउनुपर्ने थियो । अन्तिम दिन भने सिटी र आर्सनल दुवै विजयी हुँदा उपाधि सिटीको पक्षमा गयो । सिटीले ३८ खेलबाट ९१ अंक जोड्यो । एभरटन विरुद्ध २–१ को पुनरागमन जित हात पारेको आर्सनलले ८९ अंक जोड्यो । सिटी लगातार चौथो पटक प्रिमियर लिग जित्न पहिलो टोली बनेको छ । सिटीलाई च्याम्पियन बनाउन फिल फोडेनले दुई तथा रोड्रीले एक गोल गरे । सिटी र आर्सनलसँगै लिभरपुल र एस्टन भिल्ला यस सिजन शीर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि पनि छनोट भएका छन् ।

लिटरमा ७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

चोरेको एक तोला सुन निलेपछि...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका - १ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार, गएको चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए। परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यसक्रममा योङ्याको साथबाट १५ हजार रुपैयाँ नगद बरामद गरिएको थियो। तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन। चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स - रे गरिएको थियो। एक्स - रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो। “निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो,” सूचना अधिकारी कुशवाहाले भने। उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो। चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले वैशाख २३ गते (हिजो) प्रतिवादी योङ्यालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए। रासस

अजब प्रेमको गजब कथाः प्रेमिकाले बिहे गर्न नमानेपछि केटी बन्न खोजे यी युवक, परिवारले बीचमै‌ रोक्दा न केटा न केटी

नयाँ दिल्ली । प्रेममा पागल भएकाहरुले के सम्म गर्दैनन् । यस्तै अनौठो प्रेमको चर्चा अहिले दिल्लीमा भाइरल बनेको छ । ३२ वर्षीय युवक, कार्यालयमा सँगै काम गर्ने एकजना महिलासँग प्रेम हुन्छ । महिला विवाहित, श्रीमान भने दुईवर्ष अघि कोरोनाका कारण निधन भएका । युवक र ती महिलाबीच सामान्य सम्बन्ध भएपनि महिलाले बिहे नै गर्न भने मानिन् । घरमा एउटा छोरी समेत भएकी ती महिलाले उक्त युवकसँग बिहे गर्न नसकिने र बिहेको जस्तो सम्बन्ध कायम गर्न नसक्ने बताएपछि युवक तनावमा पुगे । एउटा मल्टी नेशनल कम्पनीमा काम गर्ने युवकले अन्तमा निकै ठूलो निर्णय गरे । युवतीले विवाहित भइसकेकोले अन्य पुरुषसँग प्रेम या यौनसम्बन्ध कायम गर्न भने नसकिने बताएपछि उनले आफूपनि महिला नै बन्ने निर्णय गरे । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार, ती युवकका बुवाआमाले छोरामा एकाएक परिवर्तन आएको देखे । युवतीको जस्तो व्यवहार गर्ने, झर्किने र एक्लै रुने लक्षण छोरामा देखिएपछि उनीहरु मनोचिकित्सकहाँ पुगे । कुरा बुझ्दै जाँदा युवकले लिंग परिवर्तन गर्ने हर्मोनको सेवन गर्न थालेका रहेछन् । भोपालकी परामर्शकर्ता सरिता राजानीले युवकलाई बोलाएर कुरा गरेपछि बल्ल उनले महिला बन्नका लागि हर्मोनको सेवन गरिरहेको बताए । परामर्शका बेला युवकले बताए अनुसार, ६ महिना अघि सँगै काम गर्ने ती महिलासँग साथी हुँदै प्रेमसम्बन्ध भएको थियो । तर बिवाहको प्रस्ताव गर्दा भने ती महिलाले उनको श्रीमानले निकै माया र हेरचाह गर्ने गरेको र अन्य पुरुषलाइ श्रीमानको रुपमा हेर्न नसक्ने बताएकी थिइन । त्यसपछि युवकले आफू पनि महिला नै बनेर उनीसँग बस्न चाहने निर्णय गरेका रहेछन् । त्यसपछि परामर्शकर्ता राजानीले ती महिलालाई समेत सँगै राखेर परामर्श गरिन । र, हर्मोन थेरापी बन्द गर्ने सुझाव दिइन । तर यसले समस्या के भयो भने ती युवकभित्र पुरुष र महिला दुबै हर्मोनको विकास भयो । उनी न पुरै पुरुष नै रहेका छन् न पूर्ण महिला बन्न सकेका छन् ।

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र गाउँपालिका …

विद्युत महशुल बढेपछि आन्दोलन

स्याङ्जा। विद्युत नियमन आयोगले बुटवल पावर कम्पनीलाई विद्युत महशुल बढाउने निर्णय गरेपछि आन्दोलन शुरु भएको छ । पश्चिम, दक्षिण स्याङ्जाका उपभोक्ता आयोगले कम्पनीलाई विद्युत महशुल बढाउन पाउने स्विकृती दिएपछि आन्दोलन शुरु गरेका हुन् ।

पहिलो चरणको आन्दोलनमा स्याङ्जाका ७ राजनीतिक दलले छुट्टाछुट्टै ध्यानाकर्षण विज्ञप्ती बीपीसी र विद्युत नियमन आयोगलाई बुझाएर आन्दोलन शुरु भएको जानकारी दिए ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पाटी, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पाटीका नेताले हस्ताक्षर गरेर बुटवल पावर कम्पनीको आँधीखोला विद्युत वितरण कार्यालय वालिङमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाली काँग्रेसका वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्रका वालिङ नगर उपाध्यक्ष थमनदेवी काफ्ले, राष्ट्रिय स्वतन्त्र पाटीका प्रतिनिधि प्रकाश अर्याल, नेकपा समाजवादीका केन्द्रीय परिषद सदस्य जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे र राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जा क्षेत्र नम्वर २ का उपाध्यक्ष बिजय बस्नेतले हस्ताक्षर गरेर ध्यानाकर्षणपत्र बुझाएका छन् ।

७ नेताले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा विद्युत नियमन आयोगले एकतर्फीरुपले विद्युत महशुल बढाएको आरोप लगाइएको छ । विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आफ्नो कार्यकाल सकिनै लागेका बेला ठुलो आर्थिक प्रलोभनमा उपभोक्तालाई मर्कामा पार्ने गरी एकतफीरुपले विद्युत महशुल बढाएको ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको छ ।

आयोगले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा कम्पनीले विद्युत महशुल बृद्धि नगर्ने र थप गुणस्तरीय सेवा बनाउदै लैजानुपर्ने माग गरिएको बिषयलाई वेवास्ता गरेको र आम उपभोक्तालाई प्रभावित बनाउने गरी गरिएको महशुल बृद्धि तुरुन्तै खारेज गर्न माग गरिएको छ । राजनीतिक दलमार्फत महशुल खारेज गर्ने अनुरोधलाई नसुनिएमा चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

संयुक्त संघर्ष समिति निर्माण गरी राजनीतिक दलले आन्दोलन सुरु गरेको जनाएका छन् । आन्दोलनबाट हुने क्षती बीपीसी र आयोगले जिम्मेवारी लिनुपर्नेसमेत चेतावनी ७ राजनीतिकदलले दिएका छन् ।

आयोगले कम्पनीलाई समग्रमा झण्डै ४५ प्रतिशत विद्युत महशुल बृद्धि गर्ने अनुमति दिएको छ । सेवा शुल्कमा पनि उत्तिकै बढाउने अनुमति दिएको बताइएको छ । उपभोक्ताले पुरानो महशुलमा प्रति युनिट झण्डै ३ रुपैयाका दरले बृद्धि गरिएको महशुल बुझाउनु पर्नेछ । समग्रमा ५ रुपैयाँ ९८ पैसा प्रति युनिट तिर्दै आएका उपभोक्ताले अव समग्रमा ८ रुपैयाँ ९८ पैसा महशुल लाग्ने गरी निर्धारण गरिएको छ ।

विद्युत नियमन आयोगको निर्देशीका अनुसार विद्युत महशुल निर्धाण गर्दा अपनाईने व्यवस्था कायम गरिएको छ । तर आयोगले महशुल बृद्धि गर्दा सार्वजनिक सुनुवाई मात्रै गरेर अन्य राय, सल्लाह र सेवा प्रवाहकोसमेत सुझाव र अनुगमन नगरी महशुल बृद्धि गरिदिएको छ । यसरी महशुल बृद्धि गरिदिएपछि यहाँका राजनीतिकदल र उपभोक्ता आन्दोलित हुन शुरु गरेका हुन् ।

युवा संघले जलायो देउवा र धनराज गुरुङको पुत्ला

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधाममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएको छ ।

संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काँग्रेस उपसभापति गुरुङले औला ठड्याएर दुर्व्यवहार गरेका थिए । सो घटनाको विरोधमा यूवासंघका कार्यकर्ताहरूले जनकपुरमा प्रदर्शन गरेका छन् ।

संघका केन्द्रीय नेता सञ्जीव झा ’सुरज’को नेतृत्वमा प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले काँग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलाएका थिए ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका झाले काँग्रेस संसदमा गुरुङले उद्दण्डता मच्चाएको बताए । उनले सामाजिक सञ्जालमा चेतावनी दिएका छन्, ‘प्रेत आत्माको भोटबाट जितेको धनराज गुरुङ आफ्नो हैसियतमा बसे हुन्छ । सदन होइन, सडकमै हिसाब किताब हुन्छ ।’

आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन

काठमाडौं। आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन ।प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदै छ।  वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्ना…

वरिष्ठ साहित्यकार सुवेदीको निधन

विराटनगर। वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।  क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो। उनको पार्थिव शरीरलाई बुधबार नै  विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिने उनको परिवारले जनाएको छ ।   भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा सक्रिय थिए । उनका खोज तथा अनुसन्धानमूलक दर्जनौँ कृति प्रकाशित छन् ।सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीका समालोचना सङ्ग्रह विश्वविद्यालयहरूमा पढाइ हुने गरेका छन् । स्वर्गीय सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

कथाकार परशु प्रधानको निधन

काठमाडौं । कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।  निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए । प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्धानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् । सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् । करिब एक दर्जन बाल कथाहरु पनि प्रकाशित भएका छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् ।प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित भएका छन् ।  त्यसैगरी भोजपुरः एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट (२) संस्करणसम्म प्रकाशित भएका छन् । प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो ।

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले आज गरेका भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्रीले समानीकरण अनुदान संवैधानिक अधिकार भएकाले यसलाई कटौती गर्नेबारे सङ्घीय सरकारले कुनै सोच नराखेको बताए। प्रधानमन्त्री प्रचण्डले भने, “समानीकरण अनुदान प्रदेश र स्थानीय सरकारको संवैधानिक अधिकार हो । अर्थतन्त्रको दवाव पुरै हटिसकेको छैन । तर, जस्तोसुकै दवाव भए पनि समानीकरण अनुदान काटिँदैन । यसमा सङ्घीय सरकार प्रष्ट छ ।” छलफलमा अर्थमन्त्री वर्षमान पुनले समानीकरण अनुदान कटौती गर्ने कुनै सोच नभएकाले अनावश्यक भ्रममा नपर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले भने, “सङ्घीय सरकार अर्थतन्त्रको दवावमा छ । सञ्चित कोष ऋणात्मक नै छ । तर, जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि समानीकरण अनुदान काट्दैनौँ । बरू, प्रदेश र स्थानीय सरकारमा खर्बौँ रकम डिपोजिटमा बसेको छ । त्यसलाई खर्च गर्नुस् । प्रदेश र स्थानीय सरकारको पुँजीगत खर्च बढाउनुस् ।” भेटमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले अर्थतन्त्रको दवावलाई ख्याल गर्दै समपुरक अनुदानमा पुनर्विचार गर्नेबारे आफूहरू लचक भएको बताउँदै समानीकरण अनुदान कटौती नगर्न ध्यानाकर्षण गराएका थिए ।

विश्वविद्यालय सुधार्ने प्रधानमन्त्रीको संकल्प : कसैलाई बन्देज नहुने गरी त्रिविको उपकुलपतिमा खुल्यो दरखास्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने लगायत विभिन्न मापदण्ड तोकिएकी पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सूचना सच्याउन निर्देशन दिएका थिए । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डको विश्वविद्यालय सुधार गर्ने चाहान अनुसार विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन भएको हो । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गर्दै योग्य र इच्छुक जोसुकै उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने गरी सुचना जारी गरेको हो ।  

यी हुन् बेलायत जान अन्तर्वार्ताका लागि छनोट भएका ७१ जना नर्स

काठमाडौँ । रोजगारीका लागि बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताको लागि बोलाएको हो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायतबिच सम्झौता भएको थियो । सोही आधारमा विभागले १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरेको थियो । जसमा मागभन्दा कम नर्सहरूको मान्य आवेदन परेको थियो । अनलाइन आवेदन दिएकाहरूलाई तोकिएको मापदण्डको आधारमा प्रारम्भिक सूची प्रकाशित गरेको हो । उनीहरूलाई डिसेम्बर ४ देखि ७ तारिखसम्म अन्तर्वार्ताको लागि बोलाइएको छ । अन्तर्वार्ता लैनचौरस्थित बेलायती दूतावासमा हुनेछ । नर्सका लागि तोकिएको कडा मापदण्डका कारण थोरै आवेदन परेको थियो । बेलायतले आईएलटीएसमा सात ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो । जसमा पुरानाहरूको हकमा भाषागत समस्या देखिएको थियो भने नयाँमा कार्यानुभवको अभाव देखिएको थियो । अनलाइन मार्फत सात सय भन्दा बढीले रजिस्ट्रेसन गरेका थिए । तर, ७५ जनाको मात्रै मान्य कागजपत्र पेस गरिएको थियो । तिनीहरूबाटै विभागले ७१ जनाको प्रारम्भिक सूची तयार पारेको हो ।    

माइतीघर एकल प्रदर्शन गरिरहेका चपागाईंलाई सुन्न पुगिन शिक्षामन्त्री

काठमाडौं । विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईंंका कुरा सुन्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ आइतबार माइतीघर मण्डला पुगेकी छिन् ।  त्यहाँ उनले आन्दोलनरत चापागाईंंका कुरा सुनेपछि अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमति पत्र आवश्यक रहेको बताएकी छिन्।  उनले अटिजम काउन्सिलरहरूको लागि इजाजतपत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको बताइन्। अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको पनि उनको भनाइ छ।  आन्दोलनरत नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्यका नेत्र चापागाईंले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन माग गरे। उनले विद्यार्थीको खाजा खर्च १५  रुपैयाँ रहेकोमा बढाएर ५० बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने मागसहित विगत पाँच दिनदेखि उभिएर विरोध जनाइरहेका छन् ।