घट्यो नेप्से, १३ वटै उपसमूह राताम्य

घट्यो नेप्से, १३ वटै उपसमूह राताम्य

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १९.५६ अंकले घटेको छ । नेप्से ०.९८ प्रतिशतले घटेर १९७२.१४ विन्दुमा झरेको छ ।

आज ३१५ धितोपत्रको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर दुई अर्ब नौ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस दिन १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक १.७२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ । रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ।

गुल्मी बस दुर्घटनामा घाइते सहचालकको मृत्यु

गुल्मी । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा  उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते सबैको पाल्पामा उपचार भइरहेको छ । बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेर दुर्घटना भएको हो ।

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा डा. शर्मा नियुक्त

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा.लेखनाथ शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी थिंकट्यांकको रूपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पूर्वप्रधान सेनापति थापाको निधन

काठमाडौँ । पूर्वप्रधान सेनापति धर्मपालवरसिंह थापाको निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको छ । थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको निधन भएको हो । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधानमन्त्री

काठमाडौँ । सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । बुधबार एक विशेष समारोहबीच प्रधानमन्त्री लुङ र मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिए। उनलाई प्रधानन्यायाधीश सुन्दरेश मेननले शपथ दिलाएका थिए । शपथ ग्रहण समारोहमा थर्मन शनमुगरत्नमसमेत उपस्थित थिए । लरेन्स वोङ सिंगापुरका चौथो प्रधानमन्त्री हुन् । त्यस्तै उनी सिंगापुर स्वतन्त्र भएपछि जन्मिएका व्यक्तिबाट प्रधानमन्त्री हुने पनि पहिलो हुन् । वोङ सन् १९७२ मा जन्मिएका हुन् भने सिंगापुर सन् १९६५ मा स्वतन्त्र भएको थियो ।सिंगापुर एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको छ । 

लोकप्रिय