अमेरिका भ्रमण सकाएर फर्किए : अर्थमन्त्री पुन

अमेरिका भ्रमण सकाएर फर्किए : अर्थमन्त्री पुन

काठमाडौँ। अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् । चार सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । 

मन्त्री पुन विश्व बैंक र मुद्रा कोष बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा सङ्क्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी भए । पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेटघाट गरे । 

मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी)का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे । 

सम्बोधन तथा भेटघाटहरूमा मन्त्री पुनले आगामी १७ र १६ वैशाखमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरे । नेपालको ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न उनले अपिल गरे । लगानी सम्मेलनको वातावरण बनाउन सरकारले लगानीका लागि प्रतिकूल ठानिएका करिब दर्जन ऐनमा अध्यादेशमार्फत सुधार गर्न लागिएको जानकारी उनले अन्तर्राष्ट्रिय समुदाय, लगानीकर्ता र विकास साझेदारलाई दिए । यस्तै आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको  सहुलियत दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए)–२१ बैठक तयारीबारे समेत अवगत गराए । मन्त्री पुनले विकास साझेदारहरुलाई नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन भनेका छन् । 

भी–२० मा उनले जलवायु परिवर्तनमा नेपालको न्यून भूमिका रहेको भन्दै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय जगतमा दृढतापूर्वक वकालत गर्ने उल्लेख गरे ।  

मन्त्री पुन र विश्व बैंकका उच्च अधिकारीहरुबिचको वार्तामा सङ्खुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजनाको वित्तीय ढाँचाबारे महत्त्वपूर्ण सहमति भएको छ । आगामी जुनमा विश्व बैंकले उक्त आयोजनाका लागि वित्तीय व्यवस्थापन टुङ्ग्याउने तयारी अघि बढाउने भएको छ । 

अमेरिकी व्यवसायीहरूको संस्था (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको अन्तरक्रियामा उनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताए । 

मन्त्री पुनले ‘एसियामा नवीकरणीय ऊर्जा सङ्क्रमण’शीर्षक साइडलाइन सत्रलाई सम्बोधन गर्दै नेपालले जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको बताए । 

त्यस क्रममा विश्व बैंकसहित विकास साझेदार संस्थाका प्रतिनिधिहरूले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको भन्दै लगानी सम्मेलनमा उच्चस्तरको सहभागिता हुने प्रतिबद्धता जनाएका थिए ।

लिटरमा ७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिबद्धता जनाएका छन् ।  बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गरे । अर्थमन्त्री पुनले ‘स्लो डाउन’मा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताए । मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने नीति सरकारको रहेको उनको भनाइ थियो । व्यवसायीहरूले सम्पत्तिको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बनाउने नीति नलिने स्पष्ट पारे । अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताए ।

घटेर बन्द भयो नेप्से, कारोबार कति ?

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ९.५४ अंक घटेर २०१७.९७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक, फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ५५ हजार ८६२ पटकको कारोबारमा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँबराबरको ८४ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २३७ रुपयाँ ७० पैसा घटेर २ हजार १३९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन पिपुल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको करिब ११ करोडको शेयर किनबेच भएको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको करिब ८ करोडको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४० प्रतिशत, व्यापार उपसमूहको परिसूचक १.१६ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१७ प्रतिशत बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।

नीति तथा कार्यक्रम आशा जगाउन सक्ने आएको छ : उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने प्रक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदनमा प्रस्तुत नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने प्रतिक्रिया दिएका हुन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुतपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् । अध्यक्ष ढकालले नीति तथा कार्यक्रमका प्रतिवद्धता अनुसार सरकारले बजेट ल्याए निजी क्षेत्र सकारात्मक रहेको बताए । उनले नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयनमा भर पर्नुपर्ने बताए। अध्यक्ष ढकालले सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको बताए । उनले सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखिनु सकारात्मक भएको बताए। उनले बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजानसके आशा जगाउने खालको कार्यक्रम रहेको बताए। अध्यक्ष ढकालले सरकारले नीति तथा कार्यक्रमको प्रतिवद्धता र अर्थतन्त्रमा देखिएको शिथिलता हटाउने गरी अब बजेट आउनु पर्ने उल्लेख गर्नुभयो ।

लोकप्रिय