आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिदै

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिदै

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको आयोगले त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको हो।

आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१)मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम-२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ। कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।  प्रदेश प्रमुखले चौथो अधिवेशन आह्वान गरेसँगै आज कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेश नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठकमा उपस्थित हुन सम्पूर्ण प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचना गरेको छ। उक्त बैठक प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुने जनाइएको छ। रासस

सवारी दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते

हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।मकवानपुरको वाग्मती गाउँपालिका–४, सादेपुलस्थित धरान–चतरा सडकखण्डमा बुधबार राति ना६६प ९३०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा उपमहानरपालिका–१३, का ४५ वर्षीय केशवप्रसाद मुडवरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका मुडवरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।   घटनास्थलबाट तीन किलोमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्री सडकमा ना७त २२५९ नम्बरको रड लोड गरी रोकिराखेको ट्याक्टरमा  मोटरसाइकल ठोक्किएर दुर्घटना भएको आश‌का गरिएको उनले बताए।घटनाबारे थप अनुसन्धानका लागि ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। त्यस्तै, हेटौँडा–५, बाँनिया टोलस्थित सडकमा गत वैशाख २७ गते भएको सवारी दुर्घटनामा परी घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा–५, शान्तिनगर निवासी ५२ वर्षीय लालबहादुर वाइबाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ। बाप्र०३–००१ त ३१८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक वाइबा घाइते भएका थिए। फर्पिङ–कुलेखानी सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, मार्खमा बिहीबार भ्यान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन्।  काठमाडौँबाट मार्खुतर्फ आउँदै गरेको बा६च १२४ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खेतमा खस्दा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। उनका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ। रासस

भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ :  प्रमुख रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताएकी छन् । बिहीबार भरतपुर ७ मा निर्मित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाको ३ तले भवन उद्घाटन कार्यक्रममा उहाँले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गरिन् । भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा अनुदान दिन सुरुवात गरेको भन्दै उनले कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिदै आइरहेको बताइन्। भरतपुरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु सरी हाल ३ रुपैयाँ पुराएको छ। यसबाट १० हजार कृषक लाभान्वित भएका छन् ।‘भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ, उनले भनिन्,‘ ५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ। ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्याङ्क छ। भरतपुर दूधमा अत्मनिर्भर छ।’ महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको उल्लेख गरिन्। उत्पादन भनेको कृषि हो, यो सँगै सौन्दर्यकरण, सरसफाईलाई जोड दिइएको छ–उनले भनिन्। प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताइन्। साझेदारीमार्फत ट्याक्टर, मिल्क ऐनालाईजर,हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उनको भनाई छ । कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उनको भनाई थियो।भरतपुरमा भूमिगत सिँचाईमार्फत ७ हजार विघामा सिंचित भइरहेको र नारायणी लिफ्ट सिँचाईलाई १२ महिना सञ्चालन गर्न महानगरले बजेट विनियोजन गरी काम अघि बढाउने उनको भनाई छ । प्रेमवस्ती कृषि सहकारीले दैनिक १ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ भने आफ्नै फर्म सञ्चालन गर्दै आइरहेको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको विकास पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनासलगायतले धारणा राखेका थिए ।कार्यक्रममा संस्थाका अध्यक्ष आन्नद प्रसाद न्युरेको अध्यक्षतामा भएको थियो ।  

सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ।आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ।बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।

लोकप्रिय