सवारी दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते
हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।मकवानपुरको वाग्मती गाउँपालिका–४, सादेपुलस्थित धरान–चतरा सडकखण्डमा बुधबार राति ना६६प ९३०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा उपमहानरपालिका–१३, का ४५ वर्षीय केशवप्रसाद मुडवरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मुडवरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
घटनास्थलबाट तीन किलोमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्री सडकमा ना७त २२५९ नम्बरको रड लोड गरी रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको आशका गरिएको उनले बताए।घटनाबारे थप अनुसन्धानका लागि ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।
त्यस्तै, हेटौँडा–५, बाँनिया टोलस्थित सडकमा गत वैशाख २७ गते भएको सवारी दुर्घटनामा परी घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा–५, शान्तिनगर निवासी ५२ वर्षीय लालबहादुर वाइबाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ। बाप्र०३–००१ त ३१८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक वाइबा घाइते भएका थिए।
फर्पिङ–कुलेखानी सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, मार्खमा बिहीबार भ्यान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन्।
काठमाडौँबाट मार्खुतर्फ आउँदै गरेको बा६च १२४ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खेतमा खस्दा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। उनका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ। रासस
तिहारको रौनक बढ्दै, घरघरमा गरियो लक्ष्मी पूजा
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा बिहीबार बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका भनिन्छ। लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो। लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।
दशरथ रंगशालामा नेपाल र बंगलादेशबिच साफ महिला च्याम्पियनसिप जारी
काठमाडौं । दशरथ रंगशालामा नेपाल र बंगलादेशबिच हुने साफ महिला च्याम्पियनसिप जारी छ । दुई देश बीचको उपाधि भिडन्त हेर्न दर्शकको बाक्लो उपस्थिति छ। जारी खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।
बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम नाम सर्वसम्मतले अनुमोदन गरेको हो । बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाइ गरेको थियो। उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।
आज काग तिहार
काठमाडौं । आज काग तिहार । घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने मान्यता रहेको छ । आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने हिन्दुहरुमा चलन रहि आएको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धार्मिक क्षेत्रका विद्धानहरु बताउछन् ।