प्रभु बैंकका डेपुटी सीईओसहित १० जना हाजिर जमानीमा थुनामुक्त

प्रभु बैंकका डेपुटी सीईओसहित १० जना हाजिर जमानीमा थुनामुक्त

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिर जमानी छुटेका छन् ।  धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । 

सरकारी वकिलको कार्यालयसँगको समन्वयमा उनीहरूलाई हाजिर जमानीमा छोडिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । 

उनका अनुसार उनीहरूमाथि प्रारम्भिक अनुसन्धान सकिएको छ । बाँकी अनुसन्धान बाहिर नै राखेर हुने उनको भनाइ छ ।फागुन १५ गते तत्कालीन सेन्चुरी बैंकका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

सीआईबीले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित तुलसीराम गौतम, सविन घिमिरे, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा हुँदा धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोप लागेको छ ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय सञ्जीव रिजाल र सोही बस्ने सञ्जीव प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दीपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

शिक्षकको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

कञ्चनपुर । बेलौरी नगरपालिका–६, विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय महेश भण्डारी रहेका छन् । भण्डारीलाई सोही नगरपालिका–६, दुम्लीमा ट्याक्टरको ट्रलीको भुसाभित्र सुतेको अवस्थामा आज बिहान ४ बजे पक्राउ गरिएको हो । बुधबार साँझ ८ बजे घरतर्फ जाँदै गरेका बेला चन्दलाई ढुंगा प्रहार गरी भण्डारीले गम्भीर घाइते बनाएका थिए । घाइते भएका चन्दलाई तत्कालै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ भर्ना गरिए पनि अवस्था गम्भीर हुँदा थप उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा लगिएको थियो । उपचारका क्रममै चन्दको निधन भएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न भण्डारी बैतडीको दोगडा केदार गाउँपालिका–४ का स्थानीय बासिन्दा रहेको बताइएको छ । उनी केही दिनदेखि बेलौरीमा बस्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धानको कार्य गरिरहेको छ । रासस

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ। कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।  प्रदेश प्रमुखले चौथो अधिवेशन आह्वान गरेसँगै आज कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेश नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठकमा उपस्थित हुन सम्पूर्ण प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचना गरेको छ। उक्त बैठक प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुने जनाइएको छ। रासस

सवारी दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते

हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।मकवानपुरको वाग्मती गाउँपालिका–४, सादेपुलस्थित धरान–चतरा सडकखण्डमा बुधबार राति ना६६प ९३०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा उपमहानरपालिका–१३, का ४५ वर्षीय केशवप्रसाद मुडवरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका मुडवरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।   घटनास्थलबाट तीन किलोमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्री सडकमा ना७त २२५९ नम्बरको रड लोड गरी रोकिराखेको ट्याक्टरमा  मोटरसाइकल ठोक्किएर दुर्घटना भएको आश‌का गरिएको उनले बताए।घटनाबारे थप अनुसन्धानका लागि ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। त्यस्तै, हेटौँडा–५, बाँनिया टोलस्थित सडकमा गत वैशाख २७ गते भएको सवारी दुर्घटनामा परी घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा–५, शान्तिनगर निवासी ५२ वर्षीय लालबहादुर वाइबाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ। बाप्र०३–००१ त ३१८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक वाइबा घाइते भएका थिए। फर्पिङ–कुलेखानी सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, मार्खमा बिहीबार भ्यान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन्।  काठमाडौँबाट मार्खुतर्फ आउँदै गरेको बा६च १२४ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खेतमा खस्दा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। उनका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ। रासस

लोकप्रिय