बजेट निर्माणबारे अर्थमन्त्री पुनले लिए पूर्वअर्थमन्त्रीहरूसँग सुझाव

बजेट निर्माणबारे अर्थमन्त्री पुनले लिए पूर्वअर्थमन्त्रीहरूसँग सुझाव

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् ।

अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा.युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग सुझाव लिएका हुन् ।

त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सल्लाह दिएका छन् । उनीहरुले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

यस्तै उनीहरुले राष्ट्रिय गौरबका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न भनेका छन् ।

पूर्वअर्थमन्त्री डा.महतले जे पनि गर्छु भन्ने प्रकृतिका ठूलो आकारको बजेट नल्याउन सुझाव दिए । उनले भने, ‘पपुलिज्मको पछाडि लाग्नु हुँदैन । कार्यान्वयन नहुने कुरा गरेर पछि हल्का हुने काम गर्नुहुँदैन ।’

पूर्वअर्थमन्त्री डा खतिवडाले पनि अर्थमन्त्रीको यो कार्यकाल नै अन्तिम हो भन्ने ठानेर पपुलिष्ट बजेट नल्याउन सुझा दिए । उनले बजेटको आकार अनावश्यक ठूलो बनाउने प्रवृत्तिले कार्यान्यवन नै नहुने समस्या रोगका रुपमा विकास भएको भन्दै बजेटको साख गिराउने काम गर्न नहुने उल्लेख गरे ।

अर्का पूर्वअर्थमन्त्री डा.लोहनीले देशको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै एक जना अर्थमन्त्रीले मात्र चाहेर सुधार गर्ने ठाउँ नहुने बताए। त्यसका लागि प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सबै, राजनीतिक दल र राज्य संयन्त्र नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

उनले राजनीतिक स्थायित्वको ग्यारेन्टी नभएसम्म आर्थिक विकास नहुने भन्दै उनले असुरक्षाको वातावरण निर्माण हुनुमा अस्थिरता बाधक रहेको औंल्याए।

यस्तै, पूर्वअर्थमन्त्री शंकर कोइरालाले विगतमा जलश्रोतमा लगानी गर्दा श्रोत नखोज्ने र १५ वर्षसम्म थप आयकर नलाग्ने नीतिका कारण अहिले विद्युत निर्यात हुने अवस्था आएको चर्चा गर्दै आर्थिक स्थायित्वका लागि कम्तिमा यस्तै एउटा क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताए ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले अख्तियार सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धा र सिआईबीजस्ता निकायले जथाभावी अधिकारको दुरुपयोग गरेका कारण कर्मचारीको काम गर्ने मनोबल घटेकाले पुँजीगत खर्च निराशाजनक रहेको उल्लेख गरे । उनले भने, नियामक संस्थाहरुका कारण निजी क्षेत्र आतंकित भएको छ, सचिवदेखि कर्मचारीहरुलाई हुँदै नभएको मुद्धा लगाइदिने प्रवृत्तिका कारण कोही पनि फाइल सदर गर्ने अवस्थामा छैन ।’

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कागजमा मात्र अर्थतन्त्रको आकार बढाउने तर यथार्थमा कार्यान्वयन नहुने बजेट नल्याउन सुझाव दिए । पाण्डेले गलत नियतका साथ सामाजमा राजनीतिज्ञ र कर्मचारीतन्त्र सबै खत्तम भन्ने मनोविज्ञान फैलाइएकाले त्यसलाई नचिरेसम्म काम गर्ने वातावरण नबन्ने औंल्याए ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन फुकाएर बजेट बनाउने अवस्था नभएकाले प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सदस्य र सरकारमा संलग्न दलका नेताहरुलाई अहिलेको यथार्थ अवस्था, बाध्यता र सीमाबारे बुझाउन अर्थमन्त्री पुनलाई आग्रह गरे । उपलब्ध श्रोतबाट अवस्था सुधार्न कठिन भएकाले नीतिमार्फत सुधार गर्न उनले सुझाव दिए ।

मन्त्री पुनले पूर्वअर्थमन्त्रीहरुका सुझावलाई मनन गरी बजेट निर्माण गर्ने बताए । विकास र सुशासनलाई सँगै लैजाने तथा उत्पादन र रोजगारी वृद्धि गर्ने खालको बजेट ल्याउने उनको भनाइ थियो । उनले अर्थतन्त्रलाई तीव्रता दिन वस्तुगत बजेट बनाउने भन्दै सुझावलाई गाइडलाइनका रुपमा ग्रहण गर्ने प्रतिबद्धता जनाए ।

रोकियो लाइसेन्सको ट्रायल, कहिलेबाट खुल्ने अन्योल

काठमाडौं । काठमाडौं उपत्यकामा भएका ४ वटा ट्रायल सेन्टरमा आज सावारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ । बागमती प्रदेश अन्तर्गत रहेको यातायात कार्यालयहरुमा आजबाट ट्रायल रोकिएको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र राधेराधे भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चावहिल, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र एकान्तकुनाका ट्रायल सेन्टरहरुमा ट्रायल रोकिएको हो ।रोकिएको ट्रायल कहिले खुल्छ भन्नेबारे भने अनिश्चित रहेको छ । यातायात व्यवस्था कार्यालयले आजबाट एक्कासी कुनै सूचना नै प्रकाशन नगरी ट्रायल रोक्दा सेवाग्राहीहरुले हैरानी पाएका छन् । लाइसेन्सको ट्रायल दिन सेवाग्राहीहरुको भिड भएपछि मात्रै यातायात कार्यालयहरुले आज अबेर सूचना निकालेका थिए । उक्त सूचनामा ट्रायल कहिले खुल्छ भन्ने स्पष्ट परिएको छैन् । राष्ट्रिय सतर्कता केन्द्रले ४ वटा ट्रायल सेन्टरमा स्थतलगत अध्ययन गरेर र त्यहाँ मापदण्ड पूरा नभएकाले रोक्न निर्देशन दिएको थियो । राष्ट्रिय सतर्कता केन्द्रले जेठ १ गते निर्देशन जारी गरेको थियो । सो निर्देशनमा काठमांडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकांश ट्रायल सेन्टरहरुले निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नगरी ट्रायल सेन्टरहरु संचालनगर्दा धेरै परीक्षार्थीहरु फेल हुने गरेको भनेको छ। साथै, टोकन र मेडिकलको नाममा मनोमानी शुल्क लिएको भन्ने उजुरी आएको बताएको छ । ट्रायल सेन्टरहरुलाई बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नियमन गर्ने हो । सूचनामा ट्रायल कहिले खुल्छ भन्ने स्पष्ट नभएको भए पनि मन्त्रालयले आइतबारसम्म राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदनअनुसार ट्रायल सेन्टरलाई सुधार गर्न भन्ने र सँगसँग ट्रायल पनि चल्ने बताइएको छ ।

प्रतिनिधि सभामा धकेलाधकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ । सभामुख घिमिरेले नाराबाजीमै राष्ट्रपति कार्यालयको पत्र पढ्दै कार्यसूचीमा प्रवेश गरेका थिए । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको हो। सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधनका निम्ति बोलाएपछि आक्रमक बनेका विपक्षी कांग्रेसका सांसदहरुले एमाले अध्यक्ष केपी ओली, एमाले प्रमुख सचेतक महेश बर्तौला लगायतलाई धकेलेका थिए। ओली लगायत एमाले नेताहरु रविलाई रोष्ट्रमसम्म जाने बाटो बनाउन अघि सरेका थिए । कांग्रेसका उपसभापति तथा पूर्व मन्त्री धनराज गुरुङलगायतले लामिछानेलाई छेकेरा बाटो बन्द गरे।   सो लगत्तै सभामुख देवराज घिमिरेले संसद्को आजको बेठक स्थगित भएको घोषणा गरेका छन् ।

डा. गोविन्द केसीको अनसन स्थगित

काठमाडौँ । डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् ।  डा. केसी वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन थालेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग अघि सारेका थिए ।

कांग्रेसले भन्यो– 'सरकार रबिलाई जोगाउन लाग्यो, सदन चल्दैन'

काठमाडौं । सरकारले सदनको अवरोध खुलाउन प्रयास नगरेको  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध खुलाउने प्रयास स्वरुप छलफल गरिरहेका बेला आज संसद्को अवरोध खोल्ने चर्चाकाबीच कांग्रेसले उक्त धारणा सार्वजनिक गरेको हो । सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संंलग्नताबारे छानबिनका लागि सरकार तयार नभएको भन्दै कांग्रेसले संसद्को अवरोध जारी रहने बताएको हो।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र कांग्रेसलाई स्वीकार्य पनि नहुने बताए। उनले सत्तापक्ष निर्लज्ज भएर प्रस्तुत भइरहेको छ भन्दै एउटा अमुक व्यक्तिलाई जोगाउने कुरा खुलेयाम जोगाउन लागेको समेत आरोप लगाए। आज संसद् खुलाउनका लागि डाकिएको बैठकमा सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नतासहित छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने कांग्रेसले अडान राखेको थियो। सत्ता पक्षले भने कांग्रेसले भनेजस्तो व्यक्ति केन्द्रित भएर भने संसदीय समिति नबनाउने बताएको छ । आज भएको सहमति प्रयासमा यहि विषयमा कुरा नमिलेपछि संसद् सुचारु अनिश्चित भएको छ ।

लोकप्रिय