नेपालमा लगानी बढाउन विश्व बैंकलाई अर्थमन्त्री पुनको आग्रह

नेपालमा लगानी बढाउन विश्व बैंकलाई अर्थमन्त्री पुनको आग्रह

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनलाई नेपालमा लगानी बढाउन अपिल गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । 

गएराति वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा मन्त्री पुनले दुवै उपाध्यक्षलाई नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गरे। 

आईडालाई नेपालजस्ता विकासोन्मुख देशहरूका लागि भरपर्दो माध्यम बनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी विश्व समुदायले हेर्न लायक भएको उल्लेख गरे । नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौँ घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको जानकारी उनले दिए । 

उक्त घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्र्यक्रम अन्तर्गतको (ग्रिड डिपीसी) कार्यान्वयन गर्न लागिएको उनको भनाइ थियो ।मन्त्री पुनले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गरे। 

विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारका तर्फबाट ऊर्जा, यातायात र शहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उनको भनाइ थियो ।

उनले गत साता मात्र दुई ठूला जलविद्युत आयोजनाहरू माथिल्लो अरुण र दूधकोशीको वित्तिय ढाँचाबारे विश्व बैंकका काठमाडौँस्थित अधिकारीहरुसँग भएको राउण्डटेबल बैठक फलदायी भएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापनको टुंगो लाग्ने आशा व्यक्त गरे।दुवै आयोजना नेपालको नेपालको ‘गेम चेन्जर’ आयोजना रहेको भन्दै उनले ती अयोजनाको विकासले नेपालको ठूला पूर्वधार निर्माण क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा डा. शर्मा नियुक्त

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा.लेखनाथ शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी थिंकट्यांकको रूपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पूर्वप्रधान सेनापति थापाको निधन

काठमाडौँ । पूर्वप्रधान सेनापति धर्मपालवरसिंह थापाको निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको छ । थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको निधन भएको हो । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधानमन्त्री

काठमाडौँ । सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । बुधबार एक विशेष समारोहबीच प्रधानमन्त्री लुङ र मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिए। उनलाई प्रधानन्यायाधीश सुन्दरेश मेननले शपथ दिलाएका थिए । शपथ ग्रहण समारोहमा थर्मन शनमुगरत्नमसमेत उपस्थित थिए । लरेन्स वोङ सिंगापुरका चौथो प्रधानमन्त्री हुन् । त्यस्तै उनी सिंगापुर स्वतन्त्र भएपछि जन्मिएका व्यक्तिबाट प्रधानमन्त्री हुने पनि पहिलो हुन् । वोङ सन् १९७२ मा जन्मिएका हुन् भने सिंगापुर सन् १९६५ मा स्वतन्त्र भएको थियो ।सिंगापुर एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय सञ्जीव रिजाल र सोही बस्ने सञ्जीव प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दीपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लोकप्रिय