भी–२० बैठकमा मन्त्री पुनको सम्बोधन–'जलवायु परिवर्तनका कारण हामी होइनौं, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ'

भी–२० बैठकमा मन्त्री पुनको सम्बोधन–'जलवायु परिवर्तनका कारण हामी होइनौं, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ'

वासिङ्टन । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।  विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन् । 

भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा त्यसबाट विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न सङ्क्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो ।

पुनले बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित विकासोन्मुख मुलुकले सामना गरिरहेको समस्याबारे विश्व समुदाय समयमै सचेत र गम्भीर हुनुपर्ने बताए । उनले जलवायु परिवर्तनको जोखिमबाट बच्न विश्वस्तरमै सामूहिक प्रतिबद्धताको खाँचो औँल्याए । जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा खास गरी गरिब र सीमान्तकृत वर्गका मानिसहरू प्रताडित हुने गरेको उनको भनाइ थियो । मन्त्री पुनले नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरूको योगदान न्यून रहेको स्पष्ट गरे । 

गत वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमिका शून्य भए पनि जलवायु परिवर्तनको प्रभावबाट उच्च जोखिममा परेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएको स्मरण गरे ।  ‘कोप–२८ बैठकमा मेरा प्रधानमन्त्रीले स्पष्ट रूपमा भन्नुभएको थियो कि जलवायु परिवर्तनमा नेपालको अत्यन्तै न्यून भूमिका छ’, पुनले भने, ‘हाम्रा प्रधानमन्त्रीको सन्देशलाई म यहाँहरु समक्ष राख्न चाहन्छु कि विकसित देशहरूले जलवायु परिवर्तनका प्रभावको असमान जोखिमबाट अल्पविकसित मुलुकहरूलाई तत्काल आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ ।’ 

मन्त्री पुनले जवलायु परिवर्तनको प्रभावबाट भएको क्षतिपूर्ति पाउनुपर्ने अडान प्रस्तुत गर्दै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय जगतमा दृढतापूर्वक वकालत गर्ने उल्लेख गरे। 

जलवायु परिवर्तनका कारण नेपालका हिमालयहरूमा तीव्र रूपमा हिउँ पग्लिन थालेको, हिमनदीहरूमा पानीको बहाव घटेको, हिम तालहरू विस्फोटको जोखिम बढेको, तथा अनावृष्टि र अतिवृष्टिजस्ता समस्याका कारण बाढी, पहिरो तथा खडेरीजस्ता प्रकोप डरलाग्दो रूपमा बढ्दै गएकोमा विश्व समुदायको ध्यानाकर्षण गराए। 

यस्तै जलवायु परिवर्तनले उत्पन्न प्राकृतिक विपत्तिहरूका कारण विकासका पूर्वधारको दिगो विकास प्रयास मात्र नभई मानव स्वास्थ्य तथा जीविकोपार्जनसमेत खतरामा परेको मन्त्री पुनको भनाइ थियो । 

विकसित अर्थतन्त्र भएका मुलुकहरूले  जलवायु परिवर्तनमा न्यून भूमिका भएर पनि उच्च जोखिममा रहेका नेपालजस्ता तेस्रो विश्वका मुलुकहरूमा जलवायु अनुकूलन कार्यक्रमहरूका लागि आर्थिक सहायता प्रदान गर्नुपर्नेमा मन्त्री पुनले जोड दिए । उनले जलवायु परिवर्तनबाट भएको क्षति लागि स्थापना गरिएको क्षतिपूर्ति कोष, जैविक विविधता कोष र अनुकूलन कोषसहितका सुविधाहरूमा प्रमुख हक नेपालजस्ता अल्पविकसित र हिमाली देशहरूको रहनुपर्ने उल्लेख गरे । 

जलवायु परिवर्तनका असरबाट विश्वलाई बचाउन विकसित मुलुकहरू आफूले गर्दै आएका प्रतिबद्धतामा इमानदार हुनुपर्ने मन्त्री पुनले स्मरण गराए । 
जलवायु परिवर्तनको असर तथा त्यसबाट उत्पन्न प्राकृतिक विपदहरुको सामना गर्न नेपालको आन्तरिक श्रोत अपर्याप्त रहेकामा उनले सदस्य राष्ट्रहरूलाई अवगत गराए । ‘जलवायु परिवर्तनका दुस्प्रभावहरुसँग जुध्नका लागि विश्वव्यापी प्रतिबद्धता र सहकार्यको आवश्यकता रहेकोमा विश्व समुदायको ध्यान जानुपर्छ भन्ने विषयमा ध्यानाकर्षण गराउन चाहन्छु’, मन्त्री पुनले भने, ‘नेपालजस्ता विकासोन्मुख देशहरूका लागि जलवायु कोषमार्फत विशेष अनुदान र सहुलियतपूर्ण पहुँच खोजिरहेका छन् । म विकसित मुलुकहरूलाई जलवायु प्रभावित देशमा गर्नुपर्ने कार्यहरूका लागि आफूले विगतमा गरेका प्रतिबद्धताहरू स्मरण गराउन चाहन्छु ।’ उनले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को अवधारणासहित अघि बढेको जानकारी दिए । 

कार्यक्रममा भी–२० सदस्य राष्ट्रका करिब ८० जना मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी, विश्व बैंक समूहका अध्यक्ष अजय बंगा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालगायत उपस्थित थिए ।

लिटरमा ७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिबद्धता जनाएका छन् ।  बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गरे । अर्थमन्त्री पुनले ‘स्लो डाउन’मा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताए । मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने नीति सरकारको रहेको उनको भनाइ थियो । व्यवसायीहरूले सम्पत्तिको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बनाउने नीति नलिने स्पष्ट पारे । अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताए ।

घटेर बन्द भयो नेप्से, कारोबार कति ?

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ९.५४ अंक घटेर २०१७.९७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक, फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ५५ हजार ८६२ पटकको कारोबारमा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँबराबरको ८४ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २३७ रुपयाँ ७० पैसा घटेर २ हजार १३९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन पिपुल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको करिब ११ करोडको शेयर किनबेच भएको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको करिब ८ करोडको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४० प्रतिशत, व्यापार उपसमूहको परिसूचक १.१६ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१७ प्रतिशत बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।

नीति तथा कार्यक्रम आशा जगाउन सक्ने आएको छ : उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने प्रक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदनमा प्रस्तुत नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने प्रतिक्रिया दिएका हुन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुतपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् । अध्यक्ष ढकालले नीति तथा कार्यक्रमका प्रतिवद्धता अनुसार सरकारले बजेट ल्याए निजी क्षेत्र सकारात्मक रहेको बताए । उनले नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयनमा भर पर्नुपर्ने बताए। अध्यक्ष ढकालले सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको बताए । उनले सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखिनु सकारात्मक भएको बताए। उनले बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजानसके आशा जगाउने खालको कार्यक्रम रहेको बताए। अध्यक्ष ढकालले सरकारले नीति तथा कार्यक्रमको प्रतिवद्धता र अर्थतन्त्रमा देखिएको शिथिलता हटाउने गरी अब बजेट आउनु पर्ने उल्लेख गर्नुभयो ।

लोकप्रिय