तेस्रो त्रैमासकसम्म पुँजीगत खर्च ३२ प्रतिशत मात्र

तेस्रो त्रैमासकसम्म पुँजीगत खर्च ३२ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासक अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२.२४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।

चालु आवका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँबराबर खर्च भएको छ ।

चालु आवका निम्ति सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको बजेट विनियोजन गरेको थियो । हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१।९३ प्रतिशत अर्थात् नौ खर्ब नौ अर्ब ३९ करोड १४ लाख रुपैयाँबराबर रहेको छ ।

चालुगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबर विनियोजन भएकामा हालसम्म ५६.४१ प्रतिशत अर्थात् ६ खर्ब ४४ अर्ब दुई करोड ५४ लाख रुपैयाँबराबर खर्च भएको छ ।

यस्तै, वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँबराबर विनियोजन भएकामा ५४.६४ अर्थात् एक खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बजेट खर्चमा मात्र नभई राजस्व संकलनको अवस्था पनि कमजोर देखिएको छ । चालु आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँबराबर राजस्व संकलन गर्ने सरकारी लक्ष्य छ ।

चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२.५ प्रतिशत अर्थात् सात खर्ब ७३ अर्ब तीन करोड ६६ लाख रुपैयाँ असुली भएको छ । जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ५१.४१ प्रतिशत अर्थात् ६ खर्ब ७१ अर्ब ११ करोड ५६ लाख र गैरकरतर्फ ६५.७१ प्रतिशत अर्थात् ७६ अर्ब ९२ करोड ५६ लाख रुपैयाँबराबर संकलन भएको छ ।

चालु आवका निम्ति सरकारले ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँबराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँबराबर अनुदान लिइएको छ । रासस

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा डा. शर्मा नियुक्त

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा.लेखनाथ शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी थिंकट्यांकको रूपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पूर्वप्रधान सेनापति थापाको निधन

काठमाडौँ । पूर्वप्रधान सेनापति धर्मपालवरसिंह थापाको निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको छ । थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको निधन भएको हो । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधानमन्त्री

काठमाडौँ । सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । बुधबार एक विशेष समारोहबीच प्रधानमन्त्री लुङ र मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिए। उनलाई प्रधानन्यायाधीश सुन्दरेश मेननले शपथ दिलाएका थिए । शपथ ग्रहण समारोहमा थर्मन शनमुगरत्नमसमेत उपस्थित थिए । लरेन्स वोङ सिंगापुरका चौथो प्रधानमन्त्री हुन् । त्यस्तै उनी सिंगापुर स्वतन्त्र भएपछि जन्मिएका व्यक्तिबाट प्रधानमन्त्री हुने पनि पहिलो हुन् । वोङ सन् १९७२ मा जन्मिएका हुन् भने सिंगापुर सन् १९६५ मा स्वतन्त्र भएको थियो ।सिंगापुर एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय सञ्जीव रिजाल र सोही बस्ने सञ्जीव प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दीपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लोकप्रिय