नेपालका बैङ्क तथा वित्तीय संस्था सुदृढ अवस्थामा : गभर्नर

नेपालका बैङ्क तथा वित्तीय संस्था सुदृढ अवस्थामा : गभर्नर

काठमाडौं ।  बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क शुक्रबारदेखि स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ। राष्ट्र बैङ्कले शुक्रबार राजधानीमा आयोजना गरेको ६९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैङ्किङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको बताएका हुन् । 

२०८० फागुनमा बैङ्क तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३।७३ प्रतिशत पुगेको भन्दै उनले भने, “यद्यपि २०८० फागुन मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९।४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२।४४ प्रतिशत रहेकाले नेपालका बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको छ ।”

चालु आर्थिक वर्षमा बाह्य क्षेत्रमा आएको सुधारसँगै बैङ्किङ प्रणालीमा तरलता बढेको छ र फलस्वरूप, अल्पकालीन एवं दीर्घकालीन ब्याजदरहरू घट्दै गएको उहाँले बताए। २०८० फागुनमा वाणिज्य बैङ्कहरूको कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको उनले जानकारी दिए।

अब बैङ्कको कर्जा असुली सहज हुने भन्दै उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान रहेको बताए। चालु आवमा रेमिट्यान्स उच्च रहेको र यसले ब्याजदरमा परेको चाप कम भएको भन्दै गर्भनर अधिकारीले आर्थिक गतिविधिमा शिथिलता आउँदा बैङ्कको रिकभरीमा समस्या देखिएको बताए ।

राष्ट्र बैङ्कका डेपुटी गभर्नर नीलम ढुङ्गानाले कर्जाको ब्याज एकल अङ्कमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बेला आएको बताए। अहिले खराब कर्जा बढिरहेको, गैरबैङ्किङ सम्पत्ति बढिरहेका बेला पनि रेमिट्यान्स बढेको उनले बताए।

अहिले बैङ्किङ क्षेत्रमा अराजकता बढेको बताउँदै गलत गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने डेपुटी गभर्नर ढुङ्गानाले बताए।

कार्यक्रममा राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकाल सम्मान गरिएको छ भने आव २०७९/८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएका ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबिआई गरी तीन वाणिज्य बैङ्कलाई सम्मान गरिएको छ । यस्तै बढी रेमिट्यान्स भित्र्याउने इसेवा मनि ट्रान्सफर, सिटी एक्स्प्रेस र आइएमई लिमिटेडलाई सम्मान गरिएको छ ।   

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा डा. शर्मा नियुक्त

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा.लेखनाथ शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी थिंकट्यांकको रूपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पूर्वप्रधान सेनापति थापाको निधन

काठमाडौँ । पूर्वप्रधान सेनापति धर्मपालवरसिंह थापाको निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको छ । थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको निधन भएको हो । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधानमन्त्री

काठमाडौँ । सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । बुधबार एक विशेष समारोहबीच प्रधानमन्त्री लुङ र मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिए। उनलाई प्रधानन्यायाधीश सुन्दरेश मेननले शपथ दिलाएका थिए । शपथ ग्रहण समारोहमा थर्मन शनमुगरत्नमसमेत उपस्थित थिए । लरेन्स वोङ सिंगापुरका चौथो प्रधानमन्त्री हुन् । त्यस्तै उनी सिंगापुर स्वतन्त्र भएपछि जन्मिएका व्यक्तिबाट प्रधानमन्त्री हुने पनि पहिलो हुन् । वोङ सन् १९७२ मा जन्मिएका हुन् भने सिंगापुर सन् १९६५ मा स्वतन्त्र भएको थियो ।सिंगापुर एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय सञ्जीव रिजाल र सोही बस्ने सञ्जीव प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दीपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लोकप्रिय