लगानीमैत्री वातावरण बनाउन कानुनमा सुधार आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा

लगानीमैत्री वातावरण बनाउन कानुनमा सुधार आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं। पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन्।

आइतबारदेखि यहाँ सुरु हुन लागेको दुई दिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा कुरा गर्दै उनले भने, ‘सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ। ठूला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ। एकद्वार प्रणालीलाई साँच्चै व्यवहारमा लागू गर्नुपर्छ।’

सम्मेलनका लागि सरकारको झन्डै एक दर्जन कानुन अध्यादेशमार्फत संशोधन गरेको काम सकारात्मक भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा खतिवडाले अरू धेरै कानुन खासगरी ऐन र केही नियम संशोधन गर्दै जानुपर्ने सुझाव दिए।

‘कतिपय ऐन नै नयाँ ड्राफ्ट गर्नुपर्ने भएको छ। संसद्मा गएका ऐनहरू पास गर्नुपर्नेछ। सार्वजनिक निजी साझेदारीमा वैदेशिक लगानी ल्याउने हो भने सार्वजनिक खरिद ऐन लागू हुन्छ त्यहाँ त्यसै गरी निजी सार्वजनिक साझेदारीका ऐनका कतिपय प्रावधान मिलाउनुपर्ने होला,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका डा खतिवडाले भने।

विदेशी लगानीको बौद्धिक सम्पत्तिलाई सुरक्षित गर्नुपर्ने कानुन ल्याउनुपर्ने सुझाव दिँदै उनले भने, ‘विदेशी विनिमय ऐन अलि कठोर छ, अहिले त्यसलाई अलि खुकुलो पार्नुपर्ने होला। कम्पनी ऐनमा कतिपय कुरा थप्नुपर्नेछ। विद्युत् ऐनमा परिमार्जनको खाँचो छ।’

सम्मेलनको तयारीलाई सामान्य रुपमा लिनुपर्ने उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा खतिवडाले सम्मेलनको तयारी उत्कृष्ट पनि हैन र तयारी नै नपुगेको पनि हैन भने। वर्तमान सरकार आएको दुई महिना पूरा नभएको भन्दै उनले बीचमा सरकार परिवर्तनको हल्लाले पनि तयारी प्रभावित भएको उल्लेख गरे।

लगानीयोग्य आयोजनाहरूलाई तयारी अवस्थामा राखेर लगानी बोर्डलाई सहयोग गर्ने कुरामा सरकार र निजी क्षेत्रको सहयोग तथा सहकार्य आवश्यक रहेकामा पूर्वअर्थमन्त्री डा खतिवडाले जोड दिए। प्रदर्शनमा राखिएका डेढ सय जति आयोजनामध्ये कम्तीमा पनि दर्जन जति आयोजना सम्झौताको चरणमा तथा सम्झदारीको चरणमा जाँदा पनि राम्रै हुने उनको भनाइ थियो।

‘खासगरी नेपाली र विदेशीको संयुक्त लगानीमा आयोजनाहरू सञ्चालन गर्ने भनेर समझदारी हुन्छन्। त्यसपछि सम्मेलन सम्पन्न भयो भनेर ठूलो समारोहको अन्त्यपछिको बेहाल जस्तो नहोस्। जो जोसँग सम्झदारी र सम्झौता भएको उनीहरूसँग निरन्तर ‘फलोअप’ होस्। निरन्तर संवादमा रहनुपर्‍यो,’ उनले सुझाव दिए।

लगानीका लागि भौतिक सुरक्षा पहिलो र महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा खतिवडाले मुनाफा हुने किसिमको आर्थिक वातावरण, कर र वित्तीय प्रणाली पश्चगामी हुँदैनन् भन्ने सुनिश्चितता गर्नुपर्ने सुझाव दिए। उनले भने, ‘यी कुरा सम्मेलनमा पक्कै प्रतिबद्धता व्यक्त गर्छौं, यी कुरालाई कार्यान्वयन गरेर देखाउनुपर्छ। हामी गर्ने छौं भनेर उधारो कुरा गरेर फेरि अर्को लगानी सम्मेलन अगाडिसम्म केही नगर्ने स्थिति हुनु हुँदैन।’

लिटरमा ७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिबद्धता जनाएका छन् ।  बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गरे । अर्थमन्त्री पुनले ‘स्लो डाउन’मा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताए । मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने नीति सरकारको रहेको उनको भनाइ थियो । व्यवसायीहरूले सम्पत्तिको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बनाउने नीति नलिने स्पष्ट पारे । अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताए ।

घटेर बन्द भयो नेप्से, कारोबार कति ?

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ९.५४ अंक घटेर २०१७.९७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक, फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ५५ हजार ८६२ पटकको कारोबारमा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँबराबरको ८४ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २३७ रुपयाँ ७० पैसा घटेर २ हजार १३९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन पिपुल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको करिब ११ करोडको शेयर किनबेच भएको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको करिब ८ करोडको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४० प्रतिशत, व्यापार उपसमूहको परिसूचक १.१६ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१७ प्रतिशत बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।

नीति तथा कार्यक्रम आशा जगाउन सक्ने आएको छ : उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने प्रक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदनमा प्रस्तुत नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने प्रतिक्रिया दिएका हुन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुतपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् । अध्यक्ष ढकालले नीति तथा कार्यक्रमका प्रतिवद्धता अनुसार सरकारले बजेट ल्याए निजी क्षेत्र सकारात्मक रहेको बताए । उनले नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयनमा भर पर्नुपर्ने बताए। अध्यक्ष ढकालले सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको बताए । उनले सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखिनु सकारात्मक भएको बताए। उनले बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजानसके आशा जगाउने खालको कार्यक्रम रहेको बताए। अध्यक्ष ढकालले सरकारले नीति तथा कार्यक्रमको प्रतिवद्धता र अर्थतन्त्रमा देखिएको शिथिलता हटाउने गरी अब बजेट आउनु पर्ने उल्लेख गर्नुभयो ।

लोकप्रिय