अर्थमन्त्री पुन अमेरिका प्रस्थान

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन सोमबार बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डीसीका लागि उडेका हुन्। 

भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्ने पुनको सचिवालयद्वारा जारी प्रेस नोटमा छ । 

यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी)का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ । 


मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी-२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन् । भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो । मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुनेछन् । 

ती बैठकहरुमा मन्त्री पुनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठकको तयारी, विश्व बैंकले आगामी ५ वर्षका लागि नेपालमा गर्ने लगानी साझेदारीको प्राथमिकता निर्धारण, संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनासहित पाइपलाइनमा रहेका अन्य आयोजनाको वित्तीय व्यवस्थापनलगायत विषयमा छलफल गर्नेछन्।

सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ।आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ।बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।

पूर्वराष्ट्रपति भण्डारीद्धारा मदन भण्डारीको शालिकमा माल्यार्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छिन्। ३१ औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगर पुगी उनले श्रद्धाञ्जली अर्पण गरेकी हुन्। स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलगायत नेता उपस्थित थिए।  सो अवसरमा नेता-कार्यकर्ताले पनि मदन भण्डारीको शालिकमा माल्यार्पण गरे। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो।  यही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। 

आजदेखि यी स्थानमा दैनिक ६ घण्टा बिजुली नआउने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चार दिन ६ घण्टा बिजुली कटौती हुने भएको छ।  नेपाल विद्युत् प्राधिकरणको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारीका अनुसार जेठ ३, ५, ६ र ८ गते बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।  रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहीबार नयाँबजार, खुसिब, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। शुक्रबार सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल टेक, पुष्पलाल पार्क, ढल्कु क्षेत्रपाटी चोक, धोबीचौर, ठहिटी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा बिजुली कटौती हुनेछ।  त्यस्तै जेठ ६ गते काष्ठमण्डप भीमसेनस्थान १२ नं वडा कार्यालय, ह्युमत, जैसीदेवल र चिगमंगल तथा ८ गते भीमसेनस्थान, काष्ठमण्डप त्रिपुरेश्वर टेक, पचली भैरव मन्दिर, बम्सीघाट, सबलबहाल र त्रिपुरेश्वर, विश्व निकेतन स्कुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। 

आज सीता उत्पत्ति दिवस : रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै

काठमाडौँ । आज  वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ ।  त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा  खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको  छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ ।  भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न धार्मिक ग्रन्थमा उल्लेख  छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा पनि सम्मान गरिन्छ ।  जनकपुरमा जानकी नवमीको रौनक सीता जयन्तीका अवसरमा जनकपुरको रामजानकी मन्दिरमा मेला लागेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा जगत्जननी माता जानकीको जन्मोत्सव धुमधामका साथ मनाइँदै गरेको जनकपुरबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् । जानकी नवमीका अवसरमा जानकी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ ।यसै अवसरमा शुक्रबार मिथिलाञ्चलमा दीपावली गरिने छ।  । देशका विभिन्न भागका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुरधाम आएका छन् । साँझ ४ बजे जानकी मन्दिरको प्राङ्गणबाट जनकपुर नगरमा शोभायात्रा प्रारम्भ हुनेछ । जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवको नेतृत्वमा हुने शोभायात्रामा जनकपुरका विभिन्न मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता हुनेछ ।

लोकप्रिय