गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागी पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् ।

सोमबार मुख्यमन्त्री खगराज अधिकारी तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्दै छन् । अधिकारीका तर्फबाट बहस सकिएपछि रिट निवेदकको तर्फबाट जवाफी बहस हुने वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जानकारी दिए ।

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।  बुधबार दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।  संघीय संसद्का दुवै सदनमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण संसद्ले धन्यवाद प्रस्ताव समेत पारित गर्न पाएन ।  काँग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने र त्यसकालागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति गठन गर्न आवश्यक नभएको भन्दै अडान लिँदै आएका छन् । 

प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग संसदमा जारी गतिरोध र त्यसको निकासका बारेका छलफल गरेका छन् ।  प्रधानमन्त्रीसँगको भेटमा संसद्लाई प्रभावकारी बनाउने विषयसँगै केही समयदेखि विपक्षीका कारण भएको अवरोध लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।  सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै काँग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बोलाइएको बैठक समेत काँग्रेसले अवरोध गरेको छ । प्रतिनिधि सभाको बैठक बिहीबार ११ बजेका लागि बोलाइएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज सकिदैछ। ललितपुरको बालकुमारीमा मंगलबार सुरु भएको बैठक आज बिहान ११ बजे बस्नेछ । मंगलबारको बैठकमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन, सम्मानीत नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन तथा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।प्रस्तुत प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुलाई विभिन्न १२ समूह बनाएर छलफल भइरहेको छ। समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि त्यसलाई अन्तिम रुप दिएर आजै बैठक सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ।एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असार १० देखि १६ गतेसम्म काठमाडौंमा हुँदैछ।

नीति तथा कार्यक्रम परम्परागत भएको कांग्रेसको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ ।  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन् । उनले सरकारको कार्यक्रममा कुनै उत्साह नदेखिएको धारणा राखे । सहकारी प्रकरणमा पीडितलाई न्यायका साथै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता नआएको जिकिर गरे । सरकार सहकारी पीडितहरूको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ ।  उनले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्त्वपूर्ण विषय छुटेको बताए ।

लोकप्रिय