भूकम्पपीडितको शिविरमा आएको चुनावी रौनक
भक्तपुर, वैशाख २४ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै छ । जिल्लाका चारवटै नगरपालिकाका टोलटोलमा चुनावी रौनक छाएको छ ।
तर भक्तपुरका भूकम्पपीडितको शिविरमा भने न त नेता पुगेका छन्, न त चुनावी माहोल नै छ । भक्तपुरको देकोचा, व्यासी, नःपुखु, सल्लाघारी, च्याम्हसिंहलगायतका शिविरमा दुई वर्षदेखि बस्दै आएका भूकम्पपीडितको शिविरमा भने चुनावको कुनै चहलपहल नै छैन ।
शनिबार भक्तपुर नगरपालिका देकोचास्थित भूकम्पपीडितको शिविरमा पुग्दा भोलाछेँको घर भत्किएर शिविरमा बस्दै आउनुभएका जयकृष्ण कुम्पाखाले भोट माग्न शिविरमा कोही नेता पनि नआएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “भूकम्प गएदेखि अहिलेसम्म यहाँको अवस्था कस्तो छ, समस्या छ कि छैन, कसरी बसेका छन् भनेर कोही सोध्न आएका छैनन् । चुनाव आउनै लाग्दा पनि यहाँ भोट माग्न कोही नेता आएका छ्रैनन् ।”
भूकम्पपछि मानवीय आस्था नेपालले बनाइदिएको जस्ताको टहरामा बस्दै आएका यहाँका ५० घरपरिवारमा अहिले १६ परिवार मात्रै बस्दै आएका छन् । उहाँले भन्नुभयो – “मानवीय आस्था नेपालले राहत ल्याइदियो । बस्ने बास दियो । अहिलेसम्म पनि खानेपानीको व्यवस्था गरिदिएको छ । भोट पनि उसैले भनेका व्यक्तिलाई दिन्छौं ।”
कोही घर बनाएर त कोही भत्किएकै घर मर्मत गरेर बस्न गइसकेपनि त्यसरी जाने ठाउँ नभएकाहरु बाध्यताले शिविरमा बस्दै आएका छन् ।
यही शिविरमा बस्दै आउनुभएका याछेँकी मीना सितिखुको गुनासो पनि उस्तै छ । भूकम्पगएदेखि अहिलेसम्म कोही नेता पनि नआएको गुनासो गर्दै उहाँले भन्नुभयो – “भूकम्पपछि टहरा बनाइदिन महेश बस्नेत आएका थिए । त्यसपछि कोही आएको छैनन् । अहिले भोट माग्न पनि कोही आएका छैनन् ।”
याछेँ घर भई शिविरमा दुई वर्षदेखि बस्दै आउनुभएका कृष्णश्वरी सिजख्वले पनि शिविरमा कुनै चुनावको रौनक नआएको बताउनुभयो । उहाँ भन्नुहुन्छ – “चुनाव आयो भन्छन्, खै बाहिर आयो होला । हाम्रो शिविरमा चुनाव आएको छैन । यहाँ कोही भोट माग्न पनि आएका छ्रनैन् । त्यसैले भोट कसलाई हाल्ने हो भन्ने पनि सोचेका छैनौं ।”
देकोचा शिविरमा अत्यन्तै दयनीय अवस्थामा रहँदैआएको परिवार हो अष्टबहादुर मानन्धरको । उहाँका दुई छोराछोरी पूरै अपाङ्ग छन् । अष्टबहादुरको कानदेखि शरीरमा विभिन्न भागमा गाँठो आएको छ तर औषधि गर्ने सामथ्र्य छ्रैन । अपाङ्ग छोराछोरीलाई कसरी पाल्ने भन्ने दैनिकी पिरालो मात्रै होइन, कसरी बाँच्ने र कहाँ जाने कुनै टुङ्गो पनि नभएको मानन्धर बताउनुहुन्छ ।
गोल्मढीको सानो घर भत्किएपछि समस्यामा परेको मानन्धर दम्पती भन्छन् – “अपाङ्ग दुई छोराछोरीका लागि सहयोग गर्नेलाई भोट दिन्छौ ।” भूकम्पपीडितको व्यासीस्थित शिविरमा बस्दै आउनुभएका सुकराम घटुवाको गुनासो पनि उस्तै छ ।
उहाँ भन्नुहुन्छ – “चुनाव त आयो नि, तर खै शिविरमा कोही नेता आएका छ्रैनन् । परपर जान्छन् । यता कोही आउँदैनन् । त्यसैले भोट हाल्न जान मनै छैन ।”
आफ्नो मताधिकारको प्रयोग गर्नुपर्ने भए पनि भूकम्पपीडितको समस्या समाधान गर्न र उनीहरुको पीडा बुझ्न कोही नआएको उहाँको गुनासो छ ।
भक्तपुर–२ व्यासी शिविरमा बस्दै आउनुभएका रमिता सुवालको गुनासो पनि उस्तै छ । शिविर बाहिर चुनावको निकै चहलपहल, प्रचारप्रसार भए पनि शिविरभित्र भने कोही भोट माग्न नआएको उहाँले बताउनुभयो । भूकम्पपीडितको समस्या समाधान गर्नेलाई मात्रै भोट दिने उहाँ बताउनुहुन्छ ।
उपनिर्वाचन : भोलिबाट मौन अवधि
काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।
रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।
आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।
राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।