जीपसँग ठोक्किदा मोटरसाइकलमा सवार तीनको मृत्यु

झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा आज भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा  मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले उनीहरूको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । 

मृतकहरुको सनाखत हुन बाँकी छ ।

आगलागीमा जलेर २ जनाको मृत्यु

काठमाडौं । आगलागीमा जलेर छुट्टाछुट्टै २ स्थानमा २ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम र काभ्रेमा आगलागीमा जलेर दुई जनाको मृत्यु भएको हो ।  रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ भत्नीगारेस्थित सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही बस्ने ७१ वर्षीया बुदी कामीको घरमा समेत आगलागी हुँदा उक्त आगलागीमा जलेर बुदी कामीको मृत्यु भएको छ ।  यस्तै, काभ्रेको तेमाल गाउँपालिका ९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाईप वल्डिङ गर्ने क्रममा वल्डिङ मेसिनमा आगलागी भई सोही आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका ७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको छ ।  जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे हुँदै बर्न अस्पताल कीर्तिपुर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

भरूवा बन्दुकको छर्रा लागेर मृत्यु

पाँचथर । भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । बाँदर धपाउन एकनाले भरूवा बन्दुक पड्काउने क्रममा बन्दुकको नाल फुटेर बारूदको छर्रा लाग्दा हिलिहाङ गाउँपालिका ४ सिबुवा बस्ने ५१ वर्षीय मन कुमार सिगुको गएराति मृत्यु भएको छ ।  खेतबारीमा मकै रोपेको स्थानमा बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मन कुमारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  भरूवा बन्दुक नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वेल्डिङ गर्दा आगलागी भएपछि एक जनाको मृत्यु

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका ९ सिन्धुटारमा रहेको मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वेल्डिङ गर्ने क्रममा वेल्डिङ मेसिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका ७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको हो ।  जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे उपचारपछि बर्न अस्पताल कीर्तिपुर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

ललितपुरमा इनारभित्र खसेका व्यक्तिको उद्दार

काठमाडौं । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको प्रहरीले सकुशल उद्दार गरेको छ । उद्दार गरिएका व्यक्ति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङ छन् । शनिबारराति सवा १ बजेतिर ललितपुर महानगरपालिका–५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र  पुरुष खसेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएको थियो । करिब ३० फिट गहिरो इनारमा खसेका तामाङलाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले बताए । उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर पठाइएको उनले जानकारी दिए ।

गुल्मीमा जिप दुर्घटना

गुल्मी। गुल्मीमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका९ २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबाट जिप चालक २५ वर्षीय ओमबहादुर सारू घाइते भएका छन्। जिप सडकबाट पाँच मिटर तल खसेको थियो । घाइतेको अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

म्याग्दीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । शनिबार बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने क्रममा लु२ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका व्यक्ति सवारीसाधन र निर्माण उपकरणको मर्मत गर्ने मिस्त्री (कामदार) भएको खुले पनि नाम र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । टिपर दुर्घटनामा घाइते भएका चालकसहित तीनजनाको चिमखोला स्वास्थ्यचौकीमा प्रारम्भिक उपचार गरिएको छ । थप उपचारका निम्ति घाइतेलाई हेलिकोप्टरमार्फत पठाउने तयारी भइरहेको रघुगंगा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए । दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनी जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्स्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको वडाध्यक्ष पाइजाले बताए । दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी चिमखोला स्वास्थ्यचौकीमा उपचारका निम्ति पुर्‍याएका हुन् । रासस

तामाकोसीमा नुहाउन गएका दोलखाका २ युवा बेपत्ता

काठमाडौं । दोलखाको तामाकोसी नदीमा डुबेर दुई युवा बेपत्ता भएका छन् । स्थानीय गौरीशंकर गाउँपालिका ८ का २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ तामाकोशी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।  प्रहरीका अनुसार उनीहरु शुक्रबार दिउँसो ३ बजे नै नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन् । प्रहरीलाई भने यो खबर आज बिहान नौ बजे मात्रै दिइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक शरण महर्जनले बताए ।  खबर पाए लगत्तै प्रहरी टोली बेपत्ता युवाको खोजीमा परिचालन भएको उनले जानकारी दिए । स्थानीय मेलामा गएका उनीहरु नुहाउन भन्दै नदीमा गएका थिए। तर उनीहरु साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा दुबैले लगाउने कपडा नदीको डिलमा फेला परेको छ ।

धनकुटामा माइक्रोबस पल्टियो, १९ जना घाइते

काठमाडौं । काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। धनकुटा नगरपालिका–९ मूलघाट रुद्रबारी सडकखण्डमा गएराति २ बजे माइक्रोबस सडकबाट तल खस्दा यात्रुहरु घाइते भएका हुन् । घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाउ उपचार भइरहेको छ।सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। तर, चालकले भने साँधुरो सडकमा ट्रकले च्यापेका कारण माइक्रो पल्टिएको बताएका छन्। दुर्घटनापछि माइक्रोबसका चालक भक्तपुर सूर्यबिनायकका ४६ वर्षीय हरिशरण आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु भएका तीनमध्ये दुईजनाको सनाखत

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटनामा परी मृत्यु भएका तीनमध्ये दुई जनाको सनाखत भएको छ । दुर्घटनामा परी निधन हुनेमा दोलखाको भीमेश्वर नगरपालिकाका शिव श्रेष्ठ र सोही ठाउँका मानबहादुर थामी रहेका छन् । मृतक एकको भने सनाखत हुन बाँकी छ । दोलखाबाट जन्ती बोकेर आएको बा४ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, धारावतीमा शुक्रबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । सिन्धुपाल्चोकका विभिन्न अस्पताल एवं स्वास्थ्य केन्द्रमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना  : तीनजनाको मृत्यु, ५२ घाइते

चौतारा । सिन्धुपाल्चोकको पिस्कर–५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५, धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए । उनका अनुसार, बस भीरमा खसेकाले उद्धारमा केही समस्या भएको छ । रासस

सल्यान बस दुर्घटना : उपचारका क्रममा एकजनाको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए । दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा१ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बाघचौर नगरपालिका–२, ठिनबाङ्ग खोलाको पुलबाट खसेको थियो । विक सो दुर्घटनाग्रस्त बसका बसधनी हुन् ।  बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् । रासस

पोखरामा जिप र माइक्रोबस ठोक्कियो, ८ चिनियाँ नागरिक घाइते

पोखरा । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस आज बिहान ४ः४० बजे राष्ट्र बैंक चोकमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् ।घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ  स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार स्कार्पियोमा चालकमात्र थिए। दुर्घटनामा पार्किङमा रोकिराखेको बा २१ प ११५२ नम्बरको स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा अछामका एक युवकको मृत्यु

मंगलसेन। भारतको पुना (पुणे)बाट नेपालको धनगढी आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । पुणेबाट बसमा घर आउन लागेका कमबलजार नगरपालिका–२ बजुडाका ४० वर्षीय लालबहादुर खड्काको निधन भएको हो । बसमा सवार रहेका २३ जना घाइते भएका र उनीहरुको पुणेको मालीगाउँका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइतेहरुको विवरण खुल्न सकेको छैन । धनगढी आउँदै गरेको यात्रुवाहक बस भारतको नासिकस्थित मालीगाउँमा सोमबार बिहान करिब ९ बजे दुर्घटना भएको थियो । आइतबार पुणेबाट सुदूरपश्चिमका यात्रु ल्याएर आएको उक्त बसमा एकसय १० जना यात्रु रहेको र अर्को सवारी साधनभन्दा अगाडि जाने बेलामा दुर्घटना भएको बताइएको छ ।

आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । गुल्मी अस्पतालमा उपचारको क्रममा घाइते घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा पनि घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिपर दुर्घटनामा चालकको मृत्यु

मन्थली । रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिक आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए । दुर्घटनामा दोलखाको तामाकोशी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन् । मन्थली नगर अस्पतालमा उनको उपचार भइरहेको छ । बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।