विद्युत् प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एक वर्षमा १४९ प्रतिशतले नाफा वृद्धि गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७५–०७६ मा अघिल्लो आवको तुलनामा २ अर्ब ९० करोडले नाफामा वृद्धि गर्दै ६ अर्ब २० करोड नाफा कमाएको छ ।

२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रूपमा प्राधिकरणमा प्रवेश गर्दा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । घिसिङ नेतृत्वमा आएपछि प्राधिकरण लगातार तेस्रो वर्षसम्म नाफामा रहँदै आएको छ । यो प्राधिकरणका लागि ऐतिहासिक सफलता रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

तीन वर्षको समयमा प्राधिकरणले १० प्रतिशतभन्दा बढी विद्युत् चुहावट नियन्त्रण गर्नु ठूलो उपलब्धि हो । हाल विद्युत् चुहावट १५ दशमलव ३२ प्रतिशत रहेको छ । यो भनेको प्राधिकरणलाई १२ अर्बबराबर घाटा हो र नियन्त्रणका आधारमा हेर्ने हो भने हामीले तीन वर्षमा १० दशमलव ६४ प्रतिशत नियन्त्रण गर्दा प्राधिकरणलाई करिब ८ अर्ब नाफा भएको अधिकारीले बताए । उनले भने– अब १५ प्रतिशतको चुहावटबाट तल झार्नु प्राधिकरणका लागि ठूलो चुनौती हो ।

नियन्त्रणकै कुरा गर्ने हो भने ८ देखि ९ प्रतिशतसम्म झार्न सक्ने अवस्था छ । तर, यसका लागि भने प्राधिकरणले प्राविधिक क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने देखिन्छ । यद्यपि प्राधिकरणले भने यसै चुहावटलाई समेत कायम राख्न सतर्क हुँदै आगामी वर्षसम्म १० देखि १२ प्रतिशतसम्म झार्ने लक्ष्य लिएको प्रवक्ता अधिकारीले बताए । प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२–०७३ मा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट रहेको थियो । यसलाई नियन्त्रण गर्दै तीन वर्षको समयावधिमा १० दशमलव ६४ प्रतिशतले नियन्त्रण गरेर गत आर्थिक वर्षमा १५ दशमलव ३२ प्रतिशत कायम गरेको छ। चुहावट नियन्त्रणबाट मात्रै प्राधिकरणले गत आवमा करिब ३ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको छ।

गत आवमा ग्रिडमा आबद्ध भई विद्युत् उपभोग गर्ने जनसंख्या ७८ प्रतिशत पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले वृद्धि भएर राष्ट्रिय र सामुदायिक गरी ४५ लाख घरधुरसम्ममा विद्युतीय पहुँच विस्तार भएको प्रवक्ता अधिकारीले बताए । उनले भने यो तथ्यांक राष्ट्रिय प्रसारण प्रणालीको विद्युतीय पहुँच पुगेको क्षेत्र मात्रै हो । यसबाहेक दुर्गम क्षेत्रका करिब १८ प्रतिशत जनताले नवीकरणीय ऊर्जाका स्रोतको उपयोग गरेर विद्युत् सेवा लिइरहेको अधिकारीले बताए।

गत आवको प्राधिकरणलाई उपलब्धि भएको कुल ७ अर्ब ५५ करोड युनिटमध्ये प्राधिकरणले २ अर्ब ५५ करोड युनिट उत्पादन गर्दा निजी उत्पादकबाट २ अर्ब १९ करोड युनिट र आयात २ अर्ब ८१ करोड युनिट रहेको छ । यस आवधिमा प्राधिकरणले ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत निर्यात गरेकोे छ । प्राधिकरणका प्रवक्ता अधिकारीले ३२ करोडबराबर विद्युत् निर्यात गर्नु भनेको नेपालले आत्मनिर्भरताको यात्रा तय गर्नु हो । उनले भने, ‘हामीले आत्मनिर्भरताको यात्रा तय गरिसकेका छौं । अब चाँडै विद्युत् निर्यात गर्ने देशको सूचीका रहने छौं ।’ गतवर्ष प्राधिकरणले निजी उत्पादकबाट १४ अर्ब १३ करोड रुपैयाँ र २३ अर्ब ३ करोड रुपैयाँको विद्युत् आयात गरेको छ ।

त्यस्तै, प्राधिकरणले प्रसारण लाइनतर्फ ७५७ सर्किट किलोमिटर लाइन निमार्ण सम्पन्न गरेर ६०६ सर्किट किलोमिटर चार्ज गरेको जनाएको छ । वितरण तथा प्रसारण गरी जम्मा ४० वटा सबस्टेसन नयाँ विस्तार तथा स्तरोन्नति गरी करिब ९२० एमभीए क्षमतमा थप भएको छ भने वितरण ट्रान्सफरर्मर ६५८१ वटा थप गरेर करिब ६६० एमभीए क्षमता वितरण प्रणालीमा थप गरिएको हो ।

लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्ण आयोजना मध्ये ६० मेगावटको माथिल्लो त्रिशूली, काबेली कोरिडोरलगायतका उत्पादनतर्फ एक, प्रसारणतर्फ तीन र वितरणतर्फ ३४ गरी जम्मा ३८ वटा रुग्ण आयोजना सम्पन्न गरेको छ । यस अवधिमा १३ वटा आयोजनाको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौता गरिएको प्राधिकरणले जनाएको छ ।

विद्युत् चुहावट नियन्त्रण र विद्युत् खपत बढेर आम्दानीमा सुधार गरेको प्राधिकरणले गत आर्थिक वर्षमा विगतका वर्षको ब्याज, रोयल्टी गरी सरकारी ढुकुटीमा जम्मा १५ अर्ब ५९ जम्मा गरेको समेत जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!