यसरी बन्न सकिन्छ आदर्श शिक्षक

नयाँ आयाम
अल्बर्ट आइस्टिनले भन्नुभएको छ, ‘आफ्ना विद्यार्थीमा सिर्जनात्मक भावना र ज्ञानको आनन्द जगाउनु नै एक शिक्षकको महत्वपूर्ण गुण हो ।’ आध्यात्मिक परिभाषा हेर्ने हो भने त शिक्षक शब्द अझै अपूर्ण हुन्छ ।

अध्यात्ममा गुरु (शिक्षक) अर्थात् गु- गुण,रू- रूप ‘अन्धकारबाट उज्यालोतर्फ लैजाने’ भनेर व्याख्या गरिएको छ, जसको अर्थ विशाल छ । प्राचीनकालमा गुरु-शिष्यको सम्बन्ध पिता-पुत्रको जस्तो हुन्थ्यो । विश्वामित्र र द्रोणाचार्य यस्ता गुरु थिए, जसको चरणमा भगवान्ले पनि शिर झुकाउँथे रे ।

डा. नम्रता पाण्डे

वर्तमान परिप्रेक्ष्यमा शिक्षक-विद्यार्थीको यस्तो आदर्श सम्बन्ध हुन्छ कि हुँदैन सोचनीय नै छ । वर्तमान समयमा कस्तो सन्देश गएको छ भने शिक्षक अरू केही नपाएपछि मात्र अँगाल्ने पेसा हो ।

यो वास्तविकता हो भने गुणात्मक शिक्षाको अपेक्षा कसरी गर्ने ? किनकि समय परिवर्तनअनुसार हाम्रो शिक्षाको उद्देश्य, हाम्रा सम्बन्ध र हाम्रा इच्छामा धेरै परिवर्तन आउँदै गएका छन् । भौतिकताले धेरै जकडेको छ, वर्तमानका मानिसलाई ।

जे भए पनि मानव विकासमा गुरुको आवश्यकता र महत्वलाई भावनात्मक, मनावैज्ञानिक अर्थबाट धेरै नजिकको सम्बन्ध प्रस्तुत गर्छ । त्यसैले एसएलसी नजिकिँदै गर्दा मात्र होइन, शिशु अवस्थादेखि नै सही सिकाइको लागि शिक्षकको भूमिका आदर्श शिक्षक नै हुनुपर्छ ।

मानवको शिशु अवस्थादेखि वृद्धावस्थासम्म पनि वस्तुगत ज्ञान एवं विषयगत ज्ञानको लागि पलपलमा शिक्षकको आवश्यकता रहन्छ । शिक्षक नै एउटा त्यस्तो व्यक्ति हो, जुन स्तरको शिक्षा प्रदान गरे पनि त्यो शिक्षाले नकारात्मकताबाट सकारात्मकतातिर लग्न महत्वपूर्ण भूमिका खेल्दछ ।

एसएलसी नजिकिँदै छ, विद्यार्थी, विद्यालय, शिक्षक र अभिभावक सबैलाई एक किसिमको चाप परेको देखिन्छ । किनकि विद्यार्थीले राम्रो अंक ल्याउनुमा वा विद्यालयले उच्च दर्जा पाउनुमा एसएलसी नतिजाले ठूलो भूमिका खेलेको पाइन्छ ।

विद्यायलयका भित्ताहरूमा विज्ञापन त्यहीअनुसार दिइएको हुन्छ । गत वर्ष एसएलसीमा कति विद्यार्थीले कति अंक ल्याएर उत्तीर्ण गरे र विद्यालय कुन दर्जामा छ भन्नेबारेमा ।

विद्यालयले भनेजस्तो दर्जा पाउन र अभिभावकले आफ्नो छोराछोरी अब्बल अंक ल्याएर पास होऊन् र इज्जत राखून् भन्ने इच्छा परिपूर्तिको लागि विद्यार्थीलाई जति प्रेसर दिए पनि महत्वपूर्ण भूमिका शिक्षकको पनि रहन्छ ।

कक्षाकोठाभित्र शिक्षकको आकर्षण
कक्षाकोठामा छिर्नेबित्तिकै सबै विद्यार्थीको आँखामा पर्ने व्यक्ति शिक्षक हो । कक्षा सञ्चालन अवधिभर शिक्षक र विद्यार्थीबीचमा आँखा जुध्छन्, पठनपाठनको विषयमा चर्चा हुन्छ । त्यसैले शिक्षकको भूमिका कक्षामा विद्यार्थीसँग असल र नम्र भएर वार्तालाप भएको हुनुपर्छ ।

विद्यार्थीलाई भौतिक सजाय दिएर र अपशब्द बोलेर आफ्नो काबुमा राख्न खोज्ने शिक्षकको बारेमा यदाकदा सुन्नमा आउँछ । त्यस्ता शिक्षकले विद्यार्थीलाई नराम्रो असर पर्ने गरी शारीरिक सजायको भागी बनाएको सुनिन्छ, जुन सरासर गलत छ ।

किनभने शिक्षक एउटा मार्गदर्शक हो तर विद्यार्थीलाई शारीरिक र मानसिक असर पुर्‍याउने गरी क्रियाकलाप गर्ने उसको अधिकारको कुरा होइन । त्यसैले ब्रुस लीले भन्नुभएको छ, ‘एक शिक्षक कहिल्यै पनि सच्चाइको दाता हुन सक्दैन, ऊ हरेक विद्यार्थीको लागि एक मार्गदर्शक, एक दिशानिर्देशकको काम गर्न सक्छ, जसको माध्यमले विद्धार्थीले आफ्नो सच्चाइ पत्ता लगाउन सकोस् ।’

शिक्षकको व्यवहार र हाउभाउका आधारमा विद्यार्थीले शिक्षकलाई कस्तो व्यवहार गर्ने भन्ने निर्धारण गरेका हुन्छन् । विद्यार्थीको उमेर, समूहअनुसार फरकफरक व्यवहार पनि गर्नुपर्ने हुन्छ । हल्ला गर्‍यो भनेर पिट्ने शिक्षकलाई, सजाय पाउने विद्यार्थीले मात्र होइन, अरूले पनि मन पराउँदैनन् ।

हल्ला गर्ने, पढाइमा ध्यान नदिने विद्यार्थीलाई पनि प्रेमपूर्ण तरिकाले सम्झाउने गर्नुपर्छ । किनकि प्रेमले सबै कुरालाई जित्न सक्दछ । शिक्षक भन्नासाथ अनुहार देख्दै डरलाग्दो हुनुपर्छ भन्ने पुरानो मान्यतालाई त्याग्दै हँसिलो, विद्यार्थी बोल्न र आफूले नबुझेका कुरा सोध्न नडराउने खालको हुनुपर्छ ।

जसले गर्दा शिक्षक विद्यार्थीको सम्बन्ध मित्रवत् होस् र शिक्षक कक्षाकोठाभित्र डरलाग्दो व्यक्तिको रूपमा नभई सहज, प्रेमल र आकर्षक व्यक्तिको रूपमा होस् अनि विद्यार्थी खुलेर बोल्न सक्ने होऊन् ।

सिकाइको उद्देश्य र उपलब्धिमा ध्यान
अवश्यमेव शिक्षक कक्षाकोठामा प्रवेश गर्नुअगाडि नै के सिकाउने, कसरी सिकाउने, सिकाइको उद्देश्य के हो र त्यसको उपलब्धि के हुन्छ विद्यार्थीलाई त्यसमा ध्यान दिइएको हुनुपर्छ । कक्षामा के सिकून् भन्ने अपेक्षा राखिएको छ, सोहीअनुसार पढाइलाई अगाडि बढाउनुपर्छ ।

आफ्नो पढाइको र विषय शीर्षकको उद्देश्यबारेमा विद्यार्थीलाई जानकारी दिँदै उनीहरूले कसरी त्यो विषय सजिलै बुझ्न सक्दछन्, त्यसमा ध्यान दिनु जरुरी हुन्छ । सबै विद्यार्थीको सिक्ने रुचि र क्षमता एकनासको हुँदैन । भन्नासाथ बुझिहाल्ने र छिट्टै नबुझ्ने प्रकृतिका विद्यार्थी हुन्छन् ।

शिक्षक-शिक्षिका प्रेमको खानी हुन सक्नुपर्छ । प्रेमले नै संसार जित्न सक्दछ । उनीहरूको बाल मनोभावनामा नकारात्मक असर पुर्‍याउने अधिकार कसैलाई छैन । जति सिक्छन् साना नानीहरूले त्यो सकारात्मक कुरा मात्र सिकून्, प्रसन्न भएर सिकून् अनि उनीहरूमा छिपेको खुबी आफैं प्रस्तुत गर्न नडराऊन् । त्यो पो हो शिक्षा ।

त्यसैले उनीहरूको मनोविज्ञानलाई ध्यान राखेर आफूले सिकाएको कुरा बुझुन् भन्ने उद्देश्य शिक्षकमा हुनुपर्छ । जति सिकाए पनि सिक्दैन भनेर छोडिदिने होइन कि कमजोर विदार्थीलाई अरू बढी मद्दत गर्दै कसरी कुन तरिका अपनाउँदा उसले सिक्छ, त्यसमा ध्यान दिनु शिक्षकको कर्तव्य हो, जिम्मेवारी पनि ।

कक्षाकोठाको वातावरण मिलाउने
कक्षाकोठाको वातावरण शान्त भएन भने शिक्षकले पढाउने वातावरण पनि हुँदैन र विद्यार्थीले बुझ्दा पनि बुझ्दैन । जहिले पनि शान्तपूर्ण वातावरणमा पढाउने व्यवस्था शिक्षकले मिलाउनुपर्छ । शान्त वातावरणमा मात्र शिक्षक-विद्यार्थीबीच वार्तालाप हुन सक्छ ।

शिक्षक र विद्यार्थीबीच आपसमा वार्तालाप र अन्तरसंवाद हुन सकेमा मात्र सिकाइ र क्रियाकलाप प्रभावकारी हुन सक्छ । कक्षालाई शान्त बनाउने भन्दैमा शिक्षक विद्यार्थी मौन रहनु, चुप लाग्नु होइन । शिक्षक विद्यार्थीको अन्तरसंवादलाई निरन्तरता दिनु नै असल सिकाइको विधि हो ।

विषयवस्तु प्रवेश अगाडि मौखिक रूपमा विद्यार्थीको ज्ञानबारेमा जानकारी
सिकाउनुको अर्थ शिक्षक कक्षाकोठामा प्रवेश गर्नु र आफ्नो समय सकिएपछि बाहिर निस्कनु कदापि होइन । आफूले सिकाएको विषयवस्तुमा विद्यार्थीले राम्रो ज्ञान लिऊन् र त्यो नबिर्सिऊन् भन्ने उद्देश्य शिक्षकको हुनुपर्छ । सबै विद्यार्थीको बौद्धिक क्षमता, ध्यान दिने कला र स्मरण शक्ति बराबर हुँदैन तर शिक्षकको भूमिका सबै विद्यार्थीले सिकून् र बुझून् भन्ने हुनुपर्छ ।

त्यसको लागि शिक्षकले कुनै पनि विषयमा सीधै पुस्तकमा प्रवेश नगरी त्यसबारेमा विद्यार्थीले सुनेका छन् कि छैनन्, सुने पनि बुझेका छन् कि छैनन् । एकपटक पुस्तक बन्द नै गरेर मौखिक प्रश्नका साथ जानकारी राख्नुपर्छ । यसको लागि बरु शिक्षकमा आफैंमा पूर्व तयारीको जरुरत पर्छ ।

मौखिक संवादले कुन विद्यार्थीको स्तर कस्तो छ, थाहा पाउन पनि सजिलो हुन्छ । किनभने कतिपय विद्यार्थी पुस्तकमा ध्यान दिन नसक्ने तर मौखिक कुराकानीको रूपमा, हाउभाउ र तस्बिरको माध्यम या त विभिन्न उदाहरण दिएर व्याख्या गर्दा सजिलै बुझ्ने हुन सक्छन् ।
पुस्तकमा भएको विषयवस्तुअनुसार सीधै सिकाउनु वा पढाउनुभन्दा पृष्ठभूमि बताउने गरी मौखिक रूपमा त्यस विषयमा नयाँनयाँ प्रश्न सोध्ने गर्नाले पूर्व अभ्यास बस्छ विद्यार्थीमा । पूर्व अभ्यासपछि किताब पढ्दा विस्तृत ज्ञान बढ्न सक्छ, जुन उनीहरूले एकपटक पढे पनि कालान्तरसम्म स्मरणमा राखिराख्न सक्छन् ।

सकारात्मक सोच र स्वस्थ प्रतिस्पर्धा
केटाकेटीलाई एकअर्कासँग तुलना गरेको मन पर्दैन तर उनीहरूको क्षमता विकासको लागि स्वस्थ प्रतिस्पर्धाको भने जरुरी हुन्छ । विद्यार्थीले थाहा नपाउने गरी, रमाइलो पारामा, खेलपूर्ण तरिकाले प्रतिस्पर्धी बनाउन आपसमा स्वच्छ प्रतिस्पर्धाको भावनाको विकास गराउनुपर्छ ।

कुनै पनि विषयमा कुन विद्यार्थीले धेरै लेख्न सक्छ वा व्याख्या गर्न सक्छ, छिट्टो लेख्छ या ढिलो भन्ने बानीको विकास गराउन खेलद्वारा प्रतिस्पर्धा गराउन सकिन्छ । विषयवस्तुसँग सम्बन्धित कुरा पनि रचनात्मक तरिकाले विभिन्न तरिकाद्वारा सिकाउन सकिन्छ । खेलपूर्ण र रचनात्मक अभ्यासले विद्यार्थीलाई मेहनती बनाउनसमेत मद्दत पुर्‍याउँछ ।

योजना बनाएर सिकाउने
बिहान उठेदेखि बेलुका सुत्नुअगाडिसम्म हामी दिनभर केके काम गर्छौं, कसलाई भेट्छौं, कहाँ जान्छौंदेखि लिएर बजेटसम्मको योजना गर्छौं । किनभने हरेक कार्य सम्पन्न गराउनको लागि योजनाको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले शिक्षकले पनि पाठ्य योजना बनाएर मात्र कक्षाकोठामा प्रवेश गर्नुपर्छ ।

शिक्षकले वर्षभरिमा कुन एकाइलाई कति दिन पढाउनेदेखि लिएर कुन दिन कक्षामा छिरेको समयमा केके पढाउने भन्ने विषयमा समेत स्पष्ट योजना बनाउनुपर्छ । यसको मतलब योजनाअनुसार पाठ सकाउने भनेर विद्यार्थीले नबुझे पनि पेलान दिने काम भने गर्नुहुन्न ।

योजना सक्नको लागि धेरै गृहकार्य पनि दिनुहुन्न । कतिपय शिक्षकले आफ्नो योजनाअनुसारको पाठ्यक्रम सक्नको लागि गृहकार्यमा पेल्ने गरेको पाइन्छ यो प्रभावकारी हुँदैन । सम्यक तरिकाले योजनाबद्ध भने हुनु जरुरी छ ।

व्यावहारिक ज्ञानमा जोड दिने
किताबी ज्ञानले मात्र आँखा खुल्दैन, त्यसैले पाठ्यक्रममा मात्र आधारित नभई नैतिक शिक्षाका कुरा, मनोवैज्ञानिक, अध्यात्मिक गुरुहरूका मार्गदर्शन जस्ता रोचक विषय प्रस्तुत गरी फरक ढंगले केटाकेटीको मन जित्नु आजको शिक्षकको भूमिका हो ।

यसको लागि शिक्षकले विद्यालयको व्यवस्थापन, अरू शिक्षक शिक्षिकाको व्यवहार, उनीहरूको बाल मनोभावनामा कस्तो असर पुर्‍याएको छ, त्यो पनि ख्याल गर्नु जरुरी छ । एसएलसी नतिजा शतप्रतिशत पुर्‍याउन ९—१० कक्षामा पुगेका विद्यार्थीलाई प्रेसर दिएर होइन, सानो उमेरदेखि नै उनीहरूको भावना बुझेर अध्यापनमा जोड दिनु आवश्यक छ ।

हाम्रा कलिला बालबालिकाको भविष्य हाम्रो हातमा छ । शिक्षकले प्रेमपूर्ण भएर जस्तो बच्चालाई पनि सुधार्न सक्छ । गालीगलौज र भौतिक सजायले कोही पनि सुध्रिँदैन । शिक्षक-शिक्षिका प्रेमको खानी हुन सक्नुपर्छ । प्रेमले नै संसार जित्न सक्दछ ।

उनीहरूको बाल मनोभावनामा नकारात्मक असर पुर्‍याउने अधिकार कसैलाई छैन । जति सिक्छन् साना नानीहरूले त्यो सकारात्मक कुरा मात्र सिकून्, प्रसन्न भएर सिकून् अनि उनीहरूमा छिपेको खुबी आफैं प्रस्तुत गर्न नडराऊन् । त्यो पो हो शिक्षा ।

यो सानो र बेवास्ताको विषय होइन, ठूलो सत्यता यसमा लुकेको छ । शान्त, समृद्ध नेपालको परिकल्पना गर्ने हो भने हाम्रा कलिला बालबालिकालाई शिक्षा दिने आदर्श शिक्षकको महत्वपूर्ण भूमिका छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!