ल्याब रिपोर्टका आधारमा रवि लामिछानेमाथि अनुसन्धान हुने

काठमाडौंः  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको साथमा रहेको मोबाइल नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको छ । मोबाइलमा भेटिएको अडियो-भिडियो र च्याटका विभिन्न पक्षको अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले पुडासैनीको मोबाइल काठमाडौंमा रहेको नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको हो ।

डिजिटल ल्याबको रिपोर्टका आधारमा प्रहरीले पत्रकार पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान गर्ने भएको छ । डिजिटल ल्याबमा उनले आरोप लगाएका विभिन्न व्यक्तिसँगको च्याट, अडियो र भिडियोको विषयमा सुक्ष्म अध्ययन हुनेछ । त्यसै रिपोर्टका आधारमा प्रहरीले अनुसन्धान गर्ने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

याे पनि पढ्नुस  रवि लामिछानेलाई फेरी ५ दिन हिरासतमा राख्न अदालतको आदेश

टेक्निकल अध्ययन काठमाडौंमा भएपनि घटनाको अनुसन्धान भने जिल्ला प्रहरी कार्यालय चितवनले नै गर्ने छ । तर आवश्यक देखिएमा काठमाडौंबाट टेक्निकल टोली चितवन बोलाउन सकिने प्रहरीले जनाएको छ ।

पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित सञ्चारकर्मी रवि लामिछानेमाथि आत्महत्याका लागि दुरुत्साहनमा अनुसन्धान हुने भएको छ । पुडासैनीको मोबाइलमा फेला परेका भिडियो र अडियोअनुसार लामिछाने अनुसन्धानमा तानिने भएका हुन् । जिल्ला प्रहरी कार्यालयले घटनाको प्रारम्भिक विवरण प्रहरी प्रधान कार्यालयमा पठाएको छ ।

मोबाइलमा फेला परेका सन्देशमा एक महिलाका विषयमा पत्रकार रवि लामिछाने र दीपक बोहराले धेरै नै टर्चर दिएको आरोप छ । ती महिलालाई विवाह गर्न बाध्य पार्ने वा बलात्कार गरेको आरोप लगाउने धम्की दिएपछि आफूले आत्म हत्या गरेको पुडासैनीको भिडियो सन्देशमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।

याे पनि पढ्नुस  पुडासैनी आत्महत्या प्रकरणः अस्मिता कार्की परिन् अलपत्र

तर पत्रकार लामिछानेले आफ्नो कारणले उनले आत्महत्या नगरेको दावी गरेका छन् । बुधवार फेसबुक मार्फत् उनले घटनाका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

पुडासैनीको बुधवार बेलुकी अन्तेष्टी गरिएको छ । भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर अन्तेष्टि गरिएको परिवारले जनाएको छ ।

पत्रकार पुडासैनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । दुई महिना अघिसम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए । नागरिक खबरबाट साभार

याे पनि पढ्नुस  अपिल त्रिपाठीले भेटे रविलाई, के भयो कुराकानी?

कमेन्ट गर्नुहोस्

error: Content is protected !!