४४ महिनापछि श्रील‌ंकाद्वारा सिरिज ‘क्लिन स्विप’

काठमाडौं, साउन १५ । श्रीलंकाले ४४ महिनापछि घरेलु मैदानमा एकदिवसीय सिरिज जितेको छ । बंगलादेश विरुद्धको तीन खेलको सिरिज ३–० ले ‘क्लिन स्विप’ गर्दै श्रीलंकाले ३ वर्ष ८ महिनापछि घरेलु मैदानमा सिरिज जितको हो ।

पछिल्लो पटक श्रीलंकाले घरेलु मैदानमा सन् २०१५ को नोभेम्बरमा एकदिवसीय सिरिज जितेको थियो। श्रीलंकाले त्यतिबेला वेस्ट इन्डिजलाई ३–० ले हराएर सिरिज जितेको थियो।

आज सिरिजको अन्तिम खेलमा श्रीलंकाले बंगलादेशलाई १२२ रनको फराकिलो अन्तरले हरायो । श्रीलंकाले दिएको २९५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ३६ ओभरमा सबै विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

उसका लागि साैम्य सरकारले ६९, तजिउल इश्लामले नटआउट ३९, अनुमल हकले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा श्रीलंकाका दसुन शनाकाले ३, कसुन रजिथा, लाहिरु कुमाराले २–२, अकिला धनन्जय र वनिन्दु हसरंगाले एक–एक विकेट लिए ।

यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो । उसका लागि एन्जेलो म्याथ्यूजले उत्कृष्ट प्रदर्शन गरे । उनले ८ चौका र १ छक्काको मद्दतमा ९० बलमा ८७ रन बनाए ।

सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । म्याथ्यूजले पहिलो खेलमा ४८ रनको योगदान दिएका थिए । यस्तै कुसल मेन्डिसले ५४, कप्तान दिमुथ करुणारत्नले ४६, कुसल परेराले ४२, दसुन शानकाले ३०, अभिश्का फर्नान्डोले ६ रन बनाए ।

बलिङमा बंगलादेशका सौम्य सरकार, शाफिउल इश्लामले ३–३, रुबेल हुसैन र तजीउल इश्लामले एक–एक विकेट लिए । तीन खेलको सिरिज श्रीलंकाले एक खेल अघिनै जितीसकेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!