‘क्रिकेट मेरी आमा हुन्, ठूलो गल्ती भयो’– पृथ्वी शा

काठमाडौं । भारतीय क्रिकेट बोर्डको डोपिङ परीक्षणमा असफल भएपछि क्रिकेट खेल्न प्रतिबन्ध लागेका खेलाडी पृथ्वी शाले गल्ती स्वीकार गरेका छन् ।

बिसिसीआईको निर्णयपछि ट्विट गर्दै पृथ्वी शाले यो गल्तीबाट आफूले ठूलो पाठ सिकेको बताए । “म पूर्ण इमान्दारितासाथ यो निर्णय स्वीकार्छु” उनले भनेका छन, “अहिले यसअघिको टुर्नामेन्टमा लागेको चोटबाट निको हुँदैछु । म मैदानमा मजबूत बनेर फर्किनेछु ।”

यो पनि पढ्नुहोस्
भारतीय क्रिकेटर पृथ्वीमाथि ८ महिना प्रतिवन्ध

पृथ्वीले आफूमाथिको सजायले अरुलाई समेत गल्ती नगर्न प्रेरित गरेको बताए । बिमार हुँदा हामीले औषधी पाउने भएपनि प्रोटोकलको पालना गर्नुपर्ने उनले स्वीकारोक्ती गरेका छन् । “क्रिकेट मेरो जीवन हो र भारत तथा मुम्बईका लागि खेल्नुभन्दा ठूलो अरु कुनै सम्मान हुन सक्दैन । म यसमा अझै बलियो बन्ने छु ।” उनले लेखका छन् ।

पृथ्वी शा ले खोकीको प्रतिबन्धित औषधी सेवन गरेपछि उनको युरिन सेम्पल लिइएको थियो । गत फेब्रुअरीमा सम्पन्न भएको शैयद मुश्ता अली ट्राफीका बेला उनले यो अन्जानमैं सेवन गरेका स्वीकार समेत गरेका छन् । पृथ्वी शामाथि नोभेम्बर १५, २०१९ सम्म खेल्न प्रतिबन्ध लगाइएको छ ।

चोट लागेका कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका पृथ्वीलाई वेष्टइण्डिजसँगको खेलका लागि पनि छनौट गरिएको थिएन । पृथ्वीले अहिलेसम्म भारतका लागि दुईवटा टेष्ट खेलेका छन् । यी टेष्टमा उनले एउटा शतक र अर्को अर्धशतक बनाएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!