१०१ वर्षीय वृद्धालाई पोषण भत्ता

विराटनगर, साउन १४ । विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई रु १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ ।

महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै गई उक्त रकम उपलब्ध गराउनाका साथै सँगै गएका चिकित्सकले उनको स्वास्थ्य परीक्षणसमेत गरेका थिए ।

यसैगरी वडा नं ३ निवासी ९३ वर्षीय कृष्णकुमार न्यौपानेको घरमै पुगेर रु १२ हजार भत्ता उपलब्ध गराइएको थियो ।

महानगरपालिकाले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई पोषण भत्ताबापत मासिक रु एक हजार उपलब्ध गराउने निर्णय अनुसार एकमुष्ट रु १२ हजार प्रदान गरेको हो ।

महानगरप्रमुख पराजुलीले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक देवतातुल्य भएकाले उहाँहरुको दर्शन र आशीर्वाद लिन घरदैलोमा पोषण भत्ता उपलब्ध गराउने अभियान शुरु गरिएको बताए ।

चाँडै नै निःशुल्क आँखा शिविर सञ्चालन गरी ८४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा उपलब्ध गराउनाका साथै एक चिकित्सकलाई घरदैलोमै पुर्याएर स्वास्थ्य जाँच गरिने जानकारी दिँदै उनले ज्येष्ठ नागरिकहरुलाई लट्ठी र टर्चलाइटसमेत वितरण गरिने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!