शिक्षक लाइसेन्स परीक्षाः २ लाख ८३ हजारको आवेदन, विज्ञान विषयमा आवेदक थोरै

काठमाडौं । अध्यापन अनुमतिपत्र परीक्षाका लागि शिक्षक सेवा आयोगले पहिलोपटक सञ्चालनमा ल्याएको अनलाइन प्रणालीबाट २ लाख ८३ हजार जनाले आवेदन दिएका छन् । विषयगत अनुमतिपत्र लिन प्राथमिक तहमा ८३ हजार, निम्न माध्यमिकमा १ लाख २७ हजार र माध्यमिक तहमा ७६ हजार आवेदन परेका हुन् ।

निम्न माध्यमिकमा विज्ञान विषयका लागि ४ हजार जनाको मात्र आवेदन परेको छ। निमाविमा नेपाली विषयमा ६१ हजारले दरखास्त दिएका छन्। सामुदायिक विद्यालयमा विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक कम छन्। तिनै विषयमा कम आवेदन परेको आयोगले जनाएको छ।

माध्यमिक तहमा नेपाली विषयमा २० हजारले दरखास्त दिएका छन् भने विज्ञानमा ९ हजार र गणितमा ६ हजारको मात्र आवेदन परेको छ। अनुमतिपत्र परीक्षामा न्यून संख्यामा प्रतिस्पर्धी हुँदा शिक्षक स्थायी गर्ने परीक्षामा समेत असर पर्ने गरेको आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले बताए। ‘शिक्षक छनोट गर्ने खुला प्रतिस्पर्धाका कतिपय विषयको परीक्षामा निकै न्यून संख्यामा प्रतिस्पर्धी हुने गरेका छन्,’ उनले भने, ‘यसले गर्दा गुणस्तरीय शिक्षक छान्नसमेत चुनौती हुने गरेको छ।’

आयोगले २०७१–२०७२ पछि यसपटक शिक्षक लाइसेन्सका लागि दरखास्त आहवान गरेको थियो। यद्यपि दरखास्त रुजु गर्ने क्रममा रहेकाले आवेदक संख्या घट्न सक्ने आयोगको अनुमान छ।

यसपटक प्रावि, निमावि र मावि तहका लागि आयोगले विषयगत रूपमा परीक्षा लिन लागेको हो। यसअघि तहगत रूपमा हुँदै आएको थियो। अध्यापन अनुमतिपत्र लिएपछि मात्र स्थायी शिक्षक पदका लागि उम्मेदवार बन्न पाउने प्रावधान छ। अस्थायी र करारमा नियुक्त गर्दा पनि लाइसेन्स अनिवार्य मानिन्छ। विषयगत परीक्षाका लागि पाठ्यक्रम स्वीकृत भइसकेको छ। ‘नेपाली पढाउने र अंग्रेजी पढाउने शिक्षकलाई एउटै परीक्षा लिएर लाइसेन्स दिइथ्यो,’ थपलियाले भने, ‘अब तह र विषयअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर परीक्षा लिन लागिएको हो।’ आयोगले प्रावि, निमावि, मावि, साबिकको उमाविमा अस्थायी अनुमतिपत्र लिएका र प्राविधिक धारतर्फका ९ विषयका लागि गरी ५ प्रकारका विज्ञापन गरेको थियो।

स्वीकृत पाठ्यक्रमको संरचनाअनुसार प्रथम र दोस्रो पत्रमा गरी एक सय पूर्णाङ्कको परीक्षा सञ्चालन हुनेछ। पहिलो पत्रमा सम्बन्धित विषय र शिक्षण कला गरेर ६५ पूर्णाङ्कमा परीक्षा हुनेछ। विद्यार्थीले शैक्षिक योग्यता हासिल गरेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्।

त्यस्तै दोस्रो पत्रमा पेसागत ज्ञानसम्बन्धी ३५ पूर्णाङ्कको परीक्षा हुनेछ्। प्रावि र निमाविको लाइसेन्सको परीक्षा दिन शिक्षा संकायमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। मावि तहका लागि सोही संकायमा स्नातक तह पास गरेको हुनुपर्छ। ११ र १२ अध्यापन गराउने शिक्षकको हकमा भने शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको हो। उक्त तहमा कानुन विषयको अनुमतिपत्र लिन ७६ जनाले मात्र आवेदन दिएका छन्। अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागीको उत्तीर्ण दर भने कमजोर छ।

आयोगले २०७२ मा सञ्चालन गरेको परीक्षामा प्रावि, निमावि र मावि तहमा क्रमशः ३१, ५० र ३६ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए। तीनै तहमा गरी करिब ७ लाख अध्यापन अनुमतिपत्र वितरण भइसकेको छ। स्थायी शिक्षक नियुक्तिका लागि २ सय पूर्णाङ्कको परीक्षा सञ्चालन गर्न आयोगको नियमावली संशोधन प्रक्रियामा छ। कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!