महिनावारी नबारे पैसा पाइने

डोटी, साउन १२ । जिल्लामा छाउपडी प्रथाले वर्षौँदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । छाउपडी प्रथा अन्त्य गर्नका लागि यहाँका स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन् ।

यसै सिलसिलामा जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महीनावारी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिने भएको छ । उक्त गाउँपालिकाले छाउपडी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई रु तीन हजारदेखि पाँच हजार पुरस्कार दिने नीति पारित गरेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने, “हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ, छाउपडी नबार्ने महिलालाई पुरस्कारस्वरुप पैसा दिनेछौँ ।”

याे पनि पढ्नुस  चाडपर्वका बेला यस्तोमा महिनावारी भए के गर्ने ? चिकित्सकको राय यस्तो छ

यति मात्र नभई सो गाउँपालिकाले अबदेखि छाउ अर्थात् महीनावारी बार्नेलाई गाउँपालिकाबाट प्रदान हुने मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षाभत्ता, विवाह दर्तालगायतका सेवासुविधा पनि नदिने घोषणा गरेको छ । छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि आफूहरुले छाउपडी अन्त्यका लागि नयाँ योजना ल्याएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए ।

उनले भने, “जिल्लाभरिमै बदनामी हँुदै आएको छाउपडी प्रथा हामी अन्त्य गरेरै छोड्छौँ ।” छाउपडी प्रथा मानेकै कारण उक्त गाउँपालिकामा हालसम्म दर्जनौँ महिलाले अकालमै ज्यान गुमाइसकेका छन् । गाउँपालिकाले चालेको उक्त कदमको सो क्षेत्रका स्थानीयवासीले स्वागतयोग्य काम भन्दै स्वागत गर्न थालेका छन् । छाउ अर्थात् महीनावारी भएकी महिला घरमा बसे देवीदेउता रिसाउने तथा घरमा अनिष्ट हुने भन्ने अन्धविश्वासका कारण डोटेली महिला छाउ बार्न बाध्य भएका छन् । जिल्लाका कतिपय ठाउँमा छाउपडी गोठहरु अझै कायमै रहेको सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले बताएका छन् । रासस

याे पनि पढ्नुस  चाडपर्वका बेला यस्तोमा महिनावारी भए के गर्ने ? चिकित्सकको राय यस्तो छ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!