ग्लोबल टि–२० लिगः सन्दीपआवद्ध टोरन्टोको पहिलो जीत

काठमाडौं, साउन १२ । ग्लोबल टि–२० क्यानडा लिगअन्तर्गत एडमन्टन रोयल्स विरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरन्टो नेशनल २ विकेटले विजयी भएको छ । टोरन्टाको यो पहिलो जीत हो । रोयल्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको सन्दीपको टिमले १७.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि हेनरिक क्लोसेनले ४५, कप्तान युवराज सिंहले ३५, मनप्रित गोनीले ३५, रविन्दरपाल सिंहले १७ रनको योगदान दिए । बलिङमा रोयल्सका सादव खानले २, मोहम्मद अफीज, जिमी नीशम, सफयान सराफ, काइली फिलीपले एकएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको रोयल्सले निर्धारित १९ ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो । उसका लागि बेन कतिङले ४३, सादव खानले ३६, कप्तान फाफ डुप्लेसिसले २८, जिमी नीशमले २९, मोहम्मद अफिजले १७, लभनीत धलीवालले २० रन बनाए । बलिङमा टोरन्टोका क्रीस ग्रीसलनले ३, सलमान नजर, मार्क मन्टफोर्ट, जेम्रि गोर्डनले एकएक विकेट लिए ।

टोरन्टो पहिलो खेलमा क्रिस गेल कप्तान रहेको भाकुंभर नाइट्ससँग ८ विकेटले पराजित भएको थियो । टोरन्टोमा भारतीय पूर्वक्रिकेटर युवराज सिंह र रोयल्समा फाफ डुप्लेसी कप्तान छन् । रोयल्समा फाफसहित केन विलियम्सन, शादव खान, जिमी नीशम, मोहम्मद नवाज, बेन कटिङलगायत नाम चलेका खेलाडी छन् ।

सन्दीप आवद्ध टोरन्टो नाइट्सको पूरा टिमः युवराज सिंह, ब्रेण्डन म्याक्लम, सन्दीप लामिछाने, किरण पोलार्ड, हेनेरिक क्लासेन, मिचेल म्याग्लनेघन, चिराग सुरी, गुलमान शब्बीर, मनप्रीत गोनी, जेम्री नोर्दान, क्रिस ग्रीन, जेसी सिंह, कलुम म्याकल्वोइड, मार्क मन्फोर्ट, रविन्दर सिंह, सलमान नजर र रोड्रिगो थोमस ।

सन्दीप र सोमपालले २ वटा खेल गुमाउने
सन्दीपले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाउने भएका छन् । उनी आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाउने भएका हुन् । यस्तै अर्का नेपाली बलर सोमपाल कामीले पनि लिगका शुरुवातका २ खेल गुमाउने छन् । उनको टिम विनिपेग हक्सले पहिलो खेल शनिबार मोन्टेरियल टाइगर्ससँख खेलेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!