शहर र विदेश पसेका छाेराछाेरीकाे बाटाे कुर्दै बा-आमा

काठमाडौँ, साउन १२ गते । हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमाबाबुको फोटो टाँसिएका भए पनि अचेल आमाबाबु भने एक्लिँदै गएका छन् । खास गरी बुढ्यौली लागेपछि बाबुआमा एक्लोपन, बेवास्ता, हिंसा र दुव्र्यवहारको सिकार हुनु परेको विभिन्न अध्ययनले देखाएको छ ।
रामेछाप बेथानकी माइली तामाङ (७९)का नाति नातिनीसहित छ सन्तान छन् तर उहाँ भने गाउँमा एक्लै बस्नुहुन्छ । छोरा बुहारी, नाति नातिनी सबै काठमाडौँ बस्छन् । वर्षको दुई चार दिनका लागि घर आएर फर्कन्छन् उहाँहरू ।
वर्षभरि एक्लै बस्ने उहाँका लागि कहिलेकाहीँ बिसन्चो हुँदा पानी खुवाउने साथी पनि कोही छैन । “छोरा बुहारी कामबाट फुर्सद पाउँदैनन्, नाति नातिनी पढाइबाट”, उहाँ भन्नुहुन्छ । रामेछापबाटै टेलिफोनमा उहाँले भन्नुभयो, “एक्लै पकाउने खाने गर्दै काल कुर्दै छु । काम गर्न नसकेपछि कति कोदो मकै फल्ने बारीहरू बाँझै छन् । ” यसरी छोराछोरी गाउँ छाडी सहर र विदेश जाँदा गाउँमा अचेल ज्येष्ठ नागरिक मात्र बाँकी रहेको उहाँले दुःखेसो पोख्नुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगले गएको चैतमा देशभरिका ज्येष्ठ नागरिक आश्रमको अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक ग¥यो । त्यस प्रतिवेदनमा एक दिवा सेवा केन्द्रमा भेटिएकी ज्येष्ठ नागरिकको गुनासोलाई यसरी लेखिएको छ, “घरको कुरा बाहिर भने इज्जत जान्छ । पति छउन्जेल दुःख थिएन, पीर थिएन, खान लाउन समस्या थिएन । गाउँमा परिवारको इज्जत पनि छ । छोरा बुहारी दुवै काममा जान्छन्, नाति नातिनी स्कुल । घरमा भए नि मसँग कोही बोल्दैनन्, सबै आआफ्नै धुनमा । मेरोजस्तै अवस्था छिमेकी दिदीको पनि छ । हामी घरमा खाना खाएर दिवा सेवा केन्द्र आउँछौँ । दिदी बहिनी कोठाको कुनामा बसेर दिनभरि रुन्छौँ, मनको बह पोख्छौँ । आँसु बगेपछि मन हलुका हुन्छ, घर फर्कन्छौँ । ”
एक्लिनुका कारण
ज्येष्ठ नागरिकहरू एक्लिँदै जानुलाई सामाजिक रूपान्तरणको प्रभावको रूपमा व्याख्या गर्नुहुन्छ, समाजशास्त्री सुनिता राई । श्रमशक्तिको विश्वव्यापी प्रवाहका कारण युवकहरू सहर र विदेश जान्छन् । सहर र विदेश पसेकाका पत्नीहरू पनि बालबच्चालाई राम्रो शिक्षा दिने नाममा सहर झर्छन् । त्यसपछि गाउँमै एक्लिने गरेका छन् ज्येष्ठ नागरिक । सहरमा भने अधिकांश मध्यमवर्ग घरबाहिर जागिर र व्यवसाय गर्छन् । घरमा हुँदा पनि टीभी, मोबाइल, सामाजिक सञ्जालमा झुन्डिरहने कारण ज्येष्ठ नागरिक मात्र हैन सबै नै एक्लिने प्रवृत्ति बढिरहेको समाजशास्त्री राई बताउनुहुन्छ । आफ्नो अनुसन्धानमा छोराछोरी शिक्षा र कामका लागि विदेशिने प्रवृत्तिका कारण पनि बाबुआमा एक्लिएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको अध्ययनमा घरमा बेवास्ता, आत्मसम्मानमा चोट पुग्ने व्यवहार, दुव्र्यवहार भएपछि ज्येष्ठ नागरिकहरूले आश्रम रोज्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनका क्रममा ज्येष्ठ नागरिकले आफ्नो भावना छोराछोरीले नबुझेको, वृद्धभत्ता खोसेको, सरसफाइ नगरिदिएको जस्ता कारणले वृद्धाश्रम आउनु परेको बताएको आयोगकी मानवअधिकार अधिकृत रञ्जिता शाहले बताउनुभयो । कतिपयका आफ्नै सन्तानले नै आश्रममा छोडेर जाने गरेका छन् ।
नैतिक शिक्षा दिइनुपर्ने
पछिल्लो पुस्ताका छोराछोरीमा आमाबुवाप्रति माया र सम्मान जनाउने संस्कारमा कमी आएको अनुभव राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठको छ । अहिलेका बालबालिका अधिकांश समय शैक्षिक संस्था र साथीभाइसँग बिताउँछन् । विद्यालय शिक्षामा नैतिक शिक्षा विषयको पठनपाठन भने इतिहासमा सीमित भएको छ ।
यसकारण बालबालिकामा आमाबाबु, बाजेबज्यैलाई कसरी सम्मान गर्ने भने सिक्न नसकेको तर्क उहाँको छ । विद्यालय शिक्षामा नैतिक शिक्षा विषयलाई समावेश गरिनुपर्नेमा उहाँ जोड दिँदै श्रेष्ठ भन्नुहुन्छ, “आजका बालबालिका भोलिका आमाबाबु हुन्, त्यसैले उनीहरूलाई पनि आमाबाबुको सम्मान कसरी गर्ने भन्ने सिकाइराखे उनीहरूले अर्काे पुस्तालाई सिकाउँछन् । ’’
दिवा सेवा केन्द्रमा रमाउँदै
कीर्तिपुर पाँगामा रहेको दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकहरू एक्लोपन मेटाउने थलो भएको छ । दिवा सेवामा भेटिनुभएका ८४ वर्षीय धर्म महर्जन राम्रोसँग कान सुन्नुहुन्न । त्यसकारण घरमा उहाँसँग कुरा गर्न झिँझो मान्ने गरेको उहाँले सुनाउनुभयो । ज्येष्ठ नागरिक सेवा केन्द्रमा आएपछि भने आफ्नै उमेरका साथीहरू जम्मा भएर मज्जाले गफ गर्नुहुन्छ । “यहाँ रमाइलो हुन थालेपछि धेरै वर्ष बाँच्न आँट आउँछ”, उहाँले प्रफुल्ल हुँदै भन्नुभयो । हरेक दिन १२ बजेदेखि ४ बजेसम्म उहाँजस्तै ५०–६० जना ज्येष्ठ नागरिक भेला भएर आपसमा गफ गर्ने, भजन गाउने, योग गर्ने गर्छन् । कीर्तिपुरकै यो पहिलो सेवा केन्द्र पाँगाका महिलाले चार वर्षअघि स्थापना गरेका थिए ।
समुदायकै सहयोगमा स्थापना भएको सेवा केन्द्रले महिनाको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र धार्मिक क्षेत्र भ्रमण पनि गराउँदै आएको केन्द्रका सचिव हरिदेवी महर्जनले बताउनुभयो । मन्त्रालय र स्थानीय तहहरूले समेत यस्ता सेवा केन्द्रलाई प्रवद्र्धन गर्न थालेपछि अहिले धेरै ठाउँमा यस्ता सेवा केन्द्र खुलेका छन् ।
गाेर्खापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!