दिल्ली क्यापिटल्सद्वारा सन्दीपको प्रदर्शनको प्रशंसा

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गत  कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले बधाई एवं शुभकामना दिएको छ ।

फेसबुक पेजमार्फत् दिल्लीले सन्दीपलाई बधाई एवं शुभकामना दिएको हो । सन्दीप इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्सबाट खेल्ने गर्दछन् । उनले आज कुवेतविरुद्ध ४ ओभरमा २१ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । कुवेतविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ ।

कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा पारस खड्काले ११ चौका र १ छक्काको मद्दतमा ६२ बलमा ६८ रनको विष्फोटक ब्याटिङ गरे । यस्तै शरद भेषावकरले ४ चौका र १ छक्काको मद्दतमा ३० बलमा नटआउट ३८ रन रन बनाए । ज्ञोनद्र मल्ल १९ र दीपेन्द्रसिंह ऐरी १ रनमा आउट हुँदा रोहित कुमार पौडेल भने ६ रनमा अविजित रहे । बलिङमा कुवेतका कप्तान मोहम्मद काशिफले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो । उसका लागि कप्तान मोहम्मद काशिफले नटआउट ४९, महोम्मद अश्लामले २३, अदनान आर्डिसले २५, रविजा सन्दरुवानले १५, बिलाल ताहिरले १३ रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मीले ३–३, करण केसीले २ र अविनाश बोहराले एक विकेट लिए । नेपालले अब प्रतियोगिताको अन्तिम खेल भोलि बिहान सिंगापुरविरुद्ध खेल्ने छ । यदि यो खेल नेपालले जीतेमा विश्वकप छनोट खेल्न पाउने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!