नेपालको झन्झटिलो प्रक्रियाले विदेशी पूँजी भित्र्याउन गाह्रोः अध्यक्ष कुँवर

कतार । धौलागिरी कालिका हाइड्रो लिमिटेडका अध्यक्ष बिनोद कुँवरले वैदेशिक रोजगारी तथा ब्यवसायको सिलसिलामा बाहिर रहेका नेपालीले आफूसँगै बिदेशी कम्पनीको पूँजी नेपाल भित्र्याउन चाहेपनि नेपालको झन्झटिलो प्रक्रियाले समस्या भएको बताएका छन् ।

गण्डकी प्रदेश समन्वय परिषद् र परिषद् अन्तरगतका जिल्ला संस्थाले आयोजना गरेको ‘समृद्ध नेपालका लागि जलविद्युत आयोजना’ साथमा ‘जीवन जिउने कलाशैली’ सम्बन्धि कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले बिदेशी कम्पनी नेपालको बिशेष गरि जलविद्युत लगाएतका क्षेत्रमा लगानी गर्न इच्छुक भएपनि सरकारको लामो कागजी प्रक्रियाले आउन नसकेको बताका हुन्।

विभिन्न विवादले अगाडि बढ्न नसकेको दर्बाङ्ग म्याग्दी खोला जलविद्युत परियोजना स्थानीय ब्यक्तिको लगानीमा आफुहरुले निर्माण गर्न लागेमा सानो काम गर्नको लागि सरकारी कार्यलय घुम्दा घुम्दै महिनै लाग्ने गरेको भन्दै सरकारले लगानी आकर्षण गर्नको लागि कागजी प्रक्रिया सहज गर्नुपर्ने बताए ।

एन आर एन ए आइसिसि प्यासिफिकको सहसंयोजक समेत रहेका कुँवरले राष्ट्र समृद्ध नभएसम्म ब्यक्ति जति सम्पन्न भएपनि विदेशमा नेपालीको श्रम र सिपको सम्मान नहुने भन्दै ब्यक्तिगत भन्दा पनि सामूहिक लगानी गर्नुपर्ने बताए । करिब ३० बर्षदेखि दक्षिण कोरियामा ब्यबसाय गर्दै आएका कुँवरले जलविद्युतसंगै आफूले मोनोरेल र अत्याधुनिक कुखुरा पालनमा लगानी भित्राइरहेको भन्दै अन्य गैरआवासिय नेपालीलाई आफ्नो मातृभूमिमा लगानी गर्न आग्रह गरे ।

धौलागिरी कालिका हाइड्रो लिमिटेडले सञ्चालन गर्न लागेको २५ मेगावाट क्षमताको दर्बाङ्ग म्याग्दी खोला जलविद्युत आयोजनाको बारेमा जानकारी गराउदै आयोजनाका म्यानेजिङ डाइरेक्टर हर्कमान घर्ती मगरले नेपालमा र विशेष गरि गण्डकी प्रदेशमा जलविद्युतको लागि आकर्षक लगानीको क्षेत्र रहेको भन्दै यसमा लगानी गर्न आग्रह गरे ।

हाल निर्माणधिन आयोजनाको लागी सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकले ७० प्रतिशत लगानी गर्ने र ३० बर्षको लागि ‘टेक अर पे’ अर्थात् उत्पादन भएको सबै लिने आधारमा नेपाल बिधुत प्राधिकरणसंग बिद्युत् खरिद सम्झौता भएको भन्दै आफ्नो परियोजनामा लगानी सुरक्षीत रहेको बताए । आगामी ४ बर्ष भित्र बिद्युत् उत्पादन गर्ने लक्ष्यसहित म्याग्दीको मालिका गाउँपालिकामा निर्माण गर्न लागिएको आयोजनामा ५ किलोमिटर सुरुङ मार्ग हुने र करिब ५ अरब १५ करोड अनुमानित लागत रहेको बताए ।

इलेक्ट्रोनिक इन्जिनियरसमेत रहेर ३० बर्षदेखि चीन तथा हङकङमा ब्यबसाय गर्दै आएका मगरले आफनै मातृभूमिमा केही गर्नुपर्छ भन्ने सोचले नेपाल आएको बताए । कार्यक्रम मानव सेवा आश्रम नेपालका अध्यक्ष एवं रामजी अधिकारीले दैनिक गरिने कामलाई कसरी सकारात्मक सोच राखेर जीवनलाई नै रचनात्मक बनाउन सकिन्छ भन्ने बारे प्रशिक्षण दिएका थिए ।

उत्प्रेरकसमेत रहेका अधिकारीले जनजनमा मानवता प्रवर्द्दनका लागि सकारात्मक सोच, सृजनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनाको विकास सँगसँगै असल नागरिक निर्माण गरि समृद्ध एवं मानवीयताको राष्ट्र नेपाल निर्माणको मुख्य उद्देश्य रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद्का अध्यक्ष हंसराज ढकाल क्षत्री जलविद्युतको बारेमा जानकारी गराउन कतार आएको धौलागिरी कालिका हाइड्रो लिमिटेडको टिमलाई धन्यवाद व्यक्त गर्दै परिषद्को तर्फबाट १ करोड लगानी रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्यानलिस्टको तर्फबाट बोल्दै आइ सिसि मानार्थ परिषद् सदस्य बिल गुरुङले लामो समय ब्यबसायगरेको अनुभवी समूहको नेतृत्वमा निर्माणधिन आयोजनामा लगानी गर्न अनुरोध गरे । सो कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश समन्वय परिषद् कतारका महासचिव रामजी खत्रीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!