चिन्तन: जीवन एक विकल्प

 

-भागवत खनाल 

मोहनदास करमचन्द्र गान्धी दक्षिण अफ्रिका पुगेको एक हप्ता मात्र भएको थियो । उनी रेल चढेर प्रिटोरिया जाँदै थिए । रातको समय थियो, उनी एउटा किताव पढ्दै थिए । एकजना काला अफ्रिकी निम्नस्तरीय रेल्वे कर्मचारी केही काम गर्दै थिए । यस्तैमा मोहनदासले ती कर्मचारीलाई सोधे के तपाईं नर्कमा विश्वास गर्नुहुन्छ ?  कालाले तुरुन्त निसंकोच उत्तर दिए ” गर्दिन । ” मोहनदासले भने म पनि गर्दिन । तर हेर्नुस न यो कितावको क्रिश्चियन लेखक भन्छ उनीहरुलाई नर्कको अस्तित्व मान्ने आदेश छ रे । मोहनदास अरु के के भन्दै थिए रेलको त्यस कक्षमा गोराहरु पसे । एकजना गोराले मोहनदासलाई भन्यो तिमी किन गोराहरु मात्र बस्न पाउने कक्षमा बसेको ?  मोहनदास बडो आनन्दले उत्तर दिन्छन, मसंग प्रथम श्रेणीको टिकट छ, यो कक्ष प्रथम श्रेणीको टिकट किन्नेको लागि हो । तर गोराले उनलाई चेतावनी दिन्छ, उनी अव आउने स्टेसनमा यो कक्ष छाडेर तृतीय श्रेणीको डिब्बामा सरुन, अन्यथा धक्का दिएर बाहिर फ्याँकिने छ । मोहनदास त्यहीं बसिरहे । गोराले उनलाई ट्रेनबाट बाहिर फ्याँकिदियो । ट्रेन सिट्ठी फुक्दै अगाडि बढ्यो ।

 

बिरानो देशको त्यो भयानक रातमा एउटा सज्जन व्यक्ति भूमिमा पछारिएको छ । झोलाका सामान र कागजपत्र असरल्ल छन् । अव कहाँ जाने कसलाई भन्ने ? न्याय पाउने कुनै सम्भावना थिएन । मोहनदास उठेर टुक्रुक्क बस्छन , विवस लाचार ! त्यसबेला उनीसंग तीनओटा विकल्प थिए । पहिलो, जे हुनु भयो चुपचाप आफ्नो काममा लाग्ने र यो घटनालाई एउटा नराम्रो सपना जस्तो मानेर बिर्सने । ट्रेनबाट फाल्ने गोरासंग फेरि भेट हुने हैन, अरु कसैले देखेको पनि छैन । दोस्रो, यस्तो अपमान सहेर बस्नुभन्दा यताको काम छोडछाड गरेर आफ्नो मातृभूमि भारत फर्कने र तेस्रो, यो अन्याय विरुद्ध लड्ने । चुपचाप यथावत बस्न मोहनदासको स्वाभिमानलाई स्वीकार थिएन । आफ्नो मातृभूमि फर्कन सकिन्थ्यो, तर त्यहाँ पनि यिनै गोराहरुको शासन थियो । जीवनको यस मोडमा उनले जुन विकल्प छाने, त्यसले संसार बदल्नेवाला थियो ।

 
त्यो कालो मध्यरातमा एउटा आविष्कार भयो अनायास, अप्रत्यासित रुपमा ! उनले तेस्रो विकल्प छाने तर त्यो अभूतपूर्व थियो । उनले अन्यायको विरुद्ध लड्न सबिनय नागरिक अवज्ञा र असहयोग आन्दोलनको माध्यमलाई छाने । समस्त संसारमा अत्याचारमा परेका न्यायकामी जनताको लागी हतियार र हिंशाबिना क्रान्ति गर्ने नया माध्यमको प्रादुर्भाव भयो त्यसै रातमा  । भारत फर्केपछि उनी स्वतनत्रता आन्दोलनको प्रतीक बने । एउटा कमजोर र रोगी वृद्ध, उत्तेजक भाषण गर्न नजान्ने, भौतिक व्यक्तित्वमा समेत कुनै तेज नभएको र पोशाकको नाममा भोटो र कछाड मात्र लगाई लौरोको भरमा हिड्ने व्यक्तिको पछि पछि लागे लाखौँ जनता । यो सानो आश्चर्यको कुरा थिएन । जीवनको कठिन घडीमा सही निर्णय गर्दा गुमनाम जीवन विताउंदै आएको एउटा मामुली गुजराती मोहनदास वैश्य महात्मामा रुपान्तर भयो । संसारले युगान्तकारी उपहार पायो ।

 

प्रायः मानिसहरु आफ्नो बारेमा अरुले के सोच्दै होलान भन्ने चिन्तामा जीवन व्यतित गर्दछन । आफ्नो तर्फबाट कसैलाई कुवचन नभनियोस, कसैको चित्त दुख्ने शव्द वा कर्म नहोस, कसैको सम्पत्तिलाई नोक्सानी पुर्याउने काम नहोस र आफ्नो कारणले अरु कसैको आँशु नबगोस भन्ने कुरामा सर्वदा ध्यान पुर्याउनु पर्दछ । तर अरुले आफूलाई नराम्रो व्यक्ति भन्ला कि, कसैले कुरा काट्ला कि या कसैले आफ्नो बारेमा केही कुरा लैजाला कि या कसैको नराम्रो बनिएला कि भनेर चिन्तित हुनु भनेको आफैलाई अरुको धारणाको बन्दी बनाउनु हो । प्रतिष्ठा गुम्दछ कि भन्ने डर र चिन्ताकै कारण प्रतिष्ठा गुम्न सक्दछ । जसले आफ्नो बारेमा अरुले बनाएको धारणा सम्बन्धमा धेरै सूचना र जानकारी राख्न खोज्दछ, उसलाई दुखी हुनबाट कसैले बचाउन सक्दैन । जति धेरै सूचना, त्यति धेरै तनाव, जति थोरै सूचना त्यति नै थोरै तनाव ! धेरै सूचनाको खोजी नै शंका, झगडा र दुखको कारण हो । सवैलाई खुसी पार्न खोज्नु जस्तो मूर्खता अर्को छैन । सुप्रशिद्ध दार्शनिक लाओत्सु भन्छन राम्रो बटुवा इमान्दारीसाथ हिडीरहन्छ, कसले के भन्ला चिन्ता हुँदैन उसलाई । उसलाई गन्तव्यमा पुगिन्न कि भन्ने भय हुँदैन । जसले बुझेका छन् ती मौन छन्, जो बुझेका छैनन् तिनै हुन कराउन माहिर ।

 

मानिस भएर जन्मेपछि गुनी हुनुपर्छ, त्यागी हुनुपर्छ, सज्जन हुनुपर्छ, नैतिकवान हुनुपर्छ भनेर घरमा सिकाइन्छ, स्कूलमा सिकाइन्छ र साधुसन्त पनि यही उपदेश दिन्छन । हुनु पर्ने पनि त्यही हो । तर आफ्नो भित्री चाहनाबाट नभई जवर्जस्ती र उपदेश पालना गर्न गरिएको त्याग त्याग नभई एउटा ढोंग मात्र हो । यस्तो अवस्थाको त्यागी व्यक्ति जुन कुराको त्याग गरेको छ जीवनभर त्यही कुरासंग भयभित र त्रसित हुन्छ । त्यो तथाकथित त्यागीले पत्नी त्यागेको रहेछ भने स्त्री जातिसंग, पति त्याग गरेको भए पुरुषसंग, धन त्याग गरेको भए धनसंग र घर त्यागेको भए गृहस्थसंग तर्सिन्छ । अख्तियारले समात्ला भन्ने डरले मात्र अनियमित काम नगर्ने व्यक्ति अनियमित काम नगर्दा नगर्दै पनि अख्तियारसंग तर्सिन्छ ।

 

नियम कानूनको डरले गर्दा अनैतिक कर्म नगर्ने व्यक्तिलाई कानूनको असल पालनकर्ता भन्न सकिएला तर नैतिकवान भन्न सकिँदैन । यस्ता व्यक्ति नै हुन जसले ज्यादा नैतिकताको कुरा गर्दै हिड्छन । भयको कारण वासना र चाहनालाई जवर्जस्ती दबाएर बसेको मानिस डरपोक हुन्छ । जो नैतिक छ, ऊ स्वतः नैतिक हुन्छ । जो बिना भय र त्रास जीवन मार्गमा डटेर अगाडि बढ्छ, जो ज्ञानी र इमान्दार भएर पनि आत्मप्रशंसा गर्दैन, जो अनावश्यक अर्ति उपदेश दिंदैन र यस्तो गरियो उस्तो गरियो भन्दैन ऊ नै सच्चा जीवन जिउँछ । जो सच्चा जीवन बाँच्दछ , उसलाई न कोही समर्थक र अनुयायीको दरकार पर्दछ, न त प्रशंसा र स्तुतिको ।

 

जो आफ्नो कर्मममा अविचलित रुपमा लागिरहन्छ, जसलाई पुरस्कारको लोभ, प्रशंसाको आशा र निन्दाको डर छैन, जसलाई समाज वा राज्यको तर्फबाट केही पाइन्छ भन्ने सरोकार छैन, जसको कुनै आकांक्षा छैन उसैले जितेको छ सारा जगत । सच्चा राजनेताले काम गर्न नसक्नुको दोष अरुलाई लगाउँदैन । ऊ आफ्नै कमजोरी स्वीकार गर्दछ । भनिन्छ, जुन देशमा महत्वाकांक्षा धेरै भएका, तर काम गर्ने ढंग नभएका नेता हुन्छन त्यो देश अगाडि बढ्न सक्दैन । यस्ता खालका नेताहरु आफ्नो कमजोरी अरुको थाप्लोमा भिराएर उम्किन माहिर हुन्छन, यी अत्यन्त छट्टु र गफाडी हुन्छन । यस्ताको पिध हुँदैन, जरो हुँदैन, जग हुँदैन र आत्मवल कमजोर हुन्छ ।

 

श्री ३ महाराज चन्द्र शमशेरलाई गरीव नेपाली जनताको बेहाल सम्बन्धी जानकारी पठाए वापत कृष्ण प्रसाद कोइरालाको परिवार भारतमा निर्वासनमा थियो । बीपी कोइरालाले लेख्नु भएको छ – हाम्रो घरमा भोकभोकै बस्नु पर्थ्यो, खाना थिएन । परिवारका कोही कहाँ कोही कहाँ थिए । अखवार बेच्थे हाम्रा मान्छेहरु । अखवार बेचेर बचेको पैसाबाट कुँडो बनाउँथे, धेरै पानीमा पिठो तरकारी सवैथोक हालेर पकाएर खान्थे । मेरो भाइ थियो हरिहर, ऊ हैजाले मर्यो । उसलाई घाट लैजान कात्रो किन्ने पैसा समेत छैन । छिमेकमा एउटा नेपाली परिवार थियो । घरमा आमा मात्रै हुनुहुन्छ, पिताजी बाहिरै हुनुहुन्थ्यो । मैले पनि अखवार बेचेको छु । सुशीलको पिता बोधप्रसाद एउटा दुकानमा काम गर्नुहुन्थ्यो । बेलुका अखवार बेच्न जानुहुन्थ्यो । त्यो अवस्था थियो हाम्रो । पिताजीलाई लागेछ, अव सहन सकिँदैन । अव लेख्छु चन्द्र शमशेरलाई भनेर एउटा चिट्ठी लेख्नु भयो – अव त धेरै भयो, म आउन पाउँ भनेर । त्यो हुलाकमा खसाउन जाँदा उहाँको मन फिर्यो, चिट्ठी नखसाएरै फर्कनु भयो ।

 

जीवनको त्यस्तो विभत्स समयमा कसको मन न आत्तिएला ? सम्पन्न र इज्जतदार परिवार परदेशमा एक छाक खानाको अभावमा भौंतारिदै हिड्नु परेको छ । यो सारा दारुण अवस्था आफ्नै कारणले उत्पन्न भएको वुझ्ने घरमुली कृष्ण प्रसाद कोइरालाको मनस्थितिको अनुमान सहजै गर्न सकिन्छ । तर त्यो डगमगाइ र अत्यास धेरैबेर टिकेन, लेखिएको पत्र पत्रमंजुषाभित्र नछिर्दै चमत्कार भयो । अन्तस्करणले सम्मानपूर्ण विकल्प रोज्यो । जीवनको त्यस कठिन घडीमा पनि उहाँको विचलन थोरै समयमै समाप्त भयो, दुख दर्द र कारुणिक अवस्थामा पनि स्वाभिमान झुकेन । नियती बदलियो ।

 

नदी जस्तो सलल बग्दैन जीवन । जीवन त खहरे हो जहाँ प्रेम घृणा, सुख दुख, उत्थान पतन, आरोह अवरोह सवै अभिन्न अंग भएर आउँछन् । विरोधाभाषी तत्वहरुको संगम हो जीवन । जीवनमा यस्तो समयको पनि सामना गर्नुपर्ने हुन्छ, जहाँ अनपेक्षित निन्दा र भर्त्सनाको सामना गर्नु परोस । दोष लाग्न सधै दोषी नै हुनु पर्दैन, संयोग र नियतीले कस कसलाई बोलाएर सामना गराउँछ पूर्वानुमान गर्न गाह्रो छ । यिनै त हुन जीवनका परीक्षाहरु, यिनै अन्तरविरोध वीचमा जीवनलाई दृढ र अटल भएर बाच्न जो सक्यो उही परीक्षामा उत्तीर्ण भयो । प्राप्त परिस्थितिलाई सामना गर्दै त्यसलाई सहज रुपमा स्वीकार गरी कर्तव्य पथमा अगाडि बढ्न सक्नु नै सफलता हो । सधैभरि सुन्दर, सफल, सुखी र उपयोगी बन्नु सम्भव छैन ।

 

जसरी अरु भौतिक र सांसारिक वस्तुहरुको उपयोगिता समाप्त हुन्छ, त्यसैगरी व्यक्तिको पनि कुनै दिन उपयोगिता समाप्त हुन सक्दछ । यो जीवनको परम सत्य हो, यसको पूर्वाभाष समयमै हुनु आवश्यक छ, ताकि यस्तो परिस्थिति उत्पन्न हुँदा यसलाई सहजतापूर्वक सहन र स्वीकार गर्न सकियोस । जीवनमा सधैभरि अरुको लागि उपयोगी बनिरहने आकांक्षा पनि ठीक होइन । सदा सरल र उपयोगी हुन खोज्ने र अरुबाट सहजै प्रयोग हुने व्यक्ति वनको सोझो, सर्लक्क परेको र निरोगी सुकाठको रुख जस्तै काटिनु पर्दछ । आफै भई बाच्न, कसैको आँखा नलाग्न र एकान्तमा आफ्नो प्रकारको जीवन जिउनको लागि यदाकदा वनको त्यस्तो कुकाठ बन्न तयार हुनु पर्दछ जो बाङ्गो, गाँठागुठी परेको, र बेवास्ताको वस्तु बनोस ।

 

सुन्दर फूलको वरिपरी काँढा हुन्छन । मीठो फल भिर पाखा, कन्दरा र अग्लो वृक्षमा फल्दछ । सुन्दर ठाउँमा पुग्न धेरै जंघार पार गर्नु पर्दछ । हिमाल सुन्दर छ, तर त्यो जो कोहीको पहुँचभन्दा बाहिर छ । हिमालको सुन्दरतालाई हिमालमै गएर हेर्छु भन्यो भने त्यो मूर्खता हुन्छ । सुन्दरता टाढैबाट देखिने वस्तु हो । त्यसैले त भनिन्छ – सुन्दरता हेर्नको लागि हो, छुनको लागि हैन । मानव जीवन पनि सुन्दर छ, तर जति नजिक नजिक गयो त्यति असुन्दर हुँदै जान्छ यो । मानव जीवनमा पनि काँढा छन् । जति जति सामुन्नेमा पुग्यो तिनले घोच्ने सम्भावना बढी हुँदै जान्छ । जीवनलाई जति धेरै नजिक गएर गिजोल्न खोज्यो त्यत्ति नै त्यो सुन्दरता कुरूप र विभत्स रुपमा प्रकट हुने सम्भावना बढ्दछ ।

 

मुल्ला नसरुद्दीन एकदिन उज्यालो ठाउँमा केही खोज्दै थिए । कसैले सोध्यो, मुल्लाजी के गर्दै हुनुहुन्छ ? मुल्लाले जवाफ दिए, म मेरो हराएको औंठी खोज्दै छु । फेरी उनलाई सोधियो, औंठी कहाँ हारायो ? मुल्लाको उत्तर थियो ए हजुर हराएको त घरबाट हो । उनलाई पुनः सोधियो हराएको ठाउँमा पो खोज्नु नि, किन यता खोजिरहेको ? मुल्लाले भने घरमा अँध्यारो छ, कसरी खोज्नु ? यता उज्यालो रहेछ यहीं खोज्दै छु । मानव जीवन आफ्नो विकल्प पहिचान गर्न नसकेर यसैगरी भौंतारिई रहेको छ । जीवन त्यही दिशातिर फाल हालेर दौडिरहेको छ, जतातिर चमक र होहल्ला छ ।

 

मानिसलाई कोलाहल मन पर्छ, हराएको के हो, सत्य के हो, पाउनु पर्ने के हो, के गर्दा दिगो र खपाउ हुन्छ मतलव छैन । मानिस आफूलाई खोज्न अर्काकोमा जान्छ । मानिस आफ्नै बारेमा अर्कोलाई सोध्छ म कस्तो छु ?  जव ऊ तपाईं असल मान्छे हो, तर तपाईंका मान्छे भने असल छैनन्  भन्ने उत्तर पाउँछ, आफूलाई खोज्दैन ऊ, उसलाई आफ्ना मान्छेसंग रिस उठ्न थाल्छ । जीवनले सवैभन्दा कम खोजेको विषय नै ” आफू ” हो । सवै जीवनहरु अरुलाई खोजेरै बिते, बित्दैछन, आफूलाई खोज्ने चेत कसैलाई छैन । त्यसैले त जीवनहरु झुठा मानिस र झुठा कुराबाट प्रभावित हुन्छन । जो बोल्नमा माहिर छ, जो फरेवी छ, जो गफाडी छ उसैको जादु चल्छ । जीवनले यही विकल्पको पहिचान गर्न नसक्दा पिठो मजाले बिकिरहेछ, चामल कुनामा गुम्सिएर मक्किइरहेछ।

 

शंकराचार्य काशीमा गङ्गास्नान गर्न जाँदै थिए । मणिकर्णिका घाट नजिक साँघुरो बाटोमा कथित अछुत व्यक्ति विपरित दिशाबाट आउंदै रहेछन । शंकरले उनलाई बाटो छोड्न भने, तर अछुतले शंकरलाई भने तिमी त ब्रह्म सत्य जगन्मिथ्या भन्छौ । तिम्रो र मेरो शरीर एकै तत्वले बनेको छ । यदि म अपवित्र छु भने तिमी कसरी पवित्र छौ ? यदि तिमी सच्चा छौ भने म कसरी झुठा ? म चान्डाल हुँ भने मलाई स्वीकार छ, तर तिमीले पनि आफूलाई चाण्डाल स्वीकार गर । शंकर तत्काल ती महामानवको पाउमा परे । सनातन धर्मले जातिपातिको आधारमा विभेद स्वीकार गर्दैन । तैपनि जीवन यो सत्यलाई स्वीकार गर्न अझै पनि हिचकिचाइरहेछ ।

 

विकल्पको यही दोबाटोमा नराम्रोसंग चुकेको कुरालाई मनन गरी यो कलङ्कलाई समूल पुछेमा मात्र घुसपैठ गर्नेहरुलाई जवाफ दिन सजिलो हुनेछ । अव त बुझ्नु आवश्यक छ, यी तथाकथित भेदभावहरु नमेटिदा नै फाइदा छ घुस्नेहरुलाई, बडो ठूलो निहु भएको छ यो उनीहरुलाई । शंकरको अद्वैत यस्तो दर्शन हो, जसले सवैलाई एकै ठाउमा विलय गर्दछ । जव सवै द्वैतहरुको एकै ठाउँमा मिलन हुन्छ त्यहीं अद्वैतको उदय हुन्छ । जहाँ सुख दुख, शोक हर्ष, विनय अहंकार केही रहदैन, समस्त सजीव र निर्जीव एकाकार हुन्छ्न त्यही नै हो ब्रह्म, ईश्वर या उर्जा जे भने पनि । जीवनले यो कुरा मात्र बुझ्न सके पनि सारा अहंकार र भेवाभाव सखाप हुनेछन् ।

 

सन्त कवीरको लगभग सारा जीवन काशीमा बित्यो । प्राचीन कालदेखि नै काशीमा मरियो भने सुगति प्राप्त हुन्छ, तरिन्छ भन्ने विश्वास थियो समाजमा । यतिसम्म त उचितै थियो । तर अर्को अत्यन्त अनुचित र अनैतिक भनाइको पनि प्रचार भएको थियो भारतमा, त्यो थियो मगहर भन्ने ठाउँमा मृत्यु हुने व्यक्ति कि नरकमा जान्छ कि गधा भएर जन्मन्छ । कतिसम्म अनैतिक र अनुचित हल्ला गर्न सक्छन जीवनहरु ! सोझा साझा जनता काशीमै आएर मरुन र आफ्नो कमाइ भइरहोस भन्ने मनसायले कुनै स्वार्थी पोंगा पण्डितले चलाएको हल्ला हुनुपर्छ यो । जव सन्त कवीरलाई यो कुरा थाहा भयो उनी साह्रै दुखी भए ।

 

भनिन्छ जव उनको अन्त्य अवस्था भयो उनले आफ्ना चेला र अनुयायीहरुलाई भने जसरी पनि म मगहरमै मर्न चाहन्छु । यदि मगहरमै मरेको कारण गधाको योनीमा जन्म लिनु पर्छ या नरकमा परिन्छ भने पनि मलाई स्वीकार छ । उनी मगहरमै मरे । यो ठाउँ नेपालको रुपन्देही र कपिलवस्तुको नजिकै भारतको गोरखपुरको पश्चिम दिशामा पर्दछ । यो इलाकालाई सन्त कवीर नगर जिल्ला नै कायम गरिएको छ । एउटा सन्तले मिथ्या अन्धविश्वासलाई मेटाउन जीवनका अन्तिम दिनमा जुन विकल्प रोज्यो त्यसले अन्य जीवित जीवनहरुलाई भयरहित बनाउन सहयोग गर्यो, एउटा सचेत सन्तको जीवन समाप्त हुँदा त्यो ठाउँ पवित्र भयो ।

 

प्रख्यात युनानी सन्त सुक्रातलाई सरकारको तर्फबाट तीनवटा आरोप लागेका थिए । ती थिए देवनिन्दा गरेको, नास्तिक बनेको र युवाहरुलाई भड्काएको । सुकरात भन्थे जुन व्यक्ति आज उसंग जे छ त्यसबाट सन्तुष्ट छैन ऊ भविष्यमा प्राप्त हुने वस्तुवाट पनि सन्तुष्ट हुने छैन । सुकरात धेरै जान्दथे, जति जान्दै गयो त्यति नै अरु जान्नुपर्ने कुरा थपिंदै जाने र जिज्ञासा झन् प्रवल हुँदै गएपछि उनले भनेका थिए, म एउटै कुरा जान्दछु त्यो हो म केही पनि जान्दिन ।

 

आफूमाथि लगाइएका आरोप बारे उनी भन्ने गर्थे मेरो नजरमा मैले कुनै गल्ती गरेको छैन, तर विद्यमान कानूनको नजरमा मैले गल्ती गरेको छु । उनलाई अदालतमा उपस्थित गराइयो र भनियो कि गल्ती स्वीकार गरी क्षमा माग या मृत्युदण्ड रोज । उनले माफी मागेनन किनभने उनको ब्रह्मले गल्ती गरेको कुरा स्वीकार गर्दैनथ्यो । तर राज्यको कानून उल्लङ्घन गरेको कुरामा उनी सावित थिए । उनले विषको प्याला उठाए र आफ्नै हातले विष पिएर मरे । जीवनको त्यो मोडमा उनीसंग दुई विकल्प थिए एउटा गल्ती स्वीकार गर्ने र अर्को मृत्युदण्ड स्वीकार गर्ने । उनले मृत्यु स्वीकार गरे तर गल्ती स्वीकार गरेनन । यसरी एउटा जीवन समाप्त भयो, अनि अमर भयो । उनी जहर पिएर मृत्यु वरण गरेको हुँदा अमर भए, माफी मागेर ज्यान जोगाएको भए गुमनाम मर्थे ।

 

कोही भन्छन यो जगतका आधार ईश्वर हुन, सारा चराचर जगतका नियन्ता उनै हुन, यो जीवन ईश्वरप्रदत्त जीवन हो । कोही भन्छन हैन हैन, ईश्वर भन्ने हुँदैन । हामी जुन कुरा प्रत्यक्ष रुपमा देख्न, भोग्न र अनुभव गर्न सक्दैनौं, त्यसको कुनै अस्तित्व या सत्ता छैन । धर्म भनेको सामाजिक नियम बाहेक केही होइन । यो मानव जीवन बडो जटिल छ । जतिसुकै भौतिकवादी होस्, मानव जीवनमा सुख र दुख, हर्ष र शोक, हाँसो र रोदन, आरोह र अवरोह र उत्थान र पतनको अवस्था आउनु अवश्यम्भावी छ । सत्य के हो थाहा छैन, तर आस्थाले जीवनलाई जीवन्तता दिन्छ । धार्मिक आस्था बिनाको जीवन त्यो सुक्खा मरुभूमि जस्तै हो जो दिनभरि तप्त हुन्छ र रातभरि ठण्डीको मारले पीडित ।

 

नास्तिकले पाउने र आस्तिकले पाउने सांसारिक माया एउटै  हो, तर नास्तिकसंग सास्वत र अविनाशी सहाराको अभाव हुन्छ । जव एक्लै छट्पटाउने बखत आउँछ उसले पुकार्ने त्यो अज्ञात तर विश्वासिलो सहारा हुँदैन, यो अभाव ठूलो नोक्सानी हो उसको लागि । तर मानिसहरु आआफ्नो तरिकाले जेलाई धर्म मान्दछन, त्यो नै धर्म हैन । धर्मको नाममा गरिने दिक्क लाग्दा अनुष्ठानहरू र एउटै धर्मभित्रका पनि अनगिन्ती जिद्धी र अभिमानी स्वभावका सम्प्रदायहरूले जीवनलाई विकल्पको सात दोबाटोमा ल्याएर खडा गर्दछन । उराठ लाग्दा कट्टर औपचारिकता, जातीय भेदभाव र विभेद, अझै पनि अस्तित्वमा रहेको छुवाछुत आदि जस्ता कुराले धर्मलाई नै दूषित पारिरहेका छन् । आफ्नै पूजन , स्मरण र भजनका लागि मानिसले बनाएका कतिपय छुद्र नियम देखेर ईश्वर पनि पीडित होलान ! वुद्ध भन्छन पूजा गर्दैमा, भजन गर्दैमा वा फकाउँदैमा ईश्वर खुसी हुन्छन र सो नगर्दैमा रिसाउँछन् भन्ने धारणा नै गलत हो ।

 

उनी न रिसाउँछन न सस्ता कुराले प्रफुल्ल हुन्छन ।  ईश्वरलाई डरलाग्दो रुपमा देखाउनु ठूलो गल्ती हो, ईश्वर किमार्थ डरलाग्दा छैनन् । उनी त अवश्य पनि मनोहर, रमणीय र आनन्ददायक छन्, कोमल छन्, क्षेमाशील छन् । उनी कट्टर नियमका जन्जीरभन्दा बाहिर स्वतन्त्र छन् । सायद उनी मिजासिला, सज्जन, परोपकारी र दयालुको नजिक रहन्छन । धेरै बाठो बन्ने र चलाख बन्ने कुरा ईश्वरको दुनियामा के चल्ला र ! सायद उनी चलाखी र बठ्याइंभन्दा अलि पर स्वच्छता, शालीनता, कोमलता, परोपकार र अझ निर्दोष अज्ञानताको निकटमा छन् । त्यसैले त भनिएको छ – अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्, परोपकार पुण्याय पापाय परपीडनम् ।

 

जीवन कहाँ जीवन्त छ ? समाज र परिवारमा सुखी छ कि एकान्तमा ? महावीरले वुद्धले एकान्तमा भन्लान, सन्त कवीर र नानकले परिवार र समाजमा भन्लान, श्रीकृष्णले आनन्द , संगीत , प्रेम र रसमय वृन्दावनमा भन्लान । जसले जे भने पनि मानव सामाजिक प्राणी हो, विकल्पको कठिन मोडमा उसले पलायन भन्दा परिवार नै रोज्दछ । घरवाट भागेर हिड्दैमा सवै वुद्ध बन्न कहाँ सक्छन ? सक्दैनन । एउटा वुद्ध जन्मिन पाच हजार वर्ष लाग्छ  । घर समाज छाडेर वुद्ध पछुताएनन, महावीर पछुताएनन . गान्धीले सत्याग्रह र सबिनय अवज्ञाको हतियार कहिलै बिसाएनन । तर युवराज देवब्रत वीचवीचमा धर्मराए, विकल्पको संबेदनशील घडीमा आफैले गरेको भीष्म प्रतिज्ञा सम्झेर बेलाबेला पछुताए, छट्पटाए । मानिस समाज र परिवारमा बस्छ, समाज र परिवार मानिसमा बस्दैन ।

 

त्यसैले मानिसले समाज र परिवारको नियम र मर्यादा पालना गर्नु श्रेयस्कर हुन्छ । ईर्ष्या, रिस र घृणाको कारण समाज वा परिवारको नियमबाट टाढा जाने व्यक्ति जति टाढा पुगे पनि ती ईर्ष्या, घृणा र रिसलाई समेत संगै लिएर जान्छ, उसले जीवनलाई अझै असहज र दुखी बनाउंछ । सम्झौता र धैर्य बिनाको जीवन दुखको सागरबाट पार हुन सक्दैन, पूर्वाग्रह र आफ्ना हठ एवं जिद्धीलाई बोकिरहने व्यक्तिले सही विकल्प रोज्न सक्दैन । यदि कुनै व्यक्ति प्राप्त परिवेशबाट अत्यन्तै खिन्न छ भने समयमै त्यसलाई त्याग गरेर छुट्टी लिनु पर्दछ । त्यसलाई त्याग गर्न नसक्ने हो भने आफ्ना पूर्वाग्रह त्याग्नु पर्दछ । दुवै कुरालाई संगै लैजान खोज्नु भनेको लामो दुखमय जीवनको रोजाइ हो । दुई डुंगामा खुट्टा राख्न खोज्ने जीवन डुब्छ । मयुरको शरीरमा एउटा खुट्टा हाँसको र अर्को खुट्टा कुखुराको राखेर मयुरलाई हिडाउन सकिन्न ।
सदृश्य डट कमबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!