रक्सी सेवन गरेर कार्यालय गए जागिर चट्

काठमाडौँ, साउन १० । मादक पदार्थ सेवन गरेर कार्यालय आउने निजामती कर्मचारीलाई सेवाबाटै बर्खास्त गर्नुपर्ने सुझाव आएको छ। यस्ता कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट बर्खास्त गर्न सांसदले प्रस्ताव गरेका हुन्।
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त’ सम्बन्धमा बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदले यस्तो प्रस्ताव गरेका हुन्। सामन्य विभागीय कारवाही मात्रै गर्दा विकृति आउने भन्दै सांसदले देखिने र कडा कारवाही गर्न सांसदले माग गरेका हुन्।
‘मादक पदार्थ सेवन गरी कार्यालयमा उपस्थित भएमा वा कार्यालयमा सेवन गरेमा विशेष सजाय अन्तर्गत भविष्यमा अयोग्य नहुने गरी जागिरबाटै बर्खास्त गर्नुपर्छ’, सांसद देवेन्द्रराज कँडेलले भने, ‘हामी ठूला-ठूला अनुशासनका कुरा गरिरहेका छौँ। यसलाई हल्का हिसाबले लिन हुँदैन। कार्यालयमा रक्सी खानेले कसलाई टेर्छ ? सेवाग्राहीमाथि जे भने पनि भइहाल्यो।’
विधेयकको दफा ९२ (घ)मा यसलाई नसिहत कारवाही हुने उल्लेख गरिएको छ। यो सामान्य कारवाही गरेर नहुने सांसदको भनाइ छ। ‘शब्दकोषमा नसिहतको अर्थ कसैले नहुने कुनै कामकुरा गरेमा वा कुनै काम बिगारेमा आइन्दा यसो नगर्नू भनी दिइने चेतावनी भनिएको छ’, सांसद याशोदा सुवेदीले भनिन्,‘यस्तो कमजोरीलाई चेतावनी दिएर पुग्छ ?’
उक्त दफामा कर्मचारीले गरेको काम सन्तोषजनक नभएमा, पूर्वस्वीकृति नलिई एक महिनामा दुई पटकभन्दा बढी कार्यालयमा अनुपस्थित भएमा, अख्तियार प्राप्त अधिकारीको स्वीकृति बिना अध्यय वा तालिममा भाग लिन विदेश गएमा नसिहतको कारवाही गर्ने उल्लेख छ। तर सांसदले यो कारवाही देखाउन मात्रै गरिने भन्दै आपत्ति जनाए।
‘यो त आमाले छोरा छोरीलाई ओए म तँलाई कुट्छु है भनेजस्तो भयो’, सांसद जनार्दन शर्माल भने, ‘अनुशासन कायम हुने गरी कारवाही गर्नुपर्छ।’ कारवाही गर्दा पनि पूर्वाग्रही हुनबाट रोक्नुपर्ने उनले बताए।
‘सजाय दिँदा ध्यानदिनुपर्ने कुरा के हो भने सजाय अनावश्यक नपाओस् र दायित्व पूरा नगर्ने नबचोस् भनेर मिलाउनुपर्छ’, शर्माले भने, ‘नियतबस् कारवाही गर्नेलाई पनि कारवाही हुनपर्ने व्यवस्था गर्नुपर्छ।’
तर, यो विषयमा भने सांसद विजय सुब्बाले फरक मत राखे। सुब्बाले रक्सी खाएर आउनेलाई बर्खास्तै भने गर्न नहुने तर्क गरे। ‘हाम्रो लिम्बू जातिमा चिया दिने चलन हुँदैन। खाजा भनेको पनि जाँड-रक्सी नै हो’, उनले भने, ‘एउटा कर्मचारी मेरो घरमा आउँदा आमाले दिने खाजा भनेको जाँड-रक्सी नै हो। त्यो कर्मचारीले खाजा खाइदेन भने अपमान हुन्छ। मेरो घरमा बिहानै आएको कर्मचारीले खाएर कार्यालय जाने कि नजाने ?’
सांसद नवराज सिलवालले पुरानो शैलीमा विधेयक ल्याइएको भन्दै आलोचना गरे। ‘यो विधेयक पहिलाको सबै कपि गरेर ल्याएको देखियो। राम्रो काम गर्न वातावरण तय गर्ने, मोटिभेट गर्ने गर्नुपर्छ’, उनले भने, ‘यस्तो अवस्थामा कर्मचारीलाई सजाय नै गर्न नपर्ने अवस्था पनि हुनसक्छ। यसमा नयाँ सोच आउन पर्‍यो। कर्मचारीले कामै गर्दैन रक्सी मात्रै खान्छ। यसलाई बर्खास्तै गर्नुपर्छ भन्ने सोचले ल्याइएको हो।’
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लाबलबाबु पण्डितले प्रशासन क्षेत्रमा देखिएको अनुशासनलाई कमी हुन नदिन कडा कनुन बनाउनुपर्ने बताए। गलत भएको विषयलाई सच्याएर अघि बढ्नुपर्ने बताए।
‘जसलाई जे काम गर्न दिएको छ, त्यो काम समयमा नगरेको अवस्थाचाहिँ हो’, उनले भने, ‘हामीले यो ऐन बनाउँदा अन्याय हुने गरी कसैले दण्ड नपाउन भन्नका लागि पुनरावलोकनको व्यवस्था गरौँ।’
विवादित देखिको दफा ९१ देखि ९४ सम्म मिलाएर ल्याउन मन्त्रालयलाई समितिले निर्देशन दिएको छ। अन्नपूर्ण पोस्टबाट

याे पनि पढ्नुस  रक्सीको बोतलमा ५० वर्ष पुरानो चिठ्ठी भेटियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!