सडक अवरुद्ध हुँदा चार जिल्ला प्रभावित सेनाद्वारा खाद्यान्न ढुवानी

काठमाडौं, साउन १० । घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक अवरुद्ध हुँदा पूर्वी पहाडका चार जिल्लाको जनजीवन प्रभावित भएको छ । सडक अवरुद्ध भएको दुई साता बिते पनि सडक सञ्चालन नहुँदा भित्री मधेसको उदयपुरसहित ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङको जनजीवन प्रभावित भएको छ ।

उदयपुरको पश्चिम र उत्तरी भाग तथा पूर्वी पहाडका तीन जिल्लामा दैनिक उपभोग्य सामग्री र इन्धनको मूल्य महँगिएको हो । असार २६ गते सिद्धिचरण राजमार्गको घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक बगाएदेखि अवरुद्ध बनेको हो । अवरुद्ध सडक निर्माणको कार्य भइरहेको छ ।

त्यस क्षेत्रमा पाँच सय मिटर खण्ड पहिरोले बगाएको छ । सडक डिभिजन कार्यालय, लहानका प्रमुख विनोद साहले अवरुद्ध सडकको पाँच सय मिटर खण्डमा डाँडा काटेर नयाँ सडक बनाउन लागेको जानकारी दिए । डिभिजन प्रमुख साहले भने, “दैनिक रूपमा १० वटा उपकरण लगाएर बाटो बनाइँदै छ, अर्को साता सञ्चालन हुने छ । ”

दैनिक उपभोग्य सामग्रीसहित इन्धन, औषधिलगायतका अत्यावश्यक सामान आपूर्ति गर्न उदयपुर हुँदै ओखलढुङ्गासहित पूर्वी पहाडका अन्य जिल्लाहरूमा कटारी–घुर्मी सडकखण्ड प्रयोग हुँदै आएको छ । ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा दैनिक उपभोग्य सामग्री आपूर्ति गर्दै आएका कुमार गौतमले भने उपभोग्य सामग्रीको मूल्य थपिएको बताए । सामान ढुवानीमा प्रतिकिलोग्राम दुईदेखि चार रुपियाँ थपिएको उनी प्रस्ट्याउँछन् । खुर्कोट–घुर्मी खण्डमा सात टनमाथिको सवारीसाधन प्रयोगमा बन्देज लगाइएको छ ।

सेनाबाट खाद्यान्न ढुवानी
नेपाली सेनाले खाद्यान्न अभाव भएको क्षेत्रमा बिहीबार खाद्यान्नसहितका दैनिक उपभोग्य सामग्रीहरू पठाएको छ ।
नेपाली सेनाका अनुसार दुवै स्थानीय तहमा ७० हजार किलोग्राम चामल, ६ हजार किलोग्राम दाल, छ सय बोरा नुन र छ सय लिटर खाने तेल राहतस्वरूप हेलिकप्टरबाट पठाइएको छ ।

ओखलढुङ्गामा कुखुरा व्यवसाय गर्दै आएका भूपाल खत्रीले भने सडक अवरुद्ध हुँदा व्यवसाय सञ्चालनमा समस्या आएको बताए । बुधबार खुर्कोट पुगेर दाना आपूर्तिको व्यवस्था मिलाएका खत्री भन्छन्, “सडक पहुँचले दिन बिराएर कुखुराको दाना ल्याउँथ्यौँ, दुई सातासम्म सडक अवरुद्ध हुँदा दाना नपुगेर व्यवसायमा क्षति भएको छ । ”

ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने ७० प्रतिशत तरकारी आफ्नै उत्पादनले पुग्ने र अन्य उपभोग्य सामग्री भण्डारण गरेर राखिएको हुँदा आपूर्ति व्यवस्थाले ठूलै असहजता नल्याएको दाबी गरे । यो समाचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!