स्वेच्छाचारी ढंगले स्कूल विभाग इन्चार्ज घोषणा भए मान्य नहुने : घनश्याम भुसाल

भैरहवा — नेकपाका नेता एवं सांसद घनश्याम भुसालले पार्टी स्कूल विभागको नेतृत्व जसले पाएपनि आफूलाई मान्य हुने बताएका छन् । लुम्बिनी प्रेस क्लबले बिहीबार भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता भुसालले पार्टीभित्र व्यापक छलफल बिना र लोकतान्त्रिक पद्धति नअपनाई स्वेच्छाचारी ढङ्गले स्कुल विभागको नेतृत्वबारे निर्णय गरिएमा आफूलाई मान्य नहुने बताए।

पार्टीको स्कुल विभाग नेतृत्वकाबारे चयन वा जिम्मेवारी दिइदा मापदण्ड बनाइ लोकतान्त्रिक पद्धति अपनाएर जो कसैलाई दिइएपनि आफूलाई कुनै आपत्ति नभएको उनको भनाइ थियो।

पार्टी लोकतान्त्रिक ढङ्गले चल्न नसक्दा सरकारले ल्याएका विधेयक र निर्णयहरू विवादमा पर्ने गरेको उनको टिप्पणी थियो ।

सरकारले ल्याउन लागेको विधेयकहरु संसद्‌मा मात्र नभएर केही समयका लागि जनतामा छलफल चलाइनुपर्ने बताए ।

पार्टी अध्यक्ष नै सरकार प्रमुख भएपछि प्रधानमन्त्रीको काम कारबाही सरकारले पार्टी चलाउने दिशातर्फ उन्मुख भएको तर पार्टी नेतृत्वको ठुलो पङ्क्तिले सरकारलाई चलाउने पद्धतिमा रहेपछि लामो समयसम्म भएको दुई पक्षको तानातानले सरकार अल्मलिएर गति लिन नसकेको उनले बताए।

‘एक्लैले न पार्टी चल्न सक्छ न त सरकार चल्छ भन्नेमा स्वयम् प्रधानमन्त्रीले महसुस गर्न थालेकाले अहिले सामूहिक नेतृत्वमा जानेतर्फ पार्टी अघि बढेको छ’ उनले भने, ‘ यो सबैका लागि खुसीको विषय हो।’

प्रधानमन्त्रीको पछिल्लो चासो र लगाव हेर्दा व्यक्तिगत रूपले राज्य, सरकार, पार्टी चलाउन सकिँदैन भन्ने लक्षण देखिन थालेकाले अब नेकपा सही ट्रयाकमा जान थालेको नेता भुसालले दाबी गरे।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!