दोर्दीको बाढीमा बेपत्ता ७ जना अझै भेटिएनन्

काठमाडौं, साउन ९ । पूर्वी लमजुङको दोर्दी खोलाले बगाएर बेपत्ता भएका सात जना मजदूरको अवस्था अझै थाहा हुन सकेको छैन ।

बुधबार दिउँसो एक्कासी आएको बाढीले निर्माणाधिन अपरदोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत झण्डै २० मजदुरलाई बगाएको थियो । बाढीमा बगेकामध्ये आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुको हाल जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

‘बाढीमा बेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ । सातजना अझै बेपत्ता छन्,’ डिएसपी गुरुङले भने, ‘बेपत्ताको खोजी कार्य बिहानैदेखि भइरहेको छ, तर हालसम्म फेला परेका छैनन् ।अहिलेसम्म सम्पर्कमा नआएकाले बाढीमा बेपत्ता भएकाहरु जिउँदै भेटिने सम्भावना कम रहेको उद्धारमा खटिएका प्रहरीले बताएका छन् ।

बेपत्ताहरुको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी गरिरहेका छन् । दोर्दीखोलाको शिरमा पहिरो गएर थुनिएको नदी एक्कासी फुट्दा बाढी आएको अनुमान स्थानीयले गरेका छन् । तर, अकस्मात ठूलो बाढी आउनुको कारण यकिन भइनसकेको लमजुङका प्रमुख जिल्ला अधिकारी डा। डिजन भट्टराईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बेँसीसहरबाट प्रहरी निरीक्षक धनबहादुर थापाको नेतृत्वको टोली बिहीबार बिहानै घटनास्थलतिर गएको छ । घटनास्थल सदरमुकामबाट झण्डै गाडीमा तीन घण्टाको दुरीमा पर्छ। शव भेटिएका चारमध्ये तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

पूरै ठेगाना नखुलेका पर्साका झण्डै ३० वर्षीय शिवधन चौधरी, सप्तरीको सप्तकोशी नगरपालिका–८ का करिब ५० वर्षीय भुवनेश्वर चौधरी र डडेलधुराको आलेताल गाउँपालिका–६ का करिब ३५ वर्षी रमेश बुढा छन् । उनीहरुको शव बाढीले बगाएर ल्याएको अवस्थामा दोर्दी गाउँपालिका–४ का विभिन्न ठाउँमा भेटिएको हो ।

आयोजना निर्माणस्थलभन्दा पाँचदेखि आठ किमी तल उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ। बाढीमा बेपत्ता सात जनाको अझै परिचय खुल्न सकेको छैन । बेपत्ताको नाम यकिन गर्ने काम भइरहेको डिएसपी गुङले बताए । दोर्दीखोलामा निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको डिसेन्डर बनाउँदै गरेका कामदारलाई बुधबार दिउँसो अकस्मात आएको बाढीले बगाएको हो ।

मृतकमध्ये एकजनाको शव चिनिन सक्ने अवस्थामा नरहेको प्रहरीको भनाई छ । शवलाई पोष्टमार्टमको लागि बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । घाइते आठ मजदुरको पनि त्यही उपचार हुँदैछ । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!