चार्जिङ स्टेसन अझै विस्तार हुन सकेन

काठमाडौँ, साउन ९ । राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले वातावरणमैत्री विद्युतीय सवारीको प्रयोग गर्ने क्रम बढेपनि ती सवारीको चार्ज गर्ने स्टेसन भने विस्तार हुन सकेको छैन । वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरता कम गर्ने उद्देश्यसहित मुलुकभरि नै विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि विद्युतीय सवारी खरिद गर्न सरकारले केही दिनअघि साझा यातायातलाई तीन अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।

यसरी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेपनि ‘चार्जजिङ स्टेसन’ विस्तार नै यस्ता सवारीसाधनको ‘बोतल नेक’ बनेको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा संस्थाको आफ्नै स्रोतमा प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा निर्माण गरिएको एउटाबाहेक अरू ‘चार्जिङ स्टेसन’ उपत्यकामा रहेका छैनन् ।

अहिले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पूर्वराजा ज्ञानेन्द्र शाहलगायतका विशिष्ट व्यक्ति विद्युतीय कार चढ्नुहुन्छ ।

मुलुकमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्छ भन्ने विषय राज्यस्तरबाट नै उठिरहेको अहिलेको अवस्थामा यससँग सरोकार राख्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग कुनै कार्यक्रम तथा योजना भने छैन । मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले विद्युतीय सवारी साधनप्रति आमनागरिकको समेत आकर्षण बढ्दै गएको अहिलेको अवस्थामा ती सवारी साधनका लागि ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने विषयमा अझै नयाँ नीति नआएको बताए । उनले चालू आवमा ‘चार्जिङ स्टेसन’ स्थापनाका लागि मन्त्रालयसँग कुनै कार्यक्रम, योजना र बजेट नरहेको जानकारी दिए ।

गत आर्थिक वर्षमा पनि मन्त्रालयअन्तर्गत यससँग सम्बन्धित कुनै कार्यक्रम तथा योजना नै थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आफैँ विद्युतीय कार नै चढ्नुहुन्छ । मन्त्रालयको योजना नभएपनि नेपाल विद्युत् प्राधिकरणले भने योजना अगाडि सारेको छ । प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका उपप्रबन्धक प्रमोद रिजालले चालू आर्थिक वर्षमा काठमाडौँ उपत्यकाको २० स्थानमा ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर, सिंहदरबार परिसर, महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसर, ललितपुरको जावलाखेललगायत दस स्थानमा ‘चार्जिङ स्टेसन’ निर्माणका लागि ठाउँ छनोट भइसकेको बताउँदै उनले अन्य ठाउँको खोजी भइरहेको जानकारी दिए । जग्गा अधिग्रहण र भाडाको समस्याका कारण तथा सहज पहुँचका लागि सार्वजनिक स्थानमा ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने नीति रहेको उहाँले स्पष्ट पारे । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!