सर्वोच्चको निर्णय उल्टाउँदै ललितपुर महानगर

ललितपुर, साउन ९ । सर्वोच्च अदालतको फैसलाविपरीत गई ललितपुर महानगरपालिकाले पुल्चोकस्थित पले स्वाँ पुखू (कमल पोखरी) मा पार्किङका लागि ठेक्का दिएको छ । स्थानीयले उक्त ठाउँमा पोखरी कायम गर्नुपर्ने भन्दै खन्न क्षमापूजा गर्दासमेत महानगर आफ्नो पूर्ववत् अडानमा छ ।

साविक पोखरी रहेको उक्त क्षेत्र मिचिँदै गएपछि २०२६ सालमा तत्कालीन नगरपञ्चायत सभाले पोखरी नै कायम राख्ने निर्णय गरेको थियो । त्यसबारे परेको विवादमा सर्वोच्चले २०२९ सालमै मा पोखरी नै कायम राख्नुपर्ने फैसला गरेको थियो । तर, अहिले महानगरले साउन १ देखि लागु हुने गरी पोखरीमा ५ वर्षका लागि पार्किङ सञ्चालन गर्न ठेक्का लगाएको हो ।

स्थानीयका अनुसार पोखरी ३२ रोपनी बढी क्षेत्रफलमा फैलिएको थियो । पुल्चोकस्थित अशोक स्तूपलाई शोभा बढाउन वरिपरि चारवटा पोखरी बनाइएका थिए । सबभन्दा ठूलो १६ रोपनी बढी क्षेत्रफलमा फैलिएको महानगर वडा नम्बर २० ‘ख’ कित्ता नम्बर ३७ को हो । अहिले यो कित्तामा ललितपुर महानगरको कार्यालय भवन र पार्क छ । ४१ नम्बर कित्ताको पोखरीमा त्रिपद्म मावि सञ्चालनमा छ ।

पार्किङ सञ्चालन गर्न दिएको कित्ता नम्बर ४० कीर्तिब्रम्हानन्द जोशीको नाममा छ । जुन ४ रोपनी १५ आना ३ पैसा १ दाममा फैलिएको छ । अदालतले त्यतिबेला पोखरीमा स्थानीयले मर्दा जुठो फुकाउने, श्राद्ध गर्दा पिण्ड सेलाउने गर्दै आइरहेको र पोखरी एक सय ८ तीर्थमध्ये एक भएको सर्जमिनबाट देखिएका भन्दै मास्न नहुनेप्रति फैसला गरेको थियो ।पले स्वाँ पुखू संरक्षण समिति अध्यक्ष बाबुराजा महर्जन भन्छन्, ‘तैपनि पोखरीमा सभाहल बनाउन २०५४ मा तत्कालीन प्रधानमन्त्रीमार्फत शिलान्यास गराए । स्थानीय नगरपालिकाको विरुद्धमा आवाज उठाए । अनि भवन बन्न दिएनन् ।’

याे पनि पढ्नुस  सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट

उनका अनुसार त्यतिबेलादेखि नै स्थानीयले नगरपालिकालाई पोखरी नै बनाउन ध्यानाकर्षण गर्दै आइरहेका थिए । महानगरले भने २२ वर्षसम्म बजेट अभाव देखाउँदै टार्दै आएको छ । अन्तमा पार्किङ सञ्चालन गर्न ठेक्का लगाएको हो । स्थानीय पोखरी नै कायम हुनुपर्छ भनेर ९ दिनदेखि धर्ना बस्दै आइरहेका छन् । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले मंगलबार ठेक्का कार्यान्वयन गराउन प्रहरी प्रशासन प्रयोग गरेर हटाउन खोजे । तर, उनीहरू हटेनन् । उल्टो पोखरी संरक्षण गर्न एकजुट भए ।

मेयर महर्जनविरुद्ध नाराबाजी गरे । स्थानीयले ठेक्कापट्टा रद्द नगरे जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने चेतावनी दिएका छन् । समिति अध्यक्ष महर्जन भन्छन्, ‘पोखरी पाटनवासीका लागि पानीसँग मात्र सम्बन्धित छैन । रगत र पसिना बगाएर जोगाएको पोखरी हो ।’ उनले मेयरले पलेर जान खोजेमा पाटनवासी त्यहीअनुसार प्रतिकार गर्न तयार रहेको चेतावनी दिए । ‘कुनै पनि हालतमा पार्किङ सञ्चालन गर्न दिँदैनौँ,’ उनले भने ।

याे पनि पढ्नुस  सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट

ललितपुर महानगरका मेयर महर्जनले प्रहरी प्रशासन लगाएर दमन गर्न खोजेको आरोप मात्र भएको दाबी गरे । ‘यो सब वाइयात हो,’ उनले भने, ‘जनप्रतिनिधिमा निर्वाचित भएर आएदेखि कसैले पनि पोखरी बनाउने बारेमा ध्यानाकर्षण गर्न आएको छैन ।’ उनका अनुसार स्थानीयले टेन्डर गर्नुअघि नै पोखरी कायम गर्नेबारेमा जानकारी दिनुपर्थ्यो । ‘तर, कहिल्यौ आएन,’ उनले भने । पोखरी जोगाउन नेतृत्वकारी भूमिका खेलेको भन्दै मेयर महर्जनले महानगरका नगर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० कदमलाल महर्जनलाई जागिरबाट निलम्बन गरेका छन् । उनले महानगरका कर्मचारी भएर नगरपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न लागिपर्नुको सट्टा विरोधमा लागेको भन्दै निलम्बन गरेको बताए ।

डीएसपी महर्जन नगरपालिकाको विरुद्धमा भने नलागेको स्थानीय बताउँछन् । पुखू संरक्षण समिति अध्यक्ष महर्जनले डीएसपी महर्जनले उक्साएर नभई आफूहरू नै पोखरी संरक्षण गर्न महानगरको विरुद्धमा उत्रिएका बताए । ‘पोखरी बनाउनुपर्छ भनेर यस वर्ष मात्र होइन । विगत दुई दशकदेखि कराउँदै आइरहेका छौँ ।’

याे पनि पढ्नुस  सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट

स्थानीय पोखरी संरक्षण गर्नुपर्छ भनेर तीन वर्षअघि पनि महानगरमा डेलिगेनसन गएका थिए । डीएसपी महर्जनले आफू नः टोलस्थित मंका खलः (समूह) का अध्यक्ष भएको तर, नगरपालिकाको विरुद्धमा लाग्न स्थानीयलाई नउक्साएको बताए । ‘पोखरी संरक्षण समितिले खलःको अध्यक्षको नाताले बोलाएको ठाउँमा कतै उपस्थित भइदिएको मात्र हो,’ उनले भने, ‘खलःको अध्यक्ष भएको नाताले बोलाएको ठाउँमा उपस्थित हुनु कर्तव्य र दायित्व पनि हो ।’

उनले यसैलाई आधार मानेर निलम्बन गर्नु नियतवश फसाउने खेल भएको बताए । मेयर महर्जनले डीएसपी महर्जनलाई निलम्बन गर्नुपर्ने कारणबारेमा सम्पूर्ण प्रमाण भएको दाबी गरे । ‘अब प्रक्रियागत रूपमा अगाडि बढ्छौं,’ उनले भने । मेयरले पोखरीको बारेमा जानकारी गराउन बोर्ड बैठक राखिएको थियो ।

बैठकमा मेयरले जसरी भए पनि पोखरीमा पार्किङ नै सञ्चालन गर्नर्पुर्ने अडान लिए । केही जनप्रतिनिधिले भने सम्पदा संरक्षण गर्नुपर्ने धारणा राखेको महानगर स्रोतले बताएको छ । पोखरीका बारेमा कुरा गर्न खोज्दा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले प्रतिक्रिया दिन चाहेनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!